+
+

भीष्म पितामहको बध कसरी भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १७ गते ८:११

महाभारतका एक शक्तिशाली पात्र भीष्मको जीवनकथा अनौठो छ । कर्मवादी भीष्म आफ्नो भीषण प्रतिज्ञाका कारण जति चर्चित छन् बहादुरीका कारण समेत उत्तिकै चिनिन्छन् । हिन्दूहरु आजसम्म पनि दशैंको टीका लगाइदिँदा शौर्यं शान्तनवे अर्थात् शन्तनुपुत्र भीष्मको जस्तो शौर्य होस् भनेर आशीर्वाद दिँदै छन् । गंगापुत्र भीष्म अष्टवसुमध्ये एक वसु अर्थात् देवता हुन् । वशिष्ठ ऋषिको श्रापका कारण पृथ्वीमा जन्म लिएका भीष्मले परशुराम, बृहस्पति एवं शुक्राचार्यजस्ता महान् गुरुहरुबाट शस्त्र एवं शास्त्रविद्या ग्रहण गर्ने सुअवसर प्राप्त गरे ।

महाभारत युद्धमा आफ्नो पितालाई दिएको वचनका कारण हस्तिनापुर राजगद्दीको सुरक्षाका लागि भीष्म कौरवका तर्फबाट युद्ध गरे । आफ्नो शरीर कौरवका पक्षमा भए पनि भीष्मको आशीर्वाद भने पाण्डवहरुलाई थियो ।

जम्मा १८ दिनसम्म चलेको महाभारत युद्धमा भीष्म १० दिनसम्म कौरव पक्षका सेनापति थिए । उनले हरेक दिन पाण्डव पक्षका १० हजार वीरहरुको बध गर्दथे । यसरी भीष्मबाट ठूलो संख्यामा आफ्ना सैनिकहरु मारिन थालेपछि पाण्डव पक्ष भीष्म पितामहलाई कसरी युद्धबाट पन्छाउने भनेर उपाय खोज्न थाले । श्रीकृष्णको सल्लाहअनुसार पाण्डवहरु नवौं दिनको युद्धपछि उनको मृत्युको कारण सोध्न गए । भीष्मले आफ्नो मृत्युको उपाय बताइदिए ।

भोलिपल्ट अर्थात् युद्ध सुरु भएको दसौं दिन भीष्मले ठूलो संख्यामा पाञ्चाल तथा मत्स्य सेनाको संहार गरे । इच्छामृत्युको वरदानप्राप्त भीष्मलाई युद्धक्षेत्रबाट हटाउनका लागि पाण्डवहरुले महारथी शिखण्डीलाई अगाडि लगाई भीष्मसँग युद्ध गर्न गए । आफ्ना अगाडि खिण्डीलाई देखेपछि भीष्मले शस्त्रास्त्र राखिदिए किनभने उनी कहिल्यै पनि स्त्रीजातिसँग युद्ध गर्दैनथे । उनलाई शिखण्डी महिलाका रुपमा जन्म लिएर पछि अरुसँग पुरुष चिह्न साटेर पुरुष बनेका हुन् भन्ने थाहा थियो ।

भीष्मले कृष्णमाथि युद्ध धर्मको विरुद्ध आचरण गरेको आरोप लगाउँदै महिलामाथि प्रहार नगर्ने भन्दै आफ्नो धनुष भुइँमा राखिदिए । कृष्णले पनि भीष्मलाई सदैव आफूद्वारा निर्धारित मानदण्डलाई नै धर्म मानेर मनोमानी आचरण गर्ने र धर्मको अवहेलना गर्ने आरोप लगाए । स्त्रीका रुपमा जन्म लिए पनि पिताबाट छोरा मानेर पालिएका शिखण्डीसँग अहिले यक्षद्वारा प्रदान गरिएको पुरुष लिंग भएको र शिखण्डीलाई भीष्मले महिला मान्नुको कुनै तुक नभएको बताए ।

शिखण्डीले भीष्ममाथि लगातार प्रहार गरे तर ती सबै वाण भीष्मको छातीको कवचमा ठक्कर आएर भुइँमा झर्थे । शिखण्डीको वाणमा भीष्मको छाती छेड्नसक्ने तागत थिएन । त्यो देखेपछि अर्जुनले शिखण्डीका पछाडि बसेर भीष्ममाथि प्रहार गर्न लागे । अर्जुन र शिखण्डीको वाण एकै रंगका थिए । यसकारण भीष्मले अर्जुनको वाण चिन्न सकेनन् तर उनलाई ती वाण शिखण्डीको नभएर अर्जनकै शुन् भन्ने प्रबल शंका थियो । यसरी अर्जुनले भीष्मको शरीर वाणद्वारा छियाछिया बनाइदिए तर पनि पिता शन्तनुले दिएको इच्छामृत्युको वरदानका कारण भीष्मको मृत्यु भएन । उनी हातमा तरवार लिएर रथबाट ओर्लिए तर वाणैवाणले चाल्नोजस्तो भएकाले उनको शरीर सन्तुलित हुन सकेन । सन्तुलन राख्न नसकी भीष्म पछारिए र उनी वाणको ओछ्यान अर्थात् शरशैयामा सुते ।

भीष्म ढलेको खबर डढेलोझैं फैलियो । यसबाट कौरव सेनामा हाहाकार मच्चियो । दुवै पक्षका सैनिक एवं सेनापतिहरु युद्ध छोडेर भीष्मलाई हेर्न आए । यस्तो अवस्थामा भीष्मले आफ्नो टाउको भुइँमा लत्रन थालेकाले तकिया मागे । उनको बोली भुइँमा खस्नु मात्र के थियो राजाहरुले अने किसिमका मूल्यवान् तकियाहरु लिएर आए । तर भष्मिले मुस्कुराउँदै त्यस्तो तकिया आफ्ना लागि शोभाको कुरा नहुने बताउँदै अर्जुनसँग तकिया मागे । पितामहको आज्ञा पाउनेबित्तिकै अर्जुनले भीष्मको निधारमा तीन वाण हाने जुन वाण उनको निधार छेडेर भुइँमा गाडिए र टाउको लत्रन नदिई तकियाको काम गरे । यसपछि भीष्मले पानी खान मागे । अर्जुनले तत्कालै एक वाण भुइँमा हानेर अमृतसमान शीतल एवं सुगन्धित  पानी उत्पन्न गरी त्यसको धारो भीष्मको मुखमा पर्ने व्यवस्था मिलाइदिए ।

यति हुँदा पनि प्राण त्यागेनन् भीष्मले

शरशैयामा सुत्दाको कष्टबाट मुक्त हुन भीष्मले प्राण त्याग्नुपथ्र्यो तर उनले त्यसो गरेनन् किनभने त्यतिबेला सूर्य दक्षिणायन थिए । सूर्य उत्तरायण भएको बेलामा प्राण त्याग गर्दा सद्गति मिल्ने र पुनः आफ्नो लोकमा गएर मुक्त हुन सकिन्छ भन्ने कुरा भीष्मलाई भलिभाँती थाहा थियो । त्यसकारण उनी शरशैयामै लेटेर सूर्य उत्तरायण हुने समयको प्रतीक्षा गर्न थाले । उनलाई इच्छामृत्यको वरदान प्राप्त थियो तसर्थ उनी आफूले चाहेको खण्डमा मात्रै मर्न सक्थे ।

भनिन्छ, भीष्मलाई उपचार गर्नका लागि शल्य चिकित्सकको टोली ल्याइएको थिए । तर भीष्म उनीहरुलाई फर्काइदिन्छन् र भन्छन्, अब मेरो अन्तिम समय आएको छ । तसर्थ उपचार गर्नु व्यर्थ छ । शरशैया नै मेरो चिता हो । म केवल सूर्य उत्तरायण हुने समयको प्रतीक्षा गरिरहेको छु । भीष्मको यो कुरा सुनेर उनलाई भेट्न आएका राजागण, सेनापति, बन्धुबान्धव तथा योद्धागण आआफ्ना छाउनीमा र्फकन्छन् । भोलिपल्ट उनलाई भेट्न कुलका कन्या, महिलावर्ग तथा योद्धाहरु आउँछन् र चुपचाप भीष्मलाई हेरेर बस्छन् ।

भीष्मले दुर्योधनलाई युद्ध त्याग गरेर वंशको रक्षा गर्न सुझाव दिन्छन् । उनी अर्जुनको प्रशंसा गर्छन् अनि दुर्योधनलाई युद्ध नगर्न सल्लाह दिन्छन् । तर दुर्योधन मान्दैनन् । युद्ध चलिरहन्छ । भीष्म हरेक दिन युद्ध रोकेर सन्धि गर्न सल्लाह दिन्छन् तर दुर्योधन त्यो कुरा मन पराउँदैनन् । भीष्म शरशैयामा सुतेपछि पनि आठ दिनसम्म युद्ध चलिरहन्छ । दुर्योधनको हार हुन्छ ।

युद्ध सकिएपछि युधिष्ठिर हस्तिनापुरका राजा बन्छन् । उनी भीष्मकहाँ आएर आफ्ना कारण पितामहको यस्तो अवस्था भएको तथा वंशनाश भएकाम घोर दुःख व्यक्त गर्छन् । श्रीकृष्णले भनेपछि भीष्मले शरशैयाबाटै युधिष्ठिरलाई राजधर्म, मोक्षधर्म, आपद्धर्म आदिका विषयमा मूल्यवान् उपदेश दिन्छन् । यो उपदेशलाई सुनिसकेपछि युधिष्ठिरको शोक नाश हुन्छ । मनको ग्लानि तथा पश्चात्ताप हट्छ ।

सूर्य उत्तरायण भएपछि पाण्डवहरु श्रीकृष्ण, आफ्ना नातासम्बन्धी, पुरोहित तथा अन्य मानिसहरु लिएर भीष्मकहाँ पुग्छन् । भीष्म सबैसँग भन्छन्, यो शरशैयामा सुतेको आज ५८ दिन भएको छ । मेरो भाग्यले माघ महिनाको शुक्ल पक्ष आएको छ । अब म शरीर त्याग गर्न चाहन्छु । यति भनेर भीष्मले प्रेमपूर्वक सबेसँग विदा मागेर प्राण त्याग गरे ।

सबै मानिस भीष्मको शोकमा रुन लागे । पाण्डवहरुले चन्दनको चितामा राखेर उनको शव दाहसंस्कार गरे ।

शिखण्डी को हुन् ?  

शिखण्डी पहिलो जन्ममा काशीराजपुत्री अम्बा थिइन् । भीष्मले उनलाई दुई बहिनी अम्बिका र अम्बालिकासँगै आफ्ना भाइ विचित्रवीर्यका लागि हरण गरेर ल्याए । अम्बा शाल्वराजलाई प्रेम गर्थिन् । हस्तिनापुर आइपुगेपछि उनले त्यो कुरा भीष्मसँग भनिन् । भीष्मले उनलाई शाल्वराजकहाँ पठाइदिए । तर अर्काले हरण गरेर लगिएकी कन्यासँग आफू विवाह गर्न असमर्थ भएको भन्दै अम्बालाई फर्काइदिए । अम्बा फेरि भीष्मकहाँ फर्केर आफूसित विवाह गर भनेर आग्रह गरिन् । भीष्मले आफूले पहिल्यै भाइका लागि भनेर हरण गरेको र कुनै हालतमा पनि व्रह्मचर्यको प्रतीज्ञा नतोड्ने बताए ।

भीष्मको तिरस्कारपछि तिलमिलाएकी अम्बा परशुरामको शरणमा पुगिन् । परशुराम भीष्मका गुरु थिए । उनले अम्बालार्य पत्नीका रुपमा अँगाल्न आदेश दिए तर भीष्मले मानेनन् । गुरु चेलाका बीच २३ दिनसम्म युद्ध भयो । युद्धमा परशुराम पराजित भए । यसबाट निराश भएकी अम्बा महादेवको आराधना गर्न थालिन् । महादेवले उनलाई अर्को जन्ममा भीष्मको मृत्युको कारण बन्नसक्ने वरदान दिए । यसपछि अम्बाले अग्निमा प्रवेश गरेर शरीर त्याग गरिन् र पाञ्चाल नरेश द्रुपदका घरमा जन्म लिन पुगिन् । द्रुपदको घरमा छोरीका रुपमा जन्मिएकी शिखण्डीलाई छोरा भनेर पाल्न थालियो । त्यही रुपमा उनी हुर्किए ।

जवान भएपछि एक राजकुमारीसँग उनको विवाह भयो । विवाहपछि उनी आत्तिए । आफ्नो भेद खुल्नसक्ने डरले उनी मर्न भनेर जंगलमा पुगे । त्यहाँ उनको भेट एकजना यक्षसँग भयो । शिखण्डीको कथाव्यथा सुनेर यक्षको मन पग्लियो । यक्षले एक वर्षका लागि लिंग साट्ने प्रस्ताव गर्‍यो । यसपछि शिखण्डी पुरुष भएर खुसी हुँदै घर फर्किए । उता यक्षका मालिकले यो कुरो थाहा पाएर रिसाए । उनले शिखण्डीको जीवन छउन्जेल आफ्नो पुंसत्व फिर्ता लिन नसकोस् भनी यक्षलाई श्राप दिए । शिखण्डीलाई काइदा भयो । यसपछि उनी जीवनभर पुरुष भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?