Comments Add Comment

मनसुनले ल्याउने विपद् टार्न तीन ठाउँमा हेलीकोप्टरको तयारी

१० असार, काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु भइसकेको छ । मनसुनको वर्षा किसानका लागि जति महत्वपूर्ण छ, यसले निम्त्याउने खतराहरु पनि कम छैनन् ।

खासगरी प्राकृतिक विपत्तीको समयमै आंकलन गर्न नसक्नु, दुर्घटना भइसकेपछि बेलैमा उद्धार टोली पुग्न नसक्नु र पूनस्र्थापनामा ढिलाईले अत्यधिक जनधनको क्षति हुने गर्छ । त्यसैले सरकारले हरेक वर्ष मनसुन अगाडि नै यसबाट हुन सक्ने क्षति न्यूनीकरणको तयारी गर्नुपर्ने हुन्छ । यसमा सरोकारवाला निकायलाई छुट्टाछुट्टै जिम्मेवारी दिइएको हुन्छ । सोहीअनुसार विपद् व्यवस्थापन र क्षति न्यूनीकरणमा सरोकारवाला जुट्ने गर्छन् ।

हेलिकोप्टर तैनाथ

नेपालमा सरकारी स्तरबाट हेलिकोप्टर सञ्चालन नेपाली सेनाले गर्दै आएको छ । मनसुन सक्रिय भएसँगै नेपाली सेनाका हेलिकोप्टर देशभर पुग्न सक्ने गरी विभिन्न तीन स्थानमा तैनाथ रहने भएका छन् ।

गृह मन्त्रालयले बनाएको मनसुन आपतकालीन कार्ययोजना ०७६ अनुसार पूर्वी नेपाल हेर्ने गरी इटहरी, मध्यनेपालका लागि काठमाडौ र पश्चिम नेपाल हेर्ने गरी सुर्खेतमा सेनाको हेलिकोप्टर तयारी अवस्था रहने भएको छ । प्रत्येक जिल्लामा सेनाको एक गुल्म आधारभूत उद्धार सामग्रीसहित स्ड्याण्डवाई अवस्थामा रहने गरी खटाइएको छ ।

गृह मन्त्रालयले बनाएको मनसुन आपतकालीन कार्ययोजना ०७६ अनुसार पूर्वी नेपाल हेर्ने गरी इटहरी, मध्य नेपालका लागि काठमाडौं र पश्चिम नेपाल हेर्ने गरी सुर्खेतमा सेनाको हेलिकोप्टर तयारी अवस्था रहने भएको छ

सेनाको विपद् व्यवस्थापन गण काठमाडौंले पूर्वतर्फको प्रदेश हेर्ने तथा विपद् व्यवस्थापन गण चितवनले पश्चिमतर्फको जिम्मेवारी हेर्ने गरी जिम्मेवारी छुट्याइएको छ । यसअन्तर्गत हरेक प्रदेश हेर्ने गरी सेनाले आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने भएको छ ।

राजमार्गमा एस्क्रो व्रीज र रीभराइन बोट

मनसुनको समयमा बाढी पहिरोबाट राजमार्गमा हुन सक्ने सम्भावित क्षति साथै राहत र उद्धार सूचारु गर्न अमेरिकाबाट आएका एस्क्रो व्रिज (तयारी पुल) र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन रीभराइन बोट (डुंगा) तयारी अवस्थामा राखिएका छन् । बाराको जीतपुर, चितवनको भरतपुर, बैरेनी, थानकोटको विज्रिङ महाशाखा र सुनकोशी नदीमा समेत यस्तो तयारी पुल राखिने भएको छ । रिभराइन बोट भने दियालो बंगला र मस्र्याङ्दी नदीमा तैनाथ गरिएको छ । यी पुल र बोट पनि नेपाली सेनाले नै संचालन गर्ने गरी तयारी गरिएको छ ।

नेपाली सेनासँग १२०, १३० र २५० मिटरका यस्ता तयारी पुल रहेका छन् । दूर्घटना भइहालेमा तत्काल उद्धारमा जुट्न सेनाले साना, हलुका र रबरका डुंगाहरु पनि तयारी अवस्थामा राखेको छ । कार्ययोजना अनुसार मोरङ, झापा, कोशीटप्पु, थलाहा, इटहरी, धनुषा, राजविराज, सर्लाही, रौटहत, हेटौडा, चितवन, दियालो बंगला, पोखरा, सुर्खेत, दाङ, बर्दिया, नेपालगन्ज, नवलपरासी, कैलाली, कंचनपुर, धनगढी, महाराजगन्ज, छाउनी, सुन्दरीजल, गोकर्णलगायत स्थानमा रहेका सेनाका गणहरुमा यस्ता उपकरण राखिएको र आवश्यक पर्नासाथ परिचालन हुने कार्ययोजनामा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीको तयारी

कार्ययोजना अनुसार नेपाल प्रहरीले व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नेछ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने सम्भावित जोखिमयूक्त स्थानको अध्ययन र पहिचान गरी जनशक्ति र उद्दार उपकरण तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने जिम्मेवारी नेपाल प्रहरीले पाएको छ । स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्ने, विपद् आइपर्दा विस्थापितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तर गर्न सकिने सम्भाब्य स्थानको पहिचान, अभिलेख र क्षमता अध्यावधिक गर्ने जिम्मेवारी पनि प्रहरीले पाएको छ ।

नेपाल प्रहरीमा रहेको विपद् व्यवस्थापन महाशाखा र प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहने विपद् व्यवस्थापन गुल्ममा रहेका जनशक्तिलाई उद्दार तथा व्यक्तिगत सुरक्षा सामग्रीसहित तयारी अवस्थामा रहेन गरी व्यवस्थापन मिलाइएको छ । महाशाखा र प्रदेश प्रहरी कार्यालयमा रहेका डुंगा चलाउन सक्ने, पौडि खेल्न सक्ने जनशक्तिलाई २४ सै घण्टा तयारी अवस्थामा राखिने भएको छ । जल प्रकोप उद्दारमा खटिन जनशक्ति तयार पार्ने र त्यसका लागि जमेको पानीमा उद्दारसम्बन्धी नियमित आन्तरिक अभ्यास गराइराख्ने काम पनि प्रहरीले जारी राख्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीसँग हेभि इक्विपमेण्ट रहेका छन् । ती उपकरण र सवारी साधनलाई रणनीतिक स्थानमा राखी आवश्यक परेको बेला तत्काल खटाउन सक्ने गरी हेवि इक्विपमेण्ट तयारी अवस्थामा राखिएको छ । प्रहरी प्रधान कार्यालयमा रहेका दमकल, क्रेन, स्काभेटर, महानगरीय प्रहरी कार्यालय मातहत रहेका स्काभेटर, लोडर, हरेक प्रदेशस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालय मातहत रहेका क्रेन, र्‍याकर, लोडर, स्काभेटर गरी कूल १८ उपकरण तयारी अवस्थामा राखिएको छ । प्रहरीले स्थानीय निकाय, विभिन्न संघ–संस्था तथा कम्पनीसँग रहेका एम्बुलेन्स तथा हेभी इक्विपमेण्ट उपयोग गर्ने गरी समन्वयको काम पनि प्रहरीले गर्ने जिम्मेवारी पाएको छ । प्रहरीसँग ९ थान डुंगा रहेका छन् ।

सशस्त्र प्रहरीको जनशक्ति

सशस्त्र प्रहरीले अहिलेसम्म १ हजार ४ सय २० जनाको जनशक्तिलाई विपद व्यवस्थापनका लागि तयार पारेको छ । देशका विभिन्न १० स्थानमा यी जनशक्ति तयारी अवस्थामा छन् । काठमाडौंभित्र दुई तथा सातै प्रदेश र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारमा यस्ता जनशक्ति खटाइएको छ ।

त्यसबाहेक सशस्त्रका सबै कार्यालयमा खोज तथा उद्धारमा खटिन उपकरणसहितको उद्धार टोली स्टाइबाई रहने व्यवस्था मिलाइएको छ । एपीएफका काठमाडौं, पोखरा र कैलालीमा रहेका फ्यूल स्टेशनलाई मनसुनको समयमा हुने अभाव व्यवस्थापन गर्न ‘स्टक’ राख्ने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरीसँग १९ जना तालिमप्राप्त गोताखोर रहेका छन् । उनीहरुलाई आवश्यक पर्दा तत्काल खटाउन मिल्ने गरी हवाई सुविधा उपलब्ध रहेको स्थान पोखरा, काठमाडौं र कुरिनटारमा उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको हो । सशस्त्रसँग रहेका अत्याधुनिक उपकरण (कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू, फायर फाइटिङ इक्विपमेन्ट, डीप डाइभिङ इक्विपमेण्ट, रेस्क्यू बोट, हेभि इक्विपमेण्ट) लाई पनि आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी तयार अवस्थामा राखिएको छ ।

अन्य निकाय

गृह र रक्षा मन्त्रालयबाहेक वन तथा भूसंरक्षण विभाग, जलस्रोत तथा सिंचाई विभाग, जल तथा मौसम विज्ञान विभागलाई पनि मनसुनको अवस्थामा आउन सक्ने आपत्कालिन परिस्थितिमा काम गर्ने गरी जिम्मेवारी तोकिएको छ । स्थानीय तह, रेडक्रससहितका गैरसरकारी संस्था तथा अन्य सरोकारवाला निकायले पनि सरकारी निकायसँग समन्वय गरी खट्ने गरी मनसुनको विपद् न्यूनिकरणको कार्ययोजना बनाइएको छ ।

सडक विभागका १७५ हेभी इक्विपमेन्ट

गृह मन्त्रालय मातहतको आपतकालिन कार्य संचालन केन्द्रले मनसुन तथा प्रतिकार्ययोजनाका लागि सडक विभागबाट यान्त्रिक उपकरण तैनाथ सम्बन्धि विवरण माग्ने गर्छ । यसैअनुसार सडक विभागले आफ्ना उपकरणको विवरण पठाएको छ । सडक विभागका अनुसार देशको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका राजमार्गलाई हेर्ने गरी उपकरणहरु तयारी अवस्थामा राखिएका छन् । लोडर, डोजर, मोवाइल क्रेन, टीपरजस्ता उपकरण सेडक विभागले सडकमा तत्काल खटाउन मिल्ने गरी राखेको छ । मनसुनका कारण जाने पहिलाले सडक अवरुद्ध हुँदा ती उपकरणहरु उद्धारमा खट्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment