Comments Add Comment

सर्वेन्द्र खनालको सेक्रेटः असईको सेखी झार्न इन्स्पेक्टरमा भर्ना

यस्ता छन् नयाँ आइजीपीका चुनौती


अस्कल पढ्ने पकनाजोलको ठिटो । त्यसबेला यत्तिको प्रोफाइल भनेको काठमाडौं हल्लाउन काफी थियो । सर्वेन्द्र खनाल, पुष्कर कार्कीहरुको नामले मात्र ठमेल आतंकित हुने जमाना थियो । हिजोआज पनि ‘अस्कलका केटाहरु’ भनेपछि जो–कसैले छोइहाल्न सक्दैन । यो कुरा त ०४५–०४६ सालतिरको हो ।

एकदिन यिनको दिमाग खल्बलियो, एउटा पुलिस देखेर । ‘जेनतेने’ आइए पास गरेको टोले दाइ थिए, दर्जाले असई । हिरो होण्डा चढेको छ, वाकीटकी समाएर बोलेको छ, कम्मरमा पेस्तोल भिरेको, रवाफै अर्को । अमिताभ बच्चनजस्तो पातलो, अग्लो ज्यान, गगल्स लाएको, हेर्दै लोभलाग्दो । बोली तोते थियो, तर शान बेग्लै । सम्झिए, ‘साला, अस्कलबाट बीएस्सी गरेकोलाई यसले शान दिने ? पख् !’

यसरी पुलिस बन्ने इख पलाएपछि ती टोले दाइको फूर्ती एक वर्ष पनि टिकेन । किनभने, ०४६ माघ २९ गते सर्वेन्द्र खनालले इन्स्पेक्टरमा नाम निकाले । ती टोले दाइ एकतारे असईको फुली लगाएर क्रस खुकुरीवाला फुली भिरेका हाकिमका हैसियतले सर्वेन्द्रका अगाडि तन्किन थाले, ‘जय नेपाल सर’ भन्दै ।

सर्वेन्द्रको इख पलाउने गरी पुलिसको बर्दी भिरेका ती असई थिए, प्रितम भट्टराई । उनी पाँच वर्षअघि डीएसपीबाट जागिर सिध्याएर अहिले फुर्सदमा छन् । सर्वेन्द्रचाहिँ नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा आसीन भएका छन् ।

जागिर खाएर उनलाई केही कमाउँला भन्ने थिएन । ‘हाकिम सा’ब केदारनाथ’ भनेर चिनिनेका छोरा । तनहुँबाट आएर पकनाजोलमा घरबार जोडी रैथाने भइसकेका ।

जागिरमा नाम निकालेलगत्तै देशमा बहुदल आयो । बुबामात्र हैन, दाजुहरुको रवाफ पनि कम थिएन । जेठा दाइ भन्सारको हाकिमबाट जागिर छोडेका, माइला सुवीर खनाल निजामति सेवामा अधिकृतबाट छिरेर सहसचिव हुने बेलामा जागिर छाडे । कारण थियो, उदीयमान शक्तिकेन्द्र गिरिजाबाबुले विश्वास गर्नाले ।

गिरिजाबाबुबाट शुरु भएको सुवीरको सेवा यात्रा सुशील कोइराला प्रधानमन्त्री हुँदासम्म प्रशासनिक सल्लाहकारका रुपमा धान्दै रहे । साइँला रवीन्द्र शाहीकालमा श्रममन्त्री बने । सर्वेन्द्र काइँला हुन् । कान्छा शेखर राष्ट्रिय अनुसन्धान विभागको एसपीका रुपमा हाल बारा जिल्लामा कार्यरत छन् ।

जागिर खाएर खनाल दरबारमार्गको इन्स्पेक्टर बने । पुलिस चौकी छ, थानेदार बस्ने ठाउँ छैन । सुत्ने कहाँ ? खाने कहाँ ? ठेगान छैन । पहिलाका थानेदारहरु होटेल–सोटेलतिर माग्ने, खाने, सुत्ने गर्थे रे । यस्तो सुनेपछि उनको कन्पारो तात्यो । सोझै हेडक्वार्टर पुगे । ‘हामी मागेर खान आ’हौँ ? मागेरै खानुपर्ने हो भने किन पुलिस बन्नु ?’ आइजीसँग ठाडठाडै बाझे । ‘गर न त गर । अफिस बनाऊ । ब्यारेक बनाऊ । मेस, चर्पी के–के चाहिन्छ बनाऊ’, आइजीले नम्रताका साथ आदेश दिए ।

‘ती चिज बनाउनलाई जग्गा नि ?’ सर्वेन्द्रले सोधेपछि फेरि आइजीले भने, ‘नारायणहिटी अगाडि खालि जमिन देख्या छु, कसको हो, बुझेर भाडा दिन्छन् कि बेच्छन् कि, गर न !’

अहिले दरबारमार्गमा आधुनिक भवनसहित निर्मित त्यही प्रहरी बृत्त हो, सर्वेन्द्र त्यहाँ इन्स्पेक्टर भएर खटिँदा प्रहरीले उपभोग गर्ने गरी पाएको । त्यसबेला राजदरबार वरिपरि एक तलाभन्दा माथि घर उठाउन नपाइने । त्यसैले सर्वेन्द्रले त्यहाँ पहिला एक तलाको वडा प्रहरी कार्यालय बनाए ।

नेपाल प्रहरीका इन्स्पेक्टरहरुको ९० औं टोली, ०४६ माघ २९ मा प्रहरी सेवामा भर्ना हुँदा एक नम्बरमा उत्तीर्ण भएका थिए, टीकानाथ पौडेल । तर, द्वन्द्वकालमा जागिर छाडे । त्यो व्याचमा सर्वेन्द्र, रमेश, पुष्कर भन्दा अघिल्लो बरियतामा थिए राजेन्द्रमान श्रेष्ठ । एसएसपीबाट डीआइजीमा बढुवा हुनुअघि उनी प्यारालाइसिसग्रस्त भए अहिले पनि अस्पतालको शैयामा छन् । जिवित छन्, तर होस् छैन ।

राजेन्द्रमान यो व्याचमा महानिरीक्षकका अर्का बलिया दाबेदार मानिएका थिए । अर्का चल्ताफिर्ता मानिन्थे, रञ्जन कोइराला । तर, ०५८ मा सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा गएका रञ्जनमाथि पत्नी हत्याको अभियोग लाग्यो । अहिले रञ्जन सदरखोर डिल्लीबजारमा बन्दी जीवन बिताइरहेका छन् भने उनका व्याची संगठनको बागडोर सम्हाल्दैछन् ।

रञ्जनमाथि पत्नी हत्याको अभियोग नलागेको भए यतिबेला उनी सशस्त्र महानिरीक्षकका एक्ला हकदार हुन सक्थे ।

कामले चिनिएको केटो

काम सर्वेन्द्रको छोटकरी परिचय हो । अर्थात, जागिरका प्रत्येक युनिटमा उनले केही न केही काम गरेकै हुन्थे । उदाहरणका लागि, जागिर खाएलगत्तै पहिलो पोस्टिङ पाए उपत्यका ट्राफिक कार्यालयमा । सवारी साधनको लाइसेन्स प्रहरीले दिन्थ्यो । तर, ट्रायल लिने ठाउँ थिएन । बग्गीखानासँगै नेशनल ट्रेडिङको कम्पाउण्ड छ । उनले तत्कालीन ट्राफिक प्रमुख रोहित थापालाई भने, ‘म मिलाऊँ कि हजुर ?’ रोहितले भने, ‘के सक्थ्यौं र, मिल्ने भए उहिल्यै मिलिसक्थ्यो ।’ लगत्तै सिंहदरबार छिरेका सर्वेन्द्र तीन घण्टापछि बग्गीखाना फर्किए । ट्राफिक प्रमुख एसपी रोहित थापालाई सुनाए, ‘मिल्यो हजुर, भोलिदेखि नै ट्रायल लिँदा हुने भयो ।’

यसो भन्दै आपूर्ति मन्त्रालयले अनुमति दिनका लागि लेखेको चिठी देखाए । त्यही नेशनल ट्रेडिङको कम्पाउण्ड हो, जहाँ आज पनि लाइसेन्सको ट्रायल लिने काम जारी छ ।

काठमाडौं प्रहरी प्रमुखका रुपमा ०६४ मा हनुमानढोका हाजिर भए । अरु हाकिम हाजिर हुनासाथ कहाँबाट कति आउँछ (पैसा) भनेर लाइन बुझ्थे । सर्वेन्द्रचाहिँ हाजिर हुनासाथ हिरासत कक्ष निरीक्षणमा झरे । फोहोरको डंगुर छ । उडुसको टोकाइले प्रत्येक थुनुवा घाइते छन् । भातमा उडुस, पानीमा उडुस, ओछ्यानमा उडुस– हनुमानढोका होइन, उडुस ढोका भइसकेको थियो ।

उनले तुरुन्तै लेखापाल केशव गौतमलाई बोलाएर भने, ‘कति पैसा लाग्छ, पुगेन भने मेरो तलब पनि यसैमा हाल्नु, यहाँका फोहोरचाहिँ अहिल्यैदेखि उठाउन लगाऊ ।’ त्यहाँबाट १४ टन फोहोर निस्कियो । र, त्यसपछि हनुमानढोकामा उडुस आतंक बन्द भयो ।

प्रहरीको अञ्चल प्रहरी कार्यालय भनेको कार्यकारी भूमिका हुने निकाय होइन । तर, त्यस्तो युनिट सम्हाल्दा पनि सर्वेन्द्र कामबिना बसेनन् । नारायणी अञ्चल प्रमुख भएर वीरगञ्जमा बसे । ०६९ माघ १३ गते ८ वर्षीय वालक श्लोक अग्रवाल अपहरणमा परे । दुई अपहरणकारी फेला परे । अपहरित वालकको उद्धार गरे, अपहरणकारी प्रहरी कारवाहीमा मारिए ।

०६६ मा पर्साका सहायक सिडिओ बलबहादुर मल्ल हत्याप्रयास रोक्ने क्रममा उनका अंगरक्षक प्रहरी जवान अनन्तराज खड्कालाई गोली लाग्यो, उनको निधन भयो । सर्वेन्द्रले अञ्चल प्रहरीको कमाण्ड सम्हालेको बेला आफ्ना सिपाही मार्ने अपराधी पहिचान भइसकेका थिए । बाराको सुखीपथराका भुलावन पासवान थिए सुटर, जसलाई समातेर जेल चलान गरिदिए ।

भारतीय मोस्ट वान्टेड बब्लु दुबे नेपालमा लुकीछिपी बसेको सूचना पाए । ३० भन्दा बढीको ज्यान मारेर नेपालमा लुक्न आएका बब्लुलाई सर्वेन्द्रले समाते, भारतीय प्रहरीलाई बुझाइदिए ।

‘बोर्डर डन’ का नामले चिनिने सुनील जैसवाल ‘अग्नी’ भारतमा पनि मोस्ट वान्टेड थिए, अपराधका लागि नेपाल छिर्थे । सर्वेन्द्रले चाल पाएको एक घण्टामा उनलाई लाश बनाइदिए ।

काठमाडौंको अपराध महाशाखामा हुँदा प्रहरीमाथि आक्रमण प्रयास गर्ने गुण्डानाइके मारिए ।

फुटवलमा म्याच फिक्सिङ गर्ने कसुरदारहरु कारवाहीमा परे ।

पेट्रोलपम्पहरुले रिमोर्टमार्फत कम इन्धन भरेर पूरै भरिएको विवरणका दिई उपभोक्ता ठगी गर्थे । उनले छापा मारे, कारवाही गरे, ठगी बन्द भयो ।

शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का नाममा मानव तस्करी र ठगी धन्दा मौलाएको छ । उनैले हो, पहिलोचोटि कन्सल्टेन्सीहरुमा छापा मार्दै अवैध गतिविधि गर्नेलाई कारवाही थालेको ।

काठमाडौंमा ट्राफिक लाइटका पोल छन्, तर बल्दैनन् । उनले महानिरीक्षक नियुक्त हुनुभन्दा एक साताअघि नयाँ बानेश्वर, नारायणगोपाल चोकलगायतका स्थानमा ट्राफिक लाइट बालेरै देखाए ।

सर्वेन्द्रका चुनौति

प्रहरीले सरुवा र बढुवाका लागि शक्तिकेन्द्र धाउनुपर्ने चलनले गर्दा संगठन प्रमुख कमजोर र शक्तिकेन्द्रको हस्तक्षेप बढ्दो छ । सर्वेन्द्रसँग सबभन्दा ठूलो चुनौति छ कि, भए जति प्रहरी कर्मचारीले संगठनभित्रै दौडधुप गर्दा न्यायोचित सरुवा–बढुवा पाउने स्थिति निर्माण गर्नका लागि । यदि फेरि पनि भनसुनमै प्रहरी दौडिने हो भने बढ्दो सुरक्षा चुनौति, सुरक्षाका बढ्दा क्षेत्रको व्यवस्थापनजस्ता कुरामा प्रहरी संगठन क्रमशः चुक्दै जाने स्थिति रहन्छ ।

खाएको जागिर ‘राम्रोसँग’ खानका लागि अन्यत्र धाउनुपर्ने भएपछि प्रहरीमा संगठनप्रतिको उत्तरदायित्व घट्दो छ । महानिरीक्षक तल्लो दर्जाका कर्मचारीप्रति सहज नबन्दा माथिल्लो र तल्ला दर्जाबीचको दूरी बढ्दो छ । यसले कमाण्ड कन्ट्रोलमा असर पारिरहेको छ ।

प्रहरीका खरिद विक्री आवश्यकतामा भन्दा कमिशनमा आधारित रहेका सन्दर्भ बाहिर आउने गरेका छन् । लेनदेनमा आधारित खरिद प्रणालीका कारण कतिपय आवश्यक सामान यथोचित समयमा उपलब्ध नहुने प्रहरीको पुरानै रोग हो । ज्याकेट काण्डदेखि राशन काण्डसम्म प्रहरी बद्नाम छ । यी कुराको रोकथान सर्वेन्द्रले कसरी गर्छन्, प्रतीक्षाको विषय बनेको छ ।

राज्यले निजामति सेवाका कर्मचारी उत्पादन गर्न भन्दा फौजी संगठनका कर्मचारी उत्पादनमा बढी लगानी गरेको छ । तालिम, राशन र सुविधाका दृष्टिले पनि फौजी संगठनमाथि राज्यको लगानी अन्य क्षेत्रको तुलनामा बढी हुन्छ । तर, यो सेवामा प्रवेश गरेका कर्मचारीलाई लखेट्न राज्य यति आतुर छ कि, मानौं धेरै खायो भनेर डाहा गर्नेखालको ।

अहिले नेपाल प्रहरीमा सेवा अवधिको ३० वर्षले बढीजसो कर्मचारी अवकाश हुने गरेका छन् । जबकि निजामति र सैन्य सेवामा उमेर हद ५८ मा अवकास हुने व्यवस्था छ । प्रहरीमा एसएसपीको ६ र डिआइजीको पाँच वर्षे पदावधी पूरा भए अवकास हुने व्यवस्था छ । सुरक्षाका लागि तालिमप्राप्त जनशक्तिलाई उमेर छँदै घर पठाउने क्रमले प्रहरी संगठनलाई मात्र नभई देशलाई निबृत्तिभरण (पेन्सन) का नाममा ठूलो आर्थिक भार परेको छ । जस्तो कि, ३० वर्ष जागिर खाएर अवकास हुने एउटा प्रहरी धेरैमा प्रायः ५०–५२ वर्षको हुने गरेका छन् । जब कि, निजामति सेवाका कर्मचारीले उमेर ५८ नपुगेसम्म जागिर खान पाइने चलन छ ।

यदि, उमेर हदका आधारमा प्रहरीलाई ५८ वर्षमा रिटायर्ड गराउने हो भने राज्यले ५ देखि ८ वर्षसम्म बिनाकाम पेन्सन बुझ्ने कर्मचारीको रकम घटाउन सक्छ । त्यसले देशको शान्ति सुरक्षालाई मजबुत र त्यो क्षेत्रमा परिपक्व नेतृत्व स्थापित गर्न पनि भूमिका खेल्छ । यी काम कसरी सम्पन्न गर्ने, चुनौति छ सर्वेन्द्रको काँधमा ।

कार्यक्षेत्रको विवाद

अहिले पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच क्षेत्राधिकारका विषयमा विवाद ज्युँका त्युँ छन् । सशस्त्रले अहिले पनि विमानस्थल, भन्सारजस्ता निकायको सुरक्षाको सम्पूर्ण अधिकार माग गरिरहेको छ भने प्रहरी ती निकायबाट हट्ने अवस्थामा छैन ।

सीमा सुरक्षामा द्वैध सुरक्षा रणनीति लागु भएको छ । भन्सारबाट आयात हुने सामानको चेकजाँचको जिम्मेवारी सशस्त्र प्रहरीले लिएको छ । तर, प्रत्येक सीमास्थलमा नेपाल प्रहरीको सीमा प्रहरी कार्यालय खडा गरिएका छन् । सशस्त्र प्रहरी बल भनेको अर्धसैन्य सुरक्षा दस्ता हो ।

जटिल घटनाहरुमा सैनिक परिचालनपूर्वको भूमिका खेल्ने हो, सशस्त्रले । यसले प्रहरीले जस्तो मानिस पक्राउ गर्ने, मुद्दा चलाउनेजस्ता अधिकार राख्दैन । तर, त्यस्तो अधिकारको माग भइरहेको छ । विदेशी मिसनहरुमा सशस्त्र सहभागी हुनुपर्ने अर्धसैनिकका हैसियतमा हो । तर, उसले कानुन कार्यान्वयन गराउने नेपाल प्रहरीकै हैसियतमा भएजतिका संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता जनाउँदै आएको छ । ती मिसनमा उसको परिचय अर्ध सैनिक बलका रुपमा नभएर नेपाल प्रहरीजस्तै सिभिल पुलिसका रुपमा स्थापित गरिएको छ ।

अर्कातर्फ सैन्य मिसनहरुमा उसले आफूलाई अर्धसैनिक दस्ताकै परिचयका साथ उपस्थिति जनाइरहेको छ । यस्तो स्थितिबाट नेपाल प्रहरीको विदेशी मिसनमा खटिने जनशक्तिको संख्या कटौती भइरहेको छ । यस्ता विषयलाई अबको प्रहरी नेतृत्वले कसरी हल गर्छ, प्रतीक्षाको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment