Comments Add Comment

मोराश : एउटा धरोहरको विसर्जन

मोहनराज शर्माबारे केही स्मृति, केही तथ्य

नेपाली वाङ्मयका विविध विधाका सर्जक प्राध्यापक मोहनराज शर्माको विहीबार ८१ वर्षको उमेरमा दम रोगका कारण देहान्त भएसँगै शैली वैज्ञानिक समालोचनाको धरहरा ढलेको छ ।

शर्मा आफैंले सिर्जना गरेको शैली विज्ञान समालोचनाको युग समाप्त भएको छ, । यद्यपि उहाँले नेपाली साहित्यमा स्थापना गरेको शैली वैज्ञानिक समालोचना भने उहाँका प्रभावमा परेका विद्यार्थी र पाठकका कारण यो ानिरन्तर अघि बढ्ने आशा गर्न सकिन्छ ।

अमर हुने नेतृत्व त्यही हो, जसले आफ्नो छाप छाडेर जान्छ, मोहनराज शर्माले त्यो छाप छाडेर गएका छन्, यो नै नेपाली साहित्यका लागि उनले दिएको उपहार हो ।

मोहनराज शर्माको साहित्यिक नामले चिनिने उनी ढकालको घरमा काठमाडौंको धर्मस्थलीमा जन्मिएका हुन् । १९ वर्षको उमेरमा वि.सं.२०१६ सालमा “विलु” शीर्षकको निवन्धवाट यिनको साहित्यिक लेखन यात्रा प्रारम्भ भएको थियो । त्यसको २० वर्षपछि ०३६ सालतिर मेरो उनीसँग चिनजान भेटघाट भयो । ऐतिहासिक जनमत सङ्ग्रहका बेला खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोकावाट निस्कने क्रमको एउटा जवरजस्त घटना थियो, सडक कविता क्रान्ति । र, त्यसमा भाग लिएको म अत्यन्त नविन कवि लेखन र उमेर दुवैले, स्वनामधन्य साहित्यकारहरुको संगतमा पुग्न पाएँ । मेरो सौभाग्य मान्दछु त्यो ।

न्युरोडको पीपलबोटमा साहित्यकारहरु उभिएर घण्टौं गफ गर्ने अनि साँझ ढल्कँदै गएपछि कोही भट्टीतिर र कोही घरतिर लाग्ने नियमितता थियो । घरतिर जानेहरुको जमातमा म पनि थिएँ । मोहनराज शर्मा र मेरो एउटै बाटो पर्दथ्यो । उनी कुलेश्वर बस्दथे, म कालिमाटी ।

यही क्रममा म बस्ने कालिमाटीको डेराबाट सर्नुपर्ने अवस्था आइलाग्यो । उता राजेन्द्र सुवेदी पनि कुलेश्वरवाट डेरा सर्दै रहेछन् मोहनराज शर्मा बसेको घरसँगैको घरबाट । त्यो घर रहेछ डबल एमए घनश्याम कँडेलको ।

मोहनराज शर्माकै माध्यमबाट उनीसँग परिचय भएपछि म कुलेश्वर डेरा सरें । अब पीपलबोट न्युरोडमा भेट भएपछि निवाससम्मै सँगै पैदल जान्थ्यौं । अनि यो वीचमा साहित्यका विविध कुराहरु हुन्थे । म अत्यन्त पढाकु हुनाले मैले पढेका कुराहरु चर्चा गर्ने गर्थें । उनी विद्वान थिए, समालोचनामा नाम थियो । तर, सर्जक व्यक्तित्व भने बनिसकेको थिएन ।

पुस्तकहरु पनि त्यतिञ्जेल उनका च्याँखे धर्ना हास्यव्यङ्ग्य निवन्ध सङ्ग्रह, नेपालीका केही आधुनिक साहित्यकार र कथाको विकास प्रकृया निस्केका थिए र पहिलो कथा सङ्ग्रह कोर्रा प्रकाशित थियो । भर्खरै मैनाली कथा पुरस्कार पाएका थिए ।

यसैवीच उनी र राजेन्द्र सुवेदीले साझा कथाको दोश्रो भाग, समसामयिक कथाको सम्पादनको जिम्मा पाएका थिए । त्यो सङ्कलनका लागि मसित सल्लाह भएरै मेरो “प्रवेश” शीर्षकको दीपिका मासिकमा प्रकाशित कथा समाविष्ट गरेका थिए, जुन कथा अमेरिकी विश्वविद्यालयवाट प्रकाशित हुने “जर्नल अफ साउथ एशिएन लिटरेचर” को नेपाल अङ्कमा डा. माइकल हटको अनुवाद तथा अतिथि सम्पादकत्वमा प्रकाशित भयो । म अमेरिका आउनु भन्दा ६ वर्ष पहिले नै ।

मैले त्यो सङ्कलनका लागि नेपालगञ्जका कथाकार नन्दराम लम्सालको कथा सङ्ग्रह झिकाइदिएर सहयोग गरेको थिएँ । नन्दरामको “टेकुका टुहुरा” कथा उनीहरुले त्यसमा समाविष्ट गरेका थिए ।

त्योबेला ध्रुवचन्द्र गौतमको “अलिखित” उपन्यासले नेपाली साहित्यको बजार पिटेको थियो । “कट्टेल सरको चोट पटक”ले मदन पुरस्कार पाउने हल्ला गरम भएर पनि पाएको थिएन अघिल्लोपल्ट । तर, योपल्ट “अलिखित”ले पाएपछि चर्चा झन् चुलिएको थियो ।

अर्काेतिर त्यो उपन्यासको यौटा प्रसङ्ग भारतीय साहित्यकार श्रीलाल शुक्लको “रागदरवारी”सँग मिल्छ भनेर हल्ला चलेको थियो । म भारतीय पुस्तकालयको सदस्य थिएँ र त्यहाँबाट किताब ल्याएर नियमितजसो पढ्ने गर्थें । यो हल्ला चलेपछि मैले पुस्तकालयबाट त्यो उपन्यास ल्याएर मोहनराज शर्मालाई पढ्न दिएको थिएँ ।

त्योबेला एकेडेमीमा प्रत्येक वर्ष हुने नाटक महोत्सव र कविता उत्सव नेपाली साहित्यकारहरुका लागि अत्यन्त चासो र प्रतीक्षाको विषय हुन्थ्यो । बैशाख १ गते राजाबाट कविताको शीर्षक बक्स भएको खबर रेडियोबाट सुन्न पाइन्थ्यो र नाटक महोत्सव त्यही दिनबाट शुरु हुन्थ्यो । असार ९ गते कविता उत्सव हुन्थ्यो र त्यसको पुरस्कार वितरण दशैंअघि एकेडेमीमै राजाबाट हुन्थ्यो ।

कविलाई पुरस्कार प्रदान गरिनु अघि पुरस्कृत कविता कविहरुले सुनाउँदथे र पुरस्कार वितरण पश्चात् नाटक महोत्सवमा सर्वाेत्कृष्ट नाटक प्रदर्शन गरिन्थ्यो । मोहनराज शर्माको “जेमन्त” नाटक सर्वाेत्कृष्ट भयो । त्यो नाटक राजालाई देखाइयो । जेमन्त भन्नाले जे मन लाग्यो, त्यो गर्ने भन्ने अर्थमा त्यो शब्द उनले क्वाइन गरेका थिए । यो नाटक यति सफल भयो कि त्यतिखेर राष्ट्रिय पञ्चायतको अधिवेशनमा रापसहरुले जेमन्त गर्न पाइँंदैन भनेर संसदमा समेत बोलेका थिए । यो नाटकले उनलाई उच्च कोटीको नाटककारको नयाँ व्यक्तित्व दिलाउन सफल भयो ।

नाटकमा उनलाई लेख्न घच्घच्याउने भने नेपाली सिने नायक रविन्द्र खड्का थिई । उनका जति नाटक मञ्चन भए, रविन्द्रले नै निर्देशन गरेका गरेका थिए । यौटा उनको नाटक मञ्चन भएको थियो । त्यसलाई प्रकाशन गर्न रैवारे साहित्यिक पत्रिकाका सम्पादक जो मेरा मित्र पनि हुन्, गिरिराज जोशी, उनले लगेका थिए । त्यो नाटक वेपत्तै भयो । पाइयो भन्ने सुने पनि त्यो अहिलेसम्म प्रकाशन भएको छैन । नहराएको भए भविश्यमा कुनै दिन आउला भन्ने आशा गरौं ।

उनको अर्काे नाटक यमा पनि राम्रै चल्यो । यमा यन्त्र मानवको छोटो रुप हो । उनी भाषाविद हुनाले भाषा खेलाउने मामलामा खप्पिस नै थिए । पछि लेखेको उपन्यास सलिजो पनि त्यस्तै नयाँ शब्द हो ‘सम लिङ्गी जोडी’ को लघुरुप ।
उनको नाट्य लेखन उर्बर भएकै बेला लेखियो वैकुण्ठ एक्सप्रेस पनि । र, प्रकाशित भयो ०४२ सालमा । यो नाटकमा जस्तो परिपल्पना छ, त्यो मञ्चमा देखाउन जो पायो त्यसले आँट गर्न सक्तैन । त्यसैले यो नाटक अहिलेसम्म पनि मञ्चन भएको छैन ।

बरु यो नाटकले मदन पुरस्कार भने पायो । नेपाली वाङ्मयको एउटा प्रतिष्ठित निजी क्षेत्रको पुरस्कार ।

****

यता घरेलुरुपमा पनि हामी नजिक भएका थियौं । यसो मीठो मसिनो पाक्दा बाँडेर खाने गथ्र्याैं । उहाँको भान्साबाट या मेरो भान्साबाट केही न केही आउने-जाने हुन्थ्यो । कहिले काहीँ एक क्वार्टर रक्सी ल्याएर बाँडीचुँडी पनि खान्थ्यौं । कहिले उहाँकहाँ, कहिले मकहाँ ।

मैले ०४० सालमा बिहा गर्दा डाकेका अति थोरै निम्तालुहरुमा मोहनराज शर्मा पनि थिए । म कुलेश्वर डेरा सर्दा मेरो जेठो छोरा अनुभव १ महिनाको थियो । मैले उसको पास्नी कुलेश्वरमा वैदिक विधिपूर्वक गरेपछि गरेको सानो भोज मोहनराज शर्माले आफ्नो घरबेटीसँग अनुमति मागेर उहाँको डेरामाथिको छतमा गरेको थिएँ ।

यसरी पारिवारिक सम्वन्ध र साहित्यिक सम्वन्ध हामीवीच गहिरिँदै गयो । हामीवीच सरसापटी पनि चल्थ्यो बेलामौकामा ।

उनले स्वैरकल्पनामा आधारित कथाहरु पनि लेखे । त्यो मध्ये यौटा कथा गरिमामा प्रकाशित थियो । त्यस कथालाई व्यङ्ग्य गर्दै खगेन्द्र संग्रौलाले त्यस्तै कथा गरिमामा छपाए । संग्रौलाको त्यो कथा मोहनराज शर्मालाई व्यङ्ग्य गर्ने उद्देश्य भए पनि फोटोकपी जस्तो देखियो र मैले त्यो आशयको पाठक प्रतिक्रिया लेखें गरिमामा ।

खगेन्द्रले मेरो पाठक प्रतिक्रियाको जवाफ मेरो नाम नलिइकन घुमाउरो पाराले दिए । यो बेग्लै कुरा हो, त्यो पाठक प्रतिक्रियाको बदला पछि खगेन्द्रले मसँग नराम्रोसँग लिएरै छाडे । त्यो कुनै दिनका लागि थाती राख्छु ।

मोहनराज शर्माले आजीवन प्राध्यापन पेशामा नै आफ्नो समय लगाए । उनको प्राध्यापनका शुरुका वर्षहरुमा उनी झापामा थिए, मेची क्याम्पसमा ।

कुनैबेला वनारसमा झर्राे नेपाली आन्दोलनका प्रवर्तक चूडामणि रेग्मीसँग झापा बसाइका ८ वर्ष साहित्यिक हिसाबले पनि महत्वपूर्ण रहे ।

मोहनराज शर्माले झापा बसाइका क्रममा चुडामणि रेग्मीको सम्पादन/प्रकाशनमा निस्कने युगज्ञान पत्रिकामा पुछारको पातो भन्ने स्तम्भ नियमित लेख्ने गर्दथे । त्यसका केही छानिएका रचनाहरु साझा प्रकाशनबाट पुस्तकका रुपमा समेत पछि ०४० सालमा पुछारको पातो शीर्षकमा प्रकाशित भयो ।

त्यस्तै मिष्टर झप्पु सिं डवल एम ए पनि अखवारी स्तम्भ लेखनकै सङ्कलन हो, त्यो पनि साझावाटै प्रकाशित भएको थियो ।

नयाँ प्रयोग गर्नु र समयानुकुल रचना गर्नु मोहनराज शर्माको विशेषता थियो । नेपालमा लघु रचनाको शुरुवात कहिले कसले गर्‍यो, त्यो खोज अनुसन्धानको विषय हुन सक्छ । तर, ०२७ सालमा हरिभक्त कटुवालको सम्पादनमा बान्की गोजिकाको प्रकाशन सँगै लघु वा लघुतम रचनाको बग्रेल्ती रचनाहरु स्वनामधन्य लेखकहरुबाट भएको पाइन्छ । बान्कीले बाटो खोलेपछि धेरै लघु रचना र लघु पत्रिका नेपाली साहित्यमा उदाए र इतिहास बनाए ।

यसै क्रममा मोहनराज शर्माले बान्कीमा टाइपिष्ट केटी शीर्षकको लघुतम उपन्यास प्रकाशित गरेका थिए । सम्भवतः नेपाली साहित्यमा त्यो नै पहिलो लघुतम उपन्यास हो । यो बेग्लै कुरा हो, पछि टाइपिष्ट शीर्षकको कथा पनि उनले लेखे, जुन लघुतम उपन्यासभन्दा धेरै शव्दको थियो ।

काठमाडौं बसाईका क्रममा पनि उनले केही समय साप्ताहिक पत्रिकामा स्तम्भ लेखन गरेका थिए । उनीसँग ०४० सालमा पाल्पामा भएको लेखनाथ शतवाषिर्कीमा सँगै भाग लिने मौका मिलेको थियो । त्यो यात्रालाई पनि उनले आफ्नो स्तम्भमा लेखेका थिए । उनले त्यो बेलामा मुग्लिन लाई “मुग लिङ्ग” भन्ने उपमा दिँदा सबै हाँसेर लोटपोट भएका थिए । नयाँ शब्द निर्माण, व्यङ्ग्य चेत र लोसो ढङ्गले बोल्ने उहाँको आफ्नोपन थियो, विशेषता थियो ।

****

पारिवारिक रुपमा मोहनराज शर्माले तीनवटा निकै ठूला आघातहरु सहनु परेको थियो । जेठो छोरा मुटुरोगी थिए । उनी प्राविधिक काममा थिए । जब उनी अस्पतालमा भर्ना भए, शिक्षण अस्पतालमा, राम्रै उपचार हुँदै थियो ।
त्यसैवीच उनी प्रज्ञा भवनमा यौटा सांस्कृतिक कार्यक्रम हेर्दै थिए । कोही उनलाई लिन आयो खोज्दै र अस्पताल पुग्दा जेठो छोरा विक्रम बितिसकेका थिए ।

अर्का छोरा मणिक्रम निकै उत्साही थिए । साहित्यमा रुचि थियो । लेख्थे । गरिमाको सम्पादन सहयोगीका रुपमा साँझमा काम गर्थे । उनी साझाबाटै काज मिलाएर झापा गएका थिए । जानु अघिल्लो दिन रुसी सांस्कृतिक केन्द्रमा मैले पनि भेटेको थिएँ ।

म त तेह्र दिनको काज मिलाएर झापा जाँदैछु अङ्कल भनेका थिए । तर, झापामै उनको निधन भयो अप्रत्यासित रुपमा ।

अनि अर्का छोरा अनुक्रम पनि साहित्यिक थिए । केही समय एकेडेमीमा अविनाश श्रेष्ठसँग समकालीन पत्रिकामा सहयोगीका रुपमा काम गरेका थिए । उनलाई कलेजोसम्वन्धी रोग लाग्यो । उनको उपचारका लागि मैले अमेरिकाबाट अलिकति सहयोग जम्मा गरेको थिएँ । तर, त्यो सहयोग पठाउनुअघि नै उनी बिते । पछि मैले त्यो रकम पठाएको थिएँ ।

यसरी तीन/तीन जना लक्का जवाक छोराहरुको मृत्युको पीडा सहनु चानचुने मुटुबाट सम्भव छैन । म्याडमको आँखाबाट बगेका अश्रुधारा पुछ्दै अध्यापन र लेखनमा लगातार कसरी निरन्तर लागिरहन सक्नुभयो, यो निकै ठूलो व्यावहारिक चुनौति थियो । यी सब खपेर उनले लेखनलाई निरन्तरता दिइरहे ।

पछिल्लोपल्ट अगस्तमा म नेपाल छँदा सधैंझैं एक बिहान भेट्न गएको थिएँ । साहित्यका विविध कुराहरु भए । वीचमा अलि कडा नै बिमारी परेको बताउनु भएको थियो । अघिल्लोपल्ट भन्दा अलि गलेको अनुभव भएको थियो ।
अनि पूर्वयोजनाबेगर नै मैले यौटा झण्डै एक घण्टा लामो अन्तरवार्ता लिएको थिएँ । अब सम्झना बिर्सना त्यही रेकर्डेड अन्तरवार्ता हुने भयो ।

हरेक समर्थमान् लेखकले आफ्नो युगको निर्माण आफैंले गर्दछ । र, त्यस्तो युगको अवसान उसको दैहिक अवसानसँगै हुन्छ । बाँकी रहन्छ, उसले दिएर गएको योगदान । त्यो इतिहासमा सुरक्षित हुन्छ ।

मोहनराज शर्मा अब इतिहासमा सुरक्षित छन् । उनका योगदान चिरकालसम्म रहनेछन् ।

२६ जनवरी, २०१९/ फल्स चर्च, भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment