Comments Add Comment

नेपाल र भारतका सुरक्षा निकाय ‘हाई अलर्ट’

सीमा सुरक्षाका बारेमा जानकारी गराउँदै पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह ।

७ मंसिर, वीरगञ्ज । नेपाल र भारतका सुरक्षा अधिकारीहरु मंसिर २१ गते हुने प्रदेश र प्रतिनीधिसभा चुनावमा ‘हाई अलर्ट’मा रहन सहमत भएका छन् ।

वीरगञ्जको भिश्वा होटलमा बिहीबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकमा दोस्रो चरणमा हुने निर्वाचनको सुरक्षालाई चुस्त बनाउन कुनै कसर बाँकी नराख्ने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

झण्डै अढाई घण्टा बसेको बैठकमा निर्वाचनमा हुन सक्ने असुरक्षाका गतिविधिहरुलाई निस्तेज पार्न दुवै देशका सुरक्षा अधिकारीहरुबीच आपसी समन्वय र सहकार्य गर्ने, सीमा वारपार अपराधिक गतिवधि नियन्त्रणका लागि सर्तक रहने, लागु औषध र मानव ओसार पसारलाई नियन्त्रण गर्ने, सूचना रपारस्परिक सहयोग आदानप्रदान गर्ने र निर्वाचनको दिन अघि ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको उनले बताए ।

मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावलाई शान्ति पूर्ण र भयरहित बनाउन भारतीय सिमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुसँग गम्भीर छलफल भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए ।

”खुल्ला सीमा भएका कारण निर्वाचनको समयमा गलत मनसायका साथ पनि मानिसहरु आउन जान सक्छन् । शान्ति सुव्यवस्थालाई खलल पुर्‍याउने गतिविधिहरु हुन सक्छन् ।’ बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘सुरक्षा निकायलाई हाई अलर्टमा राख्न दुवै देशका सुरक्षा अधिकारीहरुले लिखित रुपमै सहमति गरेका छन् ।”

निर्वाचनमा कुनै किसिमको अपराधिक गतिविधि नहोस, अवैध हात हतियार ओसार प्रसार गर्ने, मानिसको जिउ धनको क्षति पुर्‍याउने काम नहोस भनेर सुरक्षा निकाय सचेत रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । त्यसका लागि दुवै तर्फ चेकजाँचमा कडाइ गरिने छ ।

बैठकमाभारतसँग सीमा जोडिएको पूर्वमा नवलपरासीदेखि पश्चिममा रौतहटसम्मका जिल्लाका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुखहरु तथा भारत बिहारको पश्चिमी र पूर्वी चम्पारणका सुरक्षा अधिकारीहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment