+
+
Shares
संसद्‌मा नयाँ :

‘प्रतिपक्षले विरोधै गर्नुपर्छ भन्ने छैन’

मतदाताको समस्या समाधान गर्न नीति सुधारमा जोड दिने उनको मुख्य एजेन्डा छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ चैत ७ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेनुका काउचा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेकी छिन् र बिहीबार निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेकी छिन्।
  • उनले दूरदराजका जनताको समस्या समाधान गर्न नीति सुधार गर्ने र तीन तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएकी छिन्।
  • काउचाले एमफिल गर्दैछिन् र आफ्नो अध्ययनलाई कानुन निर्माणमा प्रयोग गर्ने संकल्प व्यक्त गरेकी छिन्।

६ चैत काठमाडौं । रेनुका काउचा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेकी छिन् । बागलुङ गलकोट नगरपालिकाकी रेनुका २०७४ को स्थानीय तह चुनावमा कांग्रेसबाट उपप्रमुखमा विजयी भएकी थिइन् । एक कार्यकाल उपमेयर भएर काम गरेकी काउचा यसपटक संसद्‌मा पुगेकी छिन् ।

२०७९ मा नै उनी कांग्रेसबाट समानुपातिकको सूचीमा परेकी थिइन् । तर सांसद हुन सकिनन् । यसपटक भने आदिवासी जनजाति महिला समूहबाट सांसद चुनिएकी हुन् । बिहीबार उनले निर्वाचन आयोगबाट प्रमाणपत्रसमेत बुझेकी छिन् ।

‘प्रमाणपत्र ग्रहण गरिसकेपछि साँच्चिकै ठूलो जिम्मेवारी महसुस भएको छ,’ उनले भनिन्, ‘जनताले जुन विश्वास र भरोसा गरेर मत दिनुभएको छ, त्यो विश्वासलाई टुट्न दिन्न ।’

जनताको जीवनस्तर सुधार मुख्य एजेन्डा

प्रमाणपत्र लिँदै गर्दा उनका आँखामा गाउँका दूरदराजका दुःख र समस्या आइरह्यो । ‘त्यो बेला मात्र होइन, अहिले पनि दूरदराजका बुवाआमालाई सम्झिरहेकी छु । जोसँग मत माग्न जाँदा म चार–पाँच पटक रोएकी थिएँ । उहाँहरूको अवस्था देख्दा निकै भावुक बनाएको थियो,’ उनले सुनाइन् ।

तिनै मतदाताको समस्या समाधान गर्न नीति सुधार गर्ने उनको मुख्य एजेन्डा छ । ‘आफ्नो लागि होइन । नीति निर्माण र सुधारका लागि संसद्‌मा आएका हौँ,’ उनले भनिन्, ‘काठमाडौँ, पोखरा वा बागलुङकै सदरमुकाममा जुन सेवा–सुविधा छ, त्यो दूरदराजका जनताले पाएका छैनन् ।’

उनको क्षेत्र बागलुङ-२ हो, जहाँ अहिले पनि सडकको स्तरोन्नति भएको छैन । दुर्घटनाको जोखिम उच्च छ ।
‘गाडी चढ्दा कतिबेला पल्टिन्छ भन्ने डर लाग्छ । हामी एक–दुई पटक जाँदा त त्यति डर लाग्छ भने त्यहाँका नागरिक दैनिक कसरी हिँड्छन् ? बजेटको समुचित वितरण भए नागरिकले राम्रो सुविधा पाउने थिए,’ उनले भनिन्, ‘भौगोलिक रूपमा पछाडि परेका ठाउँमा बजेट कम छुट्याउने परिपाटी अन्त्य गरी सरकार भएको अनुभूति दिलाउनु पर्नेछ ।’

तीन तहको सरकारबीच समन्वय आवश्यक

अझै स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयको अभाव उनले देखेकी छिन् । बाझिएका कानुन परिमार्जनमा जोड दिने उनको योजना छ । ‘उपमेयर हुँदा संघ, प्रदेश र स्थानीय कानुन बाझिएका कारण काम गर्न गाह्रो भएको नजिकबाट देखेकी छु । जस्तै– मध्यपहाडी लोकमार्ग संघले हेर्ने हो । तर धुलो र हिलोका कारण स्थानीयले हामीलाई गाली गर्नुहुन्छ । यस्ता कानुनी अस्पष्टता सुधार्न लाग्नेछु,’ उनले भनिन् ।

तीन तहको सरकारको योजना छनोटमा पनि समस्या रहेको अनुभव उनले गरेकी छिन् । ‘योजना छनोट ‘बटम–टु–टप’ (तलदेखि माथि) हुनुपर्नेमा ‘टप–टु–बटम’ (माथिदेखि तल) भइरहेको छ । केन्द्रले योजना बनाउँछ । त्यसपछि प्रदेश र संघको बजेट असारमा मात्रै पुग्छ । केन्द्रले योजना छुट्याउँछ तर पछि पैसा छैन भनेर बजेट काटिदिन्छ । उपभोक्ता समितिले स्थानीय जनप्रतिनिधिलाई गाली गर्छन् । यो कुरा सुधार गर्न आवश्यक छ,’ उनले भनिन् ।

अनि राजनीतिमा लागिन्

काउचाको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो । उनका हजुरबुबा गाउँको संस्थापक सभापति हुनुहुन्थ्यो । ठूलोबुवा पनि राजनीतिमै हुनुहुन्थ्यो । सुरुमा उनले राजनीतिमा प्रवेश गर्छु भन्ने सोचेकी थिइनन् । जब २०६५ सालमा सरस्वती क्याम्पसमा पढ्दा स्ववियु चुनाव भयो, त्यो चुनावमा कोषाध्यक्षमा उठेर विजय भइन् । यहीँबाट उनले सक्रिया राजनीति सुरु गरेकी हुन् ।

‘अग्रजहरूले अगाडि बढ्न हौसला दिनुभयो । त्यसैले आज यो स्थानमा आइपुगेकी छु,’ उनले भनिन्, ‘परिवारको साथ सहयोग पनि उत्तिकै छ ।’

आफूले अध्ययन गर्दा आर्जेको ज्ञानलाई कानुन निर्माणमा दिने काउचाको संकल्प छ ।

यसरी राजनीतिमा अनवरत होमिएर उनी सांसद बनेकी हुन् । यसपटक कांग्रेसले सोचे जस्तो मत ल्याउन सकेन । तर सदनमा रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने ठाउँमा उनी पुगेकी छिन् ।

‘सशक्त प्रतिपक्षको भूमिकामा हुन्छौँ । प्रतिपक्ष भन्दैमा सबै कुराको विरोध मात्र गर्ने छैनौँ । सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्नेछौँ,’ काउचाले भनिन्, ‘खबरदारीसँगै विकल्प पनि दिनेछौँ । विधेयकहरूमाथि छलफल र जनताका मुद्दा मुख्य प्राथमिकता हुनेछन् ।’

एमफिल गर्दै

काउचाले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छिन् । हाल उनी मानवशास्त्रमा एमफिल गर्दै छिन् । उपमेयर हुँदा उनले एलएलबी अध्ययन गरेकी थिइन् । ‘न्यायिक समितिमा हुँदा कानुन विषय पढेको हुँ । समितिमा उजुरीहरू आउँथ्यो । कानुन महत्त्वपूर्ण हुने भएकाले पढेको हुँ,’ उनले भनिन् ।

त्रिविको, सरस्वती क्याम्पसबाट म्यानेजमेन्ट र काठमाडौं विश्वविद्यालयबाट इन्डिजिनियस विषयमा उनले स्नातकोत्तर तहको अध्ययन गरेकी छिन् । आफूले अध्ययन गर्दा आर्जेको ज्ञानलाई कानुन निर्माणमा दिने काउचाको संकल्प छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?