Comments Add Comment

के चन्द्रमामा मान्छे पुगेको कुरा झुटो थियो ?

सन् १९६९ मा पहिलोपटक चन्द्रमामा मानव पाइला टेकिएको दुर्लभ दृश्यको प्रसारण लाखौँ मानिसहरुले हेरे ।

तर अहिले पनि केही मानिसहरु यो मान्न तयार छैनन् कि चन्द्रमामा कोही मानिस पुगेको छ । उनीहरुको जिकिर के छ भने मानिसले कहिल्यै पनि चन्द्रमामा पाइला टेकेको छैन ।

अमेरिकी अन्तरीक्ष संस्थाको एक रिपोर्ट अनुसार अमेरिकामा सयमा ५ जना मानिसहरु चन्द्रमामा मान्छे पुगेको भन्ने कुरा झुटो रहेको ठान्छन् ।

यो संख्या सानो हो, तर अफवाह फैलाउनका लागि यो पर्याप्त छ ।

चन्द्रमा छल आन्दोलन

चन्द्रमामा मानव पुगेको भन्ने कुरा झुटो रहेको दाबी गर्दै चन्द्रमा छल सिद्धान्त नै फैलाउन खोजियो । उक्त सिद्धान्तका समर्थकहरुको तर्क छ कि सन् १९६० को दशकमा अमेरिकी अन्तरीक्ष कार्यक्रम प्रविधिको कमीका कारण चन्द्रमा मिसनमा असफल भएको थियो ।

साेभियत संघविरुद्ध अन्तरीक्ष दौडमा सामेल हुन र आफूलाई अगाडि देखाउनका लागि नासाले चन्द्रमामा मानिसलाई अवतरण गराएको नाटक गरेको हो भन्ने उनीहरुको ठम्याइ छ ।

निल आर्मस्ट्रंगले चन्द्रमामा अवतरण गरिसकेपछि भनेका थिए, ‘मानिसका लागि यो सानो कदम हो । तर मानव जातिका लागि एक ठूलो छलाङ्ग ।’
यसको प्रमाणिकतामाथि प्रश्न उठाउने खालका कहानीहरु अपोलो ११ यान पृथ्वीमा फिर्ता भएलगत्तैबाट सुरु भएका थिए ।

तर सन् १९७६ मा ती कहानी तथा अफवाहहरुले सनसनी मच्चाउन सफल भए । सन् १९७६ मा एउटा पुस्तक प्रकाशित भयो, We Never Went to the Moon: America’s Thirty Billion Dollar Swindle  शीर्षकको ।

पत्रकार बिल केसिंगले उक्त किताब लेखेका थिए । उनले नासाको जनसम्पर्क विभागमा काम गरिसकेका थिए ।

उक्त किताबमा कैयन् यस्ता कुरा तथा तर्कहरु उल्लेख गरिएको थियो, जसलाई चन्द्रमामा मानिस पुगेको कुरालाई झुटो सम्झिने मानिसहरुले समर्थन गरे ।

हावा विना चन्द्रमामा झण्डा फहराउनु

उल्लेखित पुस्तकमा चन्द्रमाको सतहमा गाडिएको भनिएको अमेरिकाको झण्डाको तस्वीर पनि सामेल गरिएको थियो । तस्वीरमा चन्द्र सतहमा गाडिएको अमेरिकी झण्डा फहराइरहेको छ । हावा नै नभएको चन्द्रमामा झण्डा फहराउनु तथा तस्वीरमा पृष्ठभूमिमा कुनै ताराहरु पनि नदेखिनुलाई किताबमा आशंकाको रुपमा वर्णन गरिएको छ ।
क्यालिफोर्निया विश्वविद्यालयमा अनुसन्धान गरिरहेका खगोलशास्त्री माइकल रिचका अनुसार यो दाबीलाई झुटो सावित गर्नका लागि कैयन् वैज्ञानिक तर्क दिन सकिन्छ ।

निल आर्मस्ट्रंग र उनका सहकर्मी बज अल्ड्रिनले निकै बल गरेर सतहमा अड्याएका थिए, सोही कारण त्यसमा मुज्जा पनि देखिएको थियो । यसका अलावा झण्डा फहराएको जस्तो देखिनुको अर्को कारण पृथ्वीको तुलनामा चन्द्रमाको गुरुत्वाकर्षण ६ गुणा कम हुनु हो ।

तारा विनाको आकाश

चन्द्रमामा अवतरणको कुरा झुटो मान्ने मानिसहरु उक्त तस्वीरलाई लिएर एक अर्को तर्क पनि गर्दछन् कि तस्वीरमा ताराहरु विनाको कालो आकाश मात्र देखिन्छ । तारा नै नभएको रातको आकाश देखाइएकोले चन्द्रमामा अवतरणको सवुतको रुपमा रहेको त्यो तस्वीर झुटो भएको उनीहरुको दाबी छ ।

तथापि, सवुतको रुपमा जुन तस्वीर छ त्यसमा अँध्यारो र उज्यालेको समान मात्रा छ ।
रोचेस्टर इन्स्टिच्यूट अफ टेक्नोलोजीमा एस्ट्रो फिजिक्सका प्राध्यापक ब्रायन केबरेलिनका अनुसार यस्तो किन भएको हो भने चन्द्रमाको सतहले सूर्यको प्रकाश रहेको अर्थात् दिनको समय देखाउँदछ र सोही कारण यो तस्वीर निकै चम्किलो देखिन्छ ।

सोही चमकले आकाशमा ताराको प्रकाशलाई कम गरिदिन्छ । ताराको प्रकाश निकै कमजोर भएको हुँदा आकाशका तारा देखिएका छैनन् र कालो मात्र देखिएको छ ।

पाइलाका नक्कली निशान

चन्द्रमामा देखाइएका पाइलाका चिह्नहरू पनि यी अफवाहका हिस्सा हुन् । चन्द्रमामा चिस्यानको अभावका कारण यसरी पाइलाको चिह्न बस्न सम्भव नभएको तर्क उनीहरुको छ ।

एरिजोना स्टेट युनिभर्सिटीका प्राध्यापक मार्क रोबिन्सन भने यसको वैज्ञानिक स्पष्टीकरण दिँदै भन्छन्, ‘चन्द्रमा माटोको चट्टानी तथा धूलोको यस्तो पत्रबाट ढाकिएको छ जसलाई रेजोलिथ भनिन्छ । यो सतहमा टेक्दा सजिलैसँग संकुचित हुन्छ ।’

चन्द्रमामा वायुमण्डल नभएको हुँदा एकपटक चन्द्रमाको सतहमा बनेका त्यस्ता पाइलाका चिन्हहरु लाखौँ वर्षसम्म ज्यूँ का त्यूँ रहने उनको भनाई छ ।

अन्तरीक्षयात्री कसरी बाँचे ?

सबैभन्दा चर्चित अफवाह अनुसार पृथ्वीको चारैतर्फ रहेको प्रकाशको पेटीका कारण अन्तरीक्षयात्रीको ज्यान जानुपर्ने । उक्त पेटीलाई भेन एलन भनिन्छ जसले सौर्य हावा र पृथ्वीको चुम्बकीय सतहलाई जोड्ने काम गर्दछ ।

अन्तरीक्ष दौडको सुरुवाती स्तरमा यो प्रकाश वैज्ञानिकहरुको पनि ठूलो चिन्ताको विषय बनेको थियो । त्यो अन्तरीक्ष यात्रीका लागि सबैभन्दा खतरा हुनसक्ने वैज्ञानिकहरु ठान्दथे ।

तर नासाका अनुसार एपोलो ११ ले भेन लेनमा दुई घण्टाभन्दा पनि कम समय बिताएको थियो । त्यस्तै खतरनाक ती प्रकाश पुग्ने ठाउँहरुमा  जम्मा ५ मिनेटको समय मात्रै गुजार्यो । अर्थात् अन्तरीक्ष यात्रीलाई खतरा पैदा गर्नसक्ने गरी लामो समयसम्म एपोलो ११ ले उक्त पेटीमा समय बिताउनु परेन ।

अफवाहलाई खण्डन गर्ने सवुतहरु

नासाले एपोलोको अवतरणसँग सम्बन्धित हालै केही तस्वीर जारी गरेको थियो । जसले चन्द्रमामा अवतरण गरिएको प्रमाण छ ।

तस्वीरका अलावा एपोलो ११ को ल्याण्डिङ साइट पनि छ, जसमा माटोमा छाडिएका निशान तथा चन्द्रमा मोड्यूलको अवशेष पनि देख्न सकिन्छ ।

एलआरओ ले चन्द्रमामा ओर्लिएका ६ जना मानिसहरुले गाडेको झण्डाहरु पनि ठाडै भएको देखाएको थियो । जाँचका क्रममा सतहमा झण्डाको छाया पनि पत्ता लाग्यो ।
अतः उल्लेखित अफवाहहरु असत्य सावित भैसकेका छन् । तथापि दुनियाँभर नै अहिले पनि यस्ता अफवाहहरु फैलिइसकेका छन् र निकै चर्चित पनि छन्।

सन् १९६९ मा निल आर्मस्ट्रंगले चन्द्रमामा पाइला टेकेको कुरा पुष्टि गर्ने कैयन् वैज्ञानिक प्रमाण छन् ।

चन्द्रमामा मानव पुगेको कुरालाई झुटो मान्नेहरुलाई एउटै प्रश्न छ कि यदि चन्द्रमामा कदम राखेको कुरा झुटो थियो भने सोभियत संघले चन्द्रमामा आफ्ना मानिस पठाउने गोप्य कार्यक्रम किन चलायो ?

नासाका पूर्व मूख्य इतिहासकार रोबर्ट लयनियस तर्क दिन्छन्, ‘यदि चन्द्रमामा पाइला टेकिएको कुरा झुटो थियो भने सोभियत संघले त्यसको विरोध किन गरेन ? जबकि ऊसँग झुटो कुराको पुष्टि गर्ने हिम्मत र सोच दुवै थियो । सोभियत संघले यसको बारेमा एक शब्द पनि भनेको छैन ।’
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment