Comments Add Comment

जिउँदै ‘मोक्ष’ पाउने निर्देशकः विवाह मण्डपमै मदिराले झ्याप

जीवनबाट हारेर पनि जितेको एक युवकको कथा


काठमाडौं । रातभरि काममा व्यस्त हुँदा उनी ‘यसो हल्का टुच्च’ भन्दै मदिराको चुस्की लगाउँथे ।

यो त्यसबेलाको प्रसंग हो, जब प्रवीण श्रेष्ठ रातभर म्युजिक भिडियो सम्पादन गर्थे र दिनभर सुत्थे । रातभर बस्दा दारुपानी चाहिन्थ्यो । सितन चाहिन्थ्यो । मस्त पिउँथे, पिएरै काम गर्थे ।

‘मोक्ष’का निर्देशक प्रवीणले एक रात म्युजिक भिडियो सम्पादनका क्रममा पेगमाथि पेग चढाएछन् । बिहानसम्मै ‘एडिटिङ’ र ‘डि्रंकिङ’को क्रम चलिरह्यो ।

उज्यालो भयो । एक्कासी ढोकामा प्रेमिका देखा परिन् । उनी त आफ्ना लुगाफाटो झोलाभरि कोचेर आएकी रहिछन् ।

प्रेमिकालाई त्यस्तो अवस्थामा देखेपछि प्रवीण फ्ल्यासब्याकमा पुगे ।

आफ्नो सदा ख्याल राख्ने प्रेमिकालाई कुनैबेला उनले भनेका थिए, ‘तिमी मसँग बिहे गर्छौ भने आऊ, गर्दैनौ भने नआऊ ।’

प्रवीणले सोचेका थिएनन्, प्रेमिका यसरी आइपुग्छिन् भनेर । तर, नसोचेको भयो ।

‘रातभरि मातेर बसेको, अब के गरौं, के नगरौं भयो,’ प्रवीणले सम्झिए, ‘अनि, साथीसँग सल्लाह गरेर भाग्ने तयारी गरियो ।’

साथीले उनलाई हि्वलचियरमा राखेर के भगाउन लागेका थिए, भिनाजुले थाहा पाइहाले । भिनाजु उनीहरुको अघिल्तिर प्रकट भए । र, अर्का भाइलाई भने, ‘जाऊ रक्सी किनेर ल्याऊ ।’

आधा बोतल रक्सी ल्याएर प्रवीणलाई दिइयो । उनले पिए । रातभरको ह्याङ हटेकै थिएन । त्यसैमा थपे । यतिबेलासम्म घर परिवारले दुलही भित्र्याउने मेलोमेसो मिलाइसकेको थियो । बाहुन बोलाइएको थियो । परिवारका सदस्यलाई खबर गरिसकिएको थियो । प्रवीण उम्कनै पाएनन् ।


‘रक्सी पिएपछि त मैले कम्ती रमाई-रमाई बिहे गरिनँ,’ यति भनेर प्रवीण मज्जाले हाँसे ।

उनलाई दिसा, पिसाब रोक्न नमिल्ने । बाहुनको अगाडि बसेपछि क्षण-क्षणमै औंलाले इशारा गरेर भन्थे रे, ‘एक छिन है बाजे ।’

विवाह भयो । सन्तान जन्मिए । तर, अहिलेसम्म उनले आफ्नो परिवारलाई कतै घुमाएका छैनन् ।

‘यसपालिचाहीं पोखरा लैजाँदैछु,’ आफ्नै सम्पादन कक्षमा गफिइरहेका प्रवीणले भने, ‘यतिका वर्षसम्म न हनिमुन मनाइयो, न त कतै घुम्न गइयो ।’

जब चुँडियो गिटार

चलचित्रको कथाजस्तै भइदियो उनको जीवन पनि । जब चलचित्र बनाए, आफ्नै जीवन भोगाइलाई पर्दामा उतारे ।

चलचित्र थियो, मोक्ष ।

‘मोक्ष’को भने पनि प्रवीण श्रेष्ठको भने पनि, त्यो एउटा युवा सपनाको कथा थियो, जो पखेटा हालेर खुला आकाशमा बेग हान्न चाहन्छ । तर, भवितव्य यस्तो आइलाग्छ कि उडान भर्न खोज्दा खोज्दै उसको पखेटा काटिन्छ । भुइँमा थेचारिन्छ, फेरि कहिल्यै उड्न नसक्नेगरी ।

हिँडडुल गर्न हि्वलचियरको सहारा लिनुपथ्र्यो तर उनलाई साथीहरुले एक्लोपनको पीडाबोध गर्ने मौका नै दिएनन् ।

हो, कुनैबेला प्रवीण खुला आकाशमा स्वच्छन्द उड्ने पंक्षीझैं थिए । जिन्दगीको क्यानभासमा खुशीका रंगहरु मात्र पोतिएका थिए ।

पप संगीतको लहड चलेको थियो । गितारका कर्डमा युवा औंला अभ्यस्त गराउँथे । ब्यान्ड खोल्थे ।

सलिल सुवेदी, प्रवीण श्रेष्ठलगायतको पनि यस्तै टोली थियो । हरेकको हातमा गितार हुन्थ्यो । बजाउँथे, गाउँथे । गीत कोर्थे, कम्पोज गर्थे । यस्तैमा उनीहरुले ब्यान्ड बनाए । प्रवीण लिड गितार बजाउँथे । गीत कम्पोज गर्थे । त्यो अन्डरग्राउन्ड ब्यान्डजस्तै थियो ।

उनीहरु सानोतिनो कन्र्सट गर्थे । चिया पसलमा भेला भएर संगीतको चर्चा गर्थे । एकसाथ खान्थे, एकसाथ घुम्थे । सोच्थे, कुनै दिन हाम्रो ब्यान्ड चर्चित बन्नेछ, हाम्रो नेम र फेम हुनेछ ।
दशैंको बेला । घटस्थापनाको केही दिनअघि । कन्सर्टको मौसम थियो । प्रवीणको ब्याण्डले भ्याली स्कुलमा कन्सर्टको आयोजना गर्‍यो । ब्यान्डका भोकलिस्ट सलिल त्यही दिन जापानको ओसाका जाने तयारीमा थिए । उनलाई पुर्‍याउन विमानस्थल जाने सल्लाह भयो, राति ११ बजेे ।

लोडसेडिङ थियो, सर्वत्र अध्याँरो । रातको साढे आठ बजेतिर प्रवीण महाराजगञ्ज, चक्रपथमा साथीको बाइक कुरिरहेका थिए । त्यत्तिकैमा तरबार, चेन, रड बोकेका अपरिचित केटाहरु आए । अन्धाधुन्द प्रवीणमाथि प्रहार गर्न थाले । उनी रक्ताम्य भएर ढले । केहीबेरमै साथीभाइले उठाएर उनलाई नजिकैको शिक्षण अस्पतालमा पुर्‍याए ।

शरीरभरि चोटैचोट, खुट्टादेखि शिरसम्म ।

‘संयोगले बाँचे,’ प्रवीणले भने, ‘तिनीहरुले मार्ने हिसाबले नै हिर्काएजस्तो लाग्छ ।’

किन ? केही रिसइवी थियो ?

खासमा, प्रवीण यस्तो घानमा पिसिए, जोसँग उनको कुनै साइनो-सम्बन्ध थिएन । उनका अनुसार त्यहाँ केही समयअघि ग्याङ फाइट भएको रहेछ । बदला लिन फेरि त्यही ठाउँमा आएको अर्को कुनै ग्याङले उनलाई नै विरोधी ग्याङको मान्छे ठानेर हमला गरे, बिनाकसुर ।

यसरी अनाहकमा पाएको चोटले उनको सारा सपना भताभुंग बनाइदियो । उनको मेरुदण्डमा चोट पुगेछ ।

‘स्पाइनल कर्ड इन्जुरी हो,’ चिकित्सकको भनाइ उनलाई निकै कठोर लाग्यो, ‘अब दुई वर्षसम्म जति ठीक हुन्छ, त्यही मात्र हो, नभए यस्तै हुन्छ ।’

‘यस्तै हुन्छ’ अर्थात्, उनी अब तंगि्रएर हिँडडुल गर्न नसक्ने भए । स्टेजमा उक्लिएर गितारको धुन सुनाउन नसक्ने भए । साथीभाइसँग बाइकमा बत्तिएर बिन्दास यात्रामा जान पनि नसक्ने भए । उनको निम्ति संसार साँघुरियो । कोठाको चौघेराभित्र आफ्ना खुबी, दुःख, पीडा, रहर सबै खुम्च्याउनुपर्ने अवस्था आयो ।

उराठलाग्दा दिनहरु

अस्पतालको पट्यारलाग्दो बसाइपछि प्रवीणलाई घर पुर्‍याइयो । उनी घरकै कोठामा थन्किए । हिँडडुल गर्न हि्वलचियरको सहारा लिनुपथ्र्यो ।

‘त्यसबेला मेरा साथीहरु नभइदिएको भए,’ प्रवीण अलि भावुक भए, ‘सायद म कुन अवस्थामा पुग्थें, कल्पना गर्न सक्दिनँ ।’

उनलाई साथीहरुले एक्लोपनको पीडाबोध गर्ने मौका नै दिएनन् । दिनभर आएर घरमै बसिदिन्थे । रमाइला गफ गरिदिन्थे । उत्साहका कुरा गरिदिन्थे । सपनाका कुरा गरिदिन्थे ।

साथीहरुको उपस्थितिमा उनले आफैंलाई भुले । आफ्नो पीडा भुले । हि्वलचियरमा राखेर डोर्‍याउने, ओछ्यानबाट उठाउने सबै काम साथीहरुले गरिदिए । साथीहरुको यस्तो प्रेमपूर्ण व्यवहारले उनी पुल्पुलिए ।

जब रात छिप्पिँदै जान्थ्यो । साथीहरु लाखापाखा लाग्थे । उनी क्रमशः एक्लिँदै जान्थे । त्यसपछि भने उनी आफ्नै जीवनतिर फर्किन्थे । अब उनलाई असह्य पीडाले गाँज्थ्यो ।

के गरौं, कसो गरौं उकुसमुकुस हुन्थ्यो । ती चिसा रातहरुले उनलाई क्रमशः चिन्ताको भूमरीमा फसाउँदै लगे । उनी डिप्रेसनग्रस्त भए ।

उनी कुन हदसम्म परनिर्भर भएका थिए भने सानोभन्दा सानो काममा पनि साथीहरु नै खोज्थे । आफूले गर्नसक्ने कामसमेत साथीलाई अह्राउन थाले ।


सम्हालिएको जिन्दगी

एक दिन उनी पलङबाट भुइँमा खसे । साथीहरुले उठाउन खोजेका थिए । तर, सदा प्रवीणको हेरचाहमा खटिएका साथी मोहनले अरुलाई रोके । उनले भने, ‘छाडिदेउ, उसलाई सहयोग नगर ।’

साथीको यो बचन प्रवीणलाई साह्रै रुखो लाग्यो ।

उनी उठ्न खोजे । जिउ असाध्यै दुख्यो । साथीभाइसँग गुहार मागे । तर, कसैले उनलाई साथ दिएनन् । उनलाई एकदमै चित्त दुख्यो । अन्ततः सकिनसकी आफैं उठे । र, पलङमा उक्लिए ।

तर, पछि उनले बुझे, साथीहरुले ठीकै गरेका रहेछन् । खासमा मोहन लन्डन जाँदै थिए । उनी सधैं प्रवीणलाई साथ दिन सक्दैनथे । त्यही कारण उनी चाहन्थे, आफू विदेश गएपछि प्रवीणले दुःख नपाउन् । आफैं सुत्न र उठ्न सकुन् ।

साथीहरुको यस्तै सदिक्षाले उनी उठे । खुट्टाले टेको नदिए पनि उनको आत्मबल ठिंग उभियो । आफू ‘असक्षम छु’ भन्ने लाग्दै लागेन ।

एकदिन रेडियोकर्मी तथा म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठ उनीकहाँ आइपुगे । सुरजले नै हो प्रवीणको खुशीमा प्राण भरिदिएको । उनले हौसला दिँदै भने, ‘तिमी यहीं बसेर पनि सबै काम गर्न सक्छौ, एडिटिङको, ग्राफिक्सको ।’

घरमा थलिएर बसेका बेला प्रवीणले ती काम सिकेका थिए । सुरजको भनाइलाई उनले अनुसरण गरे । विस्तारै उनी कामको लयमा फर्किए । म्युजिक भिडियो, टीभीसी सम्पादन गर्न थाले ।

‘वास्तवमा सुरज दाइले मलाई जहिले पनि हौस्याइरहनुभयो,’ प्रवीण भन्छन्, ‘उहाँकै कारण म तंग्रिएँ ।’

दुःखको कुरा, यतिबेला सुरज स्वयं भने थलिएका छन् । उनी शारीरिक समस्याले उठ्नै नसक्ने भएका छन् ।

‘हिजो जसले मलाई खुशी बन्ने स्रोत खोजिदिनुभयो, आज उहाँकै खुशी हराएको छ,’ प्रवीण भन्छन्, ‘मेरो पो घरको आम्दानी थियो, परिवारबाट पालिएको थिएँ । उहाँ त आफ्नो कमाइले परिवार पाल्नुपर्ने मान्छे । अहिले कस्तो भइरहेको होला ?’

‘मोक्ष’ले उनलाई नयाँ चिनारी त दियो, फिल्मको व्यापार भने चौपट भयो ।

मोक्ष: आफ्नै चित्र

एकदिन प्रवीणलाई जोरपाटी पुर्‍याइयो । त्यहाँ उनीजस्तै शारीरिक समस्या झेलिरहेकाहरु थुप्रै थिए । हि्वलचियरलाई आफैं गुडाउँदै हिँड्ने साथीहरु देख्दा उनलाई लाग्यो, ‘अहो Û उनीहरुमा यति आँट छ भने म किन गल्ने ?’

उनको मनमा अनौठो ऊर्जा सञ्चार भयो । उनलाई देखेर अरुले उर्जा प्राप्त गरुन् भनेर नै परिवारजनले त्यहाँ लगेका थिए । स्पाइनल कर्ड इन्जुरीको समस्या झेलेर पनि ग्राफिक्स, एडिटिङको काम गरिरहेको र आयआर्जन गरिरहेको आफ्नो कथा अरुलाई सुनाउन उनी गएका थिए ।

‘उनीहरुलाई प्रोत्साहित गर्न गएको म,’ प्रवीणले भने, ‘उल्टै म उनीहरुबाट उत्साहित भएँ ।’

शारीरीक रुपमा अशक्त व्यक्तिहरुका लागि सहज हुने खालको संरचना बनाउन र जीवनयापन सहज गराउन प्रवीणले राज्य र सम्बन्धित निकायसमक्ष दबाबमुलक भूमिका निर्वाह गर्नसक्ने सल्लाह त्यहाँका साथीहरुले दिए । उनीहरुको भनाइ थियो, ‘तिमी मिडियामा छौ, तिमी हाम्रो पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्नसक्छौ ।’

अब के गर्ने त ?

प्रवीण अरुको माझ बोल्न सक्दैनथे । उनले भिडियोको माध्यमबाटै यावत् आवाज उठाउने निक्र्योल गरे । र, सोचे एउटा वृत्तचित्र तयार गर्ने ।

तर, वृत्तचित्र कतिले हेर्छन् ? यसले कति प्रभाव पार्छ ?

यस्तै प्रश्नले लखेट्दै उनमा फिल्म बनाउने सोच पैदा गरिदियो । उनले मनमनै टुंगो गरे, ‘अब फिल्म बनाउँछु ।’

अनि, यसरी जन्मियो, चलचित्र मोक्ष ।

‘मोक्ष’ले उनलाई नयाँ चिनारी दियो । उनले नव-निर्देशकको रुपमा अवार्ड थापे । फिल्मको व्यापार भने चौपट भयो । उनले सुटुक्कै लिएको बैंक कर्जा चुकाउन निकै समय खर्चिनुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment