Comments Add Comment

बाल विवाह : बुवाआमाको रहर, सन्तानलाई कहर

पर्साको बहुदरमाई नगरपालिका-१ का सुरेन्द्र पटेल ३० वर्षका भए । उनी गाउँमै ट्याक्टर चलाएर जिविकोपार्जन गर्छन् । सात सदस्यीय परिवारको पालन पोषणको जिम्मा उनकै काँधमा छ । भर्खर विवाह गर्ने बेला भएको जस्तो देखिने उनी ५ सन्तानका बुवा हुन् । १५ वर्षकै कलिलो उमेरमा उनको विवाह भयो । परिवारमा उनी, श्रीमति र पाँच सन्तान छन् । उनलाई लाग्छ, सानै उमेरमा विवाह नभएको भए जीवनले अर्कै मोड लिन्थ्यो ।

साधारण लेखपढ मात्रै गरेका सुरेन्द्रको चाहाना ट्याक्टर चलाएर जीवन चलाउने हैन । सानै उमेरमा विहे भयो । बालबच्चा जन्मिए, उनीहरुको पालन पोषणका लागि काम गर्नै पर्ने बाध्यता आईपर्‍यो । पढ्ने रहरलाई मारेर उनी जिम्मेवारी पुरा गर्नतर्फ लागे । ‘पढने रहर त थियो तर के गर्ने बाल बच्चालाई कसले हेर्ने ? कसले खान दिन्छ ?’ उनी भन्छन् ।

घरकाले मात्रै नभएर बाहिरकाले समेत बिवाहका लागि प्रलोभन तथा करकापमा पारेको उनी सम्झन्छन् । ‘पहिला बुझिएन, अहिले ढिलो भईसक्यो, नत्र पाँच/पाँच वटा सन्तान किन जन्माइन्थ्यो र ?’ पटेलले भने ।

विवाह गर्दा ख्याल ख्याल गरेजस्तै लागेको थियो उनलाई । अभिभावक तथा अगुवाले सम्झाउँदा आफ्नै भलाईका लागि कुरा गरेजस्तो लागेको थियो । तर, अहिले सम्झेर पछुतो मानेका छन् । ‘पढ्ने बेलामा विवाह गरियो, अहिले पछुतो मानेर के गर्नु ?’ सुरेन्द्र आफैंलाई सम्झाउने गर्छन् ।

पटेल भन्छन, ‘अरुभन्दा पनि बालविवाहका कारण हामीजस्ता गरिब कहिल्यै धन भइन्न । सरकारले सवै काम रोक्न सक्छ । तर, यो बालविवाह किन रोक्न सक्दैन ? बाल विवाहको बारेमा जनचेतना किन जगाइँदैन ? ।’

भावुक हुदै उनी भन्छन् मधेशको विकास गर्नु छ, यहाँ युवाहरुको जिन्दगी राम्रो बनाउनु छ भने बालविवाह रोक्नु पर्छ। होइन भने यस्तै हो ।

बुवाआमाको रहरले कलिलै उमेरमा विवाह गर्ने तराई मधेसमा उनी एक्ला होइनन् । छिमेकी ३३ बषर्ीय विनोद यादवको विवाहको प्रशंग त अझ रमाइलो छ ।

आमाबुवाका एक्लो छोरा । ६ वर्षकै उमेरमा विवाहको कुरा चल्यो । विवाह के हो ? बेहुलालाई थाहा थिएन । आमा विरामी भएपछि घरमा खाना पकाउन समस्या भयो ।

समस्या समाधानका लागि विनोदको बुवाले छोराको विवाह गर्ने जुक्ति निकाले । विनोदको जीवनसंगिनीका रुपमा भन्दा पनि घरमा खाना पकाउनका लागि बुहारी भित्र्याइयो ।

गाउँबाट ५ किलोमिटर उत्तरतर्फको गाउँमा राति जन्ती पुगे । रातीको ११ बजेतिर बेहुला आमाको दूध खाने भनेर रुन थाले । सबैजना मरिमरि हाँसे । बेहुलाले अरु किन हाँसे भनेर त्यतिखेर चालै पाएनन् । विहेको यो घटना सम्झेर विनोद हिजोआज हाँस्न थालेका छन् ।

विहेपछि घरमा गाउँका महिलाले जिस्काएर अब त तिम्रो पनि पुच्छर भयो भन्दा उनले पछाडि र्फकेर हेरेको र खोई पुच्छर ? भनेर सोधेको परिवारका सदस्यहरु बताउँछन् । यी दुवै कुरा सम्झँदा विनोदलाई पनि हाँसो आउँछ । तर, जीवन सम्झदा दुःख लाग्छ ।

अहिले उनी तीन सन्तानका बुवा बनिसकेका छन् । पढाइमा अब्बल नै भए पनि विवाहपछि त्यसले निरन्तरता पाउन सकेन । पेन्टरको काम गर्ने विनोदलाई राम्रोसँग पढ्न पाएको भए दिनभरी घाममा पेन्ट दलेर बस्नुपर्दैनथ्यो भन्ने लाग्छ । बुवाआमालाई खाना पकाउने मान्छे खोज्नेे चक्करमा आफ्नो जिन्दगी अध्याँरो भएको उनी बताउँछन् ।

सुरेन्द्र र विनोद बुवाआमाको रहरले बाल विवाह गर्ने प्रतिनिधि पात्रमात्र हुन् । समाजमा अधिकांशको बालविवाह बुवाआमाको रहरले हुने गरेको छ । घरमा छोरा भए बुहारी र नातानातिनीको मुख हेर्ने रहर छ भन्दै आमाले किचकिच गर्ने र छोरी छ भने दाइजो बढी लाग्ने भो भन्दै बुवाले दवाव दिने । त्यहीबाट शुरु हुन्छ बालविवाहको कहानी ।

छोरीछोरी विवाहका लागि शारीरिक र मानसिक रुपमा तयार छन की छैनन ? उनीहरुले आफ्नो जीवनका लागि कस्तो योजना बनाएका छन ? उच्च तहसम्म अध्ययन कसरी गराउने ? भन्दा पनि विवाह कहिले गर्ने ? कसरी गर्ने, कति खर्चमा गर्ने भन्नेतिर मात्र बुवाआमाको ध्यान हुने गर्दछ । छोरीछोरीको भविष्यलाई समेत हेरेर विवाह गर्ने वा उनीहरुको ईच्छा अनुसार विवाह गर्ने परिपाटीको विकास हुन नसक्दा धेरैको जीवन कष्टकर बनेको छ ।

अब विवाहको लघन शुरु हुँदैछ । किसान भनौं वा गाउँका मानिस, पूर्णरुपमा अहिले फूर्सदिला छन् । धान काटने बेला भएको छैन, अरु कुनै काम छैन । कतिपयको काम कसका छोरा वा छोरीलाई जोडी बनाउने भन्नेमै बित्छ । विवाह गराउने (लमी बन्ने) कामलाई प्राथमिकतामा राखेर केटाकेटी देख्नेवित्तिकै परिवारमा विवाहको कुरा चलाउँछन् । यताको कुरा उता र उताको कुरा यता गरेर विवाहका लागि माहोल बनाउन लागि पर्छन् । केटाकेटी मानेनन् भने पनि अनेक बहाना बनाएर मनाउने जुक्ति उनीहरुसँग हुन्छ । केटाका बाआमालाई दाईजोको लोभ देखाउँछन् भने केटीको बाउआमालाई केटा राम्रो भएको तथा केटाको परिवारसँग भएनभएको सम्पतिको लोभ देखाउँछन् । गाउँघरमा छोराछोरीको पढाइ, स्वास्थ्य अवस्थाका बारेमा भन्दा पनि विवाहको चर्चा परिचर्चा बढी हुन्छ ।

भोटका लागि भन्दा पनि समाज परिवर्तनका लागि कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । अन्यथा बुवाआमाको बुहारी भित्र्याउने र नातिनातिना खेलाउने रहर सन्तानका लागि सँधै कहर बनिरहन्छ

बालविवाहका अर्काे प्रमुख कारण देखासिकी पनि हो । छिमेकीको घरमा यसवर्ष कसैको विहे भयो भने आफ्नो घरमा भएका छोराछोरीको विवाह गर्ने पर्ने । होईन भने उ फलानोको घरमा त बुहारी आयो मेरो घरमा कहिले बुहारी आउने, मैले कहिलेसम्म भात पकाए खुवाउने ? भन्दै आमाको किचकिच शुरु भईहाल्छ । आफ्नो दिदिको दुःख हर्न मामा अघि सर्छन । भन्जाको लागि केटी खोज्न शुरु गर्छन् ।

परम्परादेखि चल्दै आएको यस्तो चलन संस्कार नभई कुसंस्कार बनेको छ । बुवाआमाको बुहारी भित्र्याउने हतारोले बावविवाहले निरन्तरता पाईरहेको छ । तराई मधेसका युवापुस्तामा त्यसको प्रतिकुल असर परेको छ । बालविवाहले मानिसलाई एउटा सक्षम मानव बन्न दिँदैन । सकेसम्म छोराछोरीलाई पढाउँदै नपढाउने, पढाइहाले पनि छोरीलाई नपढाउने, दुवैलाई पढाए पनि कमै उमेरमा विवाह गरिदिएर अधुरो पारिदिने हुँदा उनीहरु सक्षम नागरिक बन्ने अवसरबाट बञ्चित छन् ।

बालविवाह गैरकानुनी भएपनि बालविवाह कायम छ । यसको दुश्प्रभाव धनी वर्गमा भन्दा बढी दलित र विपन्न वर्गमा छ । एक त गरिवीका कारण पढाइमा समस्या त्यस माथि कम उमेरमा विवाह । जीवन नर्क जस्तै बन्छ । उपरी माथि थुपरी भने जस्तै समस्या माथि समस्या थपिन्छ । जिन्दगी के हो बुझनै नपाई विवाहको कुराले मानसिक तनाव झेल्न बाध्य छन युवा । बालविवाहका कारण जीवन नर्क बनेको धेरैको अनुभव छ । पढेर केही गर्छु भनेर सोचेको तर कमै उमेरमा विवाह हुँदा ईटटा मसालाको काम गरेर जीवन विताउनु परेको गुनासो गर्ने बहुदरमाईमा धेरै भेटिन्छन् । एक त गाउँघरमा पढाई राम्रो छैन पढन शुरु गर्‍यो कक्षा ८ मा नपुग्दै विहेको कुरा शुरु हुन्छ, अनि कसरी पढ्नु ?

बालविवाहको नकारात्मक प्रभाव बाहिर कम देखिए पनि भित्रीरुपमा भयावह छ । प्रदेश नं २ शिक्षामा पहिलादेखि नै कमजोर छ । शिक्षामा कमजोर हुनुको पछाडिको कारण वालविवाह पनि एक हो । बाल विवाहकै कारण बीचमा पढाई छोड्ने धेरै छन् ।

पछिल्लो समयमा कमै उमेरमा भागेर विवाह गर्ने चलन पनि बढेको छ । विवाहपछि पारिवारिक बोझ बढ्नु स्वभाविक हो । त्यसलाई धान्नका लागि काम गर्नै पर्‍यो । पढाई र हातमा सीप नभएपछि शहरमा ज्याला मजदुरी गर्नुको विकल्प छैन । यो अवस्थालाई परिवर्तन गर्न अब स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ ।

भोटका लागि भन्दा पनि समाज परिवर्तनका लागि कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । अन्यथा बुवाआमाको बुहारी भित्र्याउने र नातिनातिना खेलाउने रहर सन्तानका लागि सँधै कहर बनिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment