News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कार्यगत स्वायत्तताका लागि कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको छ।
- कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेविसंघको निर्णयलाई अनुचित र पार्टीको अनुमति बिना गर्न नहुने भनेका छन्।
७ चैत, काठमाडौं । पञ्चायती शासन व्यवस्थाले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएका बेला नेपाली कांग्रेसले मुलुकमा प्रजातान्त्रिक आन्दोलन अगाडि बढाउन २०२७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना गरेको थियो ।
राजनीतिको कठिन कालखण्डमा स्थापना भएर प्रतिकुल अवस्थामा हुर्किएको नेविसंघले प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर आफ्नो इतिहास निर्माण गरेको छ । स्थापनाकालदेखि २०६२/०६३ को जनआन्दोलनसम्म देशमा भएका हरेक निर्णायक आन्दोलनहरूमा नेविसंघले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।
कांग्रेसको भ्रातृ गठन नेविसंघको इतिहास मुलुकमा लोकतन्त्र (प्रजातन्त्र) स्थापनाका लागि गरिएको संघर्ष, विद्यार्थी आन्दोलनको विकास र युवा नेतृत्वको उदयसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
तर, साढे पाँच दशक लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी संगठन नेविसंघले एकाएक शुक्रबार संगठनको कार्यगत स्वायत्तताका लागि भन्दै कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको छ ।
‘नेविसंघले खोजेको कार्यगत स्वायत्तता हो । पार्टीको भ्रातृ संगठनका रूपमा रहँदा हरेक निर्णय पार्टीको निर्देशनमा गर्नुपर्ने बाध्यता रह्यो । जसले विद्यार्थी आन्दोलनका विषयमा हामी प्रभावकारी हुन नसक्ने भयौँ,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालले भनेका छन्, ‘यसैले नेविसंघको अधिकार सम्पन्न सिनेट बैठकबाट हामी यो निर्णयमा पुगेका छौँ ।’
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले संगठनको स्वायत्तता नहुँदा समयमै महाधिवेशन गर्न पनि कठिन भएका कारण स्वायत्तताकै लागि यस्तो निर्णय गरेका बताएका छन् । ‘हामीले गतिशील संगठन बनाउन चाहे पनि पार्टीको निर्देशनबेगर केही गर्नै नसकिने अवस्था स्वायत्तता नभएर हो,’ उनले भने, ‘बाहिरबाट हेर्दा हामीले अधिवेशन गर्न नचाहे जस्तो देखिने, भित्र पार्टीलाई महाधिवेशनको कार्य तालिका बुझाउँदा पारित नगरिदिने, विधान संशोधन नगरिदिने अवस्था रह्यो । त्यसैले स्वायत्तताकै लागि यो निर्णय गरेका हौँ ।’
तर, मातृ पार्टी कांग्रेसले नेविसंघको पछिल्लो निर्णयलाई ‘अनुचित निर्णय’ भनेको छ । नेविसंघको केन्द्रीय नेतृत्व सम्हालिसकेका पार्टीका महामन्त्री गुरुराज घिमिरेका अनुसार सिनेट बैठकलाई पार्टीको भ्रातृ संगठन नरहने निर्णय गर्ने अधिकार नै छैन ।
‘यो कुनै पनि दृष्टिबाट युक्तिसंगत कुरा होइन । कुनै पनि दृष्टिबाट उचित कुरा होइन,’ उनले अनलाइनखबरसँग भने, ‘संस्था राख्ने कि नराख्ने भन्ने कुरा नेपाली कांग्रेसले निर्णय गर्ने कुरा हो । एक प्रकारले नेपाल विद्यार्थी संघको त्यो सिनेट बैठकले यो गर्ने अधिकार पनि छैन ।’

पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरूबारे सम्पूर्ण अधिकार कांग्रेसमा निहित रहेको महामन्त्री घिमिरेको भनाइ छ । ‘कांग्रेसले कति वटा भ्रातृ संस्था राख्ने, कति वटा नराख्ने, कति वटासँग शुभेच्छुक संस्थाका रूपमा सम्बन्ध कायम राख्ने अथवा आबद्धता दिने या नदिने, त्यो नेपाली कांग्रेसमा अन्तर्निहित अधिकार हो,’ उनले भने ।
महामन्त्री घिमिरेले भ्रातृ संस्थाको दर्जा दिने पार्टीले मात्रै नेविसंघलाई भ्रातृ संस्थान राख्ने कि नराख्ने विषयमा निर्णय गर्ने जिकिर पनि गरे । ‘भ्रातृ संस्थाको दर्जा जसले दियो, उसैले त्यसबाट अलग गराउन सक्छ, कायम राख्न सक्छ,’ उनले भने, ‘त्यो नेपाली कांग्रेसको विशेषाधिकार भित्र पर्ने कुरा हो । कसैले म छु, म छैन भनेर स्वतन्त्र रूपबाट घोषणा गर्ने विषय होइन । यो नेविसंघको अनुशासनको दायराभन्दा बाहिरको काम हो ।’
कुनै व्यक्तिलाई नेविसंघमा आबद्ध रहन्न भन्ने अधिकार रहे पनि संगठनलाई अधिकार नभएको पनि प्रस्ट्याए । ‘नेविसंघमा आबद्ध भएको कुनै सदस्यले म नेविसंघ हुन्न, रहन्न, छोड्छु भन्न पाउँछ । अधिकार संविधान प्रदत्त अधिकार उसलाई हुन्छ,’ उनले भने, ‘तर सिङ्गो संस्थाले म पार्टीको भ्रातृ संस्था अब रहिनँ भन्ने कुरा कुनै पनि दृष्टिले सोच्न पनि सक्दैन । त्यो गर्ने कुरा त परै जाओस् ।’
पहिलो कुरा त भ्रातृ संस्था भनेको पार्टीको सन्तानजस्तै हो । एउटा परिवारको वंशजको नाताले प्राप्त नागरिकता जस्तै हो कांग्रेस पार्टी र नेविसंघ भनेको । त्यसैले नेविसंघलाई यो भन्ने कुनै अधिकार छैन ।
-महामन्त्री गुरुराज घिमिरे
नेविसंघले कांग्रेसकै मूल्य-मान्यता आत्मसात् गर्ने र जननायक बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्तलाई नै मार्ग निर्देशक सिद्धान्तमा रहने बताएको छ । भ्रातृ संगठन नरहने भन्नुको अर्थ पार्टी र आस्था नै छाडेको भन्ने नहुने प्रवक्ता सेजुवालको भनाइ छ ।
‘हामी कांग्रेसभन्दा पर हुन्नौँ । पार्टीकै मूल्य-मान्यता आत्मसात् गर्छौँ,’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त नै हाम्रो मार्ग निर्देशक सिद्धान्त रहन्छ ।’
तर, महामन्त्री घिमिरेले भने वंशजको आधारमा नागरिकता लिएर सन्तानलाई म फलानाको छोरा हुँदैन भन्ने अधिकार सन्तानलाई नहुने टिप्पणी गरे । ‘पहिलो कुरा त भ्रातृ संस्था भनेको पार्टीको सन्तानजस्तै हो,’ उनले टिप्पणी गरे, ‘एउटा परिवारको वंशजको नाताले प्राप्त नागरिकता जस्तै हो कांग्रेस पार्टी र नेविसंघ भनेको । त्यसैले नेविसंघलाई यो भन्ने कुनै अधिकार छैन ।’
कांग्रेसले नेविसंघको सिनेट बैठकमार्फत गरिएको पछिल्लो निर्णयबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने भएको छ । सभापति गगनकुमार थापाको राजीनामा र निर्वाचनको प्रारम्भिक समीक्षाका लागि बोलाइएको बैठकमा नेविसंघबारे छलफल हुने भनेको छ ।
‘भोलि बैठकमा कुरा उठ्छ । हाम्रो ध्यानाकर्षण भएको छ । नेविसंघ ऐतिहासिक संस्था हो । यो पार्टीको मेरुदण्ड हो,’ महामन्त्री घिमिरेले भने, ‘हामी छलफल गर्छौँ । यति ठुलो योगदान भएको संस्था अहिले आएर स्वेच्छिक रूपबाट यहाँ बस्छु, यहाँ बस्दिनँ भन्ने कुरा उपयुक्त होइन ।’
पञ्चायती कालरात्रिमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई संगठित गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउनका लागि शैक्षिक आन्दोलनमार्फत सुनिश्चित गर्नका लागि नेविसंघ स्थापना भएको उनले स्मरण गरे ।
‘पार्टीका नेताहरूकै परामर्शमा तत्कालीन अगुवाहरूले यो संस्था स्थापना गर्नुभएको हो । यसको ऐतिहासिक भूमिका छ,’ महामन्त्री घिमिरेले भने, ‘यसलाई नेपाली कांग्रेसको इतिहासबाट अलग राख्दिने हो भने इतिहासै अधुरो हुन्छ ।’
प्रतिक्रिया 4