Comments Add Comment

डेंगुको डरलाग्दो प्रकोप  !

१३ भदौ, काठमाडौं । बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै भन्यो, ‘डेंगु नियन्त्रण बाहिर गइसक्यो ।  मन्त्रालय एक्लैले नियण्त्रण गर्न सक्दैन ।’  उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले थपे, ‘डेंगु नियन्त्रण गर्नका लागि सेना प्रहरी परिचालन गर्नुपर्ने अवस्था आइसक्यो ।’

मन्त्रीको यो अभिव्यक्तिबाट थाहा हुन्छ, डेंगुको संक्रमण कति डरलाग्दो भइसक्यो । मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल डेंगुले प्रकोपको रुप लिएकाले नियन्त्रण गर्न कठिन भएको सुनाउँछन् ।

डेंगु गत जेठमा धरान नगरपालिकाबाट फैलिएको थियो । डेंगु हाल ४२ जिल्लामा पुगेको छ । अहिलेसम्म १५ सय ३७ जना डेंगुबाट संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । यो ११ भदौसम्मको तथ्यांक हो ।

डेंगुबाट प्रदेश नम्बर १ मा ५ सय ६३ जना संक्रमित हुँदा प्रदेश नम्बर ३ मा ५ सय ५९ जना छन् । कर्णाली प्रदेशमा अहिलेसम्म डेंगु देखिएको छैन । सबैभन्दा कम डेंगु देखिएको सुदूरपश्चिम प्रदेशमा पनि ६ जना संक्रमित भएका छन् ।

डेंगुबाट संक्रमित भएकाहरु यो भन्दा बढी हुन सक्ने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । किनकी यो डेंगुको शंका लागेर अस्पताल पुग्नेहरुको मात्र तथ्यांक हो ।

सन् २०१६ मा चितवन र झापामा डेंगुको यस्तै प्रकोप फैलिएको थियो । चितवनमा ६८५ र झापामा ३६७ जनामा डेंगुका बिरामी भेटिएका थिए । २०१७ मा २१ जिल्लाबाट २१ सय ११ जना संक्रमित भएका थिए । यसरी डेंगुको प्रकोप वर्षेनी बढ्दो छ ।

२०१६ मा गरिएको अध्ययन अनुसार झापाको दमकमा धेरै जनामा ‘एईअल्बोपिक्टस’ जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण भएको पाइएको थियो । बिरामीहरूमा डेन–१, डेन–२ र डेन–३ भाइरस देखिएको थियो । यो वर्ष धरानमा देखिएको डेंगुबाट संक्रमित भएकाहरुमा डेन–२ प्रकारको भाइरस भेटिएको छ ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर  अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

डेंगु विश्वभरकै समस्या

विश्व स्वास्थ्य संगठनको ( डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ । हालैको आंकलनअनुसार विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ  ।

डब्लुएचओका अनुसार गएका ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणबाट ज्यान गुमाउँछन् । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन्।

विश्वस्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ। यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरेको छ ।

 के हो डेंगु ?

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।

डेंगु लाग्दा रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ ।

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

 ‘ओ ब्लड ग्रुप’ भएका व्याक्तिहरु लामखुट्टेका टार्गेटमा

जर्नल अफ मेडिकल एटोमोलजीमा प्रकाशित एक अनुसन्धानअनुसार, ‘ओ’ रगत समूह भएकाहरुतर्फ लामखुट्टे सबैभन्दा बढी आकर्षित हुन्छन् । यसपछि ‘ए’अनि ‘बी’ रगत समूहलाई आफ्नो निसाना बनाउँछन् । उक्त अध्ययनको दाबीअनुसार, ‘एबी’ रगत समूह भएकाहरूलाई सबैभन्दा कम लामखुट्टेले टोक्ने गरेको छ ।

जर्नल इन्फेक्सन जेनेटिक्स एन्ड इभोल्युसनमा प्रकाशित अध्ययनअनुसार ‘ह्युमन ल्युकोसाइट एटिजेन’ जिन नै लामखुट्टेको टोकाइको जिम्मेवार हुन्छ । यो जिनको प्रभाव शरीरको गन्धमा पर्छ । यो गन्धले गर्दा लामखुट्टे बढी आकर्षित हुन्छन् ।

एनल्स अफ ट्रपिकल मेडिसिन एन्ड प्यारासिटोलजीमा प्रकाशित लेखका अनुसार बुढापाका र बालबालिकाको तुलनामा गर्भवति महिलातिर लामखुट्टे बढी आकर्षित हुने गरेको छ । गर्भको समय महिलाहरुमा ‘मेटाबोलिज्म’ बढी हुने भएकाले उनीहरुलाई लामखुट्टेले टोक्ने गरेको हो ।

कसरी गरिन्छ उपचार ?

सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।

क्लासिक डेंगु आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुनसक्छ ।

डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन ।

डेंगु ज्वरोका बिरामीहरुलाई रहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

 बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

ईपिडिमियोडोलोजी तथा रोग महाशाखा केन्द्रका अनुसार डेंगुबाट विशेषगरी बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरु शतर्क रहनुपर्छ । बेलैमा उपचार पाए डेंगुबाट मानिसहरुले ज्यान गुमाउनुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment