Comments Add Comment

काठमाडौंमा घर हुने सांसदलाई पनि आवास सुविधा !

संघीय संसदका सदस्य बुझ्छन् मासिक एक लाख (सूचीसहित)

प्रतिनिधिसभाका सांसदहरु । तस्वीर: रासस

६ वैशाख, काठमाडौं । संघीय संसदका करीव आधाजसो सांसदहरुको घर काठमाडौं उपत्यकामा छ । तर, उनीहरुले पनि राज्यबाट घरभाडा बुझ्न पाउने भएका छन् ।

विगतमा पनि काठमाडौंमै घर भएका थुप्रै माननीयहरुले डेरा भाडा बुझ्ने गरेका थिए । यसपटक पनि राजधानीमा घर हुने सांसदले आवास सुविधा नपाउने भन्ने नियम नबनेपछि सबै सांसदलाई घर भाडा बुझ्ने बाटो खुलेको छ ।

संसद सचिवालयका एक उच्च अधिकारीले भने, ‘कानुनले आवास सुविधा सबै सांसदलाई समान रुपमा दिएको छ । काठमाडौंमा आफ्नै घर भएकाले लिने कि नलिने भन्ने चाहिँ सम्बन्धित माननीयज्यूको नैतिकतामा भर पर्ने कुरा हो ।’

स्रोतका अनुसार अहिलेसम्म कुनै पनि सांसदले आवास सुविधा नलिने भनेर निवेदन दिएका छैनन् ।

राज्यबाट आवास सुविधा लिने सांसदको सूचीमा विश्वकै धनी व्यक्तिको सूचीमा पर्ने विनोद चौधरीदेखि पूर्वकमलरी समेत रहेकी शान्ता चौधरीसम्म समान हैसियतमा देखिन्छन् ।

२१ फागुनमा सपथ दिएका सांसदहरुले त्यो महिनाको सेवा सुविधा दिनगन्तीका आधारमा पाएका छन् । चैतबाट भने बैंक खातामा एकमुष्ट जम्मा हुन्छ ।

राज्यले आवास सुविधा बापत आवास नै दिएका सभामुखले घरभाडा वापत् २८ हजार २७५ रुपैयाँ पाउँछन् । राष्ट्रियसभा अध्यक्षले पनि सभामुखकै जति सुविधा पाउँछन्

केके छन् सांसदका सुविधा ?

यो संसद निर्वाचित भएर आउनुअघि नै विघटित व्यवस्थापिका संसदले सेवासुविधा तोकेको थियो, जसअनुसार सांसदले आवास सुविधा बापत मासिक १८ हजार रुपैयाँँ पाउँँछन् ।

भाडाकै घरमा बस्ने सांसदहरुले भने यो रकम अपुग भएको बताउँदै आएका छन् । उनीहरुका अनुसार काठमाडौंमा कम्तिमा एक फ्ल्याट भाडामा लिनुपर्ने बाध्यता छ । यसको मध्य शहरमा ३० हजारभन्दा माथि पर्छ भने चक्रपथ बाहिर पनि २० हजारभन्दा कममा पाउन मुस्किल रहेको सांसदहरु बताउँछन् ।

राज्यले आवास सुविधा बापत आवास नै दिएका सभामुखले घरभाडा वापत् २८ हजार २७५ रुपैयाँ पाउँछन् । राष्ट्रियसभा अध्यक्षले पनि सभामुखकै जति सुविधा पाउँछन् ।

दुबै सदनका विपक्षी दलको नेता, उपसभामुख, सत्तापक्षका नेता, मुख्य  सचेतक लगायतले आवास सुविधा बापत मासिक २५ हजार ६०८ रुपैयाँ पाउँछन् । दलको प्रमुख सचेतक, सत्तापक्षका सचेतक र विपक्षी दलका सचेतकले आवास सुविधा पावत मासिक २४ हजार २६८ रुपैयाँ पाउँछन् ।

अन्य सुबिधा के-के ?

संघीय संसदका सभामुखदेखि सांसदसम्म सबैलाई फर्निचर खर्च बापत सचिवालयले एकमुष्ठ रुपमा १५ हजार रुपैयाँ दिन्छ ।

सञ्चार सुविधा बापत मासिक ३ हजार पाउँछन् । सांसददेखि सभामुखसम्मका सबै पदाधिकारीले बैठक भत्ता र यातायात खर्च बाहेक विशेष भत्ता भनेर मासिक थप एक हजार रुपैयाँ पाउनेछन् । दैनिक भ्रमणभत्ता बापत सभामुख र राष्ट्रियसभा अध्यक्षले ३ हजार रुपैयाँ पाउँछन् भने सांसदहरुले २५०० रुपैयाँ पाउँछन् । यस्तो भ्रमण भने स्वीकृत हुनुपर्छ ।

मासिक पारिश्रमिक सभामुख र राष्ट्रियसभाका अध्यक्षले ६७ हजार ३२० रुपैयाँ पाउँछन् । विपक्षी दलको नेता, उपसभामुख र उपाध्यक्षले ६० हजार ९७० रुपैयाँ पाउँछन् ।

प्रमुख सचेतकहरुले ६० हजार ९७० र अन्य दलका प्रमुख सचेतक र सत्तापक्षका सचेतकले ५७ हजार ७८० रुपैयाँ पाउँछन् । सांसदको मासिक तलब भने ५५ हजार २३० रुपैयाँ हुन्छ । संसद बैठक बसेको दिन बैठक भत्ता एक हजार रुपैयाँ हुन्छ भने यातायात सुविधा पनि एक हजार रुपैयाँ नै दिइन्छ । पदाधिकारीलाई भने संसद सचिवालयले गाडी सुविधा नै उपलव्ध गराउँछ ।

सभामुख र राष्ट्रियसभा अध्यक्षको पानी र बिजुलीको बिल सरकारले तिर्छ भने अरुले मासिक २ हजार रुपैयाँ पाउँछन् । यो सबै जोड्दा मिलाएर एकजना सांसदले मासिक रुपमा तलब भत्ता र सुविधावापत झण्डै ८० हजार रुपैयाँ बुझ्छन् । साथै एक महिनामा १० वटासम्म संसद बैठक बस्यो भने बैठक भत्ता र यातायात खर्च बापत २० हजार गरी कुल एक लाख रुपैयाँ बुझ्छन् ।

अन्य पदाधिकारीहरुको भने सबै सुबिधा योभन्दा बढी हुन्छ । सुबिधा सम्बन्धी संशोधित ऐनअनुसार कुनै सांसद अशक्त भएमा एकमुष्ठ ५० हजार पाउँछन् भने मत्यु भएका सांसदका परिवारले २ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् ।

हेर्नुहोस् सांसदहरुले पाउने सुविधाको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment