+
+

कञ्चनपुरका तत्कालीन एसपी विष्टमाथि कारबाही प्रक्रिया थालियो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते २:००

२३ असोज, काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको पूर्ण प्रतिवेदनका आधारमा विष्टमाथि कारवाही प्रक्रिया थालिएको हो ।

यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को आदेशपछि पन्त हत्याको अनुसन्धान पूरा नभएसम्मका लागि भन्दै ९ भदौमा विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरिएको थियो ।

प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ । प्रारम्भिक चरणदेखि नै प्रहरी अनुसन्धानमा लापरवाही भएको निष्कर्ष निकालिएको हो ।

प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयमा एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको विषयमा छलफल चलिरहेको छ ।

यसअघि ३० भदौमा अनुसन्धानमा खटिएका ५ प्रहरी अधिकारीलाई निलम्बन गर्ने बेलामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालको मत बाझिएको थियो ।

त्यसबेला खनालले ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भनेका थिए ।

हाल एसपी विष्टका कारण प्रहरी संगठन नै बदनाम हुँदै गएको र पछिल्लो समय सोही प्रकरणलाई जोडेर आईजीपीकै राजीनामा माग्न थालिएपछि विष्टलाई बर्खास्त गर्ने मुडमा प्रहरी प्रधान कार्यालय पुगेको उच्च स्रोतको दाबी छ ।

उच्चस्तरीय समितिको प्रतिवेदन आइसकेको छ । र, त्यहाँ विभागीय कारावाहीको सिफारिस गरिएको छ ।

तर, प्रहरी प्रधान कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा प्रहरीको कमिकमजोरी बारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुरुप कारवाही हुने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए ।

प्रहरी महानिरीक्षक खनाल एआईजी बस्न्यात नेतृत्वको समितिको प्रतिवेदनको पर्खाइमा रहेको स्रोतको दाबी छ । र, पछिल्लो समय उनी पनि एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको मुडमा पुगेको दाबी गरिन्छ ।

यद्यपि, एसपी विष्टको जागिर रहन्छ या रहँदैन भन्ने विषय बस्न्यात नेतृत्वको समितिको प्रतिवेदनमा अडिएको ती अधिकारी बताउँछन् ।

प्रहरी प्रवक्ता भन्छन्– कसुर प्रमाणित भयो भने छाडिन्न

केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्री निर्मला पन्त प्रकरणमा निलम्बित प्रहरी अधिकारीमाथि छानबिन भइरहेको बताउँदै कसुर प्रमाणित भए कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन् ।

‘गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको प्रारम्भिक निष्कर्षअनुरुप ६ जना प्रहरी अधिकारीमाथि कारवाही भएको हो’, क्षेत्रीले अनलाइनखबरसँग भने, ‘पछिल्लोपटक दुईजनालाई भने प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिको सुझावपछि निलम्वन गरिएको हो ।’

प्रहरी नायब निरीक्षक (सई) हरसिंह धानी र जवान चाँदनी साउद २२ असोजमा निलम्बनमा परेका थिए । साउदले घटनास्थलमा निर्मलाको लुगा पखालेकी थिइन् ।

‘दुई जनालाई प्रमाण संकलनमा लापरबाही गरेको प्रारम्भिक निष्कर्षपछि निलम्वन गरिएको हो’, उनले थपे, ‘निलम्वित अन्य प्रहरी अधिकारीको कमजोरीको बारेमा पनि अनुसन्धान भइरहेको छ ।’

प्रतिवेदनमा प्रहरीका कमजोरी छरपस्ट

मैनाली नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा एसपी डिल्लीराज विष्ट नेतृत्वको तत्कालीन कञ्चनपुर प्रहरीले अनुसन्धानको प्रारम्भिक चरणदेखि नै गल्ती गरेको निष्कर्ष निकालेको थियो ।

पीडितले बोलाएको समयमा प्रहरी घटनास्थलमा जान तादरुकता नदेखाएकोदेखि सनाखत मुचुल्कामा उल्लेख गरिएको निर्मलाको सुरुवाल, भेष्ट र पेन्टीलगायत गायव गरिएको घटनासम्म उल्लेख गरिएको छ ।

त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामद गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिप्रकाले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाफपाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्याइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी, समितिले तयार पारेको प्रतिवेदनमा निर्मला पन्तको भजाइनल स्वावमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको छ । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको थियो ।

प्रतिवेदनको २४/२५ पृष्ठमा लेखिएको छ, ‘महाकाली अञ्चल अस्पतालमा २३ साउनको शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।’

विष्टको विगत

कञ्चनपुरकै स्थायी बासिन्दा एसपी विष्टमाथि राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँमा पोष्टिङ हुन सफल हुँदै आएको दाबी गरिन्छ ।

उनी प्रहरी नायब उपरीक्षक (डीएसपी) हुनेवित्तिकै बैतडीको प्रहरी प्रमुख हुन सफल भएको उनका सहकर्मीहरु बताउँछन् ।

त्यति मात्र होइन, त्यसपछि दार्चुला हुँदै ०७२ सालमा एसपी बढुवा हुनेवित्तिकै उनी डोटीका प्रहरी प्रमुख भए । त्यसपछि मध्यपश्चिम क्षेत्रीय कार्यालय, सुर्खेत सरुवा भएर आएका उनी छोटो अवधिमै कञ्चनपुर प्रहरी प्रमुखका रुपमा काज सरुवा हुन सफल भए ।

संगठनभित्र पनि व्यवसायिक छविका नमानिने उनले पोष्टिङमा भने हरेकपटक आफ्नो पायक पर्ने स्थानमा सरुवा हुँदै बाजी मारिरहेका सहकर्मीहरु दाबी गर्ने गर्छन् ।

यद्यपि, उनीले अनलाइनखबरसँग कुराकारी गर्दै अाफ्नो पहुँच नभएका कारण सुदुरपश्चिममा थन्किनु परेको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?