Comments Add Comment

३ तलाबाट खसेर गम्भीर घाइते भएका विकासको एक महिनापछि उपचार

युएई । उपचार अभावमा एकमहिनादेखि दुबईको अस्पतालमा थलिएका एक नेपालीको नेपाली दूतावास आबुधाबीको पहलमा उपचार सुरु भएको छ ।

दुबई डीआईपीको एनएमसी अस्पतालमा उपचार अभावले थलिएका काठमाडाैंका विकास केसीको शुक्रबारबाट उपचार सुरु भएको हो । केसी दुबईको क्यु विजी कम्पनीमा कुक पदमा कार्यरत छन् ।

घरको तीन तला माथिबाट खसेर अशक्त बनेका उनको उपचारमा कम्पनीले वेवास्ता गर्दै आएको थियो ।

सुरुमा इन्सुरेन्सले कभर गर्दासम्म कम्पनीले प्राथमिक उपचार गराएको तर थप उपचारमा धेरै खर्च लाग्ने भएपछि वेवास्ता गर्दै आएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँलले केसीको तत्काल उपचार गर्न सम्बन्धित कम्पनीलाई आग्रह गरेपछि शुक्रबारबाट उनको उपचार सुरु भएको हो ।

यसरी भयो दुर्घट्ना

अप्रिल महिनाको तिन तारिख । विकास सधै झै बार्दलीमा बसेर चिया पिउँदै थिए। चियाको कप राखेर प्राथना गर्न थाले ।

ध्यानमा देउता पुकारी रहेका उनी अचानक तिनतल्लाको बार्दलीबाट जमिनमा बजारिए। बेहोस अवस्थामा रहेका उनलाई साथीहरुले नजिकैको एनएमसी अस्पताल पुर्याए . उनको दुवै खुट्टा र मेरुद्दण्ड भाँचिएको र नाकमा समेत गहिरो चोट लागेको थाहा भयो ।

दुबई डीआईपीमा रहेको एनएमसी अस्पतालमा १ लाख ५० हजार दिराम बराबरको स्वास्थ्य बीमा कार्डको सहायताले प्राथमिक उपचार भयो ।

दुवै खुट्टा र मेरुद्धण्डमा स्टील राखिएको छ । नाकको चोटमा सुधार हुँदैछ । उपचारमा इन्सुरेन्सले कभ हुन छोडेपछि कम्पनीले समेत सम्पर्क गर्न छोड्यो ।

एक महिनासम्म उनी अस्पताल शैयामा उपचारका लागि छट्पटाए । कम्पनीले वेवास्ता गरेपछि अस्पतलाले थप उपचारका लागि आफन्तलाई खबर गर्न दवाव दियो ।

यहाँ आफ्नो कोही पनि नभएको जनाउदै उनले कि नेपाल फर्काउन कि त यहीँ उपचार गराउन अस्पताललाई आग्रह गरे । गहभरी आँसु बनाउँदै उनले थपे, ‘यो विरानो ठाँउमा मेरो कोही छैन। म बाँच्न चहान्छु । मलाई बचाइदिनुस् ।’

सोही अस्पतालमा कार्यरत नेपाली चिकित्सकले दूतावासमा जानकारी गराउन सुझाव दिए । विकासले साथीहरुको सहायतामा दूतावासमा जानकारी गराए ।

सुरूमा दूतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँलले अस्पतामै पुगेर उनको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

त्यसपछि उपचारमा समन्वय गर्न श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमलाई जिम्मेवारी दिइएको थियो ।

दूतावासले यहाँको स्थानीय निकायलाई जानकारी गराएपछि उनको शुक्रबारबाट उपचार प्रकृया पुनः सुरु भयो । उपचार खर्च कम्पनीले ब्यहोर्ने भएको छ ।

पूर्णरुपमा निको बनाएर घर पठाउछौँ : दूतावास

शुक्रबार विकासको दाहिने खुट्टाको शल्यक्रिया भयो । अब देब्रे खुट्टा र मेरुद्दण्डको शल्यक्रिया हुन बाँकी छ । शुक्रबार दूतावासबाट उपनियोग प्रमुख सागरप्रसाद फुयाँल  र श्रम  सहचारी माेतीराम भुषालले उनलाई भेटे । उपनियोग प्रमुखले पूर्णरुपमा निको बनाएर पठाउने जनाउदै धैर्य गर्न आग्रह गरे ।

आइतबार कम्पनीका मानव संसाधन विभाग (एचआर) का कर्मचारी अस्पालमा भेट्न पुगेका थिए। उनले केहीँ दिनमा नेपाल पठाउने बताए। तर आफू सामान्य हिड्डुल गर्न सक्ने भएपछि मात्र नेपाल फर्कने विकासले सुनाए ।

दूतावास प्रतिनिधि पुगेपछि विकासले खुशी हुँदै अब निको बनाएर फर्काइदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment