Comments Add Comment

सामाजिक सञ्जालबाट ‘टार्गेट’ रोज्छन् बाल यौन दुराचारी

यसरी फस्दैछन् बालबालिका अन्तर्राष्ट्रिय पेडोको फन्दामा

.

३१ साउन, काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले ४ साउनमा बाल यौन दुराचारको आरोपमा ६६ वर्षीय स्वीस नागरिक पिटर क्रिस्टिएन ल्यान्जेन्डरलाई पक्राउ गर्‍यो ।

काठमाडौं, बाफलका १६ वर्षीय एक किशोरलाई यौन दुराचार गरेको खुलेपछि पिटरलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित किशोर र आरोपी पिटरबीच तीन वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको थियो । किशोर अवस्थामा नपुग्दै साथी बनेका बालकलाई पिटरले आफूलाई समाजसेवीको रुपमा चिनाएका थिए ।

‘फेसबुकमा विदेशीको प्रोफाइल देखेपछि एसेप्ट गरेको थिएँ’, बालक भन्छन्, ‘नेपालमा आएर काम गर्ने बताएपछि कुराकानी बाक्लो हुनथाल्यो ।’

च्याटरुमको कुराकानी बाक्लिएपछि पिटरले बालकलाई आर्थिक सहयोग पनि गर्न थाले ।

सहयोग पाएपछि बालक पुलकित नहुने कुरै थिएन । तर, सहयोगको पछाडि लुकेको पिटरको घीन लाग्दो उद्देश्य बालकलाई थाहा थिएन ।

०७३ साउनमा पिटर नेपाल आए । आउने वित्तिकै उनले बालकलाई चावहिल, चुच्चेपाटीस्थित ट्रेकर्स होटलमा बोलाए ।

बालक आफूसँगै पढ्ने साथीलाई लिएर होटलमा पुगे ।

‘पहिलोपटक साथीलाई बाहिर राखेर पारिवारिक कुराहरु सोधपुछ गरेपछि कपडा किन्न र पढ्न भन्दै पैसा पनि दिएका थिए’, प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, ‘ठूलो भएपछि मोबाइल किन्न सहयोग गर्छु भनेपछि झन् खुशी भएँ ।’

बाल यौन दुराचारको आरोपमा पक्राउ परेका स्वीस नागरिक पिटर ।

पहिलो भेटमा केही घण्टा कुराकानी गरेर फर्किएका बालकलाई पिटरले एक महिना नपुग्दै फेरि भेट्न बोलाए । यसपटक एक्लै गएका बालक पिटरको जालमा परीहाले ।

पिटरले बालकलाई आफ्नो गोप्य अंग सुम्सुम्याउन लगाए । आफ्नो कृत्य अरुलाई नबताउने शर्तमा बालकलाई १० हजार रुपैयाँ दिएर पठाए ।

‘पैसा पाइराखेका कारणले उसले अरुलाई बताउन नसकेको रहेछ’, बालकको परिवारका एक सदस्य भन्छन् । त्यसपछि पनि पिटरले बालकलाई पटक-पटक यौन दुराचार गरेर फर्किए ।

पिटरको दुराचार त्यतिमै रोकिएन । ०७४ पुसमा फेरि फेसबुकबाट बालकसँग कुराकानी गरेर नेपाल आउने जानकारी दिए । त्यसपछि विभिन्न प्रलोभन देखाएर बालकलाई ठमेलको एक गेष्टहाउसमा बोलाए । र, १५ हजार रुपैयाँ दिएर पुनः यौन दुराचार गरे ।

गत चैतमा भक्तपुरको सिद्धपोखरीस्थित एक होटलमा लगेर ती बालकमाथि दुराचार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पिटरले मोटरसाइकल किन्न एक लाख रुपैयाँ दिएको प्रहरीले जानकारी दिएको छ ।

परिवार र छरछिमेकले बालकको व्यवहारमाथि शंका लागेर सोधीखोजी गरेपछि घट्नाको जानकारी प्रहरीसम्म पुगेको थियो ।

पिटरले चुम्चेपाटीमा ट्रिगर इन, भक्तपुरको दरबार स्क्वायरमा वेलकम हेरिटेज इन होटल पार्टनरसिपमा सञ्चालन गर्दै आएका छन् ।

उनले रसुवामा लाङटाङ एजुकेशन प्रोजेक्ट र एडुकोर स्वीस नेपाल नामक संस्थाको सञ्चालक बनेर त्यसको आवरणमा दुराचार गर्ने गरेको प्रहरीको भनाइ छ ।

बयानका क्रममा आफूले फेसबुकमार्फत नजिकिएर बालकमाथि यौन दुराचार गरेको पिटरले स्वीकार गरिसकेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह बताउँछन् । पिटरविरुद्ध जबरजस्तीकरणी मुद्दा चलाइएको छ ।

पेडोको सञ्जाल

बालयौन दुराचार अर्थात् पेडोफाइलका घटनाका पीडकलाई ‘पेडो’ भनेर चिनिन्छ ।

पेडोहरूको आफ्नै सञ्जाल रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकारी बताउँछन् ।

‘अन्तर्राष्ट्रिय पेडोहरुको आफ्नै सञ्जाल छ । जसलाई नाम्ला भनिन्छ’, ती अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यो सञ्जालमा बालकहरूको बारेमा फोटो लगायतका सूचना शेयर गर्छन् । त्यसपछि उनीहरुले विभिन्न देशका बालबालिकालाई एप्रोच गर्छन् ।’

सीआईबीले ६ साउनमा काठमाडौं-८, गौशालाबाट ३८ वर्षीय फ्रान्सेली नागरिक डेनिस माथिइ मिचेल चपाउ र ४२ वर्षीय क्रिष्टोफे ग्योलक्सलाई पक्राउ गर्‍यो ।

क्रिष्टोफस सन् २०१७ सेप्टेक्बर ९ र डेनिस सन् २०१७ अक्टोवर २५ मा पहिलो पटक पर्यटक भिषामा नेपाल आएका थिए ।

उनीहरू दुबै जना कागेश्वरी मनहरास्थित एक घरमा डेरा गरी बसेका थिए । त्यसपछि उनीहरू पटकपटक नेपाल आएको अध्यागमन विभागको अभिलेख छ ।

पर्यटकीय भिषामा नेपाल आएका क्रिष्टोफस र डेनिसको भित्री उद्धेश्य भने पिटरको जस्तै रहेछ ।

सीआईबीका निर्देशक डिआईजी नारायणसिंह खड्का ।

सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणसिंह खड्काका अनुसार उनीहरूले त्यहाँका स्थानीय १० देखि १४ वर्षका बालकहरूलाई फुटबल, चक्लेट, ड्रेस लगायत किनिदिने, स्वीमिङ पुलमा लैजाने लगायतका प्रलोभन देखाएर यौन दुराचार र अप्राकृतिक मैथुन गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।

‘डेनिस सन् २००४ मै फ्रान्समा बालयौन दुराचारको केसमा पक्राउ परेर सजाय भोगिसकेका व्यक्ति रहेछन्’, डिआईजी खड्काले भने ।

स्रोतका अनुसार डेनिस पेडोहरुको एउटा सञ्जालको एड्मिनेस्टे्रटर समेत थिए । पेशाले कम्प्यूटर इञ्जिनियर उनले आईटी सम्बन्धी ज्ञानलाई गलत कार्यमा लगाएका थिए ।

‘उनले पनि टार्गेट सेलेक्सनका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘डेनिसले बालकको फोटोहरू लिएर पेडोहरूको सञ्जालमा शेयर गरेको भेटिएको छ ।’

टार्गेटमा नेपाल

पछिल्लो समय बालयौन दुराचारीहरूका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको प्रहरी अभिलेखले देखाउँछ ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय पेडोहरुको निशानामा नेपालसहित अफ्रिका, श्रीलंका, थाइल्याण्ड लगायतका देश छन् । तर, ती देशहरूमध्ये पनि नेपाललाई उनीहरूले अपराध गर्नका लागि सुरक्षित स्थलको रुपमा लिनेको सीआईबीका एक अधिकारी बताउँछन् ।

‘हामी कहाँ अतिथि देव भवः भनेर पाहुनालाई सत्कार गर्ने पहिल्यैदेखिको चलन छ । त्यसमा पनि विदेशी भनेपछि शंकाको दृष्टिले पटक्कै हेरिँदैन’, डिआईजी खड्का भन्छन्, ‘नेपालीको यही स्वभावको पेडोहरूले गलत फाइदा उठाइरहेका छन् ।’

अन्तर्राष्ट्रिय बालयौन दुराचारीहरू नेपालमा घुम्ने बहानामा आउने गरेका छन् । तर, उनीहरू निश्चित स्थानमा बसेर आफ्नो स्वार्थसिद्ध गर्ने गरेको प्रहरी बताउँछ

अत्याचारबारे अरुलाई जानकारी दिँदा पीडकले दिँदै आएको नगद, कपडा, खेलौना गुम्ने भएकाले पनि पीडितहरू चुप लागेको पाईएको खड्का बताउँछन् ।

‘हाम्रो सामाजिक मूल्य, मान्यता, रीतिरिवाज र संस्कारका कारण पनि पीडित बालकले आफ्नो कुरा एक्सपोज गर्न नसकेको देखिन्छ’, खड्काले थपे, ‘तुलनात्मक रुपमा नेपालमा सजाय पनि कम छ, जसको फाइदा पेडोहरुले उठाउने गरेका छन् ।’

बालयौन दुराचारीहरूले आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरीलाई सजिलै आफ्नो जालमा पार्न सफल भएको देखिन्छ ।

‘बालबालिकालाई कापी, कलम, खेल सामग्री दिए जस्तो गरेर प्रलोभनमा पार्न पेडोहरूलाई सहज छ’, खड्काले भने ।

अन्तर्राष्ट्रिय बालयौन दुराचारीहरू नेपालमा घुम्ने बहानामा आउने गरेका छन् । तर, उनीहरू निश्चित स्थानमा बसेर आफ्नो स्वार्थसिद्ध गर्ने गरेको सीआईबीका एक अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘कुनै निश्चित होटल वा होमस्टेमा बसेर बच्चाहरूसँग समय विताउने गरेको देखिन्छ ।’

सामाजिक सञ्जालबाट निशाना

सीआईबीका अनुसार कतिपय पेडोहरूले सामाजिक सञ्जालमार्फत बालबालिकासँग नजिकिएर उनीहरुलाई सहयोग गर्ने बहानामा यौन दुराचार गर्ने गरेका छन् ।

‘उनीहरुलाई टार्गेट सेलेक्सनका लागि सामाजिक सञ्जाल सजिलो माध्यम बनेको छ’, ती अधिकारी भन्छन्, ‘त्यति मात्रै होइन सामाजिक सञ्जालमार्फत सूचना लिएर अरु पेडोहरूलाई पनि दुराचारका लागि पठाउने गरेको देखिएको छ ।’

बालबालिकासँग मस्ती गरिरहेको अर्को पेडोलाई देखाउन यौन दुराचारीले सामाजिक सञ्जालमा फोटो अपलोड गर्ने गरेका छन् । त्यसरी पेडोको सञ्जालमा एकातिर म्यासेज पुर्‍याउने र अर्कातिर समाजसेवीको झुठो परिचय पनि बनाउने गरेको देखिन्छ

बाल यौन दुराचारीेहरूले सामाजिक सञ्जालमा बालबालिकासँग खेलिरहेको फोटोहरु समेत अपलोड गर्ने गरेको देखिन्छ ।

‘पेडोहरुको सञ्जालमा बालबालिकालाई यौन दुर्व्यहार गरेको फोटोहरु शेयर गर्दा त्यो वापत पैसा नै आउने रहेछ’, ती अधिकारीले अनलाइनखबरसँग भने, ‘बालबालिकासँग खेलिरहेको फोटो फेसबुकमा शेयर गर्नुको मुख्य उद्धेश्य आफ्ना साथीभाइलाई समाजसेवा गरेको भ्रम छर्न पनि रहेछ ।’

आफूले बालबालिकासँग मस्ती गरिरहेको अर्को पेडोलाई देखाउन पनि त्यसरी फोटो अपलोड गर्ने गरेको प्रहरीको ठहर छ । त्यसरी राखिएको फोटोमार्फत पेडोको सञ्जालमा म्यासेज पुग्ने र समाजसेवीको झुठो परिचय पनि बनाउने गरेको देखिन्छ ।

बालबालिकामाथि अनलाइनबाट हुने यौन दुव्र्यवहारको क्षेत्रमा काम गरिरहेको भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण थापा पछिल्लो समय बालबालिकामाथि सामाजिक सञ्जालको प्रयोगको माध्यमबाट हुने हिंसा बढेको बताउँछन् ।

उनी विद्यालय, सामाजिक सञ्जालमार्फत चेतना फैलाउनु पर्ने र बालबालिकाको सुरक्षा लक्षित कार्यक्रम आवश्यक रहेको बताउँछन् ।

‘बालबालिकालाई विद्युतीय सामग्री चलाउन दिँदा अभिभावकको निगरानी आवश्यक छ’ थापाले अनलाइनखबरसँग भने, ‘बालबालिकालाई गलत कार्यमा संलग्न हुन नदिने पहिलो दायित्व अभिभावककै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment