Comments Add Comment

‘नेपाललाई सिक्किम बनाउने प्रस्ताव यसरी तुहाइयो’

५ कात्तिक, काठमाडौं । पञ्चायतकालमा मात्रै होइन, ०४६ सालताका पनि धनी कम्युनिष्ट भनेर चिनिन्थे, अमिक शेरचन । उच्च मध्यमवर्गीय परिवारमा जन्मेका उनी कम्युनिष्ट नेताहरू मध्ये धनीमै गनिन्थ्यो ।

जनपक्षीय उम्मेदवार बनेर ०४२ सालमा चुनाव लडेका शेरचन पटक-पटक सांसद भए । ०६२/०६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारमा उनले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले ।

नेकपा माओवादीसँग शान्ति वार्ता गराउन महत्वपूर्ण भूमिका खेलेका शेरचनलाई प्रधानमन्त्री र राष्ट्रपति बन्ने अफर पनि आयो । तर, लाभको पदमा पुग्न उनी लालायित भएनन् ।

०६२/०६३ को जनआन्दोलन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका शेरचन राजनीतिक बैठकमा भाग लिन जाँदा भने रमाइलो दृष्य देखिन्थ्यो । सरकारी परिभाषाअनुसार ज्येष्ठ नागरिक भइसक्दा पनि उनी हरेक बैठकमा चाइनिज मोटरसाइकलमा पुग्थे । उनी साढे तीन दशकदेखि मोटरसाइकल चढ्ने गरेको बताउँछन् ।

सुरक्षाकर्मीविना हिँड्न पाइने, जाममा नपर्ने जस्ता फाइदा छन् मोटरसाइकल चढ्नुको । तर, उनको मोटरसाइकलकै कारण एक दिन आठ दलको बैठक पनि रोकियो ।

०५२ सालमा जनयुद्ध शुरु गराउन कुन घट्नाले ट्रिगरको काम गर्‍यो ? जनआन्दोलन सफल भएपछि भारतले नेपाललाई सिक्किमजस्तै बनाउन कस्तो प्रस्ताव ल्याएको थियो ? गिरिजाप्रसाद कोइरालाले बैठकमै ज्ञानेन्द्र शाहलाई कसरी हप्काए ? रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिमा मत नदिनुको तीनकारण के थियो ? र, नेकपामा नोट अफ डिसेन्ट लेख्नुको कारण के हो ?

यिनै प्रसंगबारे नेकपाका नेता शेरचन अनलाइनखबरसँग यसरी खुलेः

जनयुद्धको ट्रिगर

जनयुद्ध थाल्ने कि नथाल्ने भन्ने विषयमा अन्तर पार्टी संघर्ष चल्यो । झण्डै-झण्डै पार्टी फुट्ने अवस्था आएपछि मैले एक वर्षसम्म थामथुम पारेर राखें ।

एउटा सामान्य घटनालाई लिएर जनयुद्ध गर्ने कि नगर्ने बहस चलेको थियो त्यो बेलामा । गीत गाउने विषयमा कांग्रेस र हाम्रो पार्टीका केटाहरूबीच मुठभेड भएछ । एकजनाको मृत्यु पनि भयो । घटनामा १५-१६ जना संलग्न थिए । उनीहरू विरुद्ध मुद्दा चलाउनु पर्नेमा रोल्पाका पुरै नेताविरुद्ध मुद्दा चलाइयो । २५ सय मान्छेलाई मुद्दा चलाइएको थियो ।

त्यसो भएपछि यिनीहरूले बन्दुक नै खोजेको हो भन्ने कुरा उठ्यो । मैले पार्टीले निर्णय नगरी जानु हुँदैेन भने । एकथरीले अहिले नै लडाइँ गर्नु हुँदैन भनेका थिए भने अर्को थरीको भनाइ सबैजना भूमिगत हुनुपर्छ भन्ने थियो ।

त्यतिबेला पुरै संसदीय भासमा बस्नु पनि ठीक थिएन र सिधै बन्दुक बोकेर उग्रवादी धारमा हिँड्नु पनि ठीक थिएन । जनयुद्ध गर्ने भए पार्टीले भित्री निर्णय गरेरै जाउँ भन्ने मेरो भनाइ थियो । युद्धको पक्षमा भएका साथीहरू भूमिगत हुने र खुल्ला हुन चाहने साथीहरू वैधानिक मोर्चाबाट लागिरहनु पर्छ भन्ने मत राखें ।

वैधानिक संघर्ष र जनयुद्धको अलग अलग मोर्चाको जिम्मा लिएर अगाडि बढ्नु आवश्यक थियो । त्यस विषयमा मैले दस्तावेज पनि तयार पारिसकेको थिएँ । तर, त्यसमा छलफल हुनुभन्दा एक हप्ता पहिला नै एकथरी साथीहरूले चितवनमा भेला गरेर पार्टी अलग भएको घोषणा गर्नुभयो ।

निर्मला लामा, नारायणकाजी श्रेष्ठलगायत तत्काल जानुहुँदैन भन्ने पक्षमा थिए । महराजीले त्यतिबेला मलाई नै साथ दिनु भएको थियो । पार्टीमा विवाद भए पनि संसदीय दलमा विभाजित थिएनौं ।

पछि संसद् नै विघटन भयो । खडगजी र बर्मनजी बीचमा बस्नुभयो । महराजी जनयुद्धमै लाग्नुभयो । म छ/सात महिना निस्क्रिय बसेँ । यो गलत भयो भन्ने मेरो भनाइ थियो । संसदीय अभ्यास उपयोग गर्ने र जनयुद्धमा जानेहरु अलग-अलग भए ।

म जेठको १२ गते चितवनमा सम्मेलन गरेर जनयुद्धमा जानुपर्छ र जानु हुँदैन भन्नेबीचको विषय टुङग्याउने पक्षमा थिएँ । यो ०५१ बैशाखको कुरा हो । प्रचण्डजीले साथीभाइहरु दायाँ-बायाँ छन् । १२ गते गर्दा आउन गाह्रो होला दाइ, २८ गते गरौं भन्नुभयो । म पनि २८ गतेलाई पुरा समय निकाल्छु भन्नुभयो । त्यति भनिसकेपछि मैले हुन्छ भने ।

२८ गते सम्मेलन गरौं दाइ भनेका प्रचण्डले १७ गते नै अर्को पार्टी घोषणा गर्नुभयो । मसँग ४५-४६ जना साथीहरु हुनुहुन्थ्यो । पार्टी फुट्न नदिन गरिएको हाम्रो अभियान सफल भएन । मैले तयार गरेको दस्तावेज पनि बैठकमा प्रस्तुत हुन पाएन । प्रचण्डले १४ गते फोन गरेर दाइ पनि आउनुपर्छ भन्नुभयो । त्यति भइसके पछि म जाने कुरै थिइन । म आउँदिनँ भनें ।

तर, पछि प्रचण्डजीलाई म यतै बसेको फाइदा भयो । जनयुद्ध शुरु भएपछि पनि उहाँहरूसँग मेरो तित्ततापूर्ण सम्बन्ध भएन । युद्धमा गएका धेरै साथीलाई जनमोर्चा नेपालको सदस्य हो भनेर जोगाइयो । वैधानिक मोर्चाले धेरैको ज्यान बचाउन सफल पनि भयो । प्रचण्डजीसँग बीचबीचमा कुराकानी हुन्थ्यो ।

महाकाली सन्धिको विरोधमा आन्दोलन गरिरहेका थियौं । चितवनमा प्रहरीसँगको मुठभेडमा परेर म घाइते थिएँ । लामो समय विरामी भएँ । त्यही भएर ०५१ को चुनावमा भाग लिइनँ । लडेको भए मैले जित्थें ।

०५६ सालमा पनि म राम्रो निको भइसकेको थिइनँ । काम्रो बाँधेरै हिँडेको थिएँ । चुनाव लड्ने पक्षमा थिइनँ । रामेछाप जिल्लाबाट पटक-पटक डेलिगेसन आएपछि म तयार भएको थिएँ । कमल चौलागाईले पार्टी छोडेर नगएको भए उहाँ उठ्नुहुन्थ्यो, कुरा सक्किहाल्थ्यो ।

कमल चौलागाईले धोका दिए भनेर जिल्लाका साथीहरूले धेरैपटक अनुरोध गरेपछि पनि मानेको थिइनँ । त्यहाँका पुराना साथीहरूले आग्रह गरेपछि भने नाइँ भन्न नसकेर गएको थिएँ । मतको हिसाबले मैले जितेको थिएँ । चार सय मतले जित्ने रहेछु । तर ११ सय मत बदर भयो । चुनाव चिह्न हँसिया, हथौडा, तारा थियो । भोट माग्दा हँसिया-हथौडा-तारामा दिनु भनियो । मतदाताले हँसियामा एक, हथौडामा एक र तारामा एक गरी तीन ठाउँमा मत हालेछन् । यस्तो तीनछापे मत ठ्याक्कै ११ सय थियो ।

ज्ञानेन्द्रले निहत्थाको आवाज नसुनेपछि

०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अपदस्थ गरेर सत्ता हातमा लिएपछि त्यसलाई प्रतिगमन हो भन्ने हामी पहिलो पार्टी हो । कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका माधव नेपाललाई भेटेर यो प्रतिगमन नै हो भन्दा पनि उहाँहरू कन्भिन्स हुनु भएन ।

कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरेकाले गिरिजाप्रसाद कोइराला शेरबहादुर देउवासँग रिसाएको अवस्था थियो । अपदस्थ गर्नु ठीकै हो भन्ने लागेको हुन सक्छ । संसद विघटन गर्ने देउवालाई हटाउनु ठीकै हो भन्ने एमालेको पनि दृष्टिकोण देखियो ।

प्रतिगमनविरुद्ध झण्डा बोकेर रत्नपार्क जाने तत्कालिन जनमोर्चा नेपाल नै पहिलो पार्टी बन्यो । काँग्रेस र एमालेलाई राजाको कदम प्रतिगमन हो भन्न पाँच महिना लागेको थियो ।

सानेपा हाइटमा मेरो डेरामा बसेको बैठकमा कांग्रेस र एमाले पनि ज्ञानेन्द्रको यो कदम प्रतिगमन हो भन्ने निश्कर्षमा पुग्न सहमत भयो । यो ७ माघ ०५९ को कुरा हो ।

त्यही बैठकबाट ७ फागुनबाट आन्दोलन गर्ने निर्णय गर्‍यौं । केही दिनपछि ज्ञानेन्द्रले माओवादीलाई वार्तामा बोलायो । माओवादी साथीहरू पनि वार्तामा आउनुभयो ।

हामीले तुरुन्तै आन्दोलन शुरु गर्दा ज्ञानेन्द्रले हामीलाई शान्ति वार्ता विगारेको आरोप लगाउन सक्थे । बहुदलीय पार्टीले भंग गर्ने कोशिस गरेर जनतालाई भ्रमित पार्ने संभावना थियो । त्यसैले ७ फागुनको आन्दोलनलाई स्थगित गर्‍यौं ।

सरकारी वार्ता टोली र माओवादीबीच सेना ब्यारेकबाट पाँच किलोमिटर भन्दा बाहिर जान नपाउने सहमति भएको थियो । माओवादी पनि सेनाको ब्यारेक नजिक जान नपाउने सहमति थियो त्यो ।

ज्ञानेन्द्र शाहले भनेअनुसारै लोकेन्द्रबहादुर चन्द सरकारले यस्तो सहमति गरेको थियो । तर ज्ञानेन्द्रले नै सेनालाई गएर त्यो सहमति नमान है भनिदियो । सेनापतिले सरकारले गरेको निर्णय मान्दिन भन्यो । यो हुनुमा ज्ञानेन्द्रको दोहोरो भूमिका नै प्रमुख कारक थियो । वास्तवमा उनी वार्ता सफल होस् भन्ने पक्षमा थिएनन् । हाम्रो आन्दोलनलाई अल्मल्याउने योजना अनुसार मात्रै उनले यस्तो गरेका थिए ।

०६० वैशाख २१ गतेबाट निर्णय गरेर आन्दोलन शुरु गर्‍यौं । त्यो दिनदेखि बर्खा, झरी, जाडोगर्मीमा एक दिन पनि रोकिएन । चाडवाड पनि भनेनौं । हरेक दिन रत्नपार्कमा गएर नारा लगायौं । ०६२ को असोजसम्म पनि लगातार आन्दोलन गर्‍यौं । दरबारले टेरपुच्छर लगाएन ।

त्यसपछि मैले गिरिजाबाबुलाई हामीसँग बन्दुक नभएकाले नटेरेको हो भनें । निहत्था भएकाले नटेरेको हो, त्यसैले माओवादीसँग वार्ता गरौं भन्ने प्रस्ताव राखें । माओवादीसँग हतियार छ र जनता हामीसँग छ त्यो मिलेपछि ज्ञानेन्द्रलाई तह लगाउन सकिन्छ । त्यसैले माओवादीसँग मिलेर जाउँ भनेको गिरिजाबाबुले लामो जिब्रो निकाल्नुभयो । उहाँलाई यो कुरा मनाउन ८-९ महिना लाग्यो । ज्ञानेन्द्र टसको मस नभएपछि गिरिजाबाबु पनि वार्ता गर्न तयार हुनुभयो ।

अर्जुननरसिंह केसीको सिफारिस

हामी वार्ता गर्न तयार छौं भन्ने कुरा माओवादीलाई पनि भन्नुपर्ने थियो । गिरिजाबाबुले कुरा गर्ने जिम्मा पनि तँपाई नै लिनुहोस् भन्नुभयो । तर मैले म खुल्ला मान्छे जान मिल्दैन । मेरो पछि सीआईडी लाग्न सक्ने भएकाले जान मिल्दैनथ्यो ।

हनु पनि सीआईडी पछि लागेर माओवादी बसेको स्थान थाहा पाएर बमबारी गरेको भए त बर्बाद हुन्थ्यो । मेरो राजनीतिक करिअर पनि समाप्त हुन्थ्यो । त्यसैले मैले विश्वासिलो मान्छे दिन्छु गिरिजाबाबु भन्दा उहाँले हुन्न-हुन्न तेस्रो व्यक्ति त हुँदै हुँदैन भन्नुभयो ।

नारायणकाजी श्रेष्ठलाई कसैले पनि चिन्दैन । विश्वासिलो पनि छ भन्दा पनि मान्नुभएन । एक डेढ महिनामा पनि नमान्नु भएपछि नारायणकाजीजीलाई अर्जुननरसिंह केसीले पनि चिन्नुहुन्छ भनें । अर्जुननरसिंहजीको भाइसँग पढेको र नेविसंघमा पनि काम गरेको मान्छे हो भनेर ब्रिफ गरें । एकपटक अर्जुननरसिंहजीलाई पनि सोध्नुस् पनि भनें ।

अर्जुननरसिंहजीले विश्वास गर्न सकिने मान्छे हो भने पछि मात्रै गिरिजाबाबु नारायणकाजीजीसँग वार्ता गर्न तयार हुनुुभयो । पहिलो भेटमा नारायणकाजीले एकसरो आफ्नो कुरा राख्नु भयो । गिरिजाबाबुले ठीकै छ फेरी भेटौंला भन्नु भयो । केही उत्तर दिनुभएन ।

दोस्रो भेटमा मात्रै उहाँहरूबीच दोहोरो संवाद भयो । त्यसपछि यो विषयलाई अति गोप्य राख्ने शर्तमा वार्ता अगाडि बढाउने सहमति भयो । वार्ता शुरु हुनुभन्दा पहिला नै गिरिजाबाबु र प्रचण्डबीच सेटलाइट फोनमार्फत कुराकानी पनि भयो ।

दुनियाँले आतंकवादी भनिरहेका बेला माओवादीसँग वार्ता गर्ने भन्ने कुरा वास्तवमै संवेदनशील थियो । गिरिजालाई त्यो प्रस्ताव नलगेको भए र उनी तयार नभएको भए शान्ति प्रक्रिया यो हिसाबले अगाडि जाने थिएन । ०६२/०६३ को आन्दोलनको अवस्था पनि फरक हुनसक्थ्यो । भनीहाले नि ०६० देखि लगातार दिन नबिराई आन्दोलन गर्दा पनि कसैले पत्याएकै थिएन ।

कसै-कसैले भारतमा माओवादीसँग गिरिजाप्रसाद कोइरालाले पाँचतारे होटलमा कुरा गरेजस्तो गर्छन् । तर, त्यो होइन । गिरिजाबाबुलाई दिल्लीमा चार/पाँचवटा ट्याक्सी परिवर्तन गरेर गन्तव्यमा पुर्‍याइन्थ्यो । माओवादी र जनमोर्चाको सेल्टरमा वार्ता हुन्थ्यो । त्यो प्राय साना झुपडी हुन्थे ।

सुरक्षा चुनौतिका कारण भारतमा जानु परेको थियो । नेपालमा गोप्य वार्ता गर्न सम्भवै थिएन । म जाँदा त सीआईडी पछि लाग्न सक्थ्यो भने गिरिजाबाबु गोप्य रुपमा जान सक्ने त अवस्थै थिएन नि ।

१२ बुँदे समझदारीको ड्राफ्ट हामीले आफैले तयार गरेका हौं । कांग्रेसले, एमालेले, जनमोर्चाले अलग-अलग तयार पारेका थियौं । हस्ताक्षर भएको एक हप्तासम्म गोप्य राख्यौं । माओवादी र हामीले सल्लाह गरेरै एउटै समयमा सार्वजनिक गर्‍यौं ।

१२ बुँदेअनुसार संयुक्त आन्दोलन गरेपछि १९ दिनमा ज्ञानेन्द्रले घुँडा टेके । जब कि हामीले त्यसअघि साढे तीन वर्ष आन्दोलन गर्दा केही भएको थिएन ।

गिरिजाबाबुले ज्ञानेन्द्रलाई हप्काएको क्षण

लोकेन्द्रबहादुर चन्दले राजिनामा दिएपछि प्रधानमन्त्री पद खाली थियो । प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न दरबारमा बोलाइयो । मैले एक्ला एक्लै हो भने आउँदिनँ, सामूहिक हो भने आउँछु भनें । उताबाट सामूहिक नै हो भन्ने जवाफ आयो ।

गिरिजाबाबुकोमा जम्मा भएर दरबारमा गयौं । शेरबहादुर देउवा, पशुपति शमशेर, बद्रीप्रसाद मण्डललाई पनि बोलाइएको रहेछ । राजीनामा दिएर बसेका प्रधानमन्त्री भएकाले चन्द त आउने नै भए ।

हामी आन्दोलनरत दललाई बोलाएको होला भनेर गएका थियौं । त्यहाँको उपस्थिति देखेपछि हामीलाई फसाएछन्, अब हिंड्नुपर्छ भन्ने मानसिकता बनाइसकेका थियौं । ठ्याक्कै त्यहीबेला ज्ञानेन्द्र र उनका छोरा पारस बाहिर आए । हिँडिहाल्न मिलेन ।

ज्ञानेन्द्रले गिरिजाबाबुलाई यता बस्नुस् भनेर आफू नजिक बोलाउनुभयो । गिरिजाबाबुले हैन, ठीकै छ भन्नुभयो । हामीले पनि जानुस् न तपाईका लागि राखेको सिट रहेछ भन्यौं । प्रधानमन्त्री भइसकेका व्यक्तिको सम्मानका लागि राखेको होला भन्यौं । उहाँ त्यो सिटमा जानुभयो ।

गिरिजाबाबुबाट शुरु गरौं भनेर ज्ञानेन्द्रले के भन्न भ्याएका थिए । गिरिजाबाबु यसरी जंगिएर बोल्नुभयो कि बोली पनि बुझिएको थिएन । औंलाले राजाको आँखा नै घोच्ला जस्तो गरेर जोड जोडले चिच्याउनुभयो

मैले नै एउटा कुरो राख्छु भनेर यो बैठकको कम्पोजिसनका बारेमा हामीलाई किन जानकारी दिइएन भनेर सोधें । देउवा, पशुपतिजी आउनुहुन्छ भनेर किन जानकारी दिइएन ? पहिला यसमा छलफल गरौं भनें ।

त्यसपछि ज्ञानेन्द्र शाहले पशुपति (पशुपति महर्जन), ए पशुपति यो के भएको हो भनेर सोधे । पशुपति महर्जनले सरकारबाट सामूहिक दर्शन भेटको हुकुम भएको छ आइदिनुपर्‍यो भनेको हुँ भने ।

हामीले बुझेको सामूहिक आन्दोलनरत दलको सामूहिक भन्ने थियो । किनभने त्यतिबेला आन्दोलन गरिरहेका दललाई पनि अलग अलग बोलाउने पनि गरेका थिए । फेरि पशुपति के भाको भनेर सोध्न थाले ।

त्यति भइसकेपछि कति भनिरहनु भनेर विषयवस्तुमा प्रवेश गरौं भन्ने प्रस्ताव राखें । गिरिजाबाबु त पहिले नै चूर भएर बस्नु भएको थियो । किनभने पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि देउवासँग पहिलोपटक भेट भएको थियो । देउवाजी संसद् पनि विघटन गरेर आउनुभएको थियो ।

ज्ञानेन्द्रले चन्दको राजिनापछि प्रधानमन्त्री कसलाई बनाउने भनेर छलफल गर्न बोलाएको भने । अरु कोही बोलिरहेका थिएनन् । मैले नै सरकारबाटै शुरु गरौं न भनें ।

कुरा यही नै हो, गिरिजाबाबुबाट शुरु गरौं भनेर ज्ञानेन्द्रले के भन्न भ्याएका थिए । गिरिजाबाबु यसरी जंगिएर बोल्नुभयो कि बोली पनि बुझिएको थिएन । औंलाले राजाको आँखा नै घोच्ला जस्तो गरेर जोड जोडले चिच्याउनुभयो ।

ठाडो हेपे गिरिजाबाबुले राजालाई । के कुरा गर्ने ? यस्तो नि मिटिङ हो ? केही छैन मसित । गिरिजाबाबुले भन्नु भएपछि ‘पिन ड्रप साइलेन्स’ भयो । पछि थाहा भयो, गिरिजाबाबु राजासँग जंगिएको त्यो नै पहिलोपटक रहेछ ।

बैठकको मौनता भंग गर्ने काम पनि मैले नै गरेँ । सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा रहेछ । फ्रेस म्यान्डेट कसैको छैन । पछिल्लो जनादेश अनुसार कांग्रेस ठूलो पार्टी हो । तर, देउवाजीले विभाजन गरेकाले अब कांग्रेस ठूलो पार्टी रहेन ।

दोस्रो ठूलो पार्टी एमाले हो । एमाले फुटेको पनि छैन । बरु एमालेमा माले मिसिएको छ । त्यसैले एमालेले सरकारको नेतृत्व गर्नुपर्छ । एमालेमा पनि माधव नेपालजी नै प्रधानमन्त्री हुनुपर्छ भन्ने प्रस्ताव राखे । दायाँ-बायाँ कुरा नगरौं भने ।

म बोलेपछि शेरबहादुरजी बोल्नुभयो । मेरो नेतृत्वको सरकार पुनस्थापित होस् भन्नुभयो । वास्तवमा देउवाजीलाई फेरि ल्याउने डिजाइनअन्तर्गतकै बैठक थियो त्यो । शान्ति स्थापना गर्ने काम नै मुलुकको सबैभन्दा ठूलो काम हो । हाम्रो पार्टीका मन्त्रीले वार्ता गरेको थियो । त्यो काम पुरा भएको छैन । त्यसैले म सक्षम छु । म प्रधानमन्त्री बन्न पाउँ भनेर पशुपति शमशेरजीले आफ्नो दाबी प्रस्तुत गर्नुभयो ।

त्यतिखेरसम्म बोल्ने नेताहरू बसेरै कुरा गरिरहनुभएको थियो । बद्रीमण्डल जुरुक्क उठ्नुभयो । धनुष्टंकार भएर प्रभुउउउउ… दण्डवत चढाउँछु भन्नुभयो । शाहवंशको उदयपछि नै मधेसका जनताले यो अवसर पाएको छैन प्रभु, त्यसैले सेवकले प्रधानमन्त्री पाउनुपर्छ भन्न थाले ।

के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो दृश्य थियो त्यहाँको । छलफल टुंगिएन । ज्ञानेन्द्रले फेरि बसेर छलफल गरौं भने । त्यसपछि नारायणमान बिजुक्छेजी बोल्नुभयो । उहाँले दरबारले सबैलाई सम्पर्क नगर्ने, माधव नेपालजीलाई मात्रै सम्पर्क गर्ने भन्नुभयो ।

गिरिजाबाबुले पनि अमिकजीको प्रस्तावमा मेरो पूर्ण समर्थन छ भन्नुभएको थियो । नारायणमानजीले पनि त्यसमा मेरो पनि समर्थन छ भन्नुभयो । त्यो शुक्रबारको दिन थियो । आइतबारसम्म पनि माधव नेपालजीलाई दरबारबाट खबर आएन छ ।

डेरामै प्रधानमन्त्रीको अफर लिएर आए

म सानेपास्थित डेरामा बसिरहेको थिएँ । सोमबार दरबारबाट फोन आयो । पशुपतिभक्त महर्जनले हामी भेट्न आउँछौ समय दिनुपर्‍यो भनेर फोन गरे । के कुरा हो भनेको भेटेरै सबै भन्छौं भने । सरकारबाट हुकुम बक्सेको छ । हजुरले प्रधानमन्त्रीको जिम्मा लिनुपर्‍यो भन्न पो आएका रहेछन् ।

अस्ति भर्खर माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने म । तीन/चार दिनमा आफैं प्रधानमन्त्री बन्ने ? म राजनीति बुझि्दनँ ? तपाई‌ंको राजाले मेरो राजनीतिक जीवन समाप्त पार्न खोेजेको भनिदिएँ । के त्यस्तो कारण पर्‍यो म नै प्रधानमन्त्री बन्नुपर्ने भनेर कफी खाएर छुट्टियौं ।

भोलिपल्ट मंगलबार फेरि फोन आयो । भेट्न नआउनु भन्ने मिल्न । भोलिपल्ट आएर माओवादी समस्या समाधानका लागि तँपाईलाई प्रधानमन्त्री बक्स हुने रे भने । गिरिजाबाबु वा माधव नेपालले सक्नुहुन्न, त्यसैले तपाईंलाई प्रस्ताव गरिएको हो भन्ने उनको भनाइ थियो ।

माओवादी समस्या समाधान गर्ने विषय ठीक हो । त्यो समस्या समाधान गर्न मैले प्रधानमन्त्री खाइरहनु पर्दैन । यो समस्या साझा समस्या हो । समस्यामा समाधानका लागि म स्वतन्त्र रुपमा काम गर्न तयार छु । पहिला पनि भूमिका खेलेकै हो खेल्छु । तर, राजाले दिएको प्रधानमन्त्री खान्न भनेर फर्काएँ ।

मैले हुँदै हुन्न भनेपछि त्यसो भए एउटा काम गरिदिनुपर्‍यो भन्न थाले । नारायणमान विजुक्छेजीलाई फोन गर्नुपर्‍यो भने । मलाई तँपाईको राजाको ढोके, पाले ठान्नुभएको हो ? मैले फोन किन गर्ने ? प्लिज तँपाईहरू गइदिनुस् भनेर पठाएँ । त्यो दिन पाकिसकेको कफी पनि खान दिइनँ ।

माधव नेपाललाई प्रधानमन्त्री बनाउने विषयमा आन्दोलनरत हामी सबैको सहमति थियो । उहाँलाई बनाउँदा हामीबीच एकता कायम रहन्थ्यो । आन्दोलनकारी दललाई फुटाउने मनसायले मलाई त्यो प्रस्ताव गरिएको थियो । फुटाउने उद्देश्य पूरा नहुने भएपछि माधवजीलाई बनाएनन् ।

‘भारतीय दलाल’ लाई मनाएँ

गिरिजाबाबु माले, मसाले र मण्डले एउटै हुन भन्नुहुन्थ्यो । म पछाडि फर्कन जान्दिनँ भन्नुहुन्थ्यो । कम्युनिष्टसँग मिलेर काम गर्नु भनेको पछाडि फर्कनु हो भन्ने मान्यता थियो ।

हामीसँग संयुक्त आन्दोलन गर्नुअघि पनि गिरिजाबाबुको यही धारणा थियो । कम्युनिष्ट विरोधी व्यक्तिलाई आन्दोलनमा सहकार्यका लागि राजी गराउन धेरै मिहिनेत गर्नुपरेको थियो । उहाँलाई मनाउन दिनहुँ जसो भेट्न गइरहें ।

मेरो पनि आफ्नै दृष्टिकोण थियो, गिरिजाबाबुप्रति । उहाँलाई सार्वजनिक कार्यक्रममै मैले भारतीय दलाल भनेर भाषण गरेको थिएँ । आफ्नै मुखले गिरिजा चोर, देश, देश छोड पनि भनियो ।

कतिपय कांग्रेसले उहाँलाई दरबारीया कांग्रेस पनि भन्थे । त्यो कुरा मनमा कता कता मलाई पनि हो कि जस्तो पनि लाग्थ्यो । गिरिजाबाबु पनि कांग्रेस र पञ्च मिल्नुपर्छ, कम्युनिष्टलाई एकल्याउनुपर्छ पनि भन्नुहुन्थ्यो ।

तर, गिरिजाप्रसादलाई बुझ्न नसक्नु ठूलो गल्ती रहेछ भन्ने उहाँसँगको सहकार्यपछि अनुभव भयो । लामो उठबसपछि म पनि कन्भिन्स भएँ ।

गिरिजाप्रसाद कोइरालाको बानी के रहेछ भने शुरुमा कन्भिन्स गर्नै गाह्रो । कन्भिन्स भएपछि इमान्दारितापूर्वक लाग्ने । प्रतिगमन विरुद्धको आन्दोलनमा यसरी लाग्नुभयो कि कुरै नगर्नुस् । उहाँ कन्भिन्स हुन गाह्रो, जब कन्भिन्स हुन्छ कुनै पनि हालतमा गरेरै छाड्ने स्वाभावका रहेछन् । गिरिजाप्रसाद द्वैध चरित्रको मान्छे होइन रहेछ । बरु मन नपरेको कुरा फ्यात्तै हुँदैन भन्ने रहेछन् ।

संसद् र बहुदलीय व्यवस्था पुनर्स्थापना हाम्रो माग थियो । माओवादीसँग पनि वार्ता भएपछि इमान्दार भएर लाग्नुभयो । त्यही भएर नै आन्दोलन पनि सफल भयो । तर, उहाँको सबै चाहना पूरा भयो । अन्तरिम संविधान निर्माण, सरकार गठन, गणतन्त्र, संघीयता घोषणा भयो ।

उहाँको राष्ट्र प्रमुख बन्ने आकांक्षा थियो । त्यो पुरा हुन सकेन । कृष्णप्रसाद कोइरालाका सबै छोराहरू प्रधानमन्त्री बने । म कान्छो छोरो राष्ट्र प्रमुख बन्छु भन्ने उहाँको चाहना देखिन्थ्यो । गिरिजाबाबुलाई राष्ट्र प्रमुख बनाउने कुरामा सात दलमा सहमति पनि थियो । गणतन्त्र स्थापना हुनुमा तत्कालीन युद्धरत माओवादी र गिरिजाप्रसादकै देन थियो । युद्धले मात्रै पनि हुँदैनथ्यो, गिरिजाप्रसादले चाहेर मात्रै पनि हुँदैनथ्यो ।

भारतीय भूमिकाले गर्दा उहाँ राष्ट्रपति बन्न पाउनु भएन । किनभने भारतको कुरा गिरिजाबाबुले सुन्नु भएको थिएन । कतिपय मान्छेले २०६२/०६३ को आन्दोलन भारतले गराएको भन्छन् । तर भारतले आन्दोलन नगर चाहिँ भनेका थिए । कांग्रेस र राजा तिमीहरू मिल्नुपर्छ । र कम्युनिष्टलाई एक्ल्याउनु पर्छ भन्ने भारतको चाहना थियो ।

नेपाललाई सिक्किम बनाउने योजना

अन्तरिम सरकारका बेलामा गिरिजाबाबु नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री थिएँ । विश्व स्वास्थ्य संगठनको एउटा कार्यक्रममा सहभागी भइरहेका बेला तुरुन्त आउनुपर्‍यो भन्नुभयो । म उहाँको घर पुग्दा एक्लै हुनुहुँदो रहेछ । मुलुकका लागि गम्भीर संकट देखा पर्न थाल्यो भन्नुभयो ।

परराष्ट्रसम्बन्धी नीति निर्माण गर्दा दिल्लीसँग सरसल्लाह गर्नै पर्ने थालनी तँपाईले शुरु गर्नुपर्‍यो भन्ने प्रस्ताव भारतले गरेको रहेछ । भारतले भुटानी करणको प्रस्ताव राख्यो । मेरो विचारमा यो अल्टिमेट्ली सिक्किमीकरणको प्रस्ताव हो ।

सिक्किमीकरणको त्यो प्रस्ताव तीन पटकसम्म मन्त्रिपरिषद बैठकमा प्रवेश गरेको मलाई याद छ । मलाई गिरिजाप्रसाद राजनीतिक रुपमा इमान्दार मात्रै होइन, नम्बर वन देशभक्त पनि रहेछन् भन्ने लाग्यो

यसमा तपाईको अहम भूमिकाको खाँचो छ । मेरो क्याबिनेटमा तपाईलाई मात्रै विश्वास गर्नसक्छु यो कुरामा भन्नुभयो । तँपाईले पनि एक, दुई जना विश्वासिलो मान्छे बोलाउनु । म पनि एक दुई जना विश्वासिलो साथीहरू बनाउँछु । अनि एउटा नीति बनाउनुपर्‍यो । भारतले यस्तो प्रस्ताव राखीसकेपछि त हामीले दबाव दिनैपर्छ भन्दा नभन्दै उहाँले म त कसैलाई बोलाउँदिनँ भन्नुभयो ।

मैले किन भनेको ? उहाँले यो नेपाली कांग्रेस पार्टी भए पो बोलाउने । नाम मात्रै नेपाली कांग्रेस हो । यहाँ त भारतीय कांग्रेस, दरबारिया कांग्रेस, अमेरिकन कांग्रेस, पाकिस्तानी कांग्रेस, हुँदाहुँदा अहिले त चाइनिज कांग्रेस पनि छन् भन्नुभयो । सबै कांग्रेस भएपछि एक सेकेन्डमा सबै ठाउँमा सूचना पुग्छ, म त बोलाउँदिनँ भन्नुभयो ।

डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलालाई त बोलाउनुस् भनेको उहाँले मान्नुभएन । मेरो सुझाव मान्नुहुन्छ भने तपाईले पनि कसैलाई नबोलाउनुस् भन्नुभयो । हाम्रो पार्टीका साथीहरूको विषयमा पनि उहाँलाई केही सूचना थियो होला ।

मन्त्रिपरिषद् बैठकमा यस्तो प्रस्ताव आयो भने तपाईले विरोध गर्नुस् । यो प्रस्तावमा छलफलै नगर्ने वातावरण बनाउनु पर्छ भन्नुभयो ।

नभन्दै मन्त्रिपरिषदमा यो प्रस्ताव आयो । र, मैले गिरिजाबाबुसँग भएको पूर्वसहमति अनुसार अहिलेको मुख्य अजेण्डा शान्ति प्रक्रिया हो । त्यसैले एक सुत्रीय शान्ति प्रक्रियाको अजेण्डामा केन्द्रित होउँ । शान्ति स्थापना भएपछि विकास, आर्थिक वा अरु कुरामा छलफल गरौंला भने । त्यसपछि गिरिजाबाबुले अमिकजीको कुरा ठिकै हो अहिले छलफल नगरौं भन्नुभयो ।

अर्को मन्त्रिपरिषद् बैठकमा फेरि उही प्रस्ताव आयोे । हामीले त्यसरी नै डिफ्युज गर्‍यौं । सिक्किमीकरणको त्यो प्रस्ताव तीन पटकसम्म मन्त्रिपरिषद बैठकमा प्रवेश गरेको मलाई याद छ । मलाई गिरिजाप्रसाद राजनीतिक रुपमा इमान्दार मात्रै होइन, नम्बर वन देशभक्त पनि रहेछन् भन्ने लाग्यो ।

त्यतिबेला गिरिजाप्रसादले अर्को पनि बचन लिनुभएको थियो । म विरामी छु । कुनै पनि बेलामा उपचारको खाँचो पर्नसक्छ । साथीहरूले भारतमा लगेर मार्छन् । उनीहरू उपचार गर्न लैजान्छन् अनि पक्कै मेरो साथ भारतमा जान्छ ।

मेरो अन्तिम अवस्थामा भारत लान खोजियो भने तपाईंले रोक्नुस् भन्नुभयो । नेपालकै माटोमा मर्न चाहन्छु भन्ने उहाँको भनाइ थियो ।

गिरिजाबाबुको निधन हुनुभन्दा केही समय पहिला शिक्षण अस्पतालमा उपचार चलिरहेको थियो । एअर एम्बुलेन्समा राखेर भारत लैजाने तयारी पनि चलीरहेको थियो । गिरिजाबाबुलाई भेटेर त्यो कुरा भनौ भनेर सोधेँ ? उहाँले भन्नुहोस् भन्ने इशारा गर्नुभयो ।

त्यसपछि मैले गिरिजाबाबु विदेश जान्न भन्नुभएको छ । त्यहाँ रामचन्द्र पौडेलजी लगायत सबै हुनुहुन्थ्यो । छोरीलाई समेत नभनेको कुरा तपाईलाई मात्रै भन्नुभएछ भनेर सबैले अचम्म माने । तर, अन्तिम इच्छा विपरीत उहाँलाई भारत लगिएन । र उहाँको नेपालमै निधन भयो ।

उहाँ भारतपरस्त पनि होइन र देशभक्त हो भन्ने पनि प्रमाणित भयो । मलाई लाग्यो कुनै पनि नेतालाई चिन्न लामो समयको सहकार्य आवश्यक पर्दो रहेछ । कुनै पनि नेताको विषयमा एकचोटि धारणा बनाइहाल्न नहुने रहेछ भन्ने लाग्यो ।

अन्तरिम संविधानमा नपरेको एक शब्द

०६२/०६३ को जनआन्दोलनपछि आएको परिवर्तनको विषयमा विभिन्न धारणा राख्ने गरेको सुनिन्छ । कतिपयले आधारहीन तर्क पनि गर्छन् । गणतन्त्रको मुद्दा माओवादीले युद्धबाटै उठायो ।

संघीयताको विषयमा कांग्रेस-एमालेको एउटा पक्ष पुरै विरोधमा थियो । कोको थियो तपाईहरू बुझीहाल्नुस् । अन्तरिम संविधान जारी गर्ने बेलामा पुरै एकरात बस्दा त तपाईहरू पनि बाहिर बसेर रिर्पोटिङ गर्दै हुनुहुन्थ्यो । मंसिर मसान्तमा शुरु भएको बैठक पुरै रात छर्लङ्ग भएपछि पुसको बिहान सकिएको थियो ।

अब नेपाल लोकतान्त्रिक संघीय राज्य हुनेछ भन्ने राखौं भन्ने माओवादीसहित हामी थियौं । त्यतिबेला गणराज्य हुनेछ भनिहाल्न मिल्ने अवस्था आइसकेको थिएन ।
कांग्रेस र एमालेका केही साथीहरू त्यसको विपक्षमा हुनुहुन्थ्यो । छलफल हुँदै जाँदा कांग्रेस र एमालेका साथीहरूले नलेखुँ भनेपछि हामी बाध्य भयौं र अब नेपाल लोकतान्त्रिक राज्य हुनेछ भन्ने मात्रै लेखियो ।

लोकतान्त्रिक र राज्य शब्दको बीचमा संघीय राख्ने हाम्रो माग पूरा भएन । पछि मधेसी फोरमले त्यही संघीय शब्द नराखेको भनेर आन्दोलन गर्‍यो । संघीय नराखेकै कारण त्यत्रो जनधनको क्षति भयो । पछि गएर त्यो संशोधन गर्नुपर्‍यो । जब कि शुरुमै नेपाल लोकतान्त्रिक संघीय राज्य हुनेछ भनेको भए मधेसमा आन्दोलन नै हुँदैन थियो ।

धर्मनिरपेक्षता र समावेशीता जस्ता कुरा त अरु पार्टीले पनि उठाउँदै आएका थिए । त्यो राख्नका लागि त कुनै समस्या भएन । काँग्रेस भने समानुपातिक राख्ने पक्षमा थिएन । धर्मनिरपेक्षता त कम्युनिष्ट पार्टीले त शुरुदेखि उठाएको विषय हो ।

त्यसैले म के भन्छु भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताको कुरा मेरो स्मरणशक्तिले भ्याएसम्म सात दल र माओवादीसहित आठ दलको बीचमा उठेको कुरा हो ।

चाहेरै गुमनाम बसेँ

सत्य कुरो के हो भने । मिडियाले मलाई नसम्झेको होइन । बारम्बार आग्रह गर्दा पनि मैले नै सञ्चारकर्मी साथीहरूलाई समय नदिएको हो ।

मिडियामा नआउनुको पनि कारण छ । जनताले यत्रो बलिदानी दिएर परिवर्तन ल्यए । सहिद भए, घाइते भए । तर सहिदको चाहना अनुरुप अहिले पार्टी र सरकारहरू अगाडि बढ्न सकेनन् । मिडियासँग बोलेपछि यस्ता सबै कुराको जवाफ दिनुपर्छ भनेर टाढिएको हुँ ।

अर्को कुरा नेपालको समृद्धि, सुशासनका जुन कुरा छन्, यो पूरा हुनका लागि राज्यको वास्तविक पुनर्संरचना हुनुपर्दछ । अहिले पनि नेपालको पुनर्संरचना भएको छैन । राजनीतिक इकाईको मात्रै पुनर्संरचना भयो । तर अन्य क्षेत्रमा भएको छैन । खासगरी प्रशासनिक क्षेत्रमा त झन हुँदै भएको छैन ।

जनप्रतिनिधिले चाहे पनि कार्यान्वयन हुनसक्ने अवस्था छैन । उनीहरूले लिएर गएका प्रस्ताव स्थायी सरकारले कार्यान्वयनै गर्दैन । साउनमा पारित भएको बजेट छ महिनापछि पनि निकासा हुँदैन ।

मलाई भारतीय डिजाइन अन्तर्गत हराइएको थियो । किनभने मैले भारतले सीमा मिचेको पिल्लर घनले हानीहानी फुटाएको थिएँ । त्यो दृश्य सञ्चारमाध्यमले प्रसारण पनि गरेको थियो

कर्मचारीतन्त्रको सोचमा परिवर्तन आएको छैन । खासगरी नीतिगत तहमा पुरानै मान्छेहरू छन् । पञ्चायतकालमै अधिकृत भएकाहरूमा पञ्चायती सोच हटेको छैन । कर्मचारीमा भएको राजतन्त्र र पञ्चायतको धङधङ्ङीले गर्दा सेवाग्राहीको काम हुनसकेको छैन । जनताले परिवर्तन महशुस गर्न पाएका छैनन् । ३३ किलो सुनकाण्ड र निर्मला पन्त बलात्कार हत्याकाण्ड यसको पछिल्लो उदाहरण हो ।

न्यायालय, प्रहरी, निजामति कतै पनि यो संघीय गणतन्त्रात्मक नेपाल हो भन्ने सोच नै देखिदैन । व्यवहारिक रुपमा हेर्दा तीन किसिमको सरकार सञ्चालनमा छ । एउटा जनप्रतिनिधिको सरकार, अर्को न्याय क्षेत्रको सरकार र तेस्रो पुरातन मानसिकताको कर्मचारीतन्त्रको सरकार भएको अनुभूति हुन्छ । यस्तो अवस्थामा कसरी बोल्ने ? के बोल्ने ?

पार्टीको बैठकमा चाहिँ किन नगएको भन्नुहोला । पार्टीबाट विभिन्न प्रस्ताव आएका छन् । मलाई राष्ट्रपति बन्ने प्रस्ताव नै आएको थियो ।

मलाई ०७० निर्वाचनमा धाँधली गरेर हराइएको थियो । राप्रपाको मान्छेले जितेको जुन बनायो, त्यो बिल्कुल नक्कली थियो । त्यो धाँधली थियो भन्ने प्रमाणित गर्नका लागि म कुनै पनि पदमा चाहिनँ । त्यो चुनावमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो । साँच्चै भन्नुहुन्छ भने मैले त्यत्तिको शान्तिपूर्ण चुनाव त्यसअघि देखेकै थिइनँ । पहिलोपटक मतदाता परिचयपत्र लागु भएकाले पनि होला चुनाव साह्रै शान्त र व्यवस्थित थियो ।

खिलराज रेग्मी नेतृत्वको सरकारले बाकस संकलन गर्ने बेलामा त एजेन्टलाई पनि जान दिएन । एजेन्ट मात्रै होइन प्रहरी र निर्वाचन आयोगका सदस्यलाई पनि जान नदिई सेनाले बाकस लिएर गयो ।

यो धाँधली प्रमाणित गर्नुछ भनेर म गइनँ । राष्ट्रपतिमा गएको भए मैले यो भूमिका खेल्न पाउने थिइनँ । स्थानीय तहको चुनावपछि मलाई धाँधली गरेको पुष्टि पनि भयो । कांग्रेस, एमाले, माओवादी, राप्रपा सबै अलग अलग लडेका थिए ।

वडासहित सबै स्थानीय तहमा अत्याधिक मतले हामीले जित्यौं । एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा आयो । संसदीय चुनावमा १८ हजार पाएर जितेको भनेको राप्रपाको पुरै निर्वाचन क्षेत्रमा जम्मा ३४ सय भोट आयो । उसले वडा सदस्य पनि जितेन ।

मलाई भारतीय डिजाइन अन्तर्गत हराइएको थियो । किनभने मैले भारतले सीमा मिचेको पिल्लर घनले हानीहानी फुटाएको थिएँ । त्यो दृश्य सञ्चारमाध्यमले प्रसारण पनि गरेको थियो । पश्चिम नेपालमा सिमा क्षेत्र मिचेको पनि मेरै नेतृत्वको संसदीय समितिले गएर अध्ययन गरेेको थियो ।

म सहित तीस चालिस जना तत्कालिन माओवादी नेतालाई जसरी पनि हराउन भारत लागेको थियो । वास्तवमा खिलराज रेग्मीलाई सरकारको नेतृत्व गर्न दिनु नै गलत थियो ।

रामवरण यादवलाई भोट दिनुका तीन कारण

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चयनको निर्वाचनमा कसलाई भोट दिने भन्ने निर्णय भएको थिएन । हाम्रा केही साथीहरू रामराजाप्रसाद सिंहलाई भोट दिने निर्णय भयो भनेर हिंडे ।

उहाँलाई भोट दिन नसक्नुका तीन कारण छन् । म कम्युनिष्ट भएकाले वर्गीय कुरालाई प्राथमिकता दिन्छु । उहाँ सप्तरीको जमिन्दार । राजपुत घरानाको मान्छे ।

रामराजप्रसादको खानदान राजस्थानबाट आएको । ०४२ सालमा उहाँले गणतन्त्रका लागि भनेर बमकाण्ड गरेको भन्नुभयो । ०४२ पछिका जनआन्दोलनहरूको त उहाँले समर्थन गर्नु भएन भएन ।

१२ बुँदे समझदारीपछि गणतन्त्रका लागि भएको आन्दोलनलाई पनि उहाँले समर्थन गर्नु भएन । पर्चामार्फत ऐक्यबद्धता पनि जनाउनु भएन । राजनीतिक योगदानै नभएकाले किन बनाउने भन्ने लाग्यो ।

तेस्रो, मलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्‍यो भनेर प्रस्ताव नै राख्नु भएको थिएन । जनमोर्चा नेपाललाई प्रस्ताव नै आएको छैन भने म त्यो पार्टीको अध्यक्षले जसलाई पायो त्यसैले भोट दिँदै त हिंड्दैन नि ।

तुलनात्मक रुपमा रामप्रीत पासवानलाई दिनुपर्ला भन्ने सोचेको थिएँ । उनी वामपन्थी पनि । तर एमालेले उम्मेदवारी फिर्ता लिन लगायो । पहिलो चरणको मतदानमा कसैलाई मत दिइन । एउटा खाली मतपत्र भेटिएको थियो नि त्यो मेरै थियो ।

हाम्रो पार्टीका साथीहरूले गलत काम गरे । आठमध्ये ६ जनाले हस्ताक्षर गरेर जनमोर्चा नेपालले सिंहलाई भोट दिएको हो भन्ने विज्ञप्ति निकाले । संसदीय दलको नेता म । मलाई केही थाहा छैन ।

यो विषय पार्टीमा छलफल पनि भएको थिएन । हस्ताक्षरको कुरा पनि मैले त पत्रिकाबाट थाहा पाएँ । त्यसपछि भोट मात्रै दिने होइन । डा. रामवरण यादवलाई जिताउनु पर्छ भनेर लागे । किनभने वर्गीय रुपमा किसानको छोरो, गणतान्त्रिक आन्दोलनमा पनि लागेकाले म उनको पक्षमा लागेँ ।

एमालेको पनि हाम्रो जस्तै पद्दति रहेछ । पूर्वएमालेको अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा हुनुहुन्छ । अनुशासन आयोगलाई कमजोर बनाउने खालको विधान बनेको थियो । हामी दुईजनाले नोट अफ डिसेन्ट लेखेर पठायौं

मधेशको विषयमा पनि रामवरण यादवको प्रष्ट धारणा थियो । हामी क्रान्तिकारी भनिएको जनमोर्चाका नेताले समेत बोल्न नसक्दा पनि उहाँले आफ्नो विचार राखीरहनु भएको थियो । एमाले र कांग्रेसका पनि अरु नेताले बोल्न सकेका थिएनन् । त्यस गर्दा उनी राष्ट्रवादी रहेछन् भन्ने पनि लाग्यो ।

पहिलो चरणमा दुबै उम्मेदवारले बहुमत ल्याउन सकेका थिएनन् । मेरो एक भोटले मात्रै रामवरणले जित्ने अवस्था थिएन । त्यसपछि साना दलहरूको बैठक बोलाएँ । उनीहरूको ३७, ३८ भोट थियो । साना दलले मलाई तपाईं खुलेरै लाग्ने भए भोट दिन्छौं भनेका थिए । म पनि खुलेरै रामवरणको पक्षमा लागेँ र चुनाव पनि जिते । म सिंहको पक्षमा लागेको भए उनैले जित्ने रहेछन् ।

असन्तुष्टिको सम्बोधन भइसक्यो

नेपालको एक नम्बर शत्रु भनेको भ्रष्टाचार हो । भ्रष्टाचारतन्त्र र कमिसनतन्त्र अन्त्य नगर्ने हो भने देश समृद्धितर्फ जाँदैन । दुई तिहाईको सरकारले यो कुरा बुझ्ने छ भन्ने लाग्छ । सरकारको कामकारवाहीप्रति म निरास भइसकेको छैन ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ । यो धेरै सकारात्मक पक्ष हो । किनभने कम्युनिष्ट राज्य भनेको आमूल परिवर्तनका लागि हो । क्रान्तिकारीहरू सबै एक ठाउँमा आउनु पर्दछ ।

पार्टी एकिरणका बेलामा मलाई स्थायी समिति सदस्य बन्न प्रस्ताव आएको थियो । मैले अरुलाई दिनुस् भनेको हुँ । म माओवादीको हेटौंडा महाधिवेशनबाट निर्वाचन अनुशासन आयोगको अध्यक्ष हुँ । मलाई अर्को महाधिवेशनले मात्रै हटाउन सक्छ । केन्द्रीय समितिले पनि हटाउन सक्दैन । म त्यही आयोगको अध्यक्षको हिसाबले काम गर्छु भने । किनभने आयोगको अध्यक्ष स्थायी समितिको स्वतः सदस्य हुन्छ ।

एमालेको पनि हाम्रो जस्तै पद्दति रहेछ । पूर्वएमालेको अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा हुनुहुन्छ । अनुशासन आयोगलाई कमजोर बनाउने खालको विधान बनेको थियो । हामी दुईजनाले नोट अफ डिसेन्ट लेखेर पठायौं ।

केन्द्रीय समिति र अनुशासन आयोग मात्रै सिधै महाधिवेशन प्रति उत्तरदायी हुन्छ । अनुशासन आयोग पावर फुल छ । त्यसलाई केन्द्रीय समिति मातहत ल्याएर कमजोर बनाउन नखोज्नुस् भनेपछि विधान परिवर्तन भएको छ । दुई अनुशासन आयोगको एकिकरण हुन बाँकी छ । विधान अनुसार अध्यक्ष महाधिवेशनले निर्वाचित गर्छ भने बाँकी सदस्य हामी आफै तोक्न सक्छौं ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment