Comments Add Comment

सांसद उपेन्द्र घिमिरे भन्छन्–मोरङमा वन फडानी बढ्यो

२७ भदौ, विराटनगर । प्रदेश–१ का सत्ता पक्षका सांसद उपेन्द्र घिमिरेले मोरङमा जथाभावी वन फडानी बढेको बताएका छन् ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले मोरङमा लागू भएको वैज्ञानिक वन व्यवस्थानको नाममा जंगल माफियको मिलोमतोमा जथाभावी वन फडानी गर्ने क्रम बढेको बताए ।

अनावश्यक रुपमा सालका रुख काटिएको भन्दै सांसद घिमिरेले तत्तकाल सो कार्यको अनुगमन गरी गलत कार्यलाई रोक्न सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘घाटगद्दीमा राखिएका काठ उपभोक्ताले पाउनुको सट्टा वन माफियाको काठ मिलमा पुग्ने गरेको छ,’ सांसद घिमिरेले भने, ‘यसको अनुगन गर्न प्रदेश सरकारसंग माग गदर्छु ।’

मोरङमा ७७ वटा वन समूह रहेकोमा वैज्ञानिक वन व्यवस्थापन लागू गरिएका २४ वटा सामुदायिक वन र साझेदारी वनले वनविनास मात्र बढाएको उनको भनाइ थियो ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा यो वर्ष संरक्षण गरिएका वनबाट ७ लाख सेफ्टी काठ निकालेको तथ्याङ्गक उनले प्रस्तुत गरे । त्यस मध्ये ४ लाख ८२ हजार सेफ्टी काठ बिक्री भएको उनको भनाइ थियो । ती काठ पनि उपभोक्ताको हातमा नपुगेको भन्दै उनले जंगल माफिया पोष्ने काम भएको दाबी गरे ।

प्रदेश सांसद उषकला राईले बजेट विनियोजनमा विभेद गरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षग गराइन् ।

उनले प्रदेश सरकारले पहाडी क्षेत्रमा कम बजेट विनियोजन गरी शहरी क्षेत्रमा बढी बजेट विनियोजना गरेको आरोप लगाइन् । पहाडको विकासका लागि आवश्यक बजेट विनियोजन गनु पर्ने उनको भनाइ थियो ।

प्रदेश सांसद बसन्ती देवी यादव र राजकुमार ओझाले थारु र यादव समुदायका महिलाको महान पर्व जितियामा सार्वजनिक विदा दिनु पर्ने माग राखेका थिए ।

प्रदेश सभाको बैठकमा सार्वजनिक निजी साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएको छ ।

आन्तरीक मार्मिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभा बैठकमा पेश गरेको विधेयक सर्वसम्मत पारित भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment