+
+
Shares

निकुञ्जमा परेको मन्दिरमा कसरी लगाउने मेला ?

निकुञ्ज र स्थानीयवासीबीच चर्कियो द्वन्द्व

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष २३ गते ८:२९


२३ पुस, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र परेको दुग्धेश्वरनाथ महादेव मन्दिरमा बर्सेनि मेला लाग्छ । निकुञ्ज प्रशासन मेला लगाउन नदिनेमा अडिएको छ भने स्थानीय बासिन्दा जसरी पनि लगाउने पक्षमा ।

निकुञ्जभित्र परेको भाथास्थित दुग्धेश्वर महादेव मन्दिरमा श्रीपञ्चमी, शिवरात्री, वैशाख त्रयोदशी, साउनभरि मेला लाग्छ । त्यसरी मेला लगाउँदा वन्यजन्तुको वासस्थान संकटमा पर्ने निकुञ्ज प्रशासनको भनाइ छ ।

चुरेको फेदी र चारकोसे झाडीबीचमा रामभौरी र भाथा नाम गरेका दुई वटा बस्ती थिए, केही समय अघिसम्म । पर्सा वन्यजन्तु आरक्ष घोषणा भएपछि दुवै बस्ती ०६७ सालमा बाहिर सारियो । बस्ती बसेको करिब पाँच सय बिघामा अहिले सीमसारसहितको घाँसे मैदान छ ।

भाथातर्फ दूग्धेश्वरनाथ महादेव र पार्वतीको मन्दिर छ । बस्ती बस्नुअघि नै गोठालाहरुले पत्ता लगाएको उक्त धार्मिकस्थलमा पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । सोही विश्वासअनुसार वर्षको चार पटक मेला लगाउने गरिएको हो । तर, त्यस्तो मेला कहिलेदेखि लगाइएको हो भन्ने पनि कसैलाई जानकारी छैन ।

मन्दिरको प्रसिद्धी कतिसम्म छ भने पर्सा, बारा र रौतहटका मात्रै नभई भारतीय तीर्थालु पनि दर्शन गर्न र मेला भर्न आइपुग्छन् ।

मेलामा नाच, परम्परागत बाजागाजा, भजन कीर्तन र कोलाहलको माहोल हुन्छ ।

मन्दिरसहितको घाँसे मैदानमा मृगलगायत वन्यजन्तुको वासस्थान छ । तिनीहरुलाई आहार बनाउने बाघ पनि त्यस क्षेत्रमा आउजाउ गर्छन् । सोही कारण त्यस क्षेत्रमा कोलाहलको माहोल बनाउन दिन नहुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् ।

‘कोर एरियामा बस्ती हुँदा वन्जन्तु र मानवबीच द्वन्द्व हुने देखेर नै बस्ती सारिएको हो, अहिले मेलाका नाममा लाखौं मानिस निकुञ्जमा प्रवेश गरिरहेका छन्,’ आचार्य भन्छन्, ‘यसले वन्यजन्तुको प्रमुख वासस्थान संकटमा पर्छ ।’

सांस्कृतिक धरोहर संरक्षण गर्दा जंगलको पारिस्थितिक प्रणालीमै असर पार्न नहुने उनको भनाइ छ ।

तर, उनको आग्रह मान्न स्थानीय बासिन्दा तयार छैनन् । उनीहरु मन्दिर क्षेत्रमै मेला लगाउनुपर्नेमा जोड दिन्छन् । धार्मिक आस्थासँग जोडिएको विषयवस्तु भएकाले निकुञ्ज र स्थानीय बासिन्दाबीचको द्वन्द्व छलफलबाट निष्कर्षमा पु¥याउनु पर्ने सामाजिक कार्यकर्ता प्रकाश थारुको तर्क छ ।

निकुञ्जमा जनावर, वनस्पतिका साथमा तीन सय ३३ प्रजातिका चराचुरुंगी र विश्वमै दुर्लभ पाटेबाघ, एकसिंगे गैंडा, गौरी गाई र घोडगधा संरक्षित छन् ।

रामभौरी भाथालाई पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिए पनि यसलाई व्यवस्थित र व्यावसायिक लाभ हुने किसिमको गन्तव्य बनाउन सकिएको छैन । यसको व्यस्थापनका लागि कुनै किसिमको सरकारी कार्यक्रम नभएको पूर्वसांसद सुरेन्द्र चौधरी बताउँछन् ।

योजनाविहीन रुपमै विकसित हुँदै गएको उक्त क्षेत्र भने दूग्धेश्वर महादेवको दर्शनका लागि भीड अत्यधिक संख्यामा मानिस ओइरिने गरेकाले समस्या बढ्दै गएको उनको भनाइ छ ।

‘जंगलछेउमा बसोबास गर्दै आएका आदिवासी जनजातिले कुल, इष्ट र ग्रामदेवताका रुपमा दूग्धेश्वरनाथ महादेवलाई परापूर्वकालदेखि मान्दै आएका छन्,’ उनी भन्छन्, ‘पर्या–पर्यटनको दृष्टिकोणले नेपालकै प्रमुखमध्येको गन्तव्य बनाउन सकिने भएकाले वन्यजन्तुको वासस्थानमा असर नपर्ने गरी मेलाको व्यवस्थापन गर्नु आवश्यक छ ।’

स्थानीय सरकार, मन्दिर संरक्षण तथा मेला व्यवस्थापन समितिहरुले जंगली जनावरको प्राकृतिक वासस्थानमा खलल नपु¥याउने गरी मेला लगाउनुपर्ने पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह बताउँछन् । भन्छन्, ‘लोपोन्मुख जंगली जनावरको वासस्थानलाई खलल पु¥याउनु हुन्न, धार्मिक आस्थालाई पनि मर्न दिनुहुन्न ।’

उक्त निकुञ्ज प्रदेश–२ को एक मात्र वनपैदावार र वन्यजन्तु संरक्षित क्षेत्र हो ।

रैथाने प्रजातिको हात्ती संरक्षणका लागि ०४० सालमा चार सय ९९ वर्गकिलोमिटरलाई समेटेर वन्यजन्तु आरक्ष बनाइएको थियो । २५ वैशाख ०७४ मा मन्त्रिपरिषद्ले त्यसलाई राष्ट्रिय निकुञ्ज बनाउने निर्णय लिएको थियो । बाराको हलखोरिया र रतनपुरी क्षेत्र पनि समेटिएकाले निकुञ्जको क्षेत्रफल ६ सय २९ हेक्टर भएको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?