Comments Add Comment

पुस्तक प्रकाशकहरु लेखक ठग्नै बसेका हुन् ?

प्रकाशकको खोल ओढेका व्यापारीबारे एक अनुभव

लेखक र प्रकाशकको सम्वन्ध नङमासु जत्तिकै हुन्छ । लेखक नभए प्रकाशकले के छाप्ने ? प्रकाशक नभए लेखकले कसरी पाठकसम्म पुग्ने ? प्रकाशकले वजारमा विक्ने उत्कृष्ट पुस्तक खोजि गर्छ र त्यसमा लगानी गर्छ । प्रकाशकले उत्पादन खर्च, लेखकस्व, प्रचारप्रसार लगायतमा लगानी गरेको हुन्छ । त्यो लगानी उठेपछि मात्र प्रकाशकले नाफा कमाउने हो । यसर्थ प्रकाशन व्यवसाय सहज पटक्कै छैन । कुनै बेला म आफैले पुस्तक  प्रकाशन गरेको अनुभव पनि छ । त्यस आधारमा म यो समस्याको थोरबहुत जानकार छु ।

नेपालमा सम्भवत व्यावसायिक पहिलो सफल र व्यवस्थित निजी प्रकाशन संस्था रत्न पुस्तक भण्डार हो । आज ५० वर्षपछि पनि यो आफ्नो साख जोगाएर मात्र होइन वृद्धि गरेर नै प्रकाशनको दुनियामा सगर्व उभिएको छ । जवकी नेपाल भाषा प्रकाशिनी समितिको उत्तराधिकारीको रुपमा लामो समय नेपाली लेखकको आस्थाको केन्द्र साझा प्रकाशन अहिले रुग्ण अवस्थामा छ । विभिन्न अनुसन्धानमूलक कृतिहरुकासाथै सिर्जनात्मक लेखन पनि प्रकाशन गर्ने नेपाल एकेडेमी अहिले खासखास योजनाका पुस्तकहरुमा केन्द्रित छ ।

पछिल्लो दशक नेपाली साहित्यको क्षेत्रमा केही उत्कृष्ट प्रकाशनहरु देखा परे । ३ वर्ष अघि प्राय नेपालका राष्ट्रिय स्तरका सवैजसो  दैनिक पत्रिकाहरुको शनिवार तिनै नयाँ प्रकाशनका कृतिका अंश छाप्ने, तिनका पुस्तक विवेचना गर्ने, तिनै कृतिका लेखकसँग अन्तरवार्ता लिनेमा तँछाडमछाड गर्दै लागे । तर समय बदलियो, अहिले त्यो अवस्थामा थोरै भिन्नता आएको छ, तर केही लेखक, केही पत्रिका र केही ती पत्रिकाका शनिवारका ठेक्दारसापहरुको सिण्डिकेट भने जीवित नै देखिन्छ ।

त्यस वाहेक पनि निजी क्षेत्रमा प्रसस्त प्रकाशकहरु देखा परे । ती प्रकाशकहरु प्रकाशक कम व्यापारी बढी देखिए । प्रकाशनमा पनि हुने व्यापार नै हो । तर त्यो मर्यादित हुन्छ । व्यापारका लागि गरिएको प्रकाशन भने अमर्यादित हुन्छ । यस्ता अमर्यादित प्रकाशकहरुले नेपाली प्रकाशन जगत धुमिल भएको विद्रुप अवस्था आजको नेपाली प्रकाशन क्षेत्रको यथार्थ हो ।

म आफैंसँग घटित ३ घटना दृष्य यहाँ संक्षेपमा राख्न चाहन्छु –

१) मेरा मित्र दिनार रनादि, जो कविता क्षेत्रमा कलम चलाउनु हुन्छ, उहाँले  होमकुमार श्रेष्ठलाई मसँग सम्पर्क गराइदिनु भयो । कारण थियो, होमकुमार श्रेष्ठ जो होमर श्रेष्ठ नामले अनुवाद गर्न रुचाउँथे, तिनले अमेरिकी उपन्यासकार अर्नेष्ट हेमिङ्ग्वेको द ओल्ड म्यान एण्ड सीको नेपालीमा अनुवाद गरेका रहेछन् ‘बूढो र समुद्र’का रुपमा । मलाई भूमिका लेखिदिन अनुरोध गरे र मैले भूमिका लेखें ।

पुस्तक प्रकाशन भो, वितरण भो । त्यसपछि होमरजी निजी कारणले सम्पर्कवाट टाढा हुनु भयो । एकदिन यौटा प्रकाशनका व्यापारीले भने, तपाईंले भूमिका लेख्नु भएको रहेछ, अनुवादकसँग भेट गराईदिनुस् न । तर, मेरो सम्पर्क भएन होमरजीसँग । ६-८ महिनापछि तिनै प्रकाशन व्यमापारीले बाटोमा जम्काभेट हुँदा कुटिल मुस्कान छाड्दै भने, ‘खै तपाईंले अनुवादकसँग भेटाउनु भएन, मैले त्यसलाई यसो यताउति गरेर अर्कैको नाममा पो निकाल्दिएँ ।’ मलाई तिनको त्यो हाँसोजस्तो घीनलाग्दो दुनियाँमा अरु के होला भन्ने लाग्यो ।

त्यस्तै सपनाले अनुवाद गर्नु भएको द लिटि्टल प्रिन्सको फुच्चे राजकुमारको पनि सोही हाल भयो । त्यसमा पनि मैले भूमिका लेखेको थिएँ । अहिले त्यो किताव लगभग उही, कतै-कतै एकाध फेरफार गरी ३/४ जनाको नाउँमा काठमाडौंको बजारमा पाइन्छ । मूल लेखकको स्वीकृतिको त कुरै छाडौं जिउँदो जाग्दो अनुवादकलाई गुमराहमा पार्ने यिनलाई प्रकाशक भन्ने कि, व्यापारी भन्ने कि, ठग ?

२) अहिले काठमाडौंमा नाम चलेको प्रकाशकले मेरो कथासङ्ग्रह प्रकाशनका लागि केही वर्षअघि चासो देखाए । ‘लस्कर र अरु कथाहरु’ शिर्षक राखेको थिएँ । बानेश्वरको एलिनाज क्याफेमा कफी पिउँदै लिखित एग्रिमेण्ट गर्‍यौं ।

म अमेरिका बस्छु । उनले तपाई काठमाडौं आउने बेलामा निकाल्ने भने । केही समय वित्यो । म आउने तर्खर गर्न लागें भनेर खबर गरें । ल कहिले आउने भन्नुस् भन्ने रट लगाए तिनले । मैले भनैं, तपाई कहिले निकाल्ने भन्नुस् म त्यहीबेला आइपुग्छु । त्यसपछि तिनी सञ्चार सम्पर्कबाट टाढिए । फोन उठाएनन् । खबरको जवाफ दिएनन् । फेसबुकको सन्देशलाई पनि बेवास्ता गरे ।

एकपल्ट फेसबुकमा एक झटारो हानेपछि उनले प्राइभेट म्यासेज गरेर किन सार्वजनिक टिप्पणी गरेको भने । मैले किन सम्पर्कबाट भागेको, म तिम्रो प्रकाशनबाट छाप्दिनँ । त्यो सम्झौता आजैबाट भङ्ग भो भनें । लिखित सम्झौता गरेर पुस्तकलाई वर्षौं हल्लाउने ती प्रकाशकको सम्झौता मैले फाइलमा सुरक्षित राखेको छु ।

३) यौटा प्रकाशकसँग भेट भो २ वर्षअघि । तिनले प्रकाशनका लागि रुचि देखाए । मैले परशु प्रधान र मेरो संयुक्त उपन्यास ‘विसर्ग’ दिएँ । उनले छिट्टै छापिहाल्ने बताए । तर भोलि भोलि भन्दै मेरो अमेरिका जाने दिन नजिकिन थाल्यो । अनि अन्त्यमा भने, यसलाई नछापुँ होला । अब म अमेरिका फर्कनुअघि त्यो निस्कने सम्भव भएन, त्यत्तिकै भयो ।

(अहिले त्योे उपन्यास रत्न पुस्तक भण्डारबाट प्रकाशित भै बजारमा गइसक्यो) ती प्रकाशकले भने बरु तपाईंको ‘अन्तिम खाडल’ रिप्रिण्ट गर्छु । म टाइप गराउँदै गर्छु, तपाई अर्काेपल्ट नेपाल आउँदा निकाल्ने । म नेपाल फर्कें ६ महिनामा । उनले टाइप शुरु भएको भने । आधा टाइप सकियो भने । इमेलमा पठाउँछु भने । सोमबार इमेल पठाउँछु भने । तर तीनवटा सोमबार गैसक्यो इमेलको पत्तो भएन ।

अचानक एक दिन रत्नपार्कमा जम्का भेट भो । तिनी सक्पकाए, यसो एकाध प्रतिशत लज्जा, जो शेष हुँदो हो । तपाईंले नछाप्ने भए पनि केही छैन, यो लामो लहन-तहन किन ?

तिनले रातो अनुहार लाएर भने, यसपालि नगरौं होला । तर, गाँठी कुरा के भने तिनले छाप्ने भनेकै लेखकबाटै नगद नारायण लिएर रहेछ । सबैजसोले दिएको थाहा भो । झन् विदेशमा बस्नेले त उतैबाट पठाइदिने । अथवा २/३ सयप्रति किनिदिने । त्यो २/३ सय प्रति आधा मोलमा दिँदा पनि प्रकाशक नामधारी व्यापारीज्यूलाई साउँ उठीवरि नाफै हुने ।

यी तीन प्रकाशकका व्यवहारले मलाई यी र यी जस्ता प्रकाशकको खोल ओढेका व्यापारीलाई ‘फटाहा’ भनूँ भनूँ लाग्यो ।

हुन त लेखकको कमजोरी पनि नभएको होइन । नपाएको रोयल्टी पनि पाएँ, फलानो प्रकाशकले राम्रो रोयल्टी दियो भनेर गिजा देखाउने त लेखकै हुन् । आफैं लगानी गरेर हैन, म किन त्यसो गर्थैं भन्ने पनि लेखकै हुन् ।

पुस्तक निस्किएको ३ महिनामै अर्को  संस्करण आउन लाग्यो भन्ने बतासे हल्ला गर्ने पनि लेखकै हुन् भलै तीन वर्षमा पनि दोश्रो संस्करण ननिस्कियोस् । वा कहिल्यै दोश्रो संस्करण ननिस्कियोस् । यस्ता धेरै दृष्टान्त मेरा स्मृतिमा कुँदिएर ताजा छन् । नविकेको किताव बिक्यो भनेर लेखकले आत्मरतिमा डुबुल्की मार्नुको कुनै अर्थ छैन । पानी मथेजस्तो हो, फिँज त उठ्छ तर घीउ बन्दैन, फिँज पनि स्वल्पायु हुन्छ ।

मैले शुरुमै भनें, लेखकको र प्रकाशकको नाता नङ मासुको झैं हुन्छ । तर यसमा परिवर्तन आउन थालेको छ ।

अब विस्तारै पुस्तकहरु मुद्रणबाट डिजिटल युगमा जाँदैछन् । कैयन् प्रकाशन संस्थाहरु बन्द हुने क्रममा छन् । कैयन् पुस्तकहरु अन डिमाण्ड मुद्रण गर्ने प्रविधि पनि छ । यसै हप्ता दुई रिपोर्ट नेपाली छापामा आएको छ ।

मदन पुरस्कारको उत्कृष्ट पुस्तक सूचिले पनि बजार तताउन सकेन । मतलव कितावको बजार ओरालोको यात्रामा छ । लहडी लेखकहरुले त फटाहा प्रकाशकलाई पोस्लान्, तर त्यसले मात्र तिनको मखुण्डो धान्न गाह्रै पर्नेछ । नेपालमा साहित्य लेखेर बाँच्ने दिन आएन, नआएको दिन अस्ताउने प्रश्नै भएन । तर, लेख्नकै लागि जन्मेका समर्पितहरुले लेख्न भने छाड्ने छैनन्, व्यापारी प्रकाशक बिलाउनेछन्, बचेका साँच्चैका प्रकाशकले तिनलाई काँध थाप्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment