+
+
बहसमा सामाजिक संस्कार :

७ दिनमै काजकिरिया ! न बाहुनलाई गौदान, न सेतो बस्त्र !

पोखराबासी भन्छन्- 'मृत्यु संस्कारमा परिमार्जन हुन जरुरी छ

अमृत सुवेदी अमृत सुवेदी
२०७५ फागुन २१ गते २०:५८

२१ फागुन, पोखरा । हिन्दू परम्पराअनुसार १३ दिनमा सकिनुपर्ने काजकिरिया रविन्द्र अधिकारीको परिवारले मंगलबार ७ दिनमै सम्पन्न गरेको छ । सात दिने काज किरिया पनि सामान्य किसिमबाट गरियो ।

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका निवर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सामान्य विधिसहित किरिया कर्म मंगलबार ७ दिनमै सकिएको हो ।
दुर्घटनास्थलबाट रवीन्द्रको शव काठमाडौं हुँदै पोखरा ल्याउँदा तीन दिन बितिसकेको थियो । त्यो दिनबाट मृत्यु संस्कार सक्ने समय ४ दिनमात्रै रहृयो ।

न सेता लुगा, न गरुण पुराण !

कम्युनिष्ट नेता अधिकारीको ७ दिने काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले आयोजना गरिएको थियो ।

व्रतबन्ध गरेका ठूलो छोरा विराजले कपाल फाले पनि कान्छा छोरा स्वराज सानै भएकाले कपाल काटेनन् । न कुनै खलो वा खाना पकाउने थलो, न सेता लुगा, न पराल ओछ्याएर अलग्गै कुनामा बसाइ, न त कुनै ढिकुरो वा पिण्डको व्यवस्था । आमाछोरा एउटै कोठाको फरक ठाउँमा शुद्ध कपडा पहिरिएर बसे । एकछाक सात्विक भोजन गरे ।

सात दिनसम्म दिनहुँ गरुण पुराण वाचन गरिएन । सोमबार एक दिन संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक चतुर्भुज शर्माले गरुण पुराणको सारसंक्षेप सुनाएर भने, ‘हाम्रो मृत्यु संस्कार परिमार्जन हुन जरुरी छ ।’

सातदिने काज किरियाका क्रममा प्रत्येक दिन दिउँसो श्रद्धाञ्जली कार्यक्रम गरेर रवीन्द्रले गरेका कामको चर्चा गरियो ।

काजकिरिया समापनका दिन मंगलबार पोखरामा श्रद्धाञ्जली सभा सम्पन्न भयो । रवीन्द्रले गरेका कामको चर्चासँगै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै काज किरिया समापन गरियो । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको श्रद्धाञ्जली सभामा रवीन्द्रको परिवारजनको सल्लाहमा बाल्यकालदेखिका सहयात्री धनराज आचार्यले ७ दिने काजकिरियाको घोषणा गरे ।

नेकपा गण्डकीले बिहीबार निवासमै श्रद्धाञ्जली सभा गर्दै रवीन्द्रको स्मरण गर्‍यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले परिवारजनमा समवेदना व्यक्त गरे ।

रवीन्द्रको मृत्यु संस्कार ७ दिनमै सकिएपछि फेरि एकपटक यसले धर्म, संस्कृति र मृत्युपछिको संस्कारका विषयमा बहस सिर्जना गरेको धेरैले महसुस गरेका छन् । एकाथरि ठान्छन्, ‘मृत्यु संस्कार १३ दिन नै हुनुपर्छ ।’ तर, अर्काथरि भन्छन्, ‘हाम्रा संस्कार र धार्मिक पद्दतिहरु समयअनुसार परिमार्जन हुँदै जानुपर्छ ।’

अधिकारी परिवारको भनाइ के छ ?

रवीन्द्र अधिकारीका बुबा आफैं धार्मिक संस्कारमा दख्खल राख्छन् । उनको समेत सहमतिमै एकजना पण्डित बोलाएर सामान्य विधि पूरा गरेपछि ७ दिनको क्रिरियाकर्म सकिएको घोषणा गरिएको हो ।

परिवारजनको भनाइअनुसार पाथीभरा मन्दिर दर्शनका क्रममा दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारी प्रगतिशील काजकिरियाको पक्षमा थिए । रवीन्द्र पत्नी विद्या भट्टराईका अनुसार किरिया कर्म गर्ने समय घटाउनुपर्ने र हाम्रा केही जन्म, मृत्युका विधि, पद्दतिहरु परिवर्तन हुनुपर्छ भनेर संसदमै आवाज उठाउने अधिकारीले तयारी गर्दै थिए ।

विद्या आफैंले रवीन्द्रको चाहना र सपनालाई सम्झिइन् र मृत्युपछि धेरै दिनसम्म गर्ने संस्कारलाई व्यवहारमै उतारेर ७ दिन मात्रै गर्ने प्रस्ताव उनैले गरेकी थिइन् ।

के भन्छन् पोखराबासी ?

समाज, संस्कृति र पद्दति समयानुकुल हुनुपर्छ र जन्म मृत्युपछिका संस्कार परिमार्जन हुनुपर्छ भन्ने एक कम्युनिस्ट नेताको परिवारले त्यसको उदाहरण देखाएको पोखराबासीको विश्लेषण छ ।

तेह्रौँ दिनसम्म किरिया बसेर गाईको पुच्छर समाई परिवारजनले ब्राहृमणलाई दान गरेपछि मात्रै कर्म सकिने परम्पराबाट माथि उठेर छरितो र वैज्ञानिक विधि अपनाएको प्राध्यापक भरत पहारी बताउँछन् ।

वर्ष दिनसम्म हरेक महिनामा मासिक श्राद्ध गरेर र वर्ष दिन पुगेपछि एक मुख्य बरखी श्राद्ध गर्ने र गौदान तथा अन्य दान दिने चलन पनि परिमार्जन भएको पहारीले बताए ।
संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक चतुर्भुज शर्माको भनाइ पनि यस्तै छ । जूठो बार्ने भनेर मृतकको घरमा पूजापाठ नगरिने, चाडबाड नमनाइने, कुनै प्रकारका उत्सव उमंगमा परिवारका सदस्य सरिक नहुने, रगतको नातागोताभित्र बिहे-ब्रतबन्धजस्ता शुभ कर्म गर्न नमिल्ने चलन भनेको सधैंभरि पीडामा छटपटाइरहनुपर्छ, हाँस्न पाइँदैन, अरु कुरामा ध्यान दिनुहुँदैन भनेर गरिने मृत्यु संस्कारले स्थापित गर्न खोजेको शर्मा बताउँछन् ।

‘मृत्युपछिको संस्कारका विषयमा धेरैपटक विवाद र बहस भइरहेका छन् । क्रिरियाकर्म कति दिन गर्ने भन्ने फरक-फरक धारणा र बहस छन्,’ शर्मा भन्छन्, ‘कुनै पनि विधिनियम अकाट्य भन्ने हुँदैन, यो समयअनुसार परिमार्जन हुँदै जान्छ ।’

७ दिनमै किरियाकर्म सकिने गरी छरिलो र सरल विधि निर्माण गर्न समाजमा छलफल भइरहेको उनले बताए । १३ दिन बार्ने पद्दद्धिहरुले अग्रमनको दिशाबाट पछाडि धकेलिरहेको उनको धारणा छ ।

मृत्यु संस्कार धान्नका लागिमात्रै धानेकोजस्तो नभएर व्यहारिक हुनुपर्नेमा उनले जोड दिए ।

समय र कालअनुसार समाजका पद्दति निर्माण गर्दै लैजानुपर्ने उनको भनाइ छ । श्रद्धाञ्जली सभा गर्ने र मृतकले आफ्नो जीवनकालमा गरेका कामको चर्चा गर्ने विधि निर्माण गरेर ५/७ दिनमै समापन गर्ने परम्परा बसाल्नुपर्ने प्राध्यापक शर्माको धारणा छ ।

प्रगतिशील लेखक भीम रानाभाटले पनि रवीन्द्र अधिकारीको परिवारजनले गरेको छरितो र प्रगतिशील कर्मले समाजलाई सकारात्मक सन्देश दिएको बताए ।

रानाभाट स्वयंले पनि आफ्ना बुबाआमा बित्दा सामान्य ढंगले श्रद्धाञ्जली अर्पण गरे किरियाकर्म गरेका थिए । उनले भने- ‘पुरानै कपडा लगाएँ । पुरानै चप्पल र सामान्य ढंगले उहाँहरुको स्मरण गरेर किरियाकर्म गरेको थिएँ । त्योबेला मृत्युकर्म कसरी परिमार्जन गर्न सकिन्छ भनेर रवीन्द्रजीसँग मेरो सल्लाह पनि भएको थियो ।’

रानाभाटले अगाडि भने, ‘अनावश्यकरुपमा पिण्ड, दान र लम्बेतान तनावपूर्ण किरियाकर्मले समाजलाई ढोंगी बनाएको छ । ज जति गर्ने हो, ज्युँदो छँदा नै गर्नुपर्‍यो । मरेपछि दुनियाँभाति गर्ने परम्परालाई हटाउनुपर्छ ।’

२४ वर्षसम्म प्राध्यापन गरेका दण्डराज शर्मा पौडेल पनि कसैको मृत्युपछि परिवारलाई पीडामा डुबाइरहने संस्कारलाई हटाएर समाजलाई प्रगतिशील बाटोमा हिँडाउनुपर्ने बताउँछन् ।

‘१३ दिनसम्म किरिया बस्दा एक त समय पनि बढी लामो भयो, अर्को, मान्छेको जमघट भइरहने र कठै, विचरा, यो के दिन आइलाग्यो जस्ता कुरा गरेर परिवारलाई झन् विक्षिप्त बनाइरहने हुन्छ,’ पौडेल भन्छन्, ‘मृतकको अन्तिम ईच्छा र उनले गरेका कामको स्मरण गर्ने अनि उनको सपना र योजनालाई पूरा गर्नेतर्फ लाग्नु नै सच्चा किरियाकर्म हो ।’

सुरुमा वर्ष दिन, ३ महिना, ४५ दिन हुँदै पछि १३ दिनसम्म आइपुगेको मृत्युपछिको संस्कारलाई अझै छरितो बनाउनु नै परिवारप्रति समवेदना हुने प्राध्यापक जगत पहारी बताउँछन् ।

‘हाम्रो संस्कार र संस्कृतिलाई हामीले समृद्ध बनाउन जरुरी छ, यसलाई रुढीवादी र परम्परागत ढंगले सञ्चालन गर्‍यौं भने हाम्रो सभ्यता, संस्कृतिको मृत्यु हुन्छ । ढोल ठोकेर मात्रै संस्कृतिको संरक्षण हुँदैन,’ पहारी भन्छन्, ‘ऋतु, प्रकृति र भूगोल हेरेर जीवनका पद्दतिहरु परिभाषित गरिएका थिए । त्यतिबेलाको जीवनशैली, सभ्यता हेरेर बनाइएका पद्दतिहरु आज वैज्ञानिक युगमा आइपुग्दा हाम्रो फेरिएको जीवनशैली, आचरण, रहनसहन, आध्यामित्क र भौतिक अवस्थामा देखिएका परिवर्तनलाई सम्बोधन हुने गरी सनातन धर्मका पद्दतिलाई सुधार गर्न आवश्यक छ ।’

त्यसैगरी पोखराका पाका व्यक्ति तथा मानवअधिकारकर्मी टेकनाथ बराल पनि हाम्रो संस्कृतिलाई सुसंस्कृत पार्नका लागि जन्ममृत्युका संस्कार परिमार्जन भइरहेको बताउँछन् । ‘रविन्द्र अधिकारीको परिवारले गरेजस्तै पहिलो कुरा हामीले पनि संस्कृतिलाई परिमार्जन गर्नुपर्ने छ’ बरालले भने, ‘मैले मेरो बाको, जेठा बाको अन्त्येष्टिमा देखें, त्यतिबेला घोडासम्म पनि दान गरिएको थियो । राँगो, साँडे र २० वटा गाई दान गरिएको थियो । अहिले गौदानको नाममा सिक्का दिए पुग्छ ।’

आफन्त गुमाउनुको पीडा त छँदैछ । तर, सधैंभरि पीडामा अल्भिmएर बस्नुभन्दा छरितो किरियाकर्मले अब छिट्टै रविन्द्रको परिवार नियमित काममा र्फकने विश्वास धेरैले लिएका छन् ।

 

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?