Comments Add Comment

पानी अभावले चेन्नाईका होटल-रेष्टुराँ बन्द, स्थानीय भन्छन्- अब वर्षाले मात्र बचाउन सक्छ

Photo Credit : G Jaison

४ असार, काठमाडौं । भारतमा जनसंख्याको हिसाबले छैठौं ठूलो शहर चेन्नाईमा पानीको चरम अभाव भएको छ । पानी अभावका कारण रेष्टुराँहरु बन्द गरिएको छ । रेलवे स्टेशनलाई वातानुकुलित बनाउन छाडिएको छ । कतिपय कार्यालयहरुले आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेका छन् ।

सरकारी अधिकारीहरुले भनेका छन्- पानीका स्रोतहरु सबै सुकेका छन् । अब वर्षाले मात्र चेन्नाईलाई जोगाउन सक्छ ।

चेन्नाईका सबै क्षेत्रमा पानीको अभाव भएपछि अहिले जमिन मुनिबाट पानी निकाल्न नयाँ-नयाँ ठाउँको खोजी भइरहेको छ । नयाँ बोरवेल खन्ने काम भइरहेको छ र भएका बोरवेललाई अझै गहिरो खनिँदै छ । एक सर्वेका अनुसार चेन्नाईमा हरेक महिना २०-३० वटा बोरवेल खनिन्छ । अहिले दुई महिनाको अवधिमा ४० वटा बोरवेल गाडिसकिएको छ ।

चेन्नाईका चार वटा प्राकृतिक तलाउ सुकेका छन् । ताल सुकेपछि मई महिनाको पहिलो हप्तामै चेन्नाई मेट्रो वाटरले शोलावरम र सेंगुदरम तालबाट पानी ल्याउन बन्द गरेका थिए । मे महिनाको मध्यतिर पुन्दी तालबाट पनि पानी ल्याउन रोकिएको थियो ।

त्यसपछि चेन्नाई मेट्रो वाटरका कर्मचारीहरुले प्युरीफाई गरिएको पानी चेन्नाईको बाहिरी इलाकाबाट ल्याउन सुरु गरे । केही पानी तमिलनाडुका सिक्किरायपुरम र इरुमैयुरबाट पनि ल्याउने गरिएको छ ।

१५० लाख लिटर पानी विरानम तालबाट निकाल्ने गरिएको छ । विरानम ताल तमिलनाडुको सबैभन्दा ठूलो पानीको स्रोत हो ।

‘अब वर्षाले मात्र बचाउँछ’

चेन्नाई जल विभागका अधिकारीहरु भन्छन्- हामीले अहिले केही स्रोतहरु पत्ता लगाउन कोसिस गरिरहेका छौं । अब केबल वर्षाले नै चेन्नाईको यो परिस्थितिलाई जोगाउन सक्छ ।

कतिपय स्थानमा ट्यांकरबाट पानी वितरण हुँदै आएको छ । मानिसहरु पानी लिन घण्टौंसम्म लाइनमा बस्न बाध्य छन् । कतिपय ठाउँमा पानी थाप्ने क्रममा झडप पनि हुने गरेको छ । झडपमा चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ भने प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

पानीको अभावले चेन्नाईको स्थिति एकदमै धेरै बिग्रिएको छ र यो अवस्था अझै धेरै बिग्रिने चेतावनी अधिकारीहरुले दिएका छन् । होटल र रेष्टुराँहरु पानीकै कारण बन्द भएका छन् । चेन्नाई मेट्रोमा एसी चलाउन बन्द गरिएको छ । धेरै आईटी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई कार्यालयमा नआउन र घरमै बसेर काम गर्न भनेका छन् ।

आईटी वर्क्स एसोसिएशनका जनरल सेक्रेटरी विनोद कलिगईले भनेका छन्, ‘आईटी फर्महरुले औपचारिक रुपमा घोषणा त गरिसकेका छैनन् । कर्मचारीहरुलाई जति सकिन्छ त्यति घरमै बसेर काम गर्न भनिएको छ । तर घरमा पनि पानी त चाहिन्छ नै । अब हामी के गरौं ?’

चेन्नाईमा मात्र होइन, अप्रिल र मई महिनामा तमिलनाडुका धेरै जिल्लामा पनि भूजलको स्तर घटेको छ । एक तथ्यांकअनुसार तिरुवान्नामलईमा ०.८७ मिटरसम्म पानी घटेको छ ।

मानिसहरु चेन्नाइ जल विभागले ट्यांकरमार्फत् वितरण गर्ने पानीमा निर्भर छन् । उनीहरुले ट्यांकरको पानी किन्नुपर्छ । पानी चाहियो भने पहिले नै नाम टिपाउनुपर्छ र कम्तीमा २० दिनसम्म पर्खिनुपर्छ ।

एक अधिकारीले भनेका छन्, ‘यो त बर्बादी सुरुवात मात्र हो । यदि यस वर्ष राम्रो वर्षा भएन भने हामी त समाप्त हुन्छौं ।’

पानीको पुनः प्रयोग

पानीको लागि काम गर्दै आएका एक सामाजिक कार्यकर्ता नक्कीरनका अनुसार पानीको समस्या समाधानको एकमात्र उपाय भनेको जमिनमा जलस्तर बढाउनु हो । उनले भनेका छन्, ‘यसअघि पनि हामी चेन्नाईबासीले खडेरीको सामना गरेका हौं । त्यतिबेला पनि जमिन मुनिको पानीले बचाएको थियो । वर्षाको पानी कम्तिमा १६ प्रतिशत जमिनभित्र जानुपर्छ । तर चेन्नाई जस्तो ठूलो शहरमा ५ प्रतिशत पानी मात्र जमिन मुनि जान्छ । यो अवस्थालाई बदल्नैपर्छ ।’

पानी वितरण विभागका अधिकारीहरुका अनुसार अब एक पटक प्रयोग भइसकेको पानीको पुनः प्रयोग अति आवश्यक भइसकेको छ ।

गत मई ३० तारिखमा ‘ग्रे वाटर प्युरिफकेसन प्रोजेक्ट’ चेन्नाईमा लागू गर्न सहमति दिइएको छ । यस प्रोजेक्टअन्तर्गत मेसिन जडानको काम पनि सुरु भइसकेको छ । तर, यो सन् २०२० को जनवरीभन्दा अगाडि प्रयोगमा आउँदैन । यदि यो प्रोजेक्ट सफल भएमा चेन्नाईमा ७० प्रतिशत पानी पुनः प्रयोग गर्न सकिन्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment