Comments Add Comment

स्टिक फुडको कथाः काठमाडौंमा यसरी सुरु गरियो

शहरमा स्वादका पारखी बढ्दैछन् । दाल र भातमा अभ्यस्त नेपाली जिब्रो थरीथरीको खान्कीमा रमाउन थालेको छ । त्यसैले त अहिले विश्वभरका परिकार हाम्रो मेनुमा थपिएको छ ।

स्टिक फुड, यस्तै आयतित परिकार हो । चीनको सिचुवान प्रान्तमा रहँदा मैले फुटपाथमा आकर्षक परिकारहरु देखेका थिएँ । ति परिकार हेर्दै खाउँ-खाउँ लाग्दो हुन्थ्यो । स-सना सिन्कामा उनिएको । त्यहाँ स्टिक फुड निकै रुचाइने रहेछ । नेपाल फर्केपछि मैले स्टिक फुड बनाएर बिक्री गर्ने निधो गरें ।

हरेक परिकारसँग कुनैपनि भेगको स्वाद र संस्कृति जोडिएको हुन्छ । पृथ्वीको अर्को गोलार्द्धमा बनाइने परिकारसँग त्यहाँको फरक शैली र स्वाद पनि मिसिएको हुन्छ । जब यस्ता परिकारहरु फैलदै अर्को भूगोलमा पुग्छ, त्यसको स्वाद उस्तै रहँदैन । त्यो भूगोलको परिकार, यो भूगोलमा आइपुग्दा यहीका जिब्रोसँग समायोजन गरिन्छ । यसले गर्दा उक्त परिकार केही फरक बन्न सक्छ ।

हरेक खानेकुराको पछाडि त्यसको इतिहास हुन्छ । कुनैपनि परिकार कसरी पहिचान गरियो, कसरी खान थालियो, कसरी विस्तार भयो भन्ने कुरा निकै रोचक हुन्छ । जस्तै मःम नेपाली परिकार होइन । तिब्बतमा खाइने रैथाने परिकार हो । व्यापारको सिलसिलामा तिब्बत गइरहने नेवार समुदायले तिब्बतको मःम काठमाडौं भित्र्याए । काठमाडौंमा अहिले सबैभन्दा रुचाइने परिकार हो यो ।

तिब्बतबाट भित्रिएको मःम काठमाडौंबाट भारतको बजारमा पुगेको छ ।

स्टिक फुडको कुरा

स्टिक फुडमा आलु, ससेस, च्याउ जस्ता थुप्रै कुरा समावेश गर्न सकिन्छ । यसैगरी सलामी, टोफु, भन्टा, काउली, सानो माछा, कुखुराको मासु, पखेटा, विभिन्न खालको तरुल, खसीको फोक्सो, कुखुराको पाङ्ग्रा, कलेजो आदिको पनि स्टिक फुड बनाइन्छ । स्टिक फुड अर्थात सिन्कामा उनेर तेलमा फ्राइ गर्ने । त्यसपछि विशेष किसिमको मसला लगाएर खाने ।

धेरै महंगो नपर्ने, बनाउन झन्झट नहुने तर, खानका लागि स्वादिलो र छरितो हुने । यस्तो परिकार काठमाडौंको बजारमा राम्रैसँग खपत हुन्छ भन्ने अनुमान लगाएँ । अब स्टिक फुड कै व्यवसाय गर्छु भनेर त्यसको तयारीमा लागें ।

यसरी सुरु गरियो

कामठाडौं फर्किएपछि धोविचौरको एउटा सानो कुनामा स्टिक फुड बनाउन सुरु गरें । त्यहाँ भाईले मःम बेच्ने, मैले चाहि स्टिक फुड बच्ने सल्लाह भयो । त्यसबेला स्टोभ, कराही आदि किन्नका लागि चार हजार रुपैयाँ खर्च भएको थियो ।

स्टिक फुड त बनाउने, तर त्यसमा के-के राख्ने त ?

सुरुमा मैले सखरखण्ड, आलु, तरुल, स्कुसको जरा, च्याउ, माछा, ससेस आदि खोजियो । यसैगरी सलामी, कुखुराको पखेटा, पुच्छर, खुट्टा, कलेजो, पाङ्ग्रा, खसीको फोक्सो पनि ल्याइयो । लगभग १५-२० आइटम भयो । यसलाई सिन्कामा उनेर नयाँ तरिकारले तयार गरियो । काठमाडौंमा त्यसबेलासम्म स्टिक फुडको चलन थिएन ।

भएभरको स्टिक फुड तयार गरेर टेबलमा सजाइयो । मःम खान आउने र त्यही बाटो भएर हिँड्नेहरु छक्क परे । ‘यो के हो ? कस्तो हुन्छ ?’ भन्दै साधे । तर, किनेनन् ।

मैले नै उनीहरुलाई चाख्न दिएँ । जो-जो आएर सोध्छन्, उनीहरुलाई एउटा न एउटा स्टिक फुड चखाइदिएँ ।

विहान १२ बजेभित्र सबै परिकार बनाइसक्थें । आलु, टोफुको पाँच, पखेटा पन्ध्र रुपैयाँ, ससेस दश रुपैयाँ । पाँच देखि पच्चिस रुपैयाँसम्मको खानेकुरा थियो । तर, किनेर खाने आए पो ?

जो आउँछ, सोधेर मात्र जाने । मलाई लाग्यो, यो खानेकुरा त नबिक्ने रहेछ । भाइले त भन्दै थियो, ‘यस्तो खानेकुरा खान को आउँछ ?’ मलाई भाईले ठिकै भनेको रहेछ भन्ने भयो । सुरुका दिनहरुमा सोध्ने मात्र आए, किनेर खान आएनन् ।

त्यसबेला म आफै सेफ थिएँ, आफै वेटर थिएँ । मार्केटिङ गर्ने पनि आफै । ग्राहकलाई बोलाई बोलाई चाख्न दिन्थें ।

एक दिन बित्यो, हप्ता बित्यो । फेरी अर्को हप्ता पनि बित्यो । स्टिक फुड बिक्री नभए पनि मैले बनाउन छाडिन । चखाउन छाडिन । ग्राहकहरु चाख्दै जान्थे र फाट्टफुट्ट आउथे । तेस्रो हप्तापछि भने स्टिक फुडले राम्रै प्रचार पाएछ । खान आउनेको ताँती लाग्न थाल्यो ।

यो ताँती बिस्तारै बढ्दै गयो । ग्राहकहरु मोटरसाइकलमा चढेर स्टिक फुड खान आउन थाले । एक कान दुई कान मैदान भनेजस्तै भयो । त्यसपछि त मेरो हात खाली नै नहुने ।

यस्तो परिकार अहिले शहरिया युवाहरुले औधी रुचाउन थालेका छन् । त्यसैले जताततै स्टिक फुड सजाएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment