+
+
Shares
मधेसमा वैदेशिक रोजगारी ८ :

भारतीय चेली नेपालमा, नेपाली युवा खाडीमा !

भारतीय कामदार भन्छन्– नेपाल अच्छा ठाउँ हो

सन्त गाहा मगर सन्त गाहा मगर
२०७६ वैशाख ८ गते १८:२९

८ वैशाख, जनकपुरधाम । भारत, मध्यप्रदेशका ६८ वर्षीय राजा राम आधा शताब्दीदेखि फलामको औजार बनाउने काममा संलग्न छन् । बञ्चरो, कोदालो, हँसिया, आरा जस्ता फलामका औजार बनाएरै उनले ७ सदस्यीय परिवारको गुजारा चलाएका छन् ।

राईसेन जिल्लाको भोपालमा रामको खेतीपाती पनि छ । त्यहाँको उब्जनीले दुई/तीन महिनामात्रै खान पुग्छ । बाँकी नौ–दश महिनाको खर्च नेपालमा औजार बेचेको पैसाले चल्ने उनले अनलाइनखबरलाई बताए ।

‘म सानैदेखि नेपालमा आउन थालेको हुँ’, चैत तेस्रो साता महोत्तरीको बड्कापोखरीमा भेटिएका रामले अनलाइनखबरसँग भने, ‘औजारको काम गर्न नेपाल अच्छा ठाउँ हो ।’

महोत्तरीको बड्कापोखरीमा भारतीय चेलीहरु तातो फलाममाथि घन प्रहार गरिहेका थिए । टाढासम्म घन ठोकाइको आवाज गुञ्जिरहेको थियो । भारतबाट पैसा कमाउन आएका राजा रामले भने– नेपाल अच्छा ठाउँ हो !

श्रीमती, छोरा–बुहारी र नाति–नातिनासहित औजार बनाउन आउने रामको एक्लो परिवार भने होइन । आफ्नो गाउँबाट मात्रै ४९ परिवार नेपाल पसेको उनले बताए ।

मासिक कमाइ ४० हजार

मध्यप्रदेशस्थित राईसेन जिल्लाकै लक्ष्मण लोहार (५०) पनि साढे दुई महिनादेखि नेपालका विभिन्न जिल्लामा पुगेर औजार बनाइरहेका छन् । महोत्तरी र धनुषा जिल्लाका गाउँ–गाउँमा पुगेर औजार बनाइरहेका उनी एक पटक नेपाल आउँदा तीन महिनासम्म बस्ने गरेको बताउँछन् ।

श्रीमती, दुई छोरा र तीन छोरीसहित नेपाल आएका लोहार कच्चा पदार्थमा लगानी गर्नु नपर्ने हुनाले नेपालमा राम्रो आम्दानी हुने बताउँछन् । रेल, गाडीमा प्रयोग भइसकेको फलाम र काम नलाग्ने औजारहरुबाटै नयाँ औजार बन्ने गरेको लोहारले अनलाइनखबरलाई जानकारी दिए ।

भारतबाट अन्य मुलुकमा गएर काम गर्न राहदानी बनाउनुपर्ने र शुरुमै मोटो रकम चाहिने भएकाले आफूहरूले नेपाललाई गन्तव्य बनाएको लोहार बताउँछन् । हुन पनि उनीहरूको बचत नै खाडी मुलुकमा रोजगारीका लागि जाने नेपालीहरुको भन्दा कम छैन ।

खेर गएको फलामबाट बञ्चरो, कोदालो बनिसकेपछि भने प्रतिकिलो चार सय रुपैयाँसम्म बिक्री हुने बताउँदै लोहारले भने, ‘सबै खर्च कटाएर महिनामा २५–२६ हजार भारु बचत हुन्छ । यो सबै मजबुरीले गरेको पसिनाको कमाइ हो ।’

प्रयोग भइसकेको फलामलाई औजारको रुप दिन त्यति सजिलो भने छैन । चैतको टन्टलापुर घाममा पसिना पुछ्दै अनलाइनखबरकर्मी त्यहाँ पुग्दा भारतीय कामदारहरु असिन–पसिन गरेर घन प्रहार गरिरहेका थिए । पर–परसम्म घन ठोकाइको आवाज गुञ्जिरहेको थियो ।

अझ रोचक त के थियो भने घन प्रहार गर्ने काममा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिन्थ्यो । १२÷१४ वर्षका जस्ता देखिने बालिकाहरू समेत चर्को घामको प्रवाह नगरी रातो फलामलाई आकार दिन घन हानिरहेका थिए । लोहारकी १३ वर्षीया छोरी पनि निर्धक्कसँग १० किलोको घन प्रहार गरिरहेकी थिइन् । उनीहरुको मेहनत नेपालीहरुका लागि पनि सिक्न लायक देखिन्थ्यो ।

गह्रौं काममा महिला नै किन ? यो प्रश्न हामीले ६८ वर्षीय राजा रामलाई सोध्यौं । ‘आरनमा चिम्टाले फलाम च्यापेर मिलाउने काममा आदमी (पुरुष) हरू सिपालु हुन्छन् । त्यसैले धेरैजसो औरत (महिला) को भागमा चाहिँ घन हान्ने काम पर्छ’, रामले निसंकोच भने ।

राम्रो आम्दानी हुने भएकाले सपरिवार नै नेपालमा आउँदा बालबालिकाको पढाइमा भने असर पुगेको रामले बताए । नेपालमा तीन महिना बसेर फर्किंदा खल्तीमा ७०/८० हजार भारु बचत हुने उनले सुनाए ।

स्थानीय नेपालीहरू यी भारतीय शिल्पकारले बनाएको हतियार भरपर्दो हुने गरेको बताउँछन् । बजारमा पाइने औजारको तुलनामा भारतीयहरूले घरघरमा बनाएर बेच्न ल्याएको औजार बलियो र सस्तो हुने नेपालीहरूको भनाइ छ ।

लक्ष्मण लोहार र राजा रामहरूले नेपालबाट कति कमाएर लैजान्छन् भन्ने यकिन तथ्यांक छैन । तर, विभिन्न अध्ययनहरूले नेपालबाट वर्षेनी ५ खर्ब रुपैयाँभन्दा बढी भारतमा जाने गरेको देखाएको छ ।

वर्षेनी ५ खर्ब जान्छ भारत

नेपाल राष्ट्र बैंकको ‘इकोनोमिक रिभ्यु’ अनुसार गत वर्ष ५ खर्ब २६ अर्ब रुपैयाँ नेपालबाट विदेशीले कमाएर लगेका थिए । त्यसमध्ये ९० प्रतिशतभन्दा बढी भारतमा जाने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

सामान्य आम्दानी हुने कामदेखि राम्रो कमाइ हुने नोकरीमा भारतीयहरू संलग्न छन् । घर बनाउने, कपाल काट्नेदेखि कर्पोरेट हाउसमा समेत भारतीय नागरिक कार्यरत छन् ।

भारतबाट अन्य मुलुकमा काम गर्न राहदानी बनाउनुपर्ने र शुरुमै मोटो रकम चाहिने भएकाले आफूहरूले नेपाललाई गन्तव्य बनाएको लोहार बताउँछन् । नेपालमा उनीहरूको बचत खाडी मुलुकमा रोजगारीका लागि जाने नेपालीको भन्दा कम छैन ।

अमेरिकास्थित थिंक ट्यांक प्यु रिसर्च सेन्टरका अनुसार सन् २०१७ मा नेपालबाट तीन अर्ब १६ करोड डलर रेमिट्यान्स भारतले भित्र्याएको थियो ।भारतका लागि नेपाल रेमिट्यान्स पठाउने आठौं ठूलो देश हो । क्यानाडा, बहराइन, जर्मनी, सिंगापुरजस्ता देश भन्दा पनि भारतका लागि नेपाल उर्वरभूमि हो ।

भारतीयहरुले नेपालमा कमाउने भन्दा नेपालीले भारतमा कमाउने रकम तीन गुणा कम छ । सन् २०१७ मा नेपालले भारतबाट जम्मा एक अर्ब दुई करोड १० लाख डलर मात्रै भित्र्याएको थियो । नेपालले भारतभन्दा कतार र साउदी अरब दोब्बर बढी रेमिट्यान्स भित्र्याउँछ ।

अलमलमा सरकार

नेपालको श्रम बजारमा आउन भारतीय नागरिकले श्रम स्वीकृति लिनुपर्दैन । स्वीकृति मात्रै होइन, सरकारसँग कति भारतीय यहाँ कार्यरत छन् भन्ने अभिलेखसमेत छैन ।
अनिवार्य श्रम स्वीकृति र अभिलेखीकरणका लागि सरकारले ०७० सालमा ल्याएको गैरनेपाली नागरिकको श्रम स्वीकृति व्यवस्थापनसम्बन्धी मार्गदर्शन पनि अलपत्र अवस्थामा छ ।

श्रम स्वीकृति पनि नचाहिने र सीमाना पनि खुल्ला भएकाले यहाँ गरेको आम्दानीको भारतीय नागरिकले कर तिर्छन् कि तिर्दैनन् भन्नेसमेत यकिन नभएको जानकारहरू बताउँछन् ।

भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने नपर्ने सम्बन्धमा सरकारको स्पष्ट नीति छैन । गत १० माघमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले भारतीय कामदारले पनि श्रम स्वीकृति लिनुपर्ने भन्दै मातहातका कार्यालयमा परिपत्र पठायो ।

तर, यसको एकहप्ता नबित्दै सरकारले मन्त्रालयकै सहसचिव रामप्रसाद घिमिरेले अघिल्लो पत्रको खण्डन गरेर अर्को विज्ञप्ति जारी ग¥यो । घिमिरेको पत्रमा भारतीय कामदारलाई श्रम स्वीकृति नचाहिने उल्लेख थियो ।

वैदेशिक रोजगार मामिलाका जानकार डा. गणेश गुरुङ भारतीय कामदारको सन्दर्भमा के गर्ने भन्ने विषयमा सरकारले प्रष्ट धारणा बनाउनुपर्ने बताउँछन् । वास्तविक आँकडा नहुँदा नीति निर्माण गर्न कठिन हुने उनको भनाइ छ ।

तस्वीरहरूः शंकर गिरी/अनलाइनखबर

यो पनि पढ्नुहोस् : 

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- १ः सक्ने जति सबै विदेश

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- २ः ‘हरि घर त आए तर, रातो कफिनमा’

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- ३ः मधेसमा वैदेशिक रोजगारीले उठाएको ‘घूँघट’

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- ४ः श्रीमान विदेशमा हुँदा श्रीमती देवरसँग हिँडिन्

                                                                देवर हुन् त सोनहा खातुनको जस्तो !

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ५ : कहाँ जान्छ विदेशको कमाइ ?

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ६ : चार भाइ नै कतारमा ! घरमा रंग छैन, शरीरमा रोग छ

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ७ : जनकपुरमा श्रम स्वीकृति लिनेका दुःख

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?