Comments Add Comment

एउटा विश्वविद्यालयबाटै पाँच बढी मेडिकल कलेजलाई सम्बन्धन !

९ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले डा. गोविन्द केसीसँग भएको सहमति विपरित एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने व्यवस्थासहित प्रतिवेदन तयार पारेको छ ।

तर, विपक्षी कांग्रेसले डा. केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने अडान राखेपछि समितिले सोमबार प्रतिवेदनलाई अन्तिम रुप दिन सकेन ।

सरकारले डा. गोविन्द केसीसँग उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने र एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने सहमति गरेको छ । सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक बनाउँदा उपत्यका बाहिर ७÷८ वर्ष मेडिकल कलेज नखुल्ने उपसमितिको ठहर छ ।

अहिले भएका विश्वविद्यालयले ५ बढीलाई मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका छन् ।

त्यसैले उपसमितिले एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने व्यवस्था उपत्यका बाहिरको हकमा लागू नहुने प्रस्ताव गरेको छ । आशय पत्र पाइसकेकाहरुको हकमा पनि लागू नहुने प्रतिवेदनमा उल्लेख छ ।

नेकपाका सांसद योगेश भट्टराई भन्छन्, ‘डा. केसीसँगको सम्झौताअनुसार कुनै पनि मेडिकल कलेज खोल्न नयाँ विश्वविद्यालय हुनुपर्‍यो । मेडिकल फ्याकल्टी अनिवार्य चाहियो, कम्तिमा ३ वर्ष ३०० बेडको अस्पताल चलाएको हुनुपर्‍यो । यो सबै हेर्दा नयाँ मेडिकल कलेज काठमाडौं बाहिर पनि नखुल्ने देखियो ।’

उपसमितिले छात्रवृत्तिमा अध्ययन गर्नेले दुर्गममा २ र सुगममा १ वर्ष सेवा गर्नुपर्ने प्रस्ताव गरेको छ । जबकी डा. केसीसँग भएको सहमतिमा दुबै १/१ वर्ष छ ।

मन्त्रीको आफ्नो अडान

मेडिकल कलेज खोल्ने विष्नय मात्र होइन, प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्यसम्बन्धी प्राविधिक कार्यक्रमबारे पनि संसदीय समितिमा फरक मत देखिएको छ ।

सरकारले डा. केसीसँग प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्यसम्बन्धी प्राविधिक कार्यक्रम सञ्चालन नगर्ने र चालु कार्यक्रम पनि ५ वर्षभित्र फेज आउट गर्ने सहमति गरेको छ ।

तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ५ वर्षमा फेजआउट गर्ने विधेयकमै उल्लेख नगर्न आग्रह गरेका छन् । ‘मैले मन्त्रालयमै आयोग बनाएको छु, आयोगले प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रमबारे अध्ययन गरिरहेको छ, पोखरेलले भने, ‘आयोगले के कुरालाई सिफारिस गर्छ भन्ने नहेरी ऐनमा ५ वर्षभित्र फेजआउट गर्नुपर्छ भन्ने लेखिदियो भने त्यसले अप्ठ्यारो पार्न सक्छ ।’

अगाडि भने, ‘आयोगले फेजआउट गर्न ५ वर्ष नभएर ७ वर्ष ८ वर्ष लाग्छ भनिदियो भने समस्या हुनसक्छ । त्यसैले समय किटान गर्दा हामीलाई गाह्रो पर्छ कि ?’

कांग्रेसले भन्यो–सहमति हुवहु पालना हुनुपर्छ

तर, प्रमुख विपक्षी कांग्रेसले उपसमितिको प्रतिवेदन डा. केसीसँग भएको सहमति विपरित भएको भन्दै विरोध गरेको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद गगन थापाले उपत्यका बाहिर मेडिकल कलेज खोल्ने अरु उपाय रहेको बताए ।

पूर्वाञ्चल मेडिकल कलेजमार्फत उपत्यकाबाहिर सम्बन्धन दिन सकिने उनले बताए । एउटा विश्वविद्यालयले ५ वटालाई मात्र सम्बन्धन दिने प्रावधान अनुगमन र गुणस्तरको लागि पनि भएको भन्दै बढाउन नहुने धारणा राखेका छन् ।

सहमति विपरीत जाने हो भने डा. केसीले विधेयक स्वीकार नगर्नसक्ने उनको तर्क छ ।

केसीसँग वार्ता गर्ने जिम्मा गगन र योगेशलाई

तीन वटा विषयमा डा. केसीसँग भएको सहमति भन्दा फरक प्रस्ताव उपसमितिले तयार पारेपछि शिक्षा तथा स्वास्थ्य समितिले सोमबार विधेयक पास गर्न सकेन ।

तीन वटै विषयमा डा. केसीसँग छलफल गर्ने समितिको निर्णय छ । यो जिम्मा नेकपाका सांसद योगेश भट्टराई र कांग्रेस सांसद गगन थापालाई दिइएको छ । ‘काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने उपाय कसरी निकाल्न सकिन्छ भन्ने डा. केसीसँग छलफल गर्छौं’ सांसद भट्टराईले भनेका छन् ।

यो छलफलमा डा. केसीले जे भन्छन्, त्यसअनुसार चिकित्सा शिक्षा विधेयक अगाडि बढ्ने सांसदहरुले बताए । ‘सीटीईभीटीको कुरा मन्त्रीज्यूले उठाइरहनुभएको छ । त्यसमा दमदार तर्क मन्त्रीज्यूको छ’, नेकपाका सांसद भट्टराईले भने, ‘मुलतः प्रमाणपत्र तहभन्दा मुनि भनिसकेपछि त्यो विद्यालय शिक्षा हो । विद्यालय शिक्षालाई उच्चस्तरीय चिकित्सा शिक्षा आयोगमा किन राख्ने ? त्यसलाई विद्यालय शिक्षाकै रुपमा राखौं भन्ने मन्त्रीज्यूको कुरा छ । यस्ता तमाम विषयमा डा. गोविन्द जीसँग छलफल गर्छौं र निकास निकाल्छौं ।’

कांग्रेस सांसद थापाले सरकारको धारणामा डा. केसीले जे भन्छन्, त्यसअनुसार अघि बढ्ने बताए । ‘सरकारको धारणा जे छ, त्यसलाई एकपटक राख्छौं । पुनर्विचार गर्न सकिन्छ भनेर आयो भने समितिले छलफल गर्नसक्छ’, सांसद थापाले भने, ‘तर पुनर्विचार गर्दा विधेयकको मर्म जान्छ भन्ने उहाँको कुरा रह्यो भने सम्झौताबमोजिम जस्ताको त्यस्तै विधेयकको अंग बनाएर जानुपर्छ भन्नेमा मन्त्री र सभापतिज्जू सहमत हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment