Comments Add Comment

महिला टि–२० लिगमा रुबिना र ज्योतिको अर्धशतक

३० असोज, काठमाडौं । काठमाडौंमा सुरु भएको महिला च्याम्पियन्स लिग क्रिकेटको दोस्रो दिन दुई ब्याट्सउमनले अर्धशतक प्रहार गरेका छन् । राष्ट्रिय महिला टिमकी कप्तानसमेत रहेकी रुबिना क्षेत्री र ज्योति पाण्डेले अर्धशतकीय पारी खेल्दै आफ्नो टिमलाई जिताएका हुन् ।

महिला क्रिकेटकै इतिहासमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज लिगमा बिहीबार क्याट क्वीन्स काठमाडौं र पोखरा पल्टन भिडेका थिए । आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग हार ब्यहोरेको काठमाडौंले त्यसको झोक पोखरामाथि खन्यायो ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी रुबिनाले कप्तानी पारी खेलिन् । ४७ बलमा अर्धशतक पूरा गरेकी कप्तान उनले अविजित ८३ रन बनाएकी थिइन् । ६७ बलको सामना गरेकी उनले १४ चौका र दुई छक्का प्रहार गरिन् ।

सन् २००९ मा मलेसियामा भएको एसीसी महिला टी–२० च्याम्पियनसिप प्रतियोगिताबाट राष्ट्रिय टिममा प्रवेश गरेकी रुविना सन् २०१२ मा भएको महिला टी–२० एसिया कपदेखि राष्ट्रिय टिमकी कप्तान बनेकी हुन् । प्रतियोगिताको प्रारम्भमै उनमा रनको भोक देखिएको छ ।

२७ बलमै ज्योतिको अर्धशतक

ज्योति पाण्डे घरेलु महिला क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने क्रिकेट खेलाडी बनेकी छिन् । विराटनगर टाइटन्सकी ज्योतिले बिहिबारको खेलमा ललितपुर फाल्कोन्सविरुद्ध २७ बलमै अर्धशतक पूरा गरिन् ।

आफ्नो टिमलाई पहिलो खेलमा जित दिलाउन मुख्य भूमिका खेलेकी ज्योतिले ४३ बलमा ६५ रन बनाएकी थिइन् । यस क्रममा उनले १० चौका र एक छक्का प्रहार गरिन् । ज्योतीले सोनु खड्कासँग पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरिन् ।

ज्योति नेपाली राष्ट्रिय महिला टिमको महत्वपूर्ण सदस्यका साथै ओपनर ब्याट्सउमन हुन् ।

रुविना र ज्योतिको अर्धशतकले नेपाली महिला खेलाडीहरुरु पनि प्रतिभावान छन् भन्ने कुरा प्रष्ट पारेको छ । अवसर र प्रतियोगिता नहुदा महिला क्रिकेट खेलाडीको प्रतिभा ओझेलमा पर्ने गरेको थियो । त्यसमा महिला क्रिकेटरलाई पहिलो पटक आयोाजना भएको फ्रेन्चाइज लिगले केहि हदसम्म राहात दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment