Comments Add Comment

‘गृहबाट थिचिएका’ आईजीपीसँग प्रधानमन्त्री असन्तुष्ट

१२ भदौ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले २७ चैत ०७४ मा सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेलगत्तै प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राजीनामा घोषणा गरे । त्यसको भोलिपल्टै गृहमन्त्रालयमा राजीनामा पेश गर्दै खरेल २९ वर्ष लामो प्रहरी सेवाबाट अलग्गिए । र, जाँदाजाँदै भने, ‘यस्तो नेतृत्व भएको ठाउँमा काम गर्दिनँ ।’

आम सर्वसाधारणले खरेलको राजीनामा र त्यो अभिव्यक्तिलाई हल्कै रुपमा लिएता पनि खनालको नेतृत्व क्षमतामाथि भने त्यसबेलै प्रश्न उठिसकेको थियो । आईजीपी खनालले प्रतिवद्धता व्यक्त गरेअनुसार सही ‘पुलिसिङ’ गरेर उनीमाथि उठेको औंलाको जवाफ दिनुपर्ने चुनौती उनीमाथि थियो ।

सेलिब्रेटी छवि बनाएका आईजीपी खनालले आफ्नो नेतृत्वकालमा सबैको मन जित्न सफल हुनेमा पूर्वप्रहरी अधिकारीहरुसमेत आशावादी थिए, सर्वसाधारण नागरिकहरु त झनै आशावादी नहुने कुरै भएन ।

तर, आशा गरिएका आईजीपी खनालले नेतृत्व सम्हालेको ५ महिना बित्न नपाउँदै प्रहरी संगठनको साख क्रमशः गिर्दो अवस्थामा जान थालेको छ ।

प्रहरीको भूमिकाप्रति नागरिकहरुमा असन्तुष्टि बढ्न थालेको छ । र, पछिल्लो समय नेपाल प्रहरीको कामबाट प्रधानमन्त्री केपी शर्मा ओलीसमेत असन्तुष्ट देखिएका छन् ।

आईजीपीसँग किन रिसाए प्रधानमन्त्री ?

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कामबाट प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन् । यसैको पछिल्लो दृष्टान्त हो, प्रधानमन्त्री ओलीले आईजीपी खनालको अमेरिका भ्रमणलाई क्याबिनेटबाट अस्वीकृत गरिदिनू ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागका प्रमुखसमेत तीनै सुरक्षा प्रमुखहरुले अमेरिकामा एउटा कार्यक्रममा सहभागी हुन गृहमार्फत क्याबिनेटमा प्रस्ताव पुर्‍याएका थिए । तर, मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री रिसाएपछि त्यो भ्रमण स्वीकृत भएन ।

एआईजी नियुक्तिको सिफारिसमा भएको ढिलाइमा मात्रै होइन, भक्तपुरको फेक इन्काउन्टर प्रकरणमा पनि प्रहरीको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोत बताउँछ । प्रहरी नेतृत्व र गृह मन्त्रालयको काम गराइ यस्तै पाराको रही रहेमा विकल्पसमेत सोच्नुपर्ने अवस्था आउने संकेत प्रधानमन्त्री ओलीले दिन थालेका छन्

‘देशमा यस्तो हत्या हिंसाका घटना भइरहेका बेला सुरक्षा प्रमुखहरु किन लर्को लागेर अमेरिका जानुपर्‍यो ? जानैपर्ने भए डीआइजीलाई पठाउँदा हुँदैन ?’ तीन दिनअघि बसेको क्याबिनेट बैठकमा प्रधानमन्त्री ओलीले कड्किँदै भने, ‘यो भ्रमण स्वीकृत हुँदैन ।’

अहिले देशैभरि प्रहरीको भूमिका प्रभावकारी हुन नसकेको र हत्या हिंसाका घटनाको अनुसन्धानमा प्रहरी चुकेको गुनासा आइरहेका छन् । यो अवस्थामा रिक्त रहेका एआईजीहरुको तत्काल नियुक्त गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले बारम्बार जोड दिँदै आएका छन् । तर, एआईजी नियुक्तिको सिफारिसमा प्रहरी महानिरीक्षक खनालले तदरुकता नदेखाएको प्रधानमन्त्रीनिकट स्रोतको बुझाइ छ ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतले अनलाइनखबरसँग भन्यो– ‘प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापा बादललाई दुईपटक सोधिसक्नुभयो, एआईजी नियुक्तिको सिफारिस अहिलेसम्म किन नल्याएको ? अहिलेसम्म आईजीपी के गरेर बसिरहेका छन् ?’

एआईजी नियुक्तिको सिफारिसमा भएको ढिलाइमा मात्रै होइन, भक्तपुरको फेक इन्काउन्टर प्रकरणमा पनि प्रहरीको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोत बताउँछ । प्रहरी नेतृत्व र गृह मन्त्रालयको काम गराइ यस्तै पाराको रही रहेमा विकल्पसमेत सोच्नुपर्ने अवस्था आउने संकेत प्रधानमन्त्री ओलीले दिन थालेका छन् ।

जस्तो– सोमबार बालुवाटारमा सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले प्रहरीमाथि भर पर्दा कञ्चनपुरमा अहिलेको परिस्थिति आएको बताए । उनले अब आफू कडारुपमा प्रस्तुत हुने र केही कदम चाल्नुपर्ने हुन सक्ने पनि बताए ।

प्रधानमन्त्रीले सोमबार सम्पादकहरुसँग भने, ‘कञ्चनपुर केसमा म पनि भर परें, तपाईहरु पनि त भर पर्नु भो नि । त्यो घटना भएपछि पहिले त पुलिसमाथि भर पर्नुपर्‍यो, छानविन गर्छ कि भनेर । सबै ठाउँमा हामी पुलिसमाथि नै भर पर्छौं नि ।’

प्रधानमन्त्रीले थपे– ‘अदालतले न्याय दिन्छ भन्ने हामी विश्वास गर्छौं । पुलिसले शान्ति सुरक्षा गर्छ भन्ने विश्वास गर्छौं । त्यही हो नि गर्ने त । ज–जसको जे–जे काम हो, त्यसमाथि विश्वास गर्न थालिन्छ ।’

तर, अब आफू कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताएका छन् । उनी भन्छन्– ‘योग्य मान्छेलाई योग्य ठाउँ दिनुपर्छ । राम्रो काम गरेको छ भने पुरस्कृत गर्ने, राम्रो काम गर्दैन भने हटाउनुपर्छ । देशलाई काम चाहिएको छ । एउटा मान्छेको पेसाको ग्यारेन्टीले देशको विकासमा बाधा पार्ने कुरा मान्य हुँदैन ।’

तर, यसो भनिरहँदा प्रधानमन्त्रीले यो पनि भने– ‘म अनुहार हेर्दिनँ, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामीप्यतावाद केजातिवाद…. अहिलेको समस्या के हो भने राजनीतिकरण ।’

आईजीपीको दौडमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को दरिलो साथ पाएपछि सर्वेन्द्र खनालले बाजी मारेको स्रोतको भनाइ छ । र, यसैको प्रतिफलस्वरुप गृहमन्त्री थापा र आईजीपी खनालवीच अहिले काममा सहजता मिलिरहेको छ

असन्तुष्टिको अर्को पाटो

त्यसो त प्रधानमन्त्री ओली आईजीपी खनालप्रति असस्तुष्ट हुनुको अर्को भित्री पाटो पनि छ । सूत्रहरुका अनुसार प्रधानमन्त्री ओली सुरुमा सर्वेन्द्र खनाललाई आईजीपी बनाउने पक्षमा थिएनन् । यही कारण क्याबिनेटले प्रस्ताव आएको पहिलो बैठकमै खनाललाई आईजीपी बनाएन र अर्को बैठकमा मात्रै उनलाई आईजीपी बनाउन प्रधानमन्त्री सहमत भए ।

नेकपाका केही नेताहरुको भनाइलाई पत्याउने हो भने सर्वेन्द्र खनाल तत्कालीन माओवादी केन्द्रको चाहनाअनुसार आईजीपी बनेका हुन् ।

प्रधानमन्त्री ओलीचाहिँ तत्कालीन डीआर्इजी रमेश खरेललाई प्रहरीको नेतृत्व सुम्पिन चाहन्थे । उता, राष्ट्रपति विद्यादेवी भण्डारीको ईच्छा आफूसित पारिवारिक नाता जोडिएका पुष्कर कार्कीलाई आईजीपी बनाउने थियो ।

तर, आईजीपीको दौडमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को दरिलो साथ पाएपछि सर्वेन्द्र खनालले बाजी मारेको स्रोतको भनाइ छ । र, यसैको प्रतिफलस्वरुप गृहमन्त्री थापा र आईजीपी खनालवीच अहिले काममा सहजता मिलिरहेको छ ।

तर, प्रधानमन्त्री ओली भने गृहमन्त्री थापा र आईजीपी खनाल दुबैले शान्ति सुरक्षाको मामिलामा प्रभावकारी काम गर्न नसकेको निष्कर्षमा पुग्न थालेका छन् ।

‘फेक इन्काउन्टर’ देखि ‘फेक बलात्कारी’ सम्म

हुन त यसलाई संयोग नै मान्न सकिएला, तर रामबहादुर थापा गृहमन्त्री अनि सर्वेन्द्र खनाल आईजीपी नियुक्त भएयता प्रहरी संगठन कतिपय मामिलामा विवादमा फस्दै आएको छ । प्रहरी संगठनप्रतिको जनविश्वास क्रमशः गिर्दो छ ।

त्यसो त प्रहरी संगठनको आन्तरिक नेतृत्व मात्रै होइन, अनुसन्धानमा समेत प्रश्नहरु उठेका छन्, जसले गर्दा प्रहरी नेतृत्व घेराबन्दीमा पर्न थालेको जस्तो देखिन्छ ।

नेपाल प्रहरीमाथि यसरी जनमानसबाट प्रश्न उठ्नुमा केही घटनाक्रमले भूमिका खेलेका छन् । जुन घटनामा प्रहरीले ‘नाटक’ मञ्चन गरेको आरोप लाग्दै आएको छ । जस्तै–

पहिलो– साढे ३३ किलो सुन प्रकरण, जसको अनुसन्धानलाई प्रहरीले किनारा लगाउन सकेन । यद्यपि, यो प्रकरण अहिले अदालतमा पुगेको प्रहरी नेतृत्वको भनाइ छ ।

तस्करीको साढे ३३ किलो सुन हराएपछि गोरेका भरिया सनम शाक्यलाई करेन्ट लगाएर तस्करहरुबाट हत्या गरियो । घटनाको सूचना पाएलगत्तै अनुसन्धान गर्न तत्कालीन महानगरीय अपराध महाशाखाको टोली पूर्वतिर लाग्यो ।

तत्कालीन डीएसपी प्रजित केसीको नेतृत्वमा गएको टोलीले धरानमा शाक्यको शव बरामद गर्‍यो ।

तर, बिराटनगरमा शव बरामद भएको नाटक रचियो । सरकारले घटनाको विषयमा अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेपछि तत्कालीन प्रहरीको नाटक पटाक्षेप भयो ।

तस्करीका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ सँग २ करोड रुपैयाँको डिल गरेर प्रहरी टोली काठमाडौंबाट मुभ भएको देखियो भने उप्रेतीलाई समेत इन्काउन्टर गर्ने योजना रहेको टेलिफोन रेकर्ड सार्वजनिक भयो ।

प्रारम्भमा त्यो ‘गुड फेथ’मा गरिएको काम भएको दाबी गरिएता पनि पछि अनुसन्धान समितिले प्रहरीको कमजोरी औंल्यायो ।

अनुसन्धानका क्रममा तत्कालीन महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीसहित ९ जना प्रहरी अधिकारीहरु पक्राउ परे । यो विषयमा प्रहरी नेतृत्वले बोलेन भन्दै पूर्वप्रहरी अधिकारीहरुले वर्तमान प्रहरी नेतृत्वको आलोचना गर्दा गृहमन्त्रालयले हतार–हतार पूर्वडीआइजीविरुद्ध विज्ञप्ति नै जारी गर्‍यो ।

त्यतिञ्जेलसम्म प्रहरी नेतृत्वले सुनकाण्डमा समातिएका प्रहरी अधिकारीबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको थिएन । यद्यपि प्रहरी प्रमुखले उच्चस्तरीय छानविन समितिले गरिरहेको बाममा हस्तक्षेप गर्न नमिल्ने तर्क गरेका थिए । यो परिघटनाबाट प्रहरी संगठनभित्रको ‘दुई लाइन अन्तरविरोध’ सतहमा आयो ।

दोस्रो– सरुवा बढुवा: गृहमन्त्री थापा स्वयंले प्रहरीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने बताए पनि त्यो हुन नसकेको गुनासो प्रहरी संगठनभित्र सुनिन थालिएको छ । बढुवामा कामको मूल्याङ्कनभन्दा पनि राजनीति, पहुँच र निकटताका आधारमा प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) सरुवा भएको भन्दै प्रहरी संगठनभित्र असन्तुष्टि बढेको हो ।

कार्यक्षेत्रमा खटिएर अब्बल कार्यक्षमता प्रदर्शन गरेका भन्दा पनि नेताका नजिककालाई प्राथमिकतामा राख्दा संगठनका अधिकारीहरु असन्तुष्ट भएको बताउँछन् । यसले गर्दा पोष्टिङसमेत विवादरहित हुन सकेको छैन ।

अहिले प्रधानमन्त्री ओलीले नै एआईजी बढुवा अड्किएको विषयमा चासो देखाएपछि बढुवा प्रक्रिया सुरु भएको स्रोत बताउँछ

मकवानपुरका प्रहरी प्रमुख भए गएलगत्तै एसपी लोकेन्द्र श्रेष्ठले जिल्लामा अपराधीलाई इन्काउन्टर गर्ने भन्दै सार्वजनिकरुपमै अभिव्यक्ति दिए । जसका कारण उनी त्यहाँबाट फिर्ता त तानिए तर, आईजीपी खनालले गरेको पोष्टिङ कस्तो रहेछ भन्ने बुझ्नलाई त्यो एउटा सानो उदाहरण पर्याप्त भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

त्यसैगरी एसएसपीहरुको सरुवा पनि विवादरहित बन्न सकेन । क्षमताभन्दा पनि पूर्वाग्रह राखेर सरुवा गरिएको गुनासो प्रहरी संगठनमा देखापर्‍यो ।

अहिले तीनजना एआईजीको पद रिक्त भए पनि बढुवा हुन सकेको छैन । यस पछाडिको मुख्य कारण आफूलाई मन नपरेका मानिसलाई अघि बढाउन नचाहने खनालको स्वभावले काम गरेको उच्चसूत्रको दाबी छ । यद्यपि, अहिले प्रधानमन्त्री ओलीले नै एआईजी बढुवा अड्किएको विषयमा चासो देखाएपछि बढुवा प्रक्रिया सुरु भएको स्रोत बताउँछ ।

तेस्रो– भक्तपुरको इन्काउन्टर: महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले २१ साउनमा भक्तपुरमा दुई अपहरणकारीमाथि गोली चलायो । तर, महाशाखाको काम यति अपरिपक्व देखियो कि सर्वसाधारणले शंका–उपशंका गर्ने अनेकौं ठाउँ भेटिए ।

अपहरणकारी भनिएका व्यक्तिलाई पक्राउ र कुटपिट गरेर अपहरित बालकको सूचना लिने काम सर्वसाधारणले देख्ने गरी भयो । र, स्थानीयको भीडकै बीचबाट पक्राउ गरेर लगिएका व्यक्तिलाई आईजीपी खनालको ‘ग्रिन सिग्नल’मा गोली ठोकियो ।

पक्राउ परेको व्यक्तिलाई इन्काउन्टरका नाममा गोली ठोक्ने प्रहरीको पुरानै परम्परा हो । तर, त्यो नाटकको क्लाइमेक्सचाहिँ भक्तपुरको ‘फेक इन्काउन्टर’मा पुगेर छरपस्ट भयो ।

चौथो– कञ्चनपुरमा बलात्कारपछि हत्याः कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भयो । घटना भएको २५ दिनपछि प्रहरीले ‘मानसिक रोगी अभियुक्त’ सार्वजनिक गरेर अर्को विवादास्पद कार्य गर्‍यो ।

प्रहरी आफैंले पक्राउ परेका दिलिप विष्ट मानसिक रोगी भएको तथ्य प्रेस विज्ञप्तिमै लेख्यो । प्रहरीले स्थानीयलाई बालिका बलात्कार प्रकरणका दोषी विष्ट नै हुन् भनेर विश्वास दिलाउन सकेन । फलतः आन्दोलन चर्कियो ।

त्यसक्रममा प्रहरीको गोली लागेर एकजना बालकले ज्यानसमेत गुमाउनुपर्‍यो भने एसपी निलम्बित भए । डीएसपी र इन्स्पेक्टर हेडक्वार्टर तानिए, जुन घटना प्रहरी संगठनको साख र गरिमाका लागि चिन्ताको विषय हो ।

अहिलेसम्म भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा र तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टको छोरालाई बचाउन प्रहरीले नक्कली अभियुक्त खडा गरेको आरोप स्थानीयले लगाएका छन् । जसले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ । भलै सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले प्रकरणको पटाक्षेप गर्ला र वास्तविक तथ्य सार्वजनिक गर्ला ।

तर, जसरी एउटा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई सार्वजनिक गरेर जनसमक्ष पेश गरियो, त्यसले प्रहरीको खास त गिरायो नै, यसको छिटा प्रहरी हेडक्वार्टर र गृहमन्त्रालयसम्म स्वाभाविकरुपमा आइपुगेको छ ।

पाँचौं– माइकिङ प्रकरणः जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई २३ साउनमा काठमाडौं फर्काउने क्रममा प्रहरीले आफ्नै जवानको गोली लागेर मृत्यु भएको माइकबाट फुक्यो, जुन घटना ‘फेक’ वा नाकटमात्रै थियो । जिउँदो प्रहरीको मृत्यु भएको जस्तो संवदेशील विषयलाई माइकिङ गरेर सार्वजनिक गरिएको थियो ।

तर, वास्तविकता त्यस्तो थिएन । सबै जीवितै थिए, एक प्रहरी गम्भीर घाइते भएका थिए, अरु सामान्य घाइते भएका थिए ।

डा. केसीलाई फर्काउन जवानको मृत्यु भएको नाटक रचिएको केहीबेरमै प्रहरीको कलाविहीन ‘नाटक’ पटाक्षेप भयो । जुम्लाका डीएसपी डा. तपन दाहालले त्यो ‘फेक माइकिङ’ माथिकै आदेशमा गरेका थिए या आफ्नै सिर्जना थियो भन्ने प्रहरीले सार्वजनिक गरेन ।

तर, प्रहरी नेतृत्वबाट विज्ञप्ति जारी गरेर पत्रकारहरुलाई उपदेश दिइयो कि जिउँदो प्रहरीलाई मरेको भनेर समाचार नछापियोस् ।

छैठौं– सांसद धम्की प्रकरण ः प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिकको सम्बन्ध रहेकी सांसद निरु पाललाई बानेश्वरमा ‘पेस्तोल ताकेर धम्की दिइएको’ प्रकरणलाई पनि प्रहरीले किनार लगाउन सकेन ।

पाल आफैंले ‘नाटक’ गरेको रिपोर्ट प्रहरी नेतृत्वसम्म पुगे पनि त्यसमा नेतृत्वले अहिलेसम्म केही गर्न सकेन । किनभने अहिलेको प्रहरी नेतृत्व ‘पुलिसिङ’ मा भन्दा पनि सत्तापक्षका नेताहरुलाई रिझाएर आशिर्वाद लिने रणनीतिमा लागेको जस्तो देखिन्छ ।

र, सातौं– एयरपोर्टबाट संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई प्रहरीले पक्रेर बालुवाटारमा पुर्‍याएको घटना, पूर्वलडाकूलाई थाइल्याण्ड जान नदिएको विषय अनि गृहमन्त्रलायमा ट्रमा सेन्टरका डाक्टरलाई उठाएर ल्याइएको घटनाजस्ता नागरिक अधिकारसँग जोडिएका विषयहरु गृहमन्त्रालयसँग ठोकिएका छन् ।

खनालले मन्त्रीलाई भेट्नु त स्वाभाविकै हो, तर, तल्लो दर्जाका प्रहरी अधिकारीहरुसमेत लाइन मिचेर गरेर गृहमन्त्री रामबहादुर थापाको घरमा पुग्ने गरेको देखिन थालेको छ

‘पुलिसिङ’ छाडेर नेताका दैलोमा ?

नेपाल प्रहरीमा धेरै पहिलेदेखि एउटा पदावलीको प्रयोग हुने गरेको छ, त्यो हो– ‘पुलिसिङ’ । प्रहरीलाई नेतामुखी नभई व्यवसायिक बनाउनुपर्छ भन्दै विगतमा कतिपय प्रहरी अधिकारीहरुले बताउने गरेका थिए– ‘म पुलिसिङ गर्छु, नेताको दैलोमा धाउँदिनँ । बढुवाका लागि निवेदन बोकेर दलको नेतालाई भेट्दिनँ ।’

तर, अहिलेको प्रहरी नेतृत्वमा पुलिसिङ छाडेर नेताको दैलोमा पुग्ने संस्कार विकास भएको छ । महानिरीक्षक सर्वेन्द्र खनाल आईजीपी भएसँगै उनले संगठन सुधारमा कम र राजनीतिक नेतृत्वलाई ब्यालेन्स गर्ने कार्यनीतिमा बढी ध्यान दिन थालेको सूत्रहरु बताउँछन् ।

खनालले मन्त्रीलाई भेट्नु त स्वाभाविकै हो, तर, तल्लो दर्जाका प्रहरी अधिकारीहरुसमेत लाइन मिचेर गरेर गृहमन्त्री रामबहादुर थापाको घरमा पुग्ने गरेको देखिन थालेको छ ।

इमान्दार प्रहरी उच्च अधिकारीहरुले विगतमा अवलम्बन आएको ‘पुलिसिङ’ आखिर किन व्यवहारमा परिणत हुन सकेन ? यसको एउटै कारण हो– प्रहरी नेतृत्व राजनीतिक लिडरसिपलाई रिझाउने कुरामा केन्द्रित हुनु । फिल्डमा राम्रो काम गर्नुभन्दा नेताको वरिपरि घुमेर सुविधा पाउने गणेश प्रवृत्तिमा लीन हुनु । एक/दुई वटा इन्काउन्टर गरेका भरमा बढुवा खान खोज्ने प्रवृत्ति हावी हुनु ।

सुनकाण्डमा पूर्वप्रहरी अधिकारीको अभिव्यक्ति प्रकरणका बेलामा होस् वा अन्य हरेक विवादमा गृहबाट ‘ओभरटेक’ हुँदा आईजीपी खनाल गृहबाट थिचिएको अनुभव प्रहरी अधिकारीहरुले गर्न थालेका छन् । फलतः गृहमन्त्री रामबहादुर थापाको असक्षमतासँगै प्रहरी संगठन पनि क्रमशः कमजोर बन्दै जान थालेको छ ।

अबका दुई विकल्प

प्रहरी संगठनभित्र देखिएको यो अधोयात्राको विसर्जन कसरी होला ? यसका दुईवटा विकल्प देखिन्छन्ः

पहिलो र सहज उपाय हो– आईजीपी सर्वेन्द्र खनालको कार्यक्षमतामा सुधार । यो सम्भावना सकिइहालेको छैन ।

गृहप्रशासनमा देखिन थालेको ‘ड्यामेज कन्ट्रोल’ को दोस्रो विकल्पचाहिँ अलि पीडादायी हुन सक्छ । त्यो हो– प्रधानमन्त्री ओलीले भनेजस्तै राम्रोसँग काम नगर्नेलाई हटाउने र काम गर्नेलाई ल्याउने । एउटा व्यक्तिको पेशाको ग्यारेन्टीका लागि देशलाई बन्धक नबनाउने ।

तर, यो विषय आईजीपी खनालको हकमा मात्रै लागू हुँदैन, गृहमन्त्री रामबहादुर थापाको हकमा पनि आकर्षित हुन सक्छ । र, सरकारले जनतालाई शान्ति सुरक्षा एवं सुशासन दिन सकेन भने विस्तारै प्रधानमन्त्री ओलीकै हकमा पनि यही सूत्र लागू गर्नेबारे नेकपाले सोच्ने दिन नआउला भन्न सकिन्न ।

आईजीपी भन्छन्– प्रहरी संगठन मजबुत भएको छ

यसैवीच हामीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गर्‍यौं– अहिले प्रहरी संगठन कमजोर भएको हो ? जवाफमा उनले भने– ‘विल्कुलै होइन । प्रहरी संगठन मजबुद भएर गएको छ ।’

देशमा अपराधका घटनाहरुमा कमी आएको आईजीपी खनालले बताए । विप्लवमा ठूला नेतालाई समातेको, नेपाल बन्दलाई निस्तेज पारेको अनि गुण्डागर्दी नियन्त्रणमा आएको खनालले बताए ।

समाजमा हुने बलात्कारका घटनालाई लिएर प्रहरीलाई दोष लगाउन नमिल्ने खनालले बताए ।

आफूलाई राम्रो कामका लागि सरकारले आईजीपी बनाएको भन्दै राम्रो काममात्रै गर्ने खनालले प्रतिवद्धता व्यक्त गरे ।

आईजीपी खनालसँगको अन्तरवार्ता यहाँ पढ्नुहोस्

‘प्रहरी मजबुत भएको छ, अपराध घटेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment