Comments Add Comment

मनाङे-लामा सम्बन्धः गुरू-चेला !

३१ असोज, काठमाडौं । नेपाली कांग्रेससँग निकट ‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् ।

गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैतमा गरेको थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप उनलाई डिल्लाबजार कारागारमा पुर्पक्षका लागि पठाइएको थियो । पछि मुद्दाको फैसलामा उनलाई ७ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

‘पक्राउ परेको दिनदेखि २८ असोजसम्ममा कैद सजाय कट्टा भएकाले अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनामुक्त गर्नु होला’, प्रशासन कार्यालयंद्वारा डिल्लीबजार कारागारलाई प्रेषित पत्रमा उल्लेख छ ।

‘लामाको अन्य मुद्दा नभएको देखियो र हतियारको मुद्दामा सजाय पूरा भएको हुँदा उनलाई थुनामुक्त गरिएको छ’, डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस गणेश लामाको साथबाट बरामद भएको पेस्तोलबाटै गौशालामा गोली चलेको पुष्टि

दिपक मनाङेको बिदाइ, कार्यकर्ताको स्वागत

डिल्लीबजार कारागारमा सँगै रहेका अर्का गुन्डा नाइके दिपक मनाङेले लामालाई माला लगाइदिएर विदाइ गरेको कारागार स्रोतले जनाएको छ ।

लामा छुट्ने वेलामा उनले भावुक बन्दै फुलमाला लगाइदिएका थिए । कारागारबाट निस्किएलगत्तै बाहिर उनका समर्थकहरुले स्वागत गरेका थिए ।

यो पनि, फरार ‘माननीय’ दीपक मनाङ्गे पक्राउ

मनाङे ३१ वैशाख ०६१ मा पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

उनलाई ५ वर्ष कैद सजाय तोकिएको थियो । त्यसमध्ये ३ वर्ष कैद भुक्तान गर्न बाँकी हुँदा उनी छुटेका थिए । गत प्रादेशिक चुनावमा उनी मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचितसमेत भए । तर, उनलाई गत ६ वैशाखमा काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।

लामा–मनाङे सम्बन्धः गुरु–चेला !

गुन्डागर्दीको दुनियाँमा काभ्रेका गणेश लामालाई प्रवेश गराउने दिपक मनाङे नै हुन् । ०६२/०६३ को जनआन्दोलनपछि ठमेलको एक रेष्टुरेन्टमा बाउन्सरका रुपमा काम गरिरहेका लामाको भेट मनाङेसँग भएको थियो ।

मनाङे निकटस्थ भन्छन्, ‘त्यसवेला महाराजगञ्ज क्षेत्रमा चक्रे मिलन, ठमेलमा मनाङे र चाबहिलमा राजु गोर्खालीको पकड थियो । समूह विस्तार गरिरहेकै वेला मनाङेको आँखा लामामाथि परेको थियो ।’

मनाङेको समूहमा जोडिएपछि लामा विस्तारै उदाउँदै गए । ठेक्कापट्टाबाट गुण्डागर्दीको दुनियाँमा प्रवेश गरेका लामा राजनीतिक आडमा आपराधिक क्रियाकलाप गर्दै आएका थिए ।

०६१ मा चाइनिज रेष्टुरेन्टमा चक्रेको हात छिनाउने पनि लामाकै ‘केटाहरु’ भएको बताइन्छ ।

पछि काभ्रेमा रक्तचन्दनको कारोबार थालेपछि उनी एकाएक राइज भए । त्यसवेला प्रहरीलाई समेत रक्तचन्दनबारे जानकारी थिएन ।

‘त्यतिवेला प्रहरीलाई समेत हातमा लिएर उनीहरुले रक्तचन्दन तस्करी गरिरहेका थिए,’ एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, पछि मात्रै तस्करीबारे राज खुलेको थियो ।’

यो पनि पढ्नुहोस दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

रक्तचन्दन कारोबार गर्ने क्रममै लामाको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारसँग चिनजान भयो । र, गच्छदारको संरक्षणमा काभ्रेली समूहका नाइकेको रुपमा लामा चिनिन सफल भए ।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि लामा पनि कांग्रेस प्रवेश गरे । उनी काभ्रे क्षेत्र नम्बर १ ‘ख’ मा प्रदेशसभा सदस्यको उम्मेदवार समेत बनेका थिए । तर, एमालेका चन्द्र लामासँग पराजित हुन पुगे ।

उनले रक्तचन्दनपछि ठेक्कापट्टा व्यवसायमा हात हालेका थिए । अहिले लामा आफैंले सिरुवा कन्स्ट्रक्स खोलेका छन् ।

पछिल्लो समय लामाको मनाङेसँगको सम्वन्धमा चिसोपना आएको दाबी गरिए पनि सार्वजनिक रुपमा भने त्यो देखिएको थिएन ।

लामाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि मुद्दा चलाएको थियो । अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पनि उनीविरुद्ध प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment