Comments Add Comment

पौडीमा नेपाललाई स्वर्ण जिताउँछु 

भर्खरै नेपालगञ्जमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेँ । सातौं राष्ट्रिय खेलकुदमा पनि सहभागी हुने चाहना थियो, तर त्यो बेला समय सरिरहेकाले मिलेन । अहिले आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन पाउँदा खुशी लागेको छ । कीर्तिमानहरु बनिरहे । पदक जितिरहेँ । मैले १२ स्वर्ण जितेछु ।

पौडी पोखरीमा हुँदाको समय म असाध्यै रमाउँछु । किनभने बुझ्ने भएदेखि मलाई मनमा छोएको पौडीले नै हो । एउटा लक्ष्य राखेर अगाडि बढ्दा सफलताहरु पनि आउँदै जाने रहेछन् । सफलता आएसँगै लक्ष्यहरु बढ्दै जाने रहेछन् । अबको लक्ष्य देशको लागि अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जित्ने छ, त्यो पूरा गर्न मेहनत पनि गरिरहेकी छु ।

****

काठमाडौंमा पुर्ख्यौली घर भए पनि बाबा पढाइ र कामको शिलशिलामा बेलायतमा रहेकाले म उतै हुर्किएँ । बाबा डा. पारस सिंह कन्सल्टेन्ट युरोलोजिस्ट हुनुहुन्छ । आमा गरिमा राणा त मेरो लागि सबैथोक हो । उहाँले मेरो हरेक कुराको व्यवस्थापनमा आफ्नो पूरा मेहनत लगाइरहनु भएको हुन्छ । मैले गरेका कामहरु आमाकै देन हो । बाबाआमा नै मेरो हरेक सपनाको लागि लागि पर्नु भएको छ ।

बेलायत पुग्दा म दुई वर्षकी मात्र थिएँ । अहिले १६ वर्षकी भएँ । स्वीमिङ बाहेक पेन्टिङ गर्न, टेनिस खेल्न पनि रमाइलो लाग्छ, तर धेरै समय भने मिल्दैन । पढ्नु पनि त छ । मिलेको समय फुटबल हेर्न, खाना बनाउन, पप गीतहरु सुन्न पनि रमाइलो लाग्छ ।

जिम्न्यास्टिक, स्वीमिङ, नृत्य, नाटक सबै कुरामा बाबाआमाले सानोदेखि पठाउनुभएको थियो । मेरो मन भने स्वीमिङमा बस्यो । धेरै समय स्वीमिङमा दिन थालेपछि अरु कुरा विस्तारै छोड्दै गएँ । ९ वर्षकी हुँदादेखि स्वीमिङ प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी थिएँ । ११/१२ वर्षको हुँदा नेपालबाट खेल्न आएँ र राम्रो पनि हुँदै गयो । त्यसपछि त मिलेसम्म खेलिरहेको छु । आफ्नो देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु जति खुशी अरु कुरामा छैन । आफूले जानेको सीप र ज्ञान देशको लागि काम आउँदा कसलाई पो रमाइलो नलाग्ला । यसैले अहिले राष्ट्रिय प्रतियोगितामा हुँदा पनि रमाइलो लागिरहेको छ ।

****

आठौं राष्ट्रिय खेलकुदमा स्वीमिङ गर्न भने नेपाल आर्मी क्लबले गर्दा सम्भव भएको छ । आर्मीबाट खेलेर पदक जित्न पाइरहँदा खुशी छु । क्लबले देखाएको विश्वासमा आफूले पनि केही दिन सकेँ जस्तो लाग्छ ।

नेपाल आउँदा साथीहरु पनि भेट्न पाउँछु, त्यसले पनि रमाइलो लाग्छ । अर्को अहिले बेलायतमा धेरै चिसो छ । यहाँ मौसम तातो भएकाले पनि सजिलो भएको छ । यहाँ अहिले स्वीमिङ भइरहेको पुल पनि राम्रो रहेछ । नेपालगञ्ज पौडी पोखरीको काम नसकिएकाले सिग्नेट होटलको पौडी पोखरीमा प्रतियोगिता भएको रहेछ । जे भए पनि सबै कुरा राम्रो लागेको छ । मेरो अभ्यास पनि सर्ट कोर्समा नै थियो, त्यसले पनि सजिलो भएको हो ।

पहिलो दिन आइतबार ८०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बन्यो । त्यसपछि ५० मिटर ब्याकस्ट्रोक हिटमा आफ्नै पहिलेको कीर्तिमान तोडेँ । ५० मिटर ब्याकस्ट्रोक फाइनलमा हिटमा बनेको कीर्तिमान पनि तोडियो ।

दोस्रो दिन ४०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बन्यो । १०० मिटर फ्रिस्टाइलमा पुरानो आफ्नै कीर्तिमान तोडेँ ।  तेस्रो दिन २०० मिटर ब्याकस्ट्रोकमा पनि कीर्तिमान बन्यो । चौथो दिन चार स्वर्ण थपे ।

पौडीका लागि पानीमा पसेपछि मलाई अरु कोही पनि सँगै छन् भन्ने याद हुँदैन । आफूले सकेसम्म राम्रो गर्नुपर्छ भन्ने सोचेर पौडिरहेकी हुन्छु । आफैंसँगको प्रतिस्पर्धाले पहिलेको भन्दा राम्रो नतिजा ल्याउन मद्दत गर्ने रहेछ ।

पहिले पहिले बेलायतमा र नेपालमा पौडिँदा धेरै नै फरक परिरहेको हुन्थ्यो । अहिले त त्यस्तो धेरै भिन्नता छैन । इन्डोर पुलहरु पनि राम्रो भएको छ । पौडीको स्तर र ‘टाइमिङ’को कुरामा पनि धेरै राम्रो हुँदै गएको छ ।

****

राष्ट्रको प्रतिनिधित्व गरेर बाहिर खेल्न जाँदा कति गर्व हुनेरहेछ भन्ने बुझ्न पाएकी छु । म नेपालबाट प्रतिस्पर्धा गर्दैछु भन्न पाउँदा रमाइलो लाग्छ ।

२०१६ को दक्षिण एसियाली खेलकुद, ब्राजिलमा भएको समर ओलम्पिक, २०१८ को एसियाली खेलकुदका साथै २०१६ मा आयरल्याण्डमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिप, २०१५ मा युएईमा भएको फिना स्विमिङ विश्वकप, रसियामा भएको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिप जस्ता प्रतियोगिताहरुमा पनि खेलेकी छु । त्यसमा सबैभन्दा राम्रो २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद रहृयो । जसमा नेपालका लागि एउटा रजत पदक र तीनवटा कांस्य पदक जितेकी थिएँ । स्वर्ण पदक नै जित्न नसकेकोमा दुःख लागेपनि यो सुरुवात हो अझै राम्रो गर्नुपर्छ भन्ने लागेको थियो ।

२०१६ को रियो ओलम्पिकका बेला सबैभन्दा कान्छी खेलाडी भनेर विश्वभर चर्चा हुँदा पनि खुशी लाग्यो । त्यो बेला म भर्खर १३ वर्षकी थिएँ । तर विश्वभरका सञ्चार माध्यमका ध्यान आफूतिर हुँदा थोरै तनाव पनि हुनेरहेछ । खेलमा मात्रै ध्यान दिनै नसकिने । आफ्नो हिटमा पहिलो भए पनि म अघिल्लो चरणमा छनोट हुन भने सकिनँ ।

जे होस्, त्यो समय भनेको मेरो सिक्ने समय थियो । पदक नै नजिते पनि यस्ता प्रतियोगिताहरुमा जाँदा धेरै कुरा सिक्न पाएकी छु । जसले कुनै न कुनै दिन देशको लागि काम दिने छ जस्तो लाग्छ । रियो ओलम्पिकका बेला त्यहाँको बसाइँ पनि अविस्मरणीय रहृयो । त्यहाँ मलाई मनपर्ने पौडी खेलाडी माइकल फ्लेप्स र मिसेल लार्किनसँग पनि भेट्न पाएकी थिएँ । त्यो असाध्यै रमाइलो क्षण हो ।

अब २०१९ मा नेपालमा हुने १३ औं सागमा स्वर्ण पदक जित्न सक्छु भन्ने विश्वास छ । तयारी पनि राम्ररी गर्छु । घरेलु दर्शकको उत्साहले पनि राम्रो गर्नेछु भन्ने लागेको छ । २०२० मा जापानमा हुने ओलम्पिकमा पनि छनोट हुनसक्छु कि जस्तो लाग्छ । अवसर पाएँ भने नेपालको नाम चिनाउने नै छु ।

****

अब केहीदिनमै बेलायत फर्किन्छु । मेरो १० कक्षाको परीक्षा पनि ३ मेदेखि सुरु हुँदैछ । यहाँको एसईई जस्तै परीक्षा हो । परीक्षा नै छुट्ला कि जस्तो डर लागिरहेको थियो, तर जे होस् समय मिल्यो ।

पौडी त केही वर्ष खेलौंला, बाँचुन्जेल चाहिने पढाइ नै हो । पौडीले लामो समयसम्म साथ दिन सक्दैन । त्यसैले पढ्ने कुरा पनि धेरै महत्वपूर्ण हुन्छ । अहिलेसम्म त १० कक्षामा भएको भएर पनि सर-मिसहरुले धेरै नै सहयोग गरिरहनुभएको छ । पढाइमा राम्रो नै छु । पौडी र पढाइ सँगै लैजान कुनै-कुनै बेला त गाह्रो पनि हुन्छ ।

एक हप्तामा पौडीको ९ वटा सेसन गरिरहेको हुन्छु । हरेक सेसन करिब दुई घण्टाको हुन्छ । बेलायतमा कप्टहल क्लबमा सिक्ने बेलामा पनि सबै साथीहरु परिवार जस्तै भएकाले केही सजिलो हुन्छ । गुरुहरु पनि राम्रो हुनुहुन्छ । उहाँहरुले नै मलाई नेपालबाट खेल्नका लागि सुझाउनुभएको थियो ।

****

सानो उमेरदेखि नै पौडी खेलेपनि एकदिन ओलम्पिकसम्म पुग्ने छु, देशका लागि खेल्नेछु भन्ने सोचेकै थिइनँ ।

मेहनत र भाग्यले मानिसलाई एउटा गन्तव्यमा डोर्‍याउने रहेछ । ओलम्पिक खेलेर फर्किएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नै बोलाएर बधाई दिनुभयो । खेल्न थालेदेखि नै हजारौं नेपालीको माया पाइरहेकी छु । देशको नाममा आफ्नो नाम जोडेर चिनिन पाएकी छु, योभन्दा अरु के चाहियो र ?

हेर्नुहोस् भिडियो :

प्रस्तुति : ऋग्वेद शर्मा/सरोज तामाङ

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को ३३ औं श्रृङ्खलामा यो हप्ता पौडी खेलाडी गौरिका सिंहको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment