Comments Add Comment

पोखराका पाटनहरुः न पिङ न चंगा

२० असोज, पोखरा । पोखरा प्रकृति र तालको शहरमात्रै होइन । पोखरा हिमाललाई शीरमा राखेर बस्ने शहरमात्रै पनि होइन । पाटनै पाटनको शहर पनि हो । मालेपाटन, गैह्रापाटन, मियापाटन, मझेरीपाटन, फलेपाटन, घारीपाटन, छोरेपाटन । यस्ता दर्जनौं पाटनहरु पोखरामा छन् ।

तर अहिले नामको पाटनहरु त छन् तर, पाटनहरमखा खुला र फराकिलो चौरहरु भने छैनन् । पोखराका सामाजिक चिन्तक विश्व सिग्देललाई दशैंका बेला बढी पाटनहरुको खुब याद आउँछ । दशैंमा नै पाटनहरुको याद आउने कारण हो, पिङ र चंगा ।

उनकाअनुसार पाटनहरुमा दशैंको बेला उत्सव नै हुन्थ्यो, पिङ खेल्ने र चंगा उडाउनेहरुको । ‘पोखराको कुनै पाटन हुँदैनथ्यो, जहाँ पिङ र चंगा उडाउनेका भीड नलागोस्,’ सिग्देल पुराना दशैंका स्मृतिहरु सुनाउँछन्, ‘जब पाटनहरुमा पिङ बनाउन युवाहरु कस्सिन्थे । अनि दशैं आए जस्तो हुन्थ्यो । सबै जना चंगा उडाउँदै रमाउँथे ।’

अहिले पाटनहरुमा मान्छेहरुको भीड लाग्दैन । चंगाहरु उड्दैजन् । अनि पिङमा रमाइरहेका तन्नेरीहरु पनि भेटिँदैनन् । किनकी अधिकांश पाटनहरु जनताको पहुँचमा छैन ।

अधिकांश पाटनहरु सरकारले ओगट्यो । कतिपय आइएनजीओले हत्याए । कतिपय पाटन व्यक्तिको अतिक्रमणको चेपेटामा पर्‍यो । ‘अनि कहाँ खेल्नु पिङ, कहाँ उडाउनु चंगा ?’ सिग्देल सुनाउँछन्, ‘मान्छेहरु भेला हुने ठाउँकै अभावमा पनि सांस्कृतिक पर्व सामूहिक उत्सव मनाउने र सुख दुःख साटासाट गर्नबाट वञ्चित भए ।’

पोखरामा तीन किसिमका पिङ हालिन्थे । लिंगे पिङ, चौराली पिङ (अन्त रोटे पिङ पनि भनिन्छ) र जाँते पिङ । ४ देखि १२/१६ पिर्केसम्मको चौराली पिङ पोखरामा हुन्थे ।

पिङ हाल्ने र चंगा बनाउने, उडाउने तयारी सुरु भएपछि बल्ल दशैं सुरु भएको महसुस हुने अनुभव छ, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठको । ‘खुला ठाउँ र चौर भएका पाटनमा पिङ खेल्न र चंगा उडाउन जति सजिलो थियो अब धेरै गाह्रो भयो,’ तीर्थ भन्छन्, ‘घरका छतबाट चंगा उडाउँदा कति दुर्घटना भएका खबर सुनेकै छौं । चंगा उडाउनकै निम्ति पनि खुला चौर भएन । अग्ला घर बाधक भए ।’

कोलपाटन क्षेत्रमा मात्रै ३ थरिका पिङ १०/१५ ठाउँमा हालेको सम्झन्छन्, स्थानीय तथा संस्कृति संरक्षक तारा पाखे ।

पाटनमा हालिने पिङ र त्यहाँ हुने रमाइलो क्षण अहिले पनि उनको मस्तिस्क वरिपरी घुमिरहन्छ । ‘पिङमात्रै हालिँदैनथ्यो । तन्नेरीहरु जम्मा हुन्थे । अन्य पाटनहरुबाट मान्छेहरु पनि आउँथे । नाचगान हुन्थ्यो,’ संस्कृति संरक्षक तारा विगत सम्झिए, ‘जनकवि केशरी धर्मराज थापा, लोकविक अलि मियाहरुले पिङ भएका ठाउँमा पुगेर गीतसमेत गाउँथे । उनीहरु हामीमाझ रहेनन्, संस्कृतिहरु पनि हराउँदै गए ।’

चंगा त नयाँ पुस्ताले देख्नै छाडिसकेको र पहिलेजस्तो उत्सवको अन्त्य भइसकेको पुराना पुस्ताका पोखरेलीको अनुभव छ । पोखरा पहिलेजस्तो रहेन

सामाजिक अभियान्ता सिग्देललाई पोखराको महेन्द्रपुल र पालिखेचोकसम्म सेतीको ढिल र फुलबारीमा रहेको पाटनबाट चंगा उडाउनेहरुको ठूलो भीड र प्रतिस्पर्धाको सम्झना ताजै छ । फूलबारीको पाटन अहिले नेपानी सेनाले प्रयोग गरिरहेको छ । जहाँ पोखराका मान्छेहरुले हाट, बजार, मेला भर्नेदेखि पिङ खेल्ने, चंगा उडाउनेसम्म गर्थे ।

‘सुरुमा एक छेउमा नेपाली सेना आएर बस्यो, जनताले ठिकै माने’ सिग्देलले भने, ‘त्यही सेनाले स्थानीय भेला हुने, चाडपर्वमा रमाउने थलो बनेको झण्डै साढे २ सय रोपनी जग्गा कब्जा गर्‍यो । अनि वर्षौंदेखि त्यहाँको माटो र पाटनसँग जोडिएको सम्बन्ध टुट्यो ।’

एकापट्टी महेन्द्रपुल, पालिखेचोक र अर्कोतिर फूलबारी बीचमा सेती छ । अहिले एकातिर आर्मी क्याम्प छ भने अर्कातिर व्यक्तिले सेतीको डिलसमेत मिचेर घर बनाएका छन् । ‘ठाउँ ठाउँमा त्यहाँ चंगा उडाउन आउँथे । दसैंदेखि ठूला एकादशीसम्म यो क्रम चल्थ्यो । एउटा चंगाले अर्काको चंगालाई खसाउने होड चल्थ्यो,’ सिग्देलले अनलाइनखबरसँग भने, ‘त्यहीँ पिङ हाल्नेदेखि हाटबजारसम्म चल्थ्यो ।’

कवि तीर्थको अनुभवमा महिना दिन अघिदेखि पिङ हाल्ने र चंगा उडाउनेका निम्ति पोखरामा तयारी हुन्थ्यो । ‘चंगामा सीसा जोडेर अरुको चंगा चेट गराएरपछि मान्छेहरु दगुर्दै उत्सव मनाउँथे,’ तीर्थ ती दिन सम्झन्छन्, ‘ऊ त्यो बगरबाट आएको चंगा, ऊ त्यो तेर्सापट्टीबाट, ऊ त्यो चंगा चाहिँ महेन्द्रपुलबाट भन्ने हुन्थ्यो । अब कहाँ तीन रहे ।’

अहिले पोखरामा कताकति मात्रै लंगे पिङ देखिन्छ । चंगा त नयाँ पुस्ताले देख्नै छाडिसकेको र पहिलेजस्तो उत्सवको अन्त्य भइसकेको पुराना पुस्ताका पोखरेलीको अनुभव छ । पोखरा पहिलेजस्तो रहेन । गगनचुम्बी महल र कंक्रिटका जंगलले भरिएपछि पुरानो पोखरा छैन, सांक्षीमात्र छन् । खेल्नसमेत खुला चौर पाउन मुश्किल परिसकेको पोखराले पुरानो संस्कृति हराउँदै गएकोमा पाकापुस्ता चिन्तित छन् ।

पोखरामा किन हरायो त चंगा र पिङ ?

पुराना पुस्ताको मस्तिस्कमा घुमिरहने र अहिले पनि रोमाञ्चित बनाउने पिङ, चंगा संस्कृति किन हरायो त ?

संस्कृतिकर्मी तीर्थ श्रेष्ठ भन्छन्, ‘नयाँ पुस्तामा हस्तान्तरण प्रक्रिया नै अवरुद्ध भयो ।’ तीर्थ त्यसका पछाडि केही कारण पेश गर्छन् । ‘बस्ती बाक्लियो, तीव्र जनसंख्या वृद्धि भयो । आवश्यकता बढे, खुला चौर मासिए र विकल्पहरु आए र त्यो संस्कार हस्तान्तरण हुनै सकेन’ तीर्थले भने । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न मात्रै सकेको भएसूचना र प्रविधिको यो उच्चतम समयमा पनि पिङमा रमाइरहेका, चंगा उडाइरहेका र चाडपर्वलाई आत्मसात गर्दै हुर्किरहेका अनुज पुस्ता भेटिने उनको भनाइ छ ।

चाड, पर्वका मर्म र संस्कृतिको मूल्यलाई नयाँ पुस्तासम्म पुर्‍याउन नसक्नु र नयाँ नयाँ विकल्पहरुले मौलिक परम्परा हराउँदै गएको विश्वको भनाइ छ । ‘नयाँ पुस्तालाई सामाजिक मूल्य मान्यता, माटोसँगको सम्बन्ध र यसका आयामका विषयमा बुझाउन र हस्तान्तरण गर्न सकेनौं,’ सिग्देल भन्छन्, ‘उपभोगवादी संस्कृति मौलायो । प्राविधिले फड्को मार्‍यो ।’

नयाँ पुस्ताले सिकिरहेको शिक्षालयले पनि यस्ता संस्कृतिलाई हराउन सहयोग पुर्‍याएको सिग्देलको भनाइ छ । ‘शिक्षाका नाममा अंग्रेजी माध्यम र अंग्रेजीका नाममा जबर्जजस्त गृहकार्य गराइयो । घोकन्ते बनाइयो,’ सिग्देल भन्छन्, ‘हाम्रा बाबुनानीहरु प्रकृति, माटो, संस्कृति, परम्परासँग जोडिएनन् । कृत्रिम हिसाबले सिकाइयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment