Comments Add Comment

बारामा छोरीले दिइन् आमालाई दागबत्ती

१९ कात्तिक, वीरगञ्ज । मुलुक संघीय गणतन्त्रमा गइसकेपछि समाजमा साँस्कृतिक बदलावसमेत देखा पर्न थालेको छ । आफन्तको मृत्यु हुँदा दाहसंस्कारमा महिला सहभागी नहुने गरेकोमा कतिपयले त्यो सामाजिक परम्परालाई तोडेर अगाडि निस्किन थालेका छन् ।

महिलाले मलामी जाने मात्रै नभएर दागबत्तीसमेत दिन थालेका छन् । हिन्दु समाजमा दागबत्ती दिन छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यता छ ।

तर त्यो सोचलाई चिर्दै बाराको जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीका दुई जना छोरीहरुले दाईसँगै आमा मनकुमारी पुडासैनीलाई दागबत्ती दिएका हुन् ।

९३ बर्षिया पुडासैनीको सोमबार निधन भएको थियो । छोरीहरु यशोदा लुइँटेल, शारदा अधिकारीले दाजु कृष्णप्रसाद पुडासैनीसँगै आमालाई दागबत्ती दिएका हुन् ।

छोराले आमाको काज किरिया गरेनन्

०३१ सालतिरै पुष्पलाल समूहमा लागेर कम्युनिष्ट आन्दोलनमा होमिएका कृष्णप्रसाद पुडासैनी साँस्कृतिक रुपान्तरणका पक्षपाती हुन् । उनले दाहसंस्कारपछि आमाको किरिया बसेनन् । कपाल खौरनेलगायत मृत्युपछि गरिने अन्य संस्कारकोविरुद्ध उनी खडा भए ।

मृत्युपछि समाजलाई देखावटी रुपमा माया ममता देखाउनुको कुनै अर्थ नहुने उनको तर्क छ ।

‘आमा बुवा जिउँदो हुँदा माया गर्नुपर्छ, मन लागेको खान लाउन दिनुपर्छ, जिउँदोमा गरेको सेवा नै धर्म हुनेछ,’ उनले भने, ‘जिउँदोमा सेव गर्न कन्जुस्याँई गर्ने अनि मृत्युपछि लोकलाई देखाउन काज किरिया गर्ने पिण्ड दिने गरिन्छ । मलाई त्यो गलत लाग्छ । मरेपछि दिएर केहि हुँदैन ।’

०६३ भदौमा बुवाको मृत्यु हुँदा पनि कृष्णले किरिया गरेका थिएनन् । त्यसबेला निकै आलोचना सहनुपरेका बताउने उनी आमाको मृत्युपछि किरिया नबस्दा कम आलोचना भएको बताउँछन् । समाज बदल्न पहिला आफैं बदलिनुपर्छ भन्ने बुझेपछि काज किरिया र तिथि श्राद्ध गर्न छोडेको उनले सुनाए ।

‘समाजमा पुरानो संस्कार जकडीएको छ । १२/१४ दिन काम व्यवसाय बन्द गरेर किरिया बस्दा कति नोक्सानी हुन्छ । बरु प्रत्येक नेपालीले एक घण्टा काम बढाएर गर्दा मुलुक समृद्ध बनाउनुपर्छ,’ पुडासैनी भन्छन्, ‘मरेपछि काज किरिया र तिथि श्राद्ध आवश्यक छैन मानिसलाई समाजले पानी बार्छ, तिरस्कार गर्छ भन्ने भय छ । समय लाग्ला तर परिवर्तन त अवश्य हुन्छ ।’

झण्डै १५ बर्ष पुष्पलाल समूहमा सक्रिय राजनीति गरेका पुडासैनी ०४६ सालपछि ३ वर्ष एमालेमा, त्यसपछि माले, माओवादीमा आवद्ध भएर राजनीतिक क्रियाकलापमा सहभागी हुन्थे । तर अहिले कम्युनिष्ट पार्टीको समर्थक मात्रै रहेको बताउँछन् । ‘कम्युनिष्ट सोच हटेको छैन तर राजनीतिमा सक्रिय पनि हैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment