Comments Add Comment

उपसभामुखलाई राजीनामा गराउने तयारी, सभामुख चयन उपचुनावपछि मात्र

उपसभामुख कांग्रेसलाई नदिने नेकपाको रणनीति

२१ मंसिर, काठमाडौं । कृष्णबहादुर महराको राजीनामालगत्तै पत्रकारको प्रश्नमा सुवास नेम्वाङले भनेका थिए– म सभामुखको दाबेदार होइन । लगत्तै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले भावी सभामुखका बारेमा सार्वजनिक प्रतिक्रिया व्यक्त नगर्न सुझाएपछि उनी केही समययता मौन छन् ।

नेम्वाङ मौन रहे पनि नेकपाभित्र सभामुखका दावेदारको लबिङ भने तिब्र ढंगले भइरहेको छ । सभामुखको लबिङमा सबैभन्दा अग्रपंक्तिमा उपसभामुख शिवमाया तुम्बाहाम्फे, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटी सदस्य अग्नि सापकोटा, पम्फा भुसाल र लेखराज भट्ट रहेको नेकपा स्रोतले जनाएको छ ।

सभामुखमा कसलाई अघि सार्ने भन्ने बारेमा पार्टीभित्र भने अनौपचारिक छलफल पनि शुरु नभएको नेकपाका एक सचिवालय सदस्यले बताए । लबिङका लागि आउने नेताहरुका कुरा सुन्ने बाहेक शीर्षनेताले कसैलाई पनि आश्वासन नदिएको र दुई अध्यक्षको तहमा अहिलेसम्म त्यसबारेमा छलफलसमेत नभएको ती नेताले बताए ।

प्रतिनिधिसभा सभामुखविहीन भएको एक महिना पुगिसकेको छ । अझै कम्तिमा एक महिना सभामुखविहीन नै हुने समेत निश्चित छ । सरकारले मंसिर १४ को उपनिर्वाचनपछिमात्र संसदको अधिवेशन आह्वान गर्ने भएको छ । संसद अधिवेशन मंसिरको तेस्रो साता आह्वान हुने र मंसिर महिनाभित्रै नयाँ सभामुख र उपसभामुख निर्वाचित हुने एकजना मन्त्रीले बताए ।

उपसभामुखको राजीनामा

संसद अधिवेशनअघि नै उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी नेकपाको छ । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक बाध्यता रहेकाले नेकपाबाट सभामुखको उम्मेदवारी दिनुअघि उपसभामुखलाई राजीनामा गराउनुपर्नेछ । तर, तुम्बाहाङफेले भने आफू सभामुख हुने निश्चित नभई उपसभामुखबाट राजीनामा नदिने बताउँदै आएकी छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुखलाई राजीनामा गराउनेबारे औपचारिक प्रतिक्रिया दिएनन् । तर, संसद अधिवेशनअघि नै उपसभामुखले राजीनामा दिएमा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गरेर निर्वाचन प्रक्रियामा जानुपर्ने बताए । यही विकल्पमा छलफल भइरहेको उनले स्वीकार गरे ।

नेकपा स्रोतका अनुसार दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्ने समझदारीपछिमात्र शिवमायाको राजीनामा आउनेछ । उसै पनि संसद अधिवेशनअघि राजीनामाको आवश्यकता छैन । उपचुनावअघि सभामुखको बारेमा नेकपाले निर्णय गर्ने सम्भावना छैन । यद्यपि शीर्ष तहमा अनौपचारिक छलफल भने हुनेछ ।

नेम्वाङ बन्लान् छैटौं पटक ?

२०६२÷६३ को जनआन्दोलनपछि हुर्किएको पुस्तामा सभामुख भनेकै सुवास नेम्वाङ र सुवास नेम्वाङ भनेकै सभामुख भन्ने छाप परेको छ । यसबीचमा दुईजना सभामुख भइसके पनि पाँचपटक सभामुख भइसकेका नेम्वाङको छवि सभामुखकै छ । उनी अन्तरिम व्यवस्थापिका संसददेखि दोस्रो संविधानसभासम्म करीव १० वर्षको अवधिमा पाँच पटक सभामुख भएका थिए ।

यसपटक पनि महराको बाध्यात्मक बहिर्गनमनसँगै सभामुखमा सुवास नेम्वाङको चर्चा भयो । तर, उनले आफू सभामुख हुन इच्छुक नरहेको बताए । पार्टी संसदीय दलको उपनेताका हैसियतमा नेम्वाङ प्रधानमन्त्री ओलीको ‘कोर टीम’भित्र पर्छन् । बालुवाटारमा हरेक बैठक र कार्यक्रममा प्रधानमन्त्रीसँगै देखिने नेम्वाङ ओलीको पहिलो घेराभित्रका नेता मानिन्छन् ।

संसदीय दलको नेता ओली भए पनि सत्तापक्षका सांसदहरुको समन्वयदेखि सरकार र संसदबीचको भूमिकामा पनि नेम्वाङकै सक्रियता रहन्छ । पार्टी स्थायी कमिटी सदस्य समेत रहेका उनी अहिलेकै भूमिकामा शन्तुष्ट देखिन्छन् । उनले यसअघि मन्त्री बन्न प्रधानमन्त्रीले आग्रह गर्दा अश्वीकार गरेका थिए ।

दुवै अध्यक्षले आग्रह गरेको अवस्थामा बाहेक नेम्वाङ सभामुख बन्ने लबिङमा छैनन् । यद्यपी प्रधानमन्त्रीको चाहना उनलाई सभामुख बनाउँदा संसद सन्चालनमा सहज हुने र आफूलाई सहयोग हुने भन्ने छ । यसअघिका सभामुख महरासँग प्रधानमन्त्री सन्तुष्ट थिएनन् । त्यसैले महराप्रति सरकार कठोर बनेको आरोप समेत उनी निकटस्थहरुले लगाउने. गरेका छन् ।

नेम्वाङ आफैंले भने निकटस्थहरुसँग पाँच पटक सभामुख भइसकेकाले रुची नरहेको बताउने गरेका छन् । भूमिकाको हिसाबले सभामुख भन्दा अहिले आफू प्रभावशाली भूमिकामा रहेको उनको भनाइ छ । दुवै अध्यक्षले आग्रह गरेको अवस्थामा बाहेक आफू सभामुखका लागि इच्छुक नरहेको उनले बताउने गरेका छन् ।

पछिल्लो समय प्रचण्डले सरकार आलोपालो गर्ने सहमति इतिहासको कुरा भइसक्यो भन्नु र प्रदेश प्रमुख तथा उपनिर्वाचनका टिकट वितरणमा ओलीले प्रचण्डलाई सन्तुलनमा राख्नुले कतै नेम्वाङलाई पुनः सभामुख बनाउन खोजिएको त होइन ? भन्ने प्रश्न पनि नेकपाका नेताहरुबीच उठिरहेको छ । यद्यपी प्रचण्ड भने आफ्नै पूर्व समूहका नेतालाई सभामुख बनाउने दबाबमा छन् ।

पूर्वएमालेबाट सभामुख बनाउँदा नेम्वाङ बाहेक अरुको सम्भावना नरेहेको पूर्वएमालेका नेताहरु बताउँछन् । उपसभामुख शिवमायाको व्यवस्थापन अन्यत्रै गरिने नेकपा नेताहरुको भनाइ छ । शिवमाया र नेम्वाङबीच पारिवारिक नाता समेत छ । उनीहरु दुवैजना ओली निकट रहेकाले समस्या छैन ।

पूर्वमाओवादीको प्रचण्ड समूहबाट लेखराज भट्ट र अग्नि सापकोटा सभामुखका प्रमुख दाबेदार हुन् । अग्निको लबिङ लेखराजको भन्दा बलियो देखिन्छ । प्रचण्डसँग अग्नि निकट रहे पनि लेखराजलाई सभामुख बनाउन उत्तिकै दबाव छ । प्रमुख सचेतक देव गुरुङले पनि सभामुखका लागि तीब्र लबिङ गरेका छन् । उनी रामवहादुर थापा बादल समूहका हुन् ।

पूर्वमाओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती पनि सभामुखको दाबेदार हुन् । तर, उनी आफैंले सभामुखको दाबेदार नरहेको बताएकी छन् । नेकपा प्रदेश ५ को अध्यक्ष रहेकी घर्ती सभामुखको लबिङमा छैनन् । प्रधानमन्त्री, सभामुख जस्ता पद प्रत्यक्ष निर्वाचित सांसदबाटै हुने प्रचलनभन्दा बाहिरबाट सभामुख नआउने एक नेताले बताए ।

उपसभामुख कांग्रेसलाई नदिने

संविधानअनुसार सभामुख नेकपाको भएपछि उपसभामुख फरक दलको महिला हुनुपर्नेछ । शिवमाया तुम्बाहम्फेले राजिनामा दिइसकेपछि संसदमा सभामुख र उपसभामुखको निर्वाचन एकैपटक हुनेछ । त्यो अवस्थामा फरक दललाई उपसभामुख दिन नेकपा बाध्य हुनेछ ।

सभामुखकै बारेमा छलफल नभएकाले उपसभामुख कसलाई दिने भन्नेबारेमा नेकपामा कुनै चर्चा छैन । तर, प्रमुख विपक्षी नेपाली कांग्रेसले भने उपसभामुख नपाउने नेकपाका एक नेताले बताए । त्यो अवस्थामा उपसभामुख राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल हुने बढी सम्भावना छ ।

नेकपाकै सहयोगका प्युठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी पौडेलप्रति प्रधानमन्त्री ओली पनि सकारात्मक छन् । वयोवृद्ध कम्युनिस्ट नेता मोहनविक्रम सिंहकी पत्नीसमेत भएका कारण उपसभामुखमा दुर्गाको लगभग निश्चत रहेको नेकपा स्रोतले जनाएको छ । जनमोर्चासँग उपचुनावमा पनि नेकपाको तालमेल छ ।

उपसभामुख कांग्रेस वा अन्य दललाई दिन नेकपा अनिच्छुक हुनुको कारण चाहिँ संवैधानिक परिषदको सन्तुलन बिग्रने डर हो । उपसभामुख संवैधानिक परिषदको पनि सदस्य हुने भएकाले नेकपाले पौडेललाई अघि सार्ने सम्भावना छ । मधेशवादी दल समेत विपक्षमा जान सक्ने अवस्थालाई ख्याल गरेर राजमो नेकपाका लागि सहयोगी दल हो ।

संवैधानिक परिषद बैठक पछिल्लोपटक विपक्षी दलका नेता शेरवहादुर देउवाको असहमतिका कारण बस्न सकेको छैन । यसअघि एउटा बैठक देउवाविनै राखेका ओलीले पछिल्लो पटक देउवाले आफू बिना बैठक राखे अमान्य हुने चेतावनी दिएपछि बैठकनै स्थगित गरेका छन् ।

बैठकको अध्यक्षता कसले गर्ने ?

प्रतिनिधिसभा नियमावली अनुसार संसदको बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुखनै नभएको अवस्थामा उपसभामुखले संसदको बैठकको शुरुवात गर्न मिल्ने कि नमिल्ने ? यो प्रश्नमा संसद सचिवालयकै अधिकारीहरु अन्यौलमा छन् ।

तर, पूर्वसभामुख नेम्वाङ भने यो प्रश्नमा अल्मलिन आवश्यक नरहेको बताउछन् । सभामुख रिक्त रहेको अवस्थामा उपसभामुखलेनै सभामुखको काम गर्ने भएकाले बैठकको शुरु र अन्त्य गर्न निमायवलीले नरोक्ने नेम्वाङले बताए ।

उनले त बिधेयक प्रमाणीकरण समेत सभामुख रिक्त रहेको अवस्थामा उपसभामुखले गर्न सक्ने बताएका छन् । तुम्बाहम्फले भने अहिलेसम्म विधेयक प्रमाणिकरण गरेकी छैनन् । सभामुख नहुँदा उपसभामुखले बैठकको शुरु र अन्त्य गरेको नजिर समेत भएकाले बैठक सञ्चालनमा समस्या नआउने सचिवालयका कतिपय अधिकारीले बताएका छन् ।

बिगतमा तारानाथ रानाभाट सभामुख भएकाले उनी विदेश जाँदा उपसभामुख चित्रलेखाले बैठक राखेकी थिइन् । यदि यतिका कारण अप्ठेरोमा भएमा कार्य व्यवस्था परामर्श समितिले पनि निकास दिन सक्ने सचिवालयका एक अधिकारीले बताए ।

नेम्वाङ सभामुख हुन्जेल भने कुनै पनि बैठकको शुरु र अन्त्य आफैैंले गर्थे । संसद अधिवेशन आह्वान लगत्तै उपसभामुखले राजिनामा दिएमा चुनावी प्रक्रियाका लागि जेष्ठ सदस्यका हैसियतले राजपा सांसद महिन्द्र राय यादवले बैठक सन्चालन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment