+
+
Shares
मधेसमा वैदेशिक रोजगारीको प्रभाव-१० :

पूरै जवानी विदेशमा खर्चिने अवस्था हटाऔं

सूर्यनाथ मिश्र, पूर्व राजदूत सूर्यनाथ मिश्र, पूर्व राजदूत
२०७६ वैशाख ९ गते १०:२६

वैदेशिक रोजगारीको संस्थागत सुरुवात २०५२ सालबाट भएको हो । नेपाली समाजमा यसले ठूलो हलचल ल्याएको छ । कतारमा राजदूत भएर बस्दा मैले वैदेशिक रोजगारीमा गएका नेपालीको समस्या नजिकबाट नियालेको छु ।

रोजगारीमा जानेहरूमाथि शोषणको सुरुवात झुठो आश्वासनबाट हुन्छ । एजेन्टले ज्यादै आकर्षक तलबको आश्वासन दिन्छन् । त्यसपछि लिनुपर्ने भन्दा कैयौं गुणा बढी रकम असुल्छन् । जोसँग म्यानपावर कम्पनीलाई दिने पैसा हुँदैन, उनीहरू नै साहुको चर्को व्याजको मारमा पर्छन् ।

त्यसरी जान खोज्दा पनि नक्कली श्रम स्विकृति, नक्कली भिसाको मारमा पर्छन् । एउटा कम्पनीका लागि भनेर गएको हुन्छ, त्यहाँ गएर अर्को कम्पनीमा काम गर्नुपर्ने हुन्छ । यहाँ कबुल गरिए जति तलब पाउँदैन । काम एजेन्टले भनेको भन्दा धेरै गाह्रो हुन्छ ।

जाँदाको ऋण र घरको अवस्था सम्झेर जसोतसो काम पनि गर्छन् । तर समयमा पारिश्रमिक नपाउने, कम्पनी टुट्ने जस्ता समस्या आईपर्छ । अव्यवस्थित बसाइ, खानपानको मेसो नमिल्ने, औषधि उपचारको समस्या आदि त छँदैछ ।

सिमाना नजिक भएकाले होला, सुरुमा मधेसबाट पञ्जाब, मुम्बई, हरियाणा, दिल्ली जस्ता शहरमा काम गर्न जान्थे । पहाडबाट  विदेश जान थालेको निक्कैपछि मधसबाट विदेश जान शुरु भएको हो ।

मधेसबाट पनि सुरुमा मुस्लिम समुदाय विदेश गए । उनीहरू साउदी, कतार, दुबई लगायत मुस्लिम बहुल देशमा जान्थे । भाषा, संस्कृति मिल्ने भएकाले मुस्लिम समुदायका कामदारलाई त्यहाँ काम गर्न सजिलो भयो ।

मधेसका मुस्लिमले कमाई गरेर फर्किएपछि हिन्दुहरू पनि जान थाले । अब त ठूलो संख्या मधेसबाटै जाने छन् । धनुषा, महोत्तरी, सिराहा सप्तरी विदेश जाने जिल्लाहरूमा परेका छन् ।

विदेशमा रगत पसिना बगाउँदा वर्षेनी सात खर्ब रुपैयाँ जति रकम नेपाल भित्रिन्छ । नेपाल आएको विप्रेषणमध्ये दश प्रतिशत जतिमात्रै बचत हुन्छ । बचत रकममध्ये थोरी मात्रै उत्पादनमुलक काममा लाग्छ । किनभने उद्यमशील काममा लाग्न सक्ने परिवारका सबै सदस्य विदेशमा हुन्छन् । श्रीमतीहरूको समय बालकालिका, वृद्ध आमाबाबुको हेरचाहमा बित्ने गरेको छ ।

वैदेशिक रोजगारीमा जानेहरूको जीवनस्तरमा भने देखिने गरी सुधार आएको छ । खाने कुराको अभाव छैन । फुसका घर पक्की बनेका छन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी निजी विद्यालयमा जान थालेका छन् ।

सरकारी अस्पतालमा उपचार गर्नेहरू निजी अस्पतालमा उपचार गर्न जान थालेका छन् । जग्गाको किनबेच बढेको छ । किनबेचसँगै भाउ पनि बढेको छ । विदेश नजाने श्रमिकको ज्याला/पारिश्रमिक बढेको छ ।

रेमिट्यान्सकै कारण कृषि, उद्योग र पयर्टन क्षेत्रको आम्दानी नबढ्दा पनि अर्थतन्त्र खल्बलिन पाएको छैन । हाम्रो अर्थतन्त्रको बलियो खम्बाको रुपमा रहेको छ, वैदेशिक रोजगारी ।

तर यसको उज्यालो पाटो मात्रै छैन । रेमिट्यान्ससँगै थुप्रै सामाजिक समस्या पनि देखिएको छ । नवविवाहिता, गर्भवती श्रीमती, नाबालक छोराछोरी, वृद्ध बुबाआमालाई चटक्क छाडेर रोजगारीमा जानु परेको छ ।

वैदेशिक रोजगारीमा जाने दम्पत्तीहरू दुई वर्षमा दुई महिना मात्रै सँगै बस्न पाएका छन् । छोराछोरीले अभिभावक पाएका छैनन् । साहाराको जरुरत भएकै बेलामा बाबुआमाको काख रित्तो जस्तो भएको छ । विरामी हुँदा बाबाआमालाई साथ दिनुपर्ने छोराहरू विदेशमा छन् ।

विदेशबाट बाबुले पैसा लिएर त आउँछन् । तर छोराछोरीले चिन्दैनन् । उनीहरूको बालापन बाबुसँगको सामिप्यताविनै बित्ने गरेको छ ।

कमाएर ल्याएको पैसा उद्यमशील काममा लाग्दैन । जसले गर्दा लामो समय विदेशमै बित्छ । अर्थात हाम्रो पूरा जवानी विदेशमा बितिरहेको छ । यस्तो पनि जिन्दगी हुन्छ ?

मधेसका जिल्लाबाट नगन्य मात्रामा महिलाहरू वैदेशिक रोजगारीमा गएका छन् । म त भन्छु मधेस मात्रै होइन, कुनै पनि नेपाली महिला रोजगारीका लागि विदेश नजानु राम्रो हो । यदि जाने नै हो भने पनि घरेलु कामदारको रुपमा जानु हुँदैन । संस्थागत क्षेत्रमा मात्रै जानु पर्दछ । महिलाहरू विदेशमा पनि विहानदेखि साँझसम्म काम गर्नु परेको छ ।

मैले राजदूत भएको बेलामा महिलालाई विदेश पठाउने नै हो भने मापदण्ड बनाएर मात्रै पठाउन सुझाव दिएको थिएँ । चार महिनाको तलब पहिला नै नेपाली दूतावासमा जम्मा गर्नुपर्ने, कम्तिमा ३० वर्ष उमेर पुग्नुपर्ने, घरेलु कामदारको रुपमा लैजान नपाउने, पुरुष कामदारको भन्दा कम्तिमा दुई सय रियल बढी न्युनतम तलब हुनुपर्ने शर्त राखेको थिएँ ।

वैदेशिक रोजगारीबाट आम्दानी भएको छ । तर यो दीर्घकालीन र दिगो समाधान हुँदै होइन । नेपालमै रोजगारीको अवसर सिर्जना गर्नुको विकल्प छैन । यदि जानैपर्छ भने अनिवार्य सुरक्षित मापदण्डको व्यवस्था गरौं ।

(मिश्र कतारका लागि नेपालका पूर्व राजदूत हुन् । हाल जनकपुरमा रहेका प्राध्यापक मिश्रसँग अनलाइनखबरले गरेको वार्तामा आधारित)

यो पनि पढ्नुहोस् :
मधेसमा वैदेशिक रोजगारीको प्रभाव- १ : सक्ने जति सबै विदेश

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- २ : ‘हरि घर त आए तर, रातो कफिनमा’

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- ३ : मधेसमा वैदेशिक रोजगारीले उठाएको ‘घूँघट’

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- ४ : श्रीमान विदेशमा हुँदा श्रीमती देवरसँग हिँडिन्

                                                                देवर हुन् त सोनहा खातुनको जस्तो !

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ५ : कहाँ जान्छ विदेशको कमाइ ?

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ६ : चार भाइ नै कतारमा ! घरमा रंग छैन, शरीरमा रोग छ

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ७ : जनकपुरमा श्रम स्वीकृति लिनेका दुःख 

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ८ : भारतीय चेली नेपालमा, नेपाली युवा खाडीमा !

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ९ : प्रदेश दुई म्यानपावर दलालका लागि उर्वरभूमि




#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?