Comments Add Comment

प्रचण्डज्यू, अझै रुनुहोस्

विपश्यना ध्यान गर्नेहरुले यो कथा बिर्सनै सक्तैनन्ः

कथामा एक महिलाको बुढेसकालमा छोरो जन्मन्छ । छोरो जन्मेको केही समय नबित्दै उनका श्रीमानको मृत्यु हुन्छ । वरवर आफन्तको नाउँमा कोही हुँदैन । बाँच्ने साहाराको नाउँमा एउटै छोरो हुन्छ ।

छोरो नै उनको मुटुको धड्कन ! एक दिन त्यो छोरोलाई हनहनी ज्वरो आउँछ र एकैदिनको ज्वरोले छोराको मृत्यु हुन्छ ।

बुढेसकालको आधार एउटै सन्तान, आफन्तको नाममा कोही छैनन् । बुढीआमा छोराको मृत्यु भएको स्वीकार्न सक्तिनन् । मरेको छोरालाई ‘यो मरेको छैन, कोही भनिदेउ न, यो मरेको छैन’ भन्दै मरेको छोरो काखीमा बोकेर हिँडेको देख्दा देख्ने दुनियाँको पनि आँशु थामिँदैन ।

संयोगले गौतम बुद्ध त्यही गाउँमा ध्यान शिविर चलाउँदै आएका थिए । कोही दयालुले ती दुःखी बुढीआमाको दु:ख हेर्न नसकेर गौतम बुद्धको शरणमा पुर्‍याइदिए ।

बुद्धले बुढीआमाको मरेको छोरो बचाइदिने बाचा गरे । तर, उनको एउटा सानो सर्त थियो – वरपर वा जहाँको गाउँबाट भए पनि थोरै तोरीका दाना खोजेर ल्याउन बुढीलाई भने । आफ्नो मृत सन्तान बाँच्ने आशामा बुढीआमैले तत्काल् सर्त मन्जुर गरिन् ।

जाँदाजाँदै बुद्धले यो पनि भने– ‘तोरी त ल्याउनु तर यस्तो घरको लिएर आउनु कि जसको घरमा कसैको मृत्यु नभएको होस्, अनि मात्र म तिम्रो मरेको छोरो बचाउन सक्छु । ’

प्रचण्ड ज्यू, यो प्रसङ्ग उल्लेख गरिरहँदा म तपार्इंलाई सम्झिरहेछु । अनि तपार्इंलाई भन्दा बढी भर्रखरै छोरो गुमाएकी तपाईंकी श्रीमती, ‘ती बुढीआमा’लाई । र, सम्झिरहेछु तपाईंको सिंगो परिवारलाई पनि ।

चितवनको आमसभामा श्रीमतीसहित जानुभएछ तपार्इं । उता सभा चल्दैछ, यता तपाईंकी पत्नी छोराको सम्झनाले डाँको छोडेर रुन थाल्नुभएछ ।

प्रचण्डज्यु, मसँग बारम्बार विपश्यना ध्यान गर्दाका अनुभव छन् । दुःख पनि आउँछ, सुख पनि आउँछ तर न दुःख रहन्छ न तपाईंले खोजे जस्तो सुख नै रहन्छ ।

फेसबुकका भित्ताहरूमा आमा रोएको त्यो दृश्य हृदयविदारक थियो । वास्तविक त अझ कस्तो हुँदो हो ! हुन पनि जवान छोरो गुमाएको आलो घाउ छ उनको मातृहृदयमा ।

म विगतमा फर्कन चाहन्न । १७ हजार छोराछोरी मारिएको दोष तपार्इंलाई लाग्छ कि लाग्दैन, म त्यसतर्फ जान्न । त्यसको उत्तर त इतिहासले देला ।

तर, यतिबेला तपाईंको मुटुको धड्कन नै रोकिएला जस्तै भएकोे छ । जवान छोरो गुमाएकी आमालाई सम्झाउने कुनै शब्द छैन तपाईंसँग । फेरि शब्दले मनको घाउ निको पनि हुने पनि होइन प्रचण्डज्यू ।

जीवनभरि राजनीति गर्नुभयो । सुन्दा लाग्छ, हाम्रै लागि राजनीति गर्नुभयो । तर, अफसोच, तपार्इंले गरेको राजनीतिले हाम्रो जीवनमा तात्विक फरक भने पारेको छैन ।

तपाईंहरूको दाबी त त्यही छ, तर मलाई त्यो भान छैन । खैर, यो आरोप–प्रत्याआरोपको घडी पनि होइन ।

हुन त यो लेख लेख्ने मान्छे कुनै ज्ञानी, सन्त या कुनै महात्मा होइन, जो ‘शोकमा डुबेको सम्राट’ लाई सल्लाह र सुझाव दिने हैसियत राखोस् ।

तर, प्रचण्डज्यु, मसँग बारम्बार विपश्यना ध्यान गर्दाका अनुभव छन् । दुःख पनि आउँछ, सुख पनि आउँछ तर न दुःख रहन्छ न तपाईंले खोजे जस्तो सुख नै रहन्छ । हेर्नुहोस्, एकपटक बुढानीलकण्ठको ध्यान शिविरमा गएर आफूलाई ध्यानस्थ बनाएर हेर्नुहोस् ।

जन्मेदेखि आजसम्म संसार हेर्नुभयो, संसारका अनेक लीला हेर्नुभयो । विध्वंश, रक्तपात र हाहाकारदेखि ‘विकास’ सम्म हेर्नुभयो । तर, के कुनै दिन आँखा चिम्लेर आफैंलाई हेर्नुभयो ?

देश र दुनियाँ बदल्न हिँड्नुभएको तपाईंले आफ्नै शरीरभित्र केके बदलिइरहेछ, कहिल्यै हेर्न भ्याउनुभयो ? यो मौका हो । हुनसक्छ तपाईंलाई समयले दिएको अर्काे मौका । एकपटक आफूलाई हेर्नुहोस् । आफूले जीवनमा के–के गरें, आफैं नियाल्नुहोस् ।

तपाईंले जति नै ‘ईश्वर’ नमाने पनि एकदिन त्यही ईश्वर (प्रकृति/परमसत्य) नामको तत्वले तपार्इंलाई थाहै नदिई तपार्इंसँग चुँडेर लानेछ ।

हुन पनि यो संसार तपाईले या मैले चलाएको होइन । यदि यस्तो हुन्थ्यो भने तपाईं आफ्नो जवान छोराको मृत्यु कदापि स्वीकार्नुहुन्नथ्यो ।

हुन सक्थ्यो, तपाईको छोरो बचाउनका लागि आफैं मर्न तयार हुनुहुन्थ्यो । तर तपार्इं मरेर पनि तपार्इंको छोरो बाँच्ने होइन । यही तपाईंले नमानेको सत्य हेर्न र जीवनमा मृत्यु र जीवनलाई श्वासद्वारा अनुभव गर्न एकपटक विपश्यना ध्यान जानुहोस् ।

अनि अर्काे कुरा प्रचण्डज्यू, प्रकृतिले हामी मानिसको जीवनमा दुई महत्वपूर्ण उपहार दिएको छ । त्यो हो आँशु र हाँसो । तपाईं खुशी हुनुहुन्छ, तपार्इं हाँस्नु हुन्छ । तपार्इं दुःखी हुनुहन्छ तपार्इंका आँखामा आशु आउँछ ।

प्रिय प्रचण्डज्यू, तपाईको आँखाबाट बगेको आँशुले विगतका सबै क्लेश, मोह र पूर्वाग्रह पखालियुन् ।

तपाईंको छोराको मृत्युदेखि आजसम्म सामाजिक सञ्जालमा छरिएका आफ्नै तस्वीर हेरेर तपाईंलाई लाग्नैन कि तपाईंले प्रकृतिको दोस्रो उपहारलाई स्वीकार गर्नुभएको छ्र्रैन ? मेरो अर्थ हो, आँशुलाई बग्न दिनुहोस् ।

तपाईंका आँखाका डिलमा आएर आँशुहरुले डेरा जमाउँछन् तर पोखिएर आफूलाई किनारा दिन पाउँदैनन् । तपार्इं पनि रुनुहोस् । श्रीमतीलाई पनि रुन दिनुहोस् । रुनु प्रकृतिलाई स्वीकार गर्नु हो । रुनु हार्नु होइन । खुशीमा हाँस्न तपाईलाई कसले रोक्न सक्छ ?

त्यसैगरी दुःखमा रुँदा तपाईंलाई कसले के भन्छ ? रुनु र हाँस्नु स्वाभाविक श्वासजस्तै हुन् प्रचण्डज्यू । प्रिय प्रचण्डज्यू, तपाईको आँखाबाट बगेको आँशुले विगतका सबै क्लेश, मोह र पूर्वाग्रह पखालियुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment