Comments Add Comment

केपी ओलीसँग युवराज दाहालको ‘कनेक्सन’

२१ फागुन, काठमाडौं । ताप्लेजुङमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीकै ज्यान गएका कारण अन्य पात्र छायाँमा परे । ज्यान गुमाएका ७ जनामध्ये उपसचिव युवराज दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका पनि विश्वासपात्र थिए । तर, दाहालको चर्चा कमै भयो ।

हेलिकोप्टर दुर्घटनापछि आयोजित नेकपा संसदीय दलको बैठकमा ओलीले दाहालबारे भनेका थिए, ‘उपसचिव दाहाल विकासलाई विभिन्न कोणबाट विश्लेषण गरेर योजना बनाउन सक्षम व्यक्ति थिए ।’

जागिरे जीवनका क्रममा दाहाल जहाँ कार्यरत् रहे, हरेक ठाउँमा अमिट छाप छाड्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

दाहालले हरेक ठाउँमा विकासका नयाँ योजना अघि सारेका थिए भने स्थानीय राजनीतिक दलसँग मजबुत सम्बन्ध बनाएर सबैको प्रिय प्रशासक बनेका थिए । दमक नगरपालिकाका मेयर रोमनाथ ओली सम्झन्छन्, ‘म मेयर हुनुअघि पनि उहाँ नै दमकको अधिकृत हुनुहुन्थ्यो, त्यतिबेला उहाँको कुनै पनि व्यवहारले कसैलाई निराश बनाएन । म मेयर भएपछि पनि उहाँसँग झण्डै एक वर्ष सहकार्य भयो ।’

इलामबाट चिनिएका दाहाल

०६५ साल माघमा इलाम नगरपालिकाको कार्यकारी अधिकृत भएका दाहालले त्यहाँ रहँदा जति वाहवाही पाए, त्योभन्दा बढी इलामवासीलाई योगदान दिएका छन् । दाहालले इलामलाई मुलुककै पहिलो हरित नगरी घोषणालाई कार्यान्वयनमा मात्र ल्याएनन्, देशकै पहिलो प्लाष्टिकमुक्त नगरसमेत घोषित गराइछाडे । परिणामतः अहिले इलाम मुलुकै दोस्रो स्वच्छ र सफा सहरको रुपमा चिनिन्छ ।

उनकै कार्यकालमा इलामका चियाबारीलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न विभिन्न पहलहरु भएका थिए । चियाबारीलाई पर्यटकीय क्षेत्रको रुप दिँदा रेलिङ र सिँढीहरु बनाउने काम पनि उनकै कार्यकालमा भएको इलाम नगरबासी बताउँछन् । इलामको भ्यू टावर पनि दाहालकै कार्यकालमा बनेको थियो ।

यो पनि पढ्नुहोस खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

दाहालले इलाम नगरपालिकालाई जुन नेतृत्व दिएर विकासको योजनालाई अघि सारे, त्यसलाई भोलि कसैले उछिन्ला भनेर सहजरुपमा भन्न नसकिने नागरिक समाज, इलामका अगुवा धर्म गौतम बताउँछन् ।

‘उहाँ इलाममा बसुञ्जेल जनप्रतिनिधि थिएनन् । कानुनतः नगरप्रमुखको भूमिका पनि उहाँकै थियो’, गौतमले अनलाइनखबरसँग भने, ‘तर, उहाँ जननिर्वाचित प्रतिनिधि जस्तै हुनुहुन्थ्यो । कतिपयले उहाँलाई विद्यार्थी कालमा वामपन्थी भएको बताउँथे । तर, इलाम बसुञ्जेल मसँग भएको घनिष्टताले मलाई कहिल्यै त्यस्तो महसुस गराएन ।’

ठूला नेता भएको जिल्लाका रुपमा देशभर इलामको परिचय भए पनि जिल्लावासी आफ्नो नेताले जिल्लाको विकासमा खासै योगदान दिए भनेर उल्लेख गर्न नचाहने उनी बताउँछन् । बरु त्यो स्थानमा दाहालको स्थानीयवासीले स्मरण गरेको गौतम बताउँछन् ।

ओलीसँग ‘कनेक्सन’

इलाममा छँदा उनले झलनाथ खनाल र सुवास नेम्वाङसँग पनि सम्बन्ध बढाए । नेम्वाङमार्फत दाहालले अग्नी खरेलसँग पनि सम्बन्ध विस्तार गरे । सुशील कोइराला नेतृत्वको सरकार रहेका बेला दमक नगरपालिकामा नयाँ अधिकृत पठाउने तयारी हुँदै थियो । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दमक पठाउन छुट्टै मान्छे तयार गरेका थिए ।

दाहाललाई दमक जाने इच्छा थियो, जुन कुरा उनले नजिकका केही नेताहरुलाई सुनाएका थिए । केपी शर्मा ओलीको गृहनगरमा सिंहले ‘आफ्नो मान्छे’ पठाउन लागेको चाल पाएपछि हालका महान्यायाधिवक्ता अग्नि खरेलले प्रकाशमानलाई भेटे । र, भने, ‘केपी ओलीको नगरमा उसले भनेको मान्छे पठाएनौं भने कसरी सरकार चलाउछौ हेर्छु ।’

यो पनि पढ्नुहोस पाथीभराबाट उडेको एक मिनेटमै दुर्घटना भएको थियो हेलिकोप्टर

तत्कालीन नेपाली कांग्रेसका नगर अध्यक्ष ढुण्डिराज भण्डारी दाहालकै समकक्षी भएकाले पनि दमकबाट उनलाई कसैले रोक्न सकेनन् । बरु, सम्बन्ध बढाए । त्यसपछि उनले दमक नगरपालिकामा कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

दमक आएपछि उनले हालका प्रधानमन्त्री ओलीसँग नजिकिने मौका पाए । रोमनाथ ओली (हालका मेयर), इन्द्र भण्डारी, गोविन्द थापाहरुसँग सम्बन्ध बढाउँदै पछिल्ला दिनमा उनी प्रधानमन्त्री ओलीको यति निकट भएका थिए कि एक दिन जापानका लागि नेपाली राजदूतसँग बालकोटमा भएको भेटमा उनले दाहाललाई ‘हि इज क्राउन प्रिन्स’ भनेर चिनाएका थिए ।

दमकमा उनको छवि एक कर्मचारीका रुपमा मात्र सीमित थिएन, उनी नेताझैँ थिए

समृद्ध दमकका योजनाकार

करिब एक दशक बढी विभिन्न जिल्ला र क्षेत्रका स्थानीय निकायमा काम गरिसकेकाले उनीसँग पर्याप्त अनुभव थियो । तल्लो र माथिल्लो दुबै तहको समस्यासँग उनी परिचित थिए । त्यसैले उनलाई नगर कसरी चलाउने भन्ने राम्रो जानकारी थियो ।

अहिले सरकारको समेत प्राथमिकताका योजनामा परेको दमक औद्योगिक पार्कको परिकल्पना उनै दाहालको थियो । सबैभन्दा ठूलो बुद्धको मूर्ती बनाउने योजना पनि उनकै भएको स्थानीय बताउँछन् । दमकमा उनी जति पनि काम गर्थें, हरेकपटक केपी ओलीसँग सल्लाह माग्थे । कहिले विभिन्न व्यक्तिमार्फत फोन गरेर सम्पर्क गर्थें भने कहिले काठमाडौं आएर भेट्थें ।

उनले आफूले हात हालेको योजनालाई अघिल्लो सरकारले निकालेको ०७२ सालको नीति तथा कार्यक्रममा पनि पार्न सफल भए । ‘उहाँले भ्यू टावर, नमुना बजार जस्ता योजनासहितको परामर्श अघि बढाउनुभयो’, दमकका मेयर रोमनाथ ओलीले अनलाइनखबरसँग भने, ‘त्यसलाई ओलीज्यूले पनि राष्ट्रकै महत्वपूर्ण योजनामा लान सकिन्छ भनेर समाउनुभयो ।’

यसरी दमकमा उनको छवि एक कर्मचारीका रुपमा मात्र सीमित थिएन, उनी नेताझैँ थिए । त्यति मात्र होइन, प्रदेश १ मा स्थानीय तहको प्रमुख/उपप्रमुखका र प्रदेशसभाको चुनावमा उनीमार्फत टिकट माग्नेहरुको पनि लहर नै भएको स्थानीय नेता बताउँछन् ।

यसरी ओलीको नजरमा परेका उनी दमकमै रहँदा उप–सचिव भए । त्यसपछि ओलीले उनलाई प्रधानमन्त्री कार्यालयमै ल्याए । कार्यालयका एक कर्मचारी भन्छन्, ‘यहाँ रहँदा दाहालजी पदले उप–सचिव हुनुहुन्थ्यो तर, कार्यकक्षमा सचिवहरुको पनि भिड लाग्थ्यो ।’ कार्यक्षमा गएका हरेक व्यक्तिलाई कहिल्यै निराश नबनाउने उनको बानी रहेको ती कर्मचारी बताउँछन् ।

साथीको नजरमा दाहाल

०५६ सालदेखिका चिरपरिचत हाल प्रधानमन्त्री ओलीकै सचिवालयमा प्रेस संयोजकको रुपमा कार्यरत् चेतन अधिकारीको सम्झनामा उनी हक्की र निडर स्वाभाका व्यक्ति हुन् ।

‘जनसम्पर्क सकेसम्म बढाउने स्वाभाव भएका उहाँ साथीभाइ माँझ पनि एकदमै मिलनसार हुनुहुन्थ्यो’, अधिकारीले अनलाइनखबरसँग भने, ‘उहाँ हिँडडुल र घुमफिर गर्न पनि एकदमै सौखिन हुनुहुन्थ्यो ।’ दाहालले अन्तरराष्ट्रिय समसामयिक राजनीतिको विषय पनि राम्रो दख्खल राख्ने गरेको अधिकारी बताउँछन् ।

२०२९ सालमा जन्मिएका दाहाल ४ दाजुभाइमध्ये साहिला हुन्, दाहाल । झापाको लखनपुरबाट उनको परिवार धनकुटातर्फ बसाइँ सरेको थियो । करिब एक दशकअघि झापाको गौरीगञ्जकी बन्दना पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका दाहालका छोरा नोबल र छोरी नोरिया छन् । छोरा प्रिमियर स्कुल, ललितपुरमा कक्षा ६ मा अध्ययनरत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment