Comments Add Comment

निर्वाचन आयोगले गगनका पक्षमा मत मागेको भन्दै एमाले अाक्रोशित, माफी माग्नुपर्ने माग

दोषीलाई कारवाही हुन्छ कि हुँदैन हेर्नुछः ओली

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा नेपाली कांग्रेसका उम्मेदवारहरुको चुनावी प्रचार गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । यस्तो कमजोरी कसले गरेको हो, उसमाथि छानविन गरी कारवाही गरिनुपर्ने र आयोगले मतदातासँग माफी माग्नुपर्ने एमालेको माग छ ।

मतदाता शिक्षाका नाममा आयोगले कांग्रेसको प्रचार गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अनलाइनखबरसँग भने- ‘निर्वाचन आयोगबाट अहिले त क्विज कन्टेक्स नै आइसक्यो । पहिले पहिले अलिकति भित्रभित्रबाट हुन्थ्यो, अहिले त खुलेआम निर्वाचन आयोगभित्र बसेर कतिपय मानिसहरु के काम गर्दैछन् ? निर्वाचन आयोगले मतदातासमक्ष माफी माग्छ कि माग्दैन मैले हेर्नु छ ।’

आयोगले तयार गरेका प्रचार सामाग्री कांग्रेसका फलाना स्वास्थ्यमन्त्री भएर महान योगदान गरेका यस्ता सेलिब्रेटीको क्षेत्र कुन हो ? भन्नेजस्ता क्विज तयार पारिएको बताउँदै ओलीले आक्रोशित हुँदै प्रश्न गरे- ‘भन नानी हो, के चिन्हमा भोट दिनुपर्छ ?.. यो कुनै विज्ञापन हो ? यो मतदाता सचेतनता कार्यक्रम हो ? माफी माग्न पर्ने विषय हो कि होइन ?’

एमाले अध्यक्ष ओलीले आयोगको ध्यानाकर्षण गर्दै भने- ‘यो तत्काल रोकिनुपर्छ, आइन्दा यस्ता कुरा हुनुहुँदैन । यस्ता कुरा कसरी भए ? कसले गर्‍यो ? यसमा कारबाही हुनुपर्छ ।’

यो घटनामा सबै दोषी नहोलान् भन्दै ओलीले आयोगबाट जुन प्रचार सामाग्री आयो, यसमा आयोगले माफी माग्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

निवार्नचन आयोगका एकजना आयुक्तले खुलेर नेपाली कांग्रेसको प्रचार गरिरहेको र एमालेका नेतालाई भने बारम्बार प्रश्न सोध्ने गरेको एमालेका एक नेताले बताए ।

आफूलाई पनि अनेक प्रश्न सोध्ने गरिएको ओलीले बताए । ‘कहिले शेरबहादुरलाई किन अन्तिम प्रधानमन्त्री भनिस् भनेर आयोगले प्रश्न सोध्छ, कहिले कांग्रेस हार्छ किन भनिस् भनेर स्पष्टीकरण सोध्छ,’ ओलीले भने- मैले स्टेजबाटै जवाफ दिने गरेको छु, म कांग्रेसको सभापति होइन ।’
यसैवीच नेकपा एमालेले आइतबार विज्ञप्ति जारी गर्दै आयोगले तयार पारेको क्विजमाथि गम्भीर आपत्ति जनाएको छ ।

उता चितवनमा पनि राप्रपा प्रजातान्त्रिकका उम्मदेवार विक्रम पाण्डेले आफ्नो निजी एफएममार्फत विज्ञापनका नाममा ‘चितवनका विकास प्रेमी नेता को हुन्- विक्रम पाण्डे’ भन्ने क्विज बजाइरहेको माओवादी कार्यकर्ताको गुनासो छ ।

हेर्नुस् भिडियो

यो पनि पढ्नुहोस्

इलेक्सन क्वीजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment