Comments Add Comment

सानो दूर्गा अधिकारीको प्रतिप्रश्न– हामीलाई मार्दिने त ?

म यहीँबाट देख्छु केपी ओली हिँडेको !

२१ फागुन, झापा । जब–जब झापा विद्रोहको चर्चा हुन्छ, तब सुखानीका शहीदसँगै जिउँदा सहिदहरुको पनि सम्झना आउँछ । धुलावारी बजारमा झापा विद्रोहका योद्धा सानो दुर्गा अधिकारी अहिलेसम्म दुःख बिसाइरहेकै छन् । भीष्म धिमाल कता के गर्दैछन्, धेरैलाई अत्तोपत्तो छैन ।

आज फागुन २१ गते । जनताको मुक्तिका लागि लडेका ५ जना क्रान्तिकारी योद्धा रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठले जीवन गुमाएको दिन । ०२९ साल फागुन २१ मा झापा कारागारबाट इलाम जेल सार्ने बाहानामा झापा र इलामको सीमानामा पर्ने सुखानीको जंगलमा पाँचैजना नेताहरुलाई गोली हानी हत्या गरिएको थियो । कम्युनिष्टहरुले मान्ने पवित्र भूमि सुखानीमा हरेक वर्षको फागुन २१ श्रद्धाञ्जली सभा गरिँदै आएको छ । यस वर्ष नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सुखानी आएका छन् ।

जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाइ गर्ने सानो दूर्गा अधिकारीले १७ वर्ष जेल जीवन बिताए । झापा विद्रोहमा अर्का पनि दुर्गा अधिकारी संलग्न रहेकाले १७ वर्ष जेल बस्ने यिनलाई सबैले ‘सानो दूर्गा अधिकारी’ भन्ने गरेका हुन् ।

धुलाबारीको पुल छेउमा सडक पेटी नजिकै अधिकारीको सानो छाप्रो छ । उनी उज्यालो रहुञ्जेल त आँखा देख्छन्, अध्याँरो भएपछि आँखाले काम गर्दैनन् । बिहान–बेलुकाको गाँसका लागि पार्टी कार्यकर्ताकै सहयोग र भरोसामा बाँचिरहेका छन् उनी । पार्टीका नेताले नै बारबेर गरेर बनाइदिएको घरमा जीवन बिताइरहेका छन् । ०४७ सालको परिवर्तनपछि राजबन्दीले पाएको राहतबाट उनले यो छाप्रो ठड्याएका हुन् ।

अधिकारीसँगै झापा विद्रोहमा लागेका र १४ वर्ष जेल जीवन व्यतीत गरेका केपी शर्मा ओली इतिहासकै शक्तिशाली सरकारको बागडोर सम्हालिरहेका छन् । तर, त्यही आन्दोलनका योद्धा अधिकारी खै कसका कारणले हो, सडकभन्दा माथि जान सकेनन् ।

झापा विद्रोहलाई नेपाली राजनीतिको जग मानिन्छ । त्यही आन्दोलनमा लागेका दर्जनाैं योद्धा जीवनको कठिन मोडहरु पार गरिरहेका छन् । ज्यान गुमाउने शहीद परिवार कसैले सांसद बन्ने मौका पाए । कोही सरकारले केही गर्ला कि भन्ने आशामा बाँचिरहेका छन् । त्यस्तै आशा छ, सानो दुर्गा अधिकारीलाई पनि । ‘झापा विद्रोहका सहकर्मीलाई तत्कालीन एमालेको अध्यक्ष हुनासाथ केपी शर्मा ओलीले काठमाडौमा भेट गर्न बोलाउनुभयो, बाँकी हाम्रा लागि केही गर्न सक्नुभएको छैन,’ दुर्गा अधिकारीले गुनासो गरे ।

एमाले र माओवादीको एकताबाट भने अधिकारी खुशी देखिएका छन् । उनी भन्छन्– ‘पार्टी एकताले खुसी छु । गणतन्त्रवादीहरु एक भएका छन् । तर, स्वार्थका कारण एकता टुंगिन सकेको छैन । विवाद नगर्नू ।’

झापा विद्रोहमा लागेका धेरै परिवारजन पीडामै बाँचिरहेका छन् । कसै–कसैको जीवनस्तर सुध्रेको छ । १० वर्षे जनयुद्धको पीडा भन्दा झापा विद्रोहको पीडा निकै कम हो । तैपनि झापा विद्रोहका योद्धाहरुले दशकौं अघिदेखि आफूलाई पार्टीले सम्झियो भन्दा पनि पार्टी र राज्यसँग गुनासो मात्रै गरिरहेको सुनिन्छ ।

हामीले अधिकारीलाई प्रश्न गर्‍यौं, ‘परिस्थितिले आन्दोलनमा लाग्नुभयो, जेलनेल भोग्नुभयो, तर के सधैं जेलनेल बस्नेलाई मात्रै राज्यले सम्झिनुपर्छ भन्ने छ त ?’

जवाफमा उनले भने, ‘त्यसोभए हामीलाई भोकभोकै मार्दिने त ? कठोर परिस्थितिमा आन्दोलनमा लागेका कार्यकर्ताहरु मरे । जेल बसे । आन्दोलनको फिल्डमा उत्रेकाहरुले नै अहिले पीडा भोगिरहेका छन् । ५० वर्ष बितिसक्यो । बुढेसकाल लागिसक्यो । अनि, हामीलाई नसम्झेर, बिर्सेर हुन्छ ? यो त दुःखको कुरा हो । हाम्रा हातपाउ चलुञ्जेल कोहीसँग केही मागेनांै । अहिले हात पाउ चल्दैनन् । स्वार्थीहरुले कमाए होला । हामी निस्वार्थ भएर लाग्याैं, त्यसैले सडकमा छौं । यदि माग्ने नियतकै थियौं भने जनताका निम्ति त्यसरी लाग्ने नै थिएनाैं।’

झापा विद्रोह र त्यसपछिका दिनहरुबारे सानो दूर्गा अधिकारीको संस्मरण उनकै शब्दमा–

म ०३० सालमा इलामबाट पक्राउ परें । १७ वर्ष कठोर जेल जीवन बिताएँ । जेलबाट छुटेपछि पार्टी राजनीतिमा खासै सक्रिय हुन सकिनँ । मेचीनगरको कार्यक्रममा बोलाउँदा पुग्थें । अहिले पार्टी सदस्यता के भएको छ थाहा छैन । लेबी बुझाइरहेको छु । बोलाएको ठाउँमा सकेसम्म जान्छु । कार्यक्रममको खबर प्रायः हुदैन । सकिएपछि मात्रै थाहा पाइन्छ ।

हामी निस्वार्थ भावनाले आन्दोलनमा लागेका थियौं । राज्यमा परिवर्तन ल्याउने, गणतन्त्र ल्याउने, राजतन्त्र हटाउने, पञ्चायत तानाशाह हटाउने । विदेशी हस्तक्षेप हटाउने, देशभित्रको सामन्ती वर्गबाट भएका शोषण अन्याय अत्याचार समाप्त पार्ने र गणतन्त्र ल्याउने उद्देश्य राखेर नै आन्दोलनमा लाग्याैं ।

गणतन्त्र नआउञ्जेल हामी पार्टीमा क्रियाशील नै थियौं । त्यतिबेलासम्म स्वास्थ्य पनि ठीकै थियो । गणतन्त्र पनि आयो, उमेरले पनि डाँडो काट्दै गयो ।

बहुदल आउँदासम्म घरबारविहीन थिएँ । बिहे भएको थिएन । अलि समय जिल्ला पार्टी कार्यलयमा सहयोगीका रुपमा काम गरें । ज्यामिरगढी र बुधबारेमा साथीहरुले सामान्य बस्नका लागि घर बनाइदिए । रविन कोइरालाजीले ईंटा दिनुभयो । अहिले धुलाबारीमा बस्दै आएको छु ।

स्वास्थ्य अवस्था कमजोर भइसक्यो । अध्याँरो भएपछि आँखा देख्दिनँ । घर व्यवहार चौपट छ । वास्तवमा घरै त छैन । यो छाप्रो हो । आम्दानीको बाटो केही छैन । बेलाबखत साथीहरुले २/४ सय, कसैले खाद्यान्न दिन्छन्, त्यसैको भरोसामा बाँचेको छु । पार्टीगत भन्दा पनि व्यक्तिगतरुपमा चामल दिन्छन् । त्यही खाएर बाँचेको छु ।

शरीरले सकुञ्जेलसम्म कोहीसँग दुःख पुकारा गरिनँ । कसैसँग केही मागिनँ । न त रुँदै हिँडे । त्यत्रो नेल हत्कडी लगाउँदा त नरोइकन काटियो भने जेलबाट बाहिर आएपछि पनि माग्ने काम गरेनाैं । तर, अहिले हात खुटटा चल्दैनन् । केही साथीहरु उपचारको पहुँचमा होलान्, बिहान–बेलुकाको समस्यामा नहोलान् । भान्सामा मीठो पाक्ला । मेरो घरमा के छ र पाक्छ ? न औषधी उपचार, न बिहान–बेलुकाको खाने गाँस नै छ । साँच्चै भन्ने हो भने मेरो बास पनि छैन । यो छाप्रोमा पानी परेको दिन घरमा पसिसक्नु हुँदैन । आहाल जम्छ ।

पहिले सयाैं साथीहरुसँग हेलमेल थियो । अहिले एकजना साथी पनि भेट्न आउँदैनन् । एकजना साथी देख्न नपाउँदा कस्तो हुन्छ, भन्नु त ? केही साथीहरुले चाहिँ सम्झिदिए हुन्थ्यो । कोही सत्तामा पुगे, उनीहरुले नसम्झे पनि स्थानीय र नयाँ पुस्ताले सम्झिदिए हुने ।

सपना अझै अधुरो

हाम्रो सपना अझै पूरा भएको छैन । पूरा भएको भए , जनताले यो दुःख र संकट व्यहोर्नुपर्ने थिएन होला । झापा विद्रोहको सपना पूरा भएको छैन । हिजो राजतन्त्र थियो, पञ्चायत थियो भने आज हाम्रो साथीहरु सत्तामा छन् । राजतन्त्र र पञ्चायत फालेपछि कांग्रेस सत्तामा आयो । कांग्रेसले जनताका लागि काम गर्नुपथ्र्याे, गरेन । हाम्रो पार्टीले त गर्नुपर्छ नि । जनताको जनजिविकाका लागि हाम्रो पार्टीको पनि राम्रो खबरदारी भएन । जति गर्नुपर्ने हो, गरेन ।

अहिलेसम्म सामन्तीको अवशेष बाँकी नै छ । अहिले हाम्रो पार्टी बहुमतमा छ । तर, पार्टीको संस्कारमा सुधार भएको छैन । जनताको जनजिविकाका बारेमा सोचेको छैन । आफ्नै समकालीन साथीहरु भोकभोकै सुकिरहेका छन् । सडक पेटीमा बसिरहेका छन् । खै पार्टीले किन नसोचेको ? गर्न नचाहेको हो कि ? नपाएको हो कि ? यो चाँहि म बुझ्दिनँ ।

राजतन्त्र गयो । पञ्चायत गयो । गणतन्त्र त आयो नि । जनताको बलिदानीबाटै गणतन्त्र आएको हो । गणतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने ? संस्कारमा सुधार गर्ने कि नगर्ने ? मूल प्रश्न यही हो । पुरानै संस्कारमा हिँड्ने कि बदलिने ? अब बदलिनुपर्छ । अरुका नेताको कुरा छोडांै । म हाम्रै नेताको कुरा गर्छु । अब सुध्रिने कि नसुध्रिने ? गुटको लडाइँ गरेर गणतन्त्र गुमाउने कि ? कांग्रेसजस्तै हुने कि ? कांग्रेस बहुदल आएपछि सत्तामा त गयो । तर, संस्कार सुधार गरेन । सत्तामा पुगेको कांग्रेस पञ्चायतकै बाटोमा हिँड्यो । सुधार ल्याउन कांग्रेसले पहल गरेन । हाम्रो पार्टी पनि त्यही बाटो हिँड्ने कि जनताको जीवनमा सुधार ल्याउने ?

स्वार्थी भयौ भन्दा साथीहरु रिसाउन खोज्छन् । रिसाउन्, नरिसाउन् साथीहरुमा स्वार्थीपना छ । पहिलोको जस्तो विवेक पनि छैन । विद्रोहमा लागेका नेता कार्यकर्तालाई अहिलेको नेतृत्वले भुलेका छन्

यो परिवर्तन त्यसै आएको होइन । यसमा हाम्रो ठूलो त्याग र तपस्या छ । यसको इतिहास बचाउने कि नबचाउने ? पार्टीले नयाँ पिँढीलाई के सिकाउँदैछ ? किनभने, पुराना मान्छेहरु मरिसके । बाँचेकाहरुको जीवन मेरैजस्तै छ । बाँचेको भन्नु कि मरेको !

कसैलाई भालाले घोचेर मारियो । कसैलाई गोली बर्साइयो । त्यो सबै जनताको निम्ति त्याग थियो । त्यत्तिकै जीवन गुमाएको होइन । त्यो न्यायपूर्ण इतिहासलाई कसैले नभुल्नु । सत्तामा पुगेर पनि भुल्नुहुँदैन । आन्दोलनका सहयात्रीमध्ये एकजना केपी शर्मा ओली मुलुकको नेतृत्वमा हुनुहुन्छ । मेरो आग्रह छ– पुराना साथीकहाँ छन्, के गर्दैछन्, एकपटक बुझिदिनुस् । कस्तो हालत छ ?

म यहीँबाट देख्छु केपी ओली राजमार्गमा हिँडेको । झापा आएको, गएको याद हुन्छ । बाटोमा लावालस्कर गाडी अघिपछि हुन्छन् । म यहाँ छु भन्ने पनि उहाँलाई थाहा छ । मेरो छाप्रो पनि उहाँले देख्नुभएको छ ।

उहिले निस्वार्थी, अहिले स्वार्थी

स्वार्थी भयौ भन्दा साथीहरु रिसाउन खोज्छन् । रिसाउन्, नरिसाउन् साथीहरुमा स्वार्थीपना छ । पहिलोको जस्तो विवेक पनि छैन । विद्रोहमा लागेका नेता कार्यकर्तालाई अहिलेको नेतृत्वले भुलेका छन् ।

यो पुरानो सामन्ती संस्कारको अवशेष हो । सामन्तीको चिन्तनले गर्दा साथीहरुले भुलेको हुनुपर्छ । सत्तामा पुगेपछि साथीहरुमा पनि कतै सामन्ती वर्गको संस्कार दिमागमा पसेको होला । धेरै नभए पनि अलिअलि चाहिँ पसेकै हुनुपर्छ ।

यस्तै सोच र व्यवहारले चलिरहने हो भने गणतन्त्र सामन्ती वर्गको हातमा गइहाल्नेछ । त्यस्तो नहोस् । माथिल्लो तहमा रहेका साथीहरुले सजगता अपनाउन् । युवा पिँढीले चनाखो भएर लाग्ने बेला आएको छ, जसरी हामी निस्वार्थ भएर लागेका थियौं ।

जनताले लामो त्याग तपस्या गरेर ल्याएको गणतन्त्रलाई सामन्ती संस्कारमा लगेर नबुझाइदिन नेतृत्वलाई सुझाव छ । जनताले गणतन्त्र पाउनुपर्‍यो । गणतन्त्रको उपभोग गर्न पाउनुपर्‍यो ।

(प्रदीप परियारको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment