१६ जेठ, काठमाडौं । चेल्सीका फरवार्ड इडेन हजार्डले यही सिजनबाट क्लब छाड्दै छन् ।
बुधबार राति इंग्लिस क्लब चेल्सीलाई युरोपा लिग फुटबलको उपाधि दिलाएका हजार्ड अबका सिजनमा यो क्लबमा देखिने छैनन् । बेल्जियमका २८ वर्षीय हजार्ड अब स्पेनिस क्लब रियल मड्रिड जाने सम्भावना प्रबल रहेको छ । तर अफिसियल रुपमा घोषणा भने भएको छैन ।
हजार्डले चेल्सीलाई उपाधि दिलाउँदै आफ्नो उचाईलाई थप बलियो बनाएका छन् । युरोपा लिगको फाइनलमा आर्सनललाई ४–१ गोलअन्तरले पराजित गर्दा उनले पनि दुई गोल गरे । सुखद् बिदाईको पर्खाइमा रहेका हजार्डले अब गुडबाई भन्ने बेला आएको बताएका छन् ।
‘मलाई लाग्छ अब गुडबाई भन्ने दिन आएको छ’, उनले थपेका छन्, ‘मेरो सपना इंग्लिस प्रिमियर लिग खेल्ने थियो । र मैले ठूलो क्लबबाट त्यो सपना पूरा गरेको छु ।’
यता, चेल्सीका प्रशिक्षक मौरिजियो सरीले हजार्डको फैसलालाई सम्मान गर्ने बताएका छन् । चेल्सीले उपाधि जितेपछि मुख्य प्रशिक्षक मौरिजियोले भनेका छन्, ‘मलाई थाहा छ उनी क्लब छोड्न चाहन्छन् । र, मैले उनको निर्णयलाई सम्मान गर्नु पर्छ ।’
प्रतिक्रिया 4