Comments Add Comment

एउटै सन्तानमा खुम्चिदै बाबुआमा, एक्लिँदै बच्चाहरु

कुनैबेला बुढापाकाले आर्शिवाद यसरी दिन्थे, ‘सन्तानले डाँडाकाडा ढाकुन् ।’ यो त्यस कालखण्डको कुरा हो, जतिबेला हाम्रो गाउँ-समाजमा जनघनत्व पातलो थियो । मर्दा-पर्दा सहयोग आदन-प्रदान गर्न, दुख-सुख साटासाट गर्न पनि आफन्त, इष्टमित्र, नातेदारको खाँचो हुन्थ्यो ।

समय फेरियो । अनि भन्न थालियो, ‘दुई सन्तान, इश्वरको वरदान ।’ बढ्दो जनघनत्व रोक्न मात्र होइन, पारिवारिक जीवन छरितो र कम खर्चिलो होस् भन्नका खातिर पनि राज्यबाटै यो नारा ल्याइएको थियो । यससँगै जन्मान्तर, बन्ध्याकरण, गर्भनिरोधक विधीहरु व्यापक प्रचलनमा आए ।

यसै अनुसार धेरै दम्पत्तीले दुई सन्तानपछि खाता बन्द गरे । कतिले स्थायी बन्ध्याकरण गरे । कतिले अस्थायी साधनमा निर्भर रहे ।

‘थोरै भए पुगिसरी’ भन्ने मनोभावना दम्पत्तीमा विकास भयो । आर्थिक बोझ, मानसिक बोझ, शारीरिक बोझ कम गर्न उनीहरु सन्तानको संख्या कम गर्दै गए । जति कम बालबच्चा, उत्तिनै सहज भन्ने मानसिकता विकास भयो ।

बढ्दो महंगीले पनि यो मानसिकताले मलजल पाएको देखिन्छ । बच्चाको पालनपोषण, उपचार, रेखदेख, पठनपाठन आदि अत्यधिक खर्चिलो बन्दै गयो । र, अहिले यस्तो समय आएको छ कि धेरै दम्पत्ती एउटै सन्तानमा चित्त बुझाउन थालेका छन् । छोरा होस वा छोरी, एक सन्तानमै सन्तुष्ट हुनेहरु बढिरहेका छन् । यसले लैंगिक विभेदलाई कम गर्न मद्दत मिलेको छ । छोरा र छोरीलाई समान दृष्टिले हेर्न थालिएको छ ।

एउटा बच्चा हुर्काउन दुई जनाको उपस्थिती हुने भयो । एउटा बच्चा पालन पोषणका लागि दुई जनाको सहयोग हुने भयो । एउटा बच्चा पढाउनका लागि दुई जनाको कमाई हुने भयो । तर, एकल सन्तान हुर्काउने, बढाउने कुरा दम्पतीको कोणबाट मात्र सजिलो र गजब भयो । ति बच्चाको तर्फबाट होइन, जो एक्लो हुर्किरहेको छ ।

एक्लिँदै बच्चाहरु

दाजुभाई-दिदीबहिनी नहुँदा अचेलका बच्चा नितान्त एक्लो हुँदै गएका छन् । उनीहरुसँग खेल्ने साथी छैनन् । आमाबुवा दुबै व्यस्त । दुबै बिहान काममा निस्कन्छन् । साँझ घर र्फकेर पनि फुर्सद पाउँदैनन् । आ-आफ्नै काम धन्दामा व्यस्त हुन्छन् ।

यस्तै व्यस्तताले गर्दा धेरै कामकाजी दम्पतीले आफ्ना सन्तानलाई ‘डे केयर सेन्टर’, ‘प्ले गु्रप’, बिद्यालय पठाउने गरेका छन् । ती ठाउँहरुमा बच्चाले बच्चा जस्तै भएर खेल्न पाउँदैनन् । उनीहरुलाई स्वतन्त्रपूर्वक खेल्नका लागि ‘अनुशासन’ले रोक्छ । किनभने ती स्थानहरुमा बच्चाले केही नियम, सर्तहरुभित्र बन्दी हुनुपर्छ ।

दुई वा अढाई बर्षको उमेरमै यसरी बालबच्चा अनुशासनको बन्दी हुन पुग्छन् । उनीहरु जसरी खेल्नुपर्ने, जसरी रुनुपर्ने, जसरी हाँस्नुपर्ने, जसरी खानुपर्ने ती सबै कुरा फरक हुन्छन् । उनीहरु खुलस्त रुन पाउँदैनन्, मनलाग्दो खेल्न पाउँदैनन् । अर्कोतिर बुवाआमाको सामिप्यता गुमाउँछन् ।

घरमै बसेर हुर्किरहेकाहरुसँग पनि खेल्ने साथी हुन्नन् । उनीहरुले कृत्रिम खेलौनासँग रमाउनुपर्ने हुन्छ ।

कृतिम खेलौनालाई उनीहरुले बोलाउँछन्, चलाउँछन्, जिस्काउँछन् । तर, त्यो निर्जीव खेलौनाले कुनै प्रतिक्रिया दिदैन । उनीहरु निर्जीव खेलौनासँग संवाद गर्न सक्दैनन् । प्रतिस्पर्धा गर्न सक्दैनन् । यसरी उनीहरुको प्रवृत्ति एकलकाँटे हुँदै जान्छ । उनीहरुमा आफ्नो कुरा, आफ्नो विचार, आफ्नो भावना अरुमाथि लाद्ने बानीको विकास हुन्छ ।

जति-जति उनीहरु हुर्कदै जान्छन्, एक्लै बस्ने, एक्लै खेल्ने, एक्लै रमाउने प्रवृत्ति मौलाउँदै जान्छ । उनीहरु दोस्रो व्यक्ति वा साथीसँग खेल्न, रमाउन असहज मान्न थाल्छन् । अरुसँग तँछाडमछाड गर्दै खेल्ने, अरुसँग बाँडीचुडी खाने, अरुसँग मिलीजुली बस्ने बानी हुँदैन । अन्तर्मुखी, एकोहोरो, एक्लो हुँदै जान्छन् । कतिसम्म भने, उनीहरु घर-परिवारसँग पनि घुलमिल हुन सक्दैनन् । यसले उनीहरुको सामाजिक विकासलाई प्रभावित पार्छ ।

यसकारण दोस्रो सन्तान

अहिले जसरी बच्चाहरु एक्लिएका छन्, उनीहरुका लागि आफ्ना साथी, दौतरी, सहपाठीको खाँचो हुन थालेको छ । र, यो खाँचो तीनै दम्पत्तीले पुरा गर्न सक्छन्, दोस्रो सन्तान जन्माएर ।

जब दुई वा दुईभन्दा बढी बालबच्चा हुन्छन्, उनीहरु आपसमा खेल्दै, लड्दै हुर्कन्छन् । एकअर्कासँग प्रतिस्पर्धा गर्न मात्र होइन, मिलीजुली बस्न पनि सिक्छन् ।

दुई जना बच्चा छन् भने उनीहरु ओछ्यानमा होस् वा खेल्ने ठाउँमा एकसाथ हुन्छन् । दुबै आपसमा मिलेर खेल्छन्, खान्छन्, घुम्छन् । एकअर्कासँग बोल्ने, खेल्ने, खाने साथी पाउँछन् । यसरी हुर्कने क्रममा उनीहरु कहिले झगडा गर्छन्, कहिले मिल्छन्, कहिले खानेकुरा खोसाखोस गर्छन्, कहिले बाँडीचुडी खान्छन् । यावत् गतिविधिले उनीहरुको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्छ ।

यहाँ आइपुगेपछि हेक्का राख्नुपर्ने कुरा चाहिँ के भने, दुबै सन्तानको उमेर अन्तर धेरै हुनुहुँदैन । उनीहरु दुई बर्षको अन्तरका छन् भने राम्रो हुन्छ । किनभने समान उमेरका बालबच्चाको बानी, व्यवहार, सोंच सबै मिल्छ । उनीहरु आपसमा एकाकार हुन सक्छन् ।

एउटाले नखाएको खानेकुरा अर्कोले खाइदिन्छन् । एउटाले नलगाएको लुगा अर्कोले लगाइदिन्छन् । यसरी एकअर्काको परिपुरक हुन्छन् ।

एउटा बच्चालाई भात ख्वाउन जति गाह्रो हुन्छ, दुई जना बच्चा छन् भने उनीहरु तँछाडमछाड गर्दै खान्छन् । एउटा बच्चालाई खेलाउन जति गाह्रो हुन्छ, दुई जना बच्चा छन् भने आपसमा मिलेर खेल्छन् । यसले बालबच्चाको शारीरिक, मानसिक विकास राम्ररी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment