Comments Add Comment

स्वास्थ्यमन्त्रीको प्रश्न : कर्मचारीको तलवमै बजेट सकिन्छ, कसरी काम गर्नु ?

३ साउन, काठमाडाैं । ‘कुल बजेटको ४.४८ आठ प्रतिशत बजेटले के काम गर्न सक्नु ? चार प्रतिशत त कर्मचारीको तलब खुवाउँदैमा सकिन्छ’ स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले गरेको मुख्य उपलब्धी सार्वजानिक गर्ने मन्त्री उपेन्द्र यादवले भनेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयले काम गर्न नसकेको स्वीकार्दै त्यसको दोष बजेटलाई दिए ।

बजेटकै अभावमा आफूले बनाएका योजनाहरु कार्यन्वयन गर्न नसकेको गुनासो गर्दै भने, ‘त्यति थोरै बजेटले पनि हामीले लक्ष्य लिएको ६९ प्रतिशत काम गर्न सक्यौँ । यो गर्व गर्ने विषय हो ।’

मन्त्री यादवले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । तर अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ । धेरै विदेश भ्रमणमा गएको आरोप पनि लागेको छ ।

मन्त्रायलको काम हेर्दा यादव अघिका स्वास्थ्यमन्त्री गगन कुमार थापाले कम बजेटमै हात पारेको सफलता जोगाउन सकेको देखिन्न । कान्ति बाल अस्पतालको ५२ बेडको आइसीयू अहिले ३० बेड मात्र झरेको छ । संघीय संरचनाअनुसार संरचना निर्माण, कर्मचारीको व्यवस्थापन, कार्यक्रमको बाँडफाँड, नीति निर्माण, कानुन तथा अन्य कार्यक्रमको विकास र त्यसको कार्यान्वयन गर्नेतर्फ मन्त्री यादव चुकेका छन् ।

मन्त्रालयले सार्वजानिक गरेको उपलब्धीमा बालबालिकाको खोप, निःशुल्क औषधि, रोग नियन्त्रण, बाल तथा आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमालगायतका स्वास्थ्यका सबै कार्यक्रममा छुटेको छ । कुल बजेटको कति प्रतिशत, कुन शीर्षकमा खर्च भयो भन्ने बारेको तथ्यांकसमेत सार्वजानिक भएको छैन । बजेट अभावले काम गर्न नसकेको भनिरहँदा बजेट फ्रिज भएको चर्चा चलेपनि त्यो रकम खुलाइएको छैन ।

गत महिना स्वास्थ्य मन्त्रालयमै राष्ट्रिय स्वास्थ्य नीति २०७५ सार्वजानिक गर्ने कार्यक्रम थियो । आधारभुत स्वास्थ्य सेवा समेत दिन नसकिरहेका अवस्थामा स्वास्थ्यमा नीतीमा डिजिटल स्वास्थ्य सेवादेखि एयर एम्बुलेन्ससम्म अटाएका थिए ।

त्यो बेला पनि मन्त्री यादवले भनेका थिए, ‘हामीले सरकारलाई बजेट बढाउँन कत्ति धेरै पहल गर्यौ तर, मागेको जस्तो बजेट दिइएन । बजेटमै विभेद भएपछि कसरी काम गर्ने ?’

यो वर्ष स्वास्थ्यमा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ। यो गत आर्थिक वर्षमा भन्दा झण्डै १२ अर्ब रुपैयाँ बढी हो। यो कुल बजेटको ४. ४८ प्रतिशत हो । यो बजेटले नपुग्ने बताउँदै मन्त्री यादवले भुटान र माल्दिस जस्ता देशले स्वास्थ्य र शिक्षामा २५ देखि ३५ प्रतिशत बजेट खर्च गरेको उदारण दिएर भने, ‘लगानी नै नगरिदिने अनि काम भएन भनेर कसरी हुन्छ । लगानी बिना काम कहाँ सम्भव छ र ?

मन्त्रालयले सार्वजानिक गरेको उपलब्धीमा नीति नियमको मस्यौदा बनाउन बाहेक अरू छैन । राष्ट्रिय स्वास्थ्य निती २०७६, जनस्वास्थ्य सेवा ऐन २०७६, जनस्वास्थ्य सेवा नियमावालीहरु नै मन्त्रालयको प्रमुख उपलब्धीको सुचिमा छ । मन्त्रालयले गरेको मुख्य उपलब्धी ऐन बनाउनु देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment