Comments Add Comment

झिटीगुन्टाको बहानामा सुनका बाला तस्करी

बाटो वैध, कारोबार अवैध


१६ असोज, काठमाडौं । एकसाथ ठूलो परिमाणमा सुन समातिने घटना नौला लाग्न छाडेका छन् । तस्करीमा संलग्न गिरोहले एउटै उपाय मात्र अवलम्बन गरिरहेको छैन । त्यसको पछिल्लो उदाहरण हो, सुनका बाला तस्करी ।

सुन तस्करीको पछिल्लो स्वरुप हो यो । साउदी अरेबिया, कतारलगायत खाडी मुलुकबाट फर्किने युवालाई भरिया बनाएर भित्र्याइने गरेका छन्, सुनका बाला ।

विदेशमा काम गरेर फर्किनेका भिटिगुन्टामा काँचै सुनका बाला ल्याइने गरेको हो । खाडी मुलुकमा खरिद गरिएको सुन भन्सार महशुल नतिरी भित्र्याउँदा प्रतितोला तीनदेखि पाँच हजारसम्म नाफा हुने भएकाले गिरोहले स्वदेश फर्किने युवालाई माध्यम बनाएका हुन् ।

सरकारले झिटीगुण्टामा काँचो सुन ल्याउन दिँदा तस्करी बढेको निष्कर्षसहित सरकारले साउन ०७३ देखि गहना मात्रै ल्याउन पाउने नियम लागू गरेको थियो ।

तर, राज्य संयन्त्र जति स्मार्ट बन्छ, तस्कर एक कदम अगाडि बढिहाल्छन् भन्ने कुराको पुष्टी पछिल्लो समयमा फस्टाएको नयाँ शैलीले गर्छ ।

यस्ता सुनका बाला वैधानिक तवरबाटै त्रिभुवन विमानस्थल हुँदै भित्रिइरहेका छन् । तर, उक्त शैलीलाई गिरोहले अपनाएको छ, आउने वैधानिक, कारोबार अवैध ।

वैदेशिक रोजगारीबाट फर्किइरहेका युवालाई आर्थिक प्रलोभनमा पारेर तस्कर समूहले सुनको कारोबार फैलाएको छ ।

साउदी अरेबियाबाट फर्किएका सर्लाहीका रोशन रायमाझी (नाम परिवर्तन)ले दमामका एक सुन दलालबाट ५० ग्रामको सुनको बाला काठमाडौं ल्याउने जिम्मा पाएका थिए । उनलाई ती दलालले विदेशमा काम गरेर फर्किंदा ५० ग्रामसम्म सुनको गहना लैजान पाउने भनेर भन्सार विभागको ‘झिटीगुन्टा आदेश’ देखाउँदै आश्वस्त पारेका थिए ।

सुन ल्याएबापत काठमाडौंमा सुन प्राप्त गर्ने व्यक्तिले रायमाझीलाई तीन हजार रुपैयाँ दिए । उनलाई कम्पनीको होस्टेलबाट एयरपोर्टसम्म एजेन्ट आफैंले ट्याक्सीमा ल्याइदिए ।

त्रिभुवन विमानस्थलमा अवतरण गरेर सीधा गौशाला पुगेर नेपालतर्फका दलाललाई सुन जिम्मा लगाए ।

‘समातिने डर लागेको थियो तर एयरपोर्टमा कसैले रोकेन,’ उनले भने ।

स–सानो लोभमा फस्ने उनीजस्तै युवा अन्तर्राष्ट्रियस्तरमा फैलिएको गिरोहको भरिया बनिरहेका छन् ।

त्यसरी भित्रिएका बाला सुन पसलमा पुर्याएर पगालिन्छ । अनि, महँगा गहना बनाएर बिक्री गरिन्छ ।

काँचो सुनको बाला बनाउन खासै खर्च लाग्दैन । त्यस्ता बालामा कलात्मक बुटाहरु पनि भरिएको हुँदैन । सरकारी सीमामै ल्याइने भएकाले विमानस्थल भन्सारले पनि सहजै भित्रिन दिन्छ ।

‘यदि पुलिसले दुःख दिएर सुन खोस्यो भने त्यसो गर्ने प्रहरीको नेम प्लेट राम्रोसँग हेर्नु भनेका हुन्छन्,’ त्यसैगरी सुन ल्याएका चितवनका एक युवकले भने ।

त्यसरी भित्र्याइने बाला काठमाडौंका सुन पसलहरुले किन्ने गरेका छन् । उनीहरुले पनि केही सस्तोमा पाइने भएकाले यस्तो सुनलाई सहज रुपमा स्वीकार्ने गरेका हुन् ।

तर, यसले देशको अर्थतन्त्रमा भने नकारात्मक प्रभाव पारिरहेको छ । बैंकहरुले भन्सार तिरेर ल्याएको सुन नबिक्ने तर नतिरिएका सुनको बजार बढ्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment