Comments Add Comment

भ्रमरपुरा चोकमा भुलिएको महेन्द्रपथ !

जुन बाटोले धर्धरी रुवायो, त्यै बाटोमा टेक्न मन ला'छ !

मान्छे एकपटक असफल भएपछि, उठ्छ र फेरि सफलताको प्रयास गर्छ । अर्कोपटक पनि असफल भयो भने ? केही पाठ सिक्छ र संयमतापूर्वक यात्रा गर्छ । फेरि असफल भयो भने नि ? कमै मानिसले मात्रै पहिले हिँडेको बाटो पक्रेलान् ।

असफलता नै सफलताको प्रतीक हो भन्ने पढेकाहरुले फेरि पनि प्रयास त गर्लान् नै । तर, लगातार असफल भएपछि मानिसहरु नयाँ विकल्पको, नयाँ पथको खोजीमा लाग्छन् ।

जानेर होस् वा नजानेर, मान्छेले पहिलोचोटि खतरामा हामफाल्न सक्छ । त्यसपछि कमै मानिसहरुमात्रै पुनः त्यही ठाउँमा खतरा मोल्न तम्सन्छन् ।

महोत्तरीको भ्रमरपुराका महेन्द्र मण्डल खत्वे त्यही बाटोमा यात्रा गर्नका लागि पर्खिइरहेका छन्, जुन यात्रामा उनी पटक-पटक-पटक ठोक्किए, लडे, विक्षिप्त भए र धेरैथोक गुमाए । अब उनीसँग गुमाउने नै के बाँकी छ र ?

अर्थात्, महेन्द्र फेरि पनि वैदेशिक रोजगारीकै यात्राको खोजीमा छन्, खाडीको यात्राको । उनी विकल्पविहीन छन् । नत्र यो ४८ वर्षको उमेरमा उनलाई घरमै नाति-नातिना खेलाएर आरामसँग बस्ने रहर छैन होला र ? मान्छेहरु त भन्न सक्छन्, संसारमा विकल्प अनेक छन् ।

****

अहिले महेन्द्र मण्डलको छालाको रङ परिवर्तन भएको छ । खुम्चिएर, घेरा बसेर छालाको आकार पनि परिवर्तन भएको छ । सेता आँखा पहेलिँदै गएका छन् । कालो दाह्री फुलेर सेतै भएका छन्, हिँउ फुलेजसरी ।

महेन्द्र त्यतिबेलै साउदी पुगेका थिए, जतिबेला उनको अनुहारमा मुस्किलले केही दाह्री उमि्रएका थिए । जतिबेला उनको उमेर, मात्र २० वर्षको थियो । तर, बिहे भने भैसकेको थियो ।

उनी जन्मिएको भ्रमपुरा गाउँमा अहिलेका जस्ता पक्की भवनहरु थिएनन् । प्रायः फुसको र केही इँटाका घर थिए । उनको घर बासमा गोबर-माटोले लिपेर तयार थियो । उनका बा-आमाले अधियाँको अन्न घर हुल्थे र त्यसैबाट मुस्किलले परिवारको गर्जो टार्थे ।

यो पनि पढ्नुहोस ‘युवामाथि चाँडै पैसा कमाउनुपर्ने सामाजिक दबाव छ’

त्यही जिजिविषा परिवर्तनका लागि महेन्द्र अरबको मरुभूमिमा पुगे । हामी आफ्नो उर्वर भूमीलाई बाँझै राखेर मरुभूमीलाई उर्बर बनाउन बाध्य छौँ, मनमा केही सपनाको पोको बोकेर । तर, त्यो पोको सपनाको न हो, बिलाउन पनि सक्छ, हराउन पनि सक्छ र भेटिन पनि ।

महेन्द्रको सपना उतै कतै बालुवामा हरायो । भेटियो त केवल निराशा ।

****

महेन्द्रले साउदीको फर्निचरमा काठ उठाउन थाले । काट्न थाले । त्यसबापत उनले पाँच सय रिअल पाउँथे । उनको परिश्रमले साउदीको साहुले कति मुनाफा गर्‍यो, उनलाई थाहा छैन । तर, महेन्द्रले नेपालमा दुई कट्ठा जमीन जोडे ।

दुई-दुई पटक छुट्टीमा आएर महेन्द्र फेरि साउदी फर्किसकेका थिए । उनी दुई छोरा र तीन छोरी भैसकेका थिए । अब छोराछोरीलाई हुर्काउने मात्र होइन, पढाउने र बिहे गर्ने जिम्मेवारी पनि महेन्द्रको टाउकोमा थपिएको थियो । उनैलाई थाहा थिएन, अर्को कति वर्ष अरबको पसिना बगाएर पैसा फलाउनु थियो ।

महेन्द्रकी श्रीमती ग्यास्ट्रिकको रोगी थिइन् । महेन्द्र यसै भन्छन् । तर, उनले खासमा कुन रोग बोक्नुपरेको थियो ? हस्पिटलमा जँचाएका थिएनन् । हामी आफैं डाक्टर छौँ, पेट दुख्यो कि भनिदिन्छौँ, ‘ग्यास्टि्रक भयो होला ।’ ग्यास्ट्रिक, जो नेपालीको पहिचान छ ।

महेन्द्र मण्डल ।

महेन्द्र काममै थिए । छोराको फोन पुग्यो । छोराले भन्ने, ‘आमा बिरामी हुनुभएको छ, उहाँको पेट दुखेको छ ।’ महेन्द्रलाई लाग्यो, ‘सधैँ दुखेको पेट त हो नि । कुन ठूलो कुरा भयो र !’

तर, अर्को दिन श्रीमती महेन्द्रलाई जिन्दगीभर दुखाएर सधैंका लागि अलप भइन् । श्रीमती बितेको खबर महेन्द्रले फोनबाटै थाहा पाए । उनले आफ्नी पत्नीको अन्तिम अनुहार देख्न पाएनन् । किनकि विदेश गएको खर्च पनि उनले घर पठाइसकेका थिएनन् । श्रीमती नभए पनि छोराछोरी त ज्युँदै छन् ! यो समय मायाभन्दा पैसा बलवान छ ।

महेन्द्र श्रीमती बितेको दुई वर्षपछि मात्रै घर फर्किए । उनलाई आफ्नै घर हत्याराजस्तो लाग्यो । र, पनि छोराछोरीको अनुहार हेरेर चित्त बुझाए । अनि फेरि उही देश फर्किए । उनले आफ्नो ज्यान ८ वर्ष साउदीमा बजारेका छन् ।

****

विदेशबाट आएर किस्ता-किस्तामा तीन छोरीका कन्यादान दिए महेन्द्रले । बिहेले सक्यो उनको तीन कट्ठा जमिन । उनी भन्छन्, ‘जमीनले पनि पुगेन, उल्टै ४० हजार कर्जा थपियो ।’

महेन्द्र दुई वर्ष भयो, नेपालमै छन् । चैत मासमा भेटिएका महेन्द्रलाई मधेसको चर्को घामले त्यति पोलेको छैन, जति वैदेशिक रोजगारीले उनको छाती जलेको छ ।

यो दुई वर्ष महेन्द्रलाई दलालले राखेको नेपाल । महेन्द्र कतार जानको लागि दलालसँग कुरा गरे । दलालले पैसा माग्यो । उनले कर्जै लिएर भए पनि दिए, एक लाख १० हजार रुपैयाँ । तर, दलालले दुई वर्षसम्म न कतार पठायो न पैसा फिर्ता गर्‍यो ।

अहिले महेन्द्रसँग न पत्नी छिन् न छोराहरु । दुवै छोरा बिहेपछि छुटि्टएर अलग भएका छन् ।

महेन्द्रले सेतो टिसर्ट लगाएका छन् र कछाड बाँधेका छन् । उनी भ्रमरपुरा चोकमा घुमिरहेका छन् । कहिले कोसँग गएर कुरा गर्छन्, कहिले कोसँग । उनी यसरी बरालिनुको कारण बटियामा लिएको खेतमा अहिले काम छैन । महेन्द्र सपनाविहीन निरश अनुहार लिएर काम भए, खेतमा पुग्छन् । नत्र दिनभर चोकमा डुल्छन् र काठले बारेको एक तले घर कुर्छन् ।

महेन्द्रलाई अहिलेसम्म वैदेशिक रोजगारीले लगाएको गुण यत्ति हो ।

यो पनि पढ्नुस् 

सक्ने जति सबै विदेश

 ‘हरि घर त आए तर, रातो कफिनमा’

 मधेसमा वैदेशिक रोजगारीले उठाएको ‘घूँघट’

 श्रीमान विदेशमा हुँदा श्रीमती देवरसँग हिँडिन्

देवर हुन् त सोनहा खातुनको जस्तो !

 कहाँ जान्छ विदेशको कमाइ ?

 चार भाइ नै कतारमा ! घरमा रंग छैन, शरीरमा रोग छ

 जनकपुरमा श्रम स्वीकृति लिनेका दुःख 

 भारतीय चेली नेपालमा, नेपाली युवा खाडीमा !

 प्रदेश दुई म्यानपावर दलालका लागि उर्वरभूमि

 पूरै जवानी विदेशमा खर्चिने अवस्था हटाऔं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment