Comments Add Comment

मध्यरातमा मदहोस ठमेल, ड्रिंक, डिस्को र डाङडुङको अदभूत ककटेल


एकतमास बज्ने ‘ऊँ मणि पद्मे हूँ’ को अडियो धून । वायुमण्डलमा फैलिएका बनस्पती धूपको बास्ना । सडकमाथि लस्करै फहराइरहेका ल्हुङ्दर ।

हालैको सप्ताहन्त । ठमेल बजार । छिप्पिँदो साँझ । चिसो सिरेटो ।

एकाध विदेशी डिस्पोजल गिलासमा तात्तातो कफी सुर्क्याउँदै हिँडिरहेका छन् । गिटार भिरेका केहि तन्नेरी नर्सिङ चोकतिर लम्कँदैछन् । शरीरभरि ट्याटु खोपेका र नाकमा पियर्सिङ गरेका अधबैंशे फुटपाथमा अडेसिएर निस्फिक्री चुरोटको लामो-लामो सर्को तानिरहेका छन् । छेवैमा एक बृद्धा थर्मसमा चिया, चुरोट, पराग, चाउचाउको बिस्कुन लगाएर ग्राहक आकर्षित गरिरहेकी छिन्, ‘तातो-तातो चिया, लौ तातो-तातो चिया ।’

समय- रात १० बजे

स्थान- नर्सिङ चोक

पप, हेभी मेटल, रेग्गे एवं ब्लुजसँगै झ्याउरे र लोक भाका मिश्रति इलेक्ट्रिक ध्वनी चर्को हुँदै जान्छ ।

सडक पेटीका सटरहरु लगभग बन्द भैसकेका छन् । रेष्टुराँ, पव, बार एवं डिस्को थेकको रंगीचंगी बत्तीले भिन्न रंग पोतेको छ । जतिजति रात चढ्दै जान्छ, ठमेलको मादकता थपिँदै जान्छ ।

हातले आपसमा कम्मर अठ्याएर टहलिँदै गरेका मायालु जोडी, हुल बाँधेर हिँडिरहेका तन्नेरीहरु, बियरको बोत्तल ठाडो घाँटी लगाइरहेका बिदेशीहरु, नशालु भावभंगीका साथ टोलाइरहेका सुन्दरीहरु, सडक पेटीमा धुम्धुम्ती बसिरहेका अधबैंशेहरु, नाचुला झैं गरेर विन्दास उफ्रिरहेका फुच्चाफुच्चीहरु ।

काठमाडौं शहर सुत्ने तरखर गरिरहँदा शहरको मध्य विन्दुमा अवस्थित ठमेल भने जग्राम छ । रंगीन रात, स्वतस्फूर्त चलायमान छ ।

रातको मेला

चोकमै गस्ती गरिरहेका प्रहरी हामीसँग गफिन आइपुग्छन् ।

‘रातभर यस्तै हो,’ उनी भन्छन्, ‘मेला लाग्छ ।’

ड्रिंक, डिस्को र डाङडुङ एकअर्काको यहाँ पर्याय जस्तै हो ।

‘रातभर मात्नेहरु झगडा गर्दैनन् ?’ हामी सोध्छौं ।

‘अहिले कन्ट्रोल छ,’ प्रहरी हबल्दार अमरबहादुर मगर गर्वसाथ भन्छन्, ‘सबै ठीकठाक छ ।’

उनको भनाइलाई सदर गर्ने हो भने, ठमेलको रात्रि जीवनमा असुरक्षा अनुभव गर्नु पर्दैन । निर्धक्क रमाए हुन्छ । न लुटिने भय, न कुटिने ।

हामी एक फन्को लगाएर फेरि त्यही ठाउँमा आइपुग्दा केही युवा क्यामेरा र लाइटको सेटिङ मिलाइरहेका देखिए । उनीहरु प्राङस्टार रहेछन् ।

‘तर, आज प्रांक गर्ने होइन,’ हत्तपत्त उनीहरुले भने, ‘ठमेलमा विकेन्ड मनाउन आउनेहरुको स्टोरी गर्ने हो ।’

उनीहरु साउन्ड बुम बोकेर क्यामेरा अघिल्तिर पुग्दै गर्दा प्रहरी भ्यान आइपुग्छ । र, जंगी शैलीमा सोध्छ, ‘के हो ? के गर्न लागेको ?’ ती युवाहरु विनम्रतापूर्वक आफ्नो उद्देश्य बताउँछन् ।

यत्तिकैमा एक अधवैंशे अर्को युवकलाई कठालो समातेर त्यहाँ ल्याइपुर्‍याउँछन् । रमितेहरुको भिड लाग्छ । ति अधवैंशे ट्याक्सी चालक रहेछन् । ‘यसले मेरो ट्याक्सीमा चढेर मलाई नै ठग्यो’, उनी आक्रोशको भावमा भनिरहेका छन् ।

भएको के रहेछ भने, ती युवक ट्याक्सी चढेछन् । भाडा तिर्ने बेला आनाकानी गरेछन् । भनेछन्, ‘दाई मसँग पैसा छैन । मेरो साथीलाई यहाँको लोकेसन बताइदिनू, ऊ आएर तिर्छ ।’

चालकले फोन गर्न थालेछन् । त्यही बेला ती युवकले ट्याक्सीको ड्यासबोर्डमा राखिएको ३५ सय रुपैयाँ झ्याप हानेछन् ।

‘मेरै पैसा चोरेर पो मलाई भाडा दिएको,’ चालकले सुनाए, ‘महा ठग रहेछ यो ।’

चालकले ड्यासबोर्डमा पैसा राख्न खोज्दा, त्यो रित्तो थियो । यात्रु बनेर ठग्ने काइदा सुनेर पुलिसहरु पनि मुखामुख गरे ।

ककटेल ठमेल

इबिजा लाउन्ज एन्ड बार, नगरकोट दोहोरी, टम एन्ड जेरी पव, पर्पल हेज, द फ्याक्ट्री लाउन्ज सबैतिर गानाबजाना छ । कुन गीत बज्दैछ भनेर थाहा पाउनका लागि निकै समय कान थाप्नुपर्ने । दोहोरी, झ्याउरे, नेपाली पप गीतसँगै हार्ड रक, ब्लुज, मेटलको मिश्रणले गीतको भाका ठम्याउन गाह्रो पर्छ । गीतको ध्वनी पनि ककटेल बनेर गुञ्जिरहेको छ ।

‘ठमेलको नाइटलाइफ ककटेल जस्तै हो’, ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङ भन्छन् ।

उनी सहि छन्, ठमेल आफैमा अनेक स्वादको समिश्रण हो । त्यहाँ कोहि अयलाको चुस्की लिँदै झ्याउरे भाका सुनिरहेका छन्, कोहि ब्रान्डेड ह्वीस्की घुट्काउँदै हार्ड रकमा झुमिरहेका छन् । कोहि देउडाको तालमा नाचिरहेका छन्, कोहि बेली डान्समा लय मिलाइरहेका छन् ।

ढिंडो-गुन्द्रुकदेखि पिज्जा, बर्गरसम्मको स्वाद पस्किरहेको छ ठमेल ।

बेइजिङ डकको स्वाद लिन चीन पुग्नुपर्दैन, बुल्गोगीको तलतल मेट्न कोरिया जानुपर्दैन । सुशी चाख्न कोरीया पुग्नुपर्दैन, तोमयाम सुप पिउन थाइल्यान्ड जानुपर्दैन । ठमेल पुगे हुन्छ ।

हामी ‘नगरकोट लोकदोहोरी’मा पुग्दा गुन्यू-चोलीमा ठाँटिएकी युवतीहरु ढोकामै स्वागत गर्न आइपुग्छन् । उनीहरुको ‘कमर्सियल नमस्कार’सहितको आतिथ्य ग्रहण गरिरहँदा स्टेजमा पूर्वेली लोक भाका गुञ्जिरहेको हुन्छ, ‘काफल गेडी कुटुक्कै, भइयो भुतुक्कै ।’

स्टेजको एक लहरमा गाउनेहरुको पंक्ति छ, अर्कोतिर नाच्नेहरुको । यता गीत गाइरहेका छन्, उता ताल मिलाउँदै नाचिरहेका छन् । स्टेजको ठीक अघिल्तिर नाँच्नेहरुको जमात पनि कम छैन । त्यहाँ केहि बिदेशी पनि मिसिएका छन् ।

हामी त्यहाँको दृश्य कैद गर्न खोज्छौं, तर केहि जोर आँखा हामीमाथि निगरानी राख्छ । कुनामा छलिएर अधरपान गरिरहेका एक कामुक जोडी सतर्क हुन्छन् । बियरको चुस्कीसँगै केहि युवतीसँग छिल्लिइरहेका ‘जेन्टल म्यान’ असहज मान्छन् ।

‘ड्रिंक्स के लिनुहुन्छ ?’ एक मस्त जवान युवती हामीकहाँ आइपुग्छिन् । हामी मिनरल वाटर अर्डर गर्छौं । अर्की युवती आउँछे र उहि प्रश्न दोहोर्‍याउँछे, ‘ड्रिंक्स के लिनुहुन्छ ?’ त्यहाँ बसिरहँदा हामी पटक-पटक यहि प्रश्नको सामना गरिरहन्छौं ।

इबिजा लाउन्जमा प्रवेश गरिरहँदा एक हुल किशोर-किशोरी गेटमै रोकिएर भित्रको दृश्य नियाल्दै छन् । निख्खर कालो गेटअपमा तैनाथ बाउन्सरले उनीहरुलाई भित्र पस्न दिएका छैनन् ।

भित्रको मादक चमकधमक हेर्नलायक छ । केहि तन्नेरी जोडी हातमा वाइन लिएर उन्मुक्त नाचिरहेका छन् । रंगीचंगी प्रकाशको उज्यालोमा डान्स फ्लोरको चमक नाचौ-नाचौ लाग्ने खालको छ । इबिजाले वाइन, बियर, स्न्याक्ससँगै लाइभ म्युजिक पस्किरहेको छ । त्यहाँ तैनाथ ब्यान्ड गाइरहेका छन्, ‘तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर…।’

इबिजाका कार्यकारी निर्देशक मानचिन शाक्य त्यही सांगीतिक माहौलमा हामीसँग गफिन्छन् ।

‘दिनभर काममा खटिनेहरुलाई राती रिल्याक्सेसनका लागि कहाँ जाने भन्ने पिर छैन,’ उनले भने, ‘यहाँको नाइट लाइफ बेटर अप्सन हो ।’

पछिल्लो पुस्ता रात्रि जीवनमा अभ्यस्त हुँदै गएको उनको बुझाइ छ । बिहान उठ्यो काममा जानुपर्ने, दिनभर काममै व्यस्त, राती घर फर्कियो खानपान गर्‍यो सुत्यो । अब यस किसिमको एकनासे रुटिन फेरिँदै गएको छ ।

‘हेर्नुहोस् त केटाकेटी मात्र होइन, बिजनेस म्यान, कलाकार, कर्मचारी सबै आएर रमाइलो गर्न थालेका छन्,’ उनी भन्छन् ।

‘रमाइलो कसरी गर्छन् ?’ हामीले प्रश्न गर्‍यौं ।

उनले सटकट जवाफ दिए, ‘नाचेर ।’

‘पप्पु कान्ट डान्स साला’

‘ओ, आऊ नाच्न’ बियरको चुस्की लिइरहेकी एक युवती एकाएक हौसिन्छिन् । छेवैका युवक आनाकानी गर्छन्, ‘नाच्न आउँदैन ।’

‘नाच्न पनि आउनुपर्छ !’ यसो भन्दै युवती उसलाई डान्स फ्लोरमा पुर्‍याउँछिन् ।

ब्यान्डले चर्को अंग्रेजी गीत घन्काइरहेकाे छ । उनीहरु त्यसैको तालमा ताल मिलाउँछन् । फर्मल वेयरमा देखिने एक मोटोघाटो अधवैंशे पनि मस्त नाचिरहेका छन् । कोहि गीतको तालमा ताल मिलाएर नाचिरहेका छन् । ढंग नपुगे पनि नाँच्न तम्सनेहरु ‘स्लो मोशनमा’ जीउ हल्लाइरहेका छन् । हातमा मदिराको गिलास लिएर रमिते बनेकाहरुको जीउ पनि स्थिर छैन, स्वतस्फूर्त हल्लिरहेको छ ।

‘नाच्न जान्नैपर्छ भन्ने छैन,’ मानचिन भन्छन्, ‘यसै हल्लिए हुन्छ । मिठो खाएर, पिएर मात्र पुग्दैन, नाच्नु पनि पर्छ । दारु र डान्स एकअर्काको पूरक हुन् ।’

मानचिनको जस्तै मनोविज्ञानले होला, ठमेलका रात्री क्लबको मेनुमा स्वादिलो स्न्याक्स, मदिरासँगै लाइभ म्युजिक पनि समेटिएको छ ।

ठमेल घन्काउनेहरु

जब रात छिप्पिँदै जान्छ, उनीहरु जाग्छन् । गिटार भिर्छन् र ठमेलको रंगीन रातमा मिसिन्छन् । ठमेलका पव, लाउन्ज, रेष्टुराँहरुमा आगन्तुकको फर्माइस अनुसार गीत सुनाउँछन् । चाहे त्यो लोक भाका होस् वा हार्ड रक । गिटारको धुनमा मच्चिइ-मच्चिइ रातभर गाएपछि उनीहरुको ‘ड्युटी’ पूरा हुन्छ । पव व्यवस्थापकबाट पारिश्रमिक बुझ्छन् । र चुपचाप अध्याँरो रातमा बिलाउँछन् ।

ठमेल, जहाँ रात्रिकालिन संगीत पस्कनकै लागि युवाहरुले व्यान्ड बनाएका छन् । कोहि पर्पल हेजमा गाउँछन्, कोहि टम एन्ड जेरीमा । कोहि ‘शिशा बार’मा त कोहि ‘द फ्याक्ट्री’मा । यी पव एवं वारले आफ्ना ग्राहकका निम्ति हुक्का, पेय र कन्टिनेन्टल आइटमसँगै लाइभ म्युजिक पस्कन्छन् ।

रमाइलो त के भने, यहाँ लाइभ म्युजिकका लागि दर्जनौं व्यान्ड स्थापना भएका छन् । उनीहरुको आफ्नो गीत छैन, एल्बम छैन । सार्वजनिक पनि हुँदैनन् । गुपचुप ‘कभर सङ्ग’ गर्छन् । खल्ती भर्छन् । ‘एक रात गाउँदा ५ हजारदेखि १५ हजारसम्म पाइन्छ,’ द ब्ल्याक हकका भोकलिष्ट सावन देव भन्छन्, ‘कम्तीमा व्यान्डको एउटा सदस्यले रातको एक हजार कमाउँछ ।’

सुपर ट्रम, अशेष एन्ड नेख्वं, फायर टङ, रक हेड्स, इलेक्ट्रिक्स, ब्ल्याक हक, स्वतन्त्र, स्टि्रङ्ग, साइन, अस्ट्रलर, ओभर ड्राइभ, हाइ फो जस्ता दर्जन बढी व्यान्ड रात्रिकालिन संगीतका लागि चलायमान छन् ।

‘ठमेलको नाइट लाइफले एकातिर रमाउने माहौल बनाइदिएको छ,’ ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङ भन्छन्, ‘अर्कोतिर रोजगारको व्यापक अवसर पनि सिर्जना गरेको छ ।’

ठमेलमा रात्रिकालिन संगीत पस्कनेहरुमा व्यान्ड मात्र छैनन्, डिजेहरु पनि उत्तिकै छन् । डिजे शिशिरको दावीलाई पत्याउने हो भने हरेक रात त्यहाँ तीन दर्जन हाराहारीमा डिजेले आगन्तुक नचाइरहेका हुन्छन् ।

ओपन सेक्रेट

‘चाहिन्छ दाई ?’

केहि क्षणको गन्थनपछि स्वप्न बगैंचा नजिकै रोकिएको ट्याक्सीका चालक सोध्छन् । हामी निशंकोच प्रतिप्रश्न गर्छौं, ‘कति ?’

‘अलि महंगै छ,’ चालक भन्छ, ‘१२ हजार ।’

हाम्रो क्यामेरा देखेर हुनुपर्छ उनी आफ्नो कुरालाई यूटर्न गर्छन् ‘तर, पाउन चाहिँ गाह्रै छ । अहिले यहाँ पुलिसले बस्नै दिँदैन, खेदिहाल्छ ।’

मदिराले लठ्ठ केहि युवा ज्याठातर्फ लाग्छन् । बत्तीकै पोलमा लस्करै उभिएर मुत्र विसर्जन गर्छन् । अलि परतिर केहि युवती ट्याक्सी चालकसँग केहि भन्दैछन् । सम्मुखमा कामुक सनी लियोनीको तस्वीर देखिन्छ । त्यहाँ लेखिएको छ, ‘ठमेल किचेन डान्स क्लब ।’

‘मसाज सेन्टर’ अंकित बोर्डले पनि ग्राहक आमन्त्रण गरिरहेका छन् । त्यही मोडबाट एउटा चल्तापूर्जा मोबाइल व्यवसायी गाडीमा ठमेल चोकतर्फ हुइँकिन्छन् ।

हल्ला के छ भने, ठमेल यौनजन्य गतिविधिको अखडा हो । त्यसो त ठमेल आफैमा यौन र अपराधको गञ्जागोलमा फसेको छ । ‘ठमेललाई हेर्ने मानसिकता चेन्ज भएको छैन । अहिले पनि कतिपय यहाँ आउन हच्किन्छन्,’ मानचिन भन्छन् ।

ठमेल चोकमा तीन विदेशी तमासा देखाइरहेका छन् । एक कालो वर्णका र दुई गोरा । एक युवती, दुई युवा । उनीहरु भनाभन गर्छन्, चर्काचर्की गर्छन् । फिटिङ्स ट्राउजरमा देखिएकी युवतीको शिरदेखि पाउसम्म नियाल्दै केहि नेपाली बटुवा उनीहरुलाई पछ्याइरहेका छन् । सञ्चयकोष भवन अघिल्तिर आइपुगेपछि अमेरिकी दूतावासको लक्जरियस गाडी आइपुग्छ । उनीहरु फटाफट चढ्छन् । गाडी केशरमहलतर्फ बत्तिन्छ ।

स्वप्न बगैंचाको भित्तामा अडेसिएका केहि जोडी हाम्रो आँखा सामुन्ने देखापर्छ । हेभी मेकअप गरेका, कामुक पहिरन लगाएका उनीहरु अघिल्तिर हिँड्ने युवाहरुसँग खासखुस गरिरहेका छन् ।

फुटपाथका फण्डाहरु

एउटा बार अघिल्तिर मदिराले झ्याप युवा कराइरहेका छन्, ‘म शिखर सुजको कर्मचारी, शिखर सुजको ।’

उसैगरी मदिराले लठ्ठ अर्को युवा सटरमा अडेसिदै चुरोट किनिरहेका छन् । नाङ्लोमा चुरोट, पराग र चाउचाउको बिस्कुन लगाएकी महिला हामीसँग गुनासो गर्छिन्, ‘कोहि मातेका मान्छे आउँछन्, थर्काउँछन् । रातभरी डराई-डराई व्यापार गर्नुपर्छ ।’

उनको छेवैमा अर्का अधवैंशे छन् जो थर्मसमा चिया र हटकेसमा रोटी राखेर बिक्री गरिरहेका छन् ।

‘हेर्नु न सर, गरिखान पनि पाइँदैन । ग्राहक पनि कस्ता कस्ता,’ उनीहरु भन्छन् ।

उनीहरु दम्पती रहेछन् । आयआर्जनको स्रोत भनेकै ठमेलको रात्री बजार रहेछ । राती ९ बजेदेखि बिहान २ बजेसम्म रातभर चिसो पिंढीमा बसेर दुई/चार रुपैयाँ आर्जन गर्ने रहेछन् । त्यसैले दुई बच्चालाई हुर्काइरहेका रहेछन् ।

‘हामी यहाँ आउँदा बच्चालाई बाहिरबाट चुकुल लगाइदिन्छौं,’ साना बच्चालाई किन एक्लै छाडेको भनेर सोध्दा उनीहरुको जवाफ थियो, ‘के गर्नु अरु उपाय छैन ।’

अधवैंशे पुरुषको नाम कृष्ण खत्री । दुबै खुट्टा काम नलाग्ने ।

‘भारी बोकेर, बलको काम गरेर खान सकिँदैन हजुर,’ उनी बिलौना गर्छन्, ‘कमाउने बाटो यहि एउटा छ, त्यसमा पनि पुलिसले लखेटेको, लेखेटेकै गर्छ । जीविका धान्नै धौधौ ।’

आफू अपाङ्ग भएको बताउँदा पनि प्रहरीले दया नगर्ने भन्दै उनी हामीसँग सोध्छन्, ‘यहाँ काम गरेर पनि खान नपाउँने ? यहि भित्र अपराध गर्नेहरु छन्, यौन व्यवसाय गर्नेहरु छन्, कालोबजारी गर्नेहरु छन्, उनीहरुलाई पक्राउ नगरेर किन हामीलाई मात्र खेदेको ?’ प्रहरीले लात्ति हान्ने, सामान फ्याँकिदिने गरेको बताइरहँदा उनको आँखामा आँसु भरीन्छ ।

(उनको प्रश्न भोलिपल्ट हामीले जस्ताको तस्तै ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङलाई सुनाएका थियौं ।)

‘अब सडक पेटीमै व्यापार गर्न दियो भने त्यहाँ हिँडडुल गर्नेलाई गाह्रो हुन्छ । यसो गर्न कानुनले दिँदैन । हामी कानुनसम्मत काम गर्ने हो,’ अध्यक्षको भनाइ थियो ।

तर, उनले यो पनि भनेका थिए, ‘ठमेलको नाइट लाइफलाई भव्य बनाउन अब स्ट्रिट फूडको पनि व्यवस्था गरिनेछ । बार, पव, रेष्टुरेन्टमा मात्र पस्नुपर्दैन, बाहिर सडकमै रमाइलो गर्न सकिनेछ ।’

लकेटमा लट्किएको जीवन

सडक पेटीमा लकेटको दोकान छ । त्यो दोकान एक विदेशीले थापेका रहेछन् । उनी ग्राहकको रोजाई अनुसार क्षणभरमै लकेट तयार गरी बेचिरहेका छन् । भियतनामीजस्ता देखिने एक जोडी लकेट खरिद गरिरहेका छन् । अर्का विदेशी नौजवान पनि घन्टौं त्यहीँ उभिएर लकेट किनिरहेका छन् ।

‘यो बिचरा गरिब रहेछ,’ छेवैको पेटीमा बसेका एक पण्डित भन्छन्, ‘पैसा कमाउन लकेट बेचेको रे ।’

‘प्रहरीले लखेट्दैन ?’, हाम्रो जिज्ञासा ।

‘लखेट्छ नि, बिचरालाई’ मृदुभाषी पण्डित भन्छन्, ‘पैसा कमाउन जे पनि गर्नु परिहाल्यो ।’

क्षणभरमै त्यहाँ प्रहरी भ्यान आइपुग्छ ।

‘के हो यो, के गरेको ?’, प्रहरीहरुले रुखो स्वरमा हकार्छन् ।

विदेशी व्यापारीले केहि बुझ्दैनन् वा बुझे पनि टेर्दैनन्, थाहा नपाएजस्तो गर्छन् । अलमलमा परेको प्रहरी भ्यान अघि बढ्छ ।

‘तर यहाँ देखिने व्यापार एउटा, भित्रै अर्को पनि हुन्छ,’ तिनै पण्डित भन्छन्, ‘त्यसैले प्रहरीसँग यिनीहरु डराउँछन् ।’

त्यहाँबाट अघि बढेपछि तीन/चार जना सडक बालबालिका भेटिन्छन्, जो दूधको प्लाष्टिक फुलाउँदै, सुँघिरहेका छन् । उनीहरु अँध्यारो सटर अघिल्तिर उभिएर केहि कुरा गर्छन् । फेरि बिन्दास उफ्रिँदै टम एन्ड जेरी पव अघिल्तिर पुग्छन् । बाहिरैबाट भित्रको गतिविधि नियाल्छन् ।

लेट नाइट एट ठमेल

घडीले रातको एक बजेको संकेत गर्छ । तैपनि ठमेल जागै छ । वायुमण्डलमा चुरोट, मदिरा र गाँजाको गन्ध मिसिएको छ । पारदर्शी झ्यालभित्र देखिन्छ, कोहि नाचिरहेका छन्, कोहि खाइरहेका छन् । भित्र घन्किएको गीत बाहिरसम्म सुनिन्छ ।

भिडमा सद्दे मान्छे पातलिँदैछन् । मदिराले मस्तहरुको संख्या बढ्दैछ । उनीहरु बेपर्वाह चुरोटको सर्को तान्दै हो-हल्ला मच्चाइरहेका छन् । ‘भोभो अब जाऔं । तिनीहरु झगडा गर्न खोज्दैछन्,’ एक युवती अर्का युवालाई सम्हाल्न खोज्दैछिन् ।

अब त्यहाँ संगीतको माधुर्यभन्दा युवाहरुको कर्कश आवाज चर्को बन्छ । ठाउँ-ठाउँमा युवाहरुको झुन्ड छ । कोहि लर्खराउँदै भित्ताको आड लिइरहेका छन् । कोहि ‘ननभेज’ गाली बर्साउँदैछन् ।

नर्थ फेस शोरुमको पेटीमा लस्करै केहि किशोर बसेका छन् । कोहि चुरोट तान्दैछन् । कोहि चुपचाप । उनीहरु झुम्म छन् । कुराकानी गर्न आनाकानी गर्छन् । सकेसम्म अनुहार लुकाउने प्रयासमा छन् । ‘कामबाट डाइरेक्ट यता आएको,’ अलि सद्दे जस्ता देखिने किशोर भन्छन्, ‘रमाइलो गर्नका लागि ।’

उनीहरु बि-बोइङ ग्रुप रहेछन् । केही कभर भिडियो पनि बनाइसकेका । ललितपुरको कुपन्डोलबाट रमाइलो गर्न ठमेल आएका रे । तर, उनीहरु धेरै खुल्न चाहेनन् । ‘राती ठमेल गएको भन्दा अलि नराम्रो सोच्छ क्या,’ उनीहरु तर्कन खोजे ।

सञ्चयकोष भवन अघिल्तिर ट्याक्सीको मेला लागेको छ । बकुल्लाले माछा ढुके जस्तै धैर्यतापूर्वक ग्राहक पर्खिरहेका छन् । त्यो पनि महंगो पार्किङ शुल्क तिरेर । केहि समय पार्किङ गरेको पाँच सय रुपैयाँ । रातभरको पाँच सय ।

दुई बजिसक्दा पनि ठमेल थोकेको छैन । केशरमहल तिरबाट आएको एउटा टयाक्सी चोकमै आएर रोकिन्छ । मदिराले मस्त एउटा जोडी टयाक्सीबाट ओर्लिन्छ । उनीहरु सायद थप मदिराको खोजीमा अन्यत्रबाट ठमेल आएका हुन सक्छन् ।

ट्याक्सीभित्र गुञ्जिरहेको छ उही चालु गीतः

‘लैजाउ घुमाउन मलाई ठमेल बजार

ट्याउसी चढाउँदै

लाइदिउँला चोखो  पियार…।’

तस्वीरः कमल प्रसार्इ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment