Comments Add Comment

के ‘गुगल डाक्टर’बाट उपचार सम्भव छ ?

२७ कात्तिक, काठमाडौं । सुनसरीका सागर विककी छोरीलाई क्यान्सर भएपछि कान्ति अस्पताल भर्ना गरियो । कान्ति अस्पतालमा उपचार सुरु नगर्दै उनले गुगललाई प्रश्न सोधे, ‘क्यान्सरको सस्तो र भरपर्दो उपचार पद्धति कुन हुन्छ ?’

गुगलले हजारौं लिंक फालिदियो । अधिकांश लिंकको आशय थियो, ‘आयुर्वेदिक उपचार पद्धति ।’

सागरले गुगललाई फेरि अर्को प्रश्न सोधे, ‘आयुर्वेदिकबाट क्यान्सर ठीक हुन्छ त ?’

गुगलबाट जवाफ आयो, ‘हुन्छ ।’

‘तर सर्तहरू लागू हुनेछन्’ भन्ने गुगलको निर्देशन सागरले यादै गरेनन् । उनी गुगलकै माध्यमबाट एक जना आयुर्वेदिक चिकित्सकको सम्पर्कमा पुगे । त्यो उपचारमा ५ लाख स्वाहा भयो, तर छोरी ठीक भइनन् ।

एनएचएस फाइनान्सियल रेगुलेटरले गरेको अध्ययनअनुसार विश्वको धेरै मानिसहरूले डाक्टरको विकल्पमा गुगल डाक्टरको सहायतामा आफैं उपचार गरिरहेका छन्

सागरले गुगल गर्न छाडेनन् । अर्को सर्चमा बताइदियो, ‘मेटाबोलिक पद्धतिबाट क्यान्सरको उपचार हुन्छ ।’

सागर छोरी लिएर भारत पुगे । मेटाबोलिक उपचार पद्धतिबाट उपचार गर्दा पनि पैसा मात्र सकियो । त्यसपछि उनी गुगल सर्चकै माध्यमबाट हिमाञ्चल पुगे । त्यहाँको आयुर्वेदिक पद्धतिले पनि उनको छोरीलाई निको बनाउन सकेन ।

अहिले कान्ति बाल अस्पताल, महाराजगञ्जमा छोरी उपचार गराइरहेका उनी भन्छन्, ‘सबै कुरा विश्वास गर्न थाल्यो भने गुगलले बर्बादै पार्ने रहेछ । धन्न छोरीलाई बचाउन सकियो ।’

०००

शर्मिला विकलाई महिनावारी हुँदा खपिनसक्नु दुखाइ हुन्थ्यो । खान र शौचालय जानसमेत गाह्रो हुन्थ्यो । उनले आफ्नो पिठ्यूमा डल्लो आएको चिकित्सकलाई बताइन् । चिकित्सकले त्यसलाई ‘ब्याक पेन’ भन्दै मांसपेशीहरूलाई आराम दिन सुझाए । आराम गर्दासमेत अत्यधिक पीडा भएपछि उनी फेरि चिकित्सक कहाँ पुगिन् । तर ‘आइस, सिरोप्राटिक केयर र स्ट्रेचिङ’ केहीले पनि काम गरेन । झन्झट र खर्च मात्रै बढ्यो ।

फेरि अर्को चरणको उपचार सुरु भयो । चिकित्सकले विश्वस्त हुँदै शर्मिलालाई पाठेघरमा ट्युमर भएको घोषणा गरे । तर, उनले केही वर्षअघि त्यही अस्पतालबाट ट्युमर निकालेको कुरा बताउँदा चिकित्सकले आफू ‘झुक्किएको’ प्रतिक्रिया दिए ।

यो ६ वर्ष अगाडिको कुरा थियो । उनको पाठेघर सामान्य स्थानभन्दा तल झरिसकेको थियो । मेडिकल भाषामा ‘ओभारियन टोर्सियन’ भनिने यो अवस्थालाई ‘जटिल केस’ मानिन्छ । जसको उपचार गरिएन भने अवस्था नाजुक हुनसक्छ ।

त्यतिबेला चिकित्सक झुक्किए पनि शर्मिलालाई केही भएन । पछि उनको उपचार सफल भयो । त्यो घटनाले उनलाई ‘चिकित्सककहाँ जानुअघि गुगल सर्च गर्नुपर्छ’ भनेर महसुस भयो ।

त्यसको केही समयपछि रुघाखोकी लाग्यो । घाँटी दुखेर केही निल्न नहुने भयो । टाउको दुख्यो । गुगल सर्च गर्दा सल्लाह दियो, ‘एजिथ्रोमाइसिन र सेफिक्जिम ट्याबलेट पाँच दिन खानुपर्छ ।’

उनी नजिकैको फार्मेसीमा गइन् । फार्मेसीवालाले ‘चिकित्सकको सल्लाह बिना ‘एण्टिबायोटिक्स’ प्रयोग गर्नु नहुने’ सल्लाह दिनुको सट्टा मागेको औषधि दिएर पठाए ।

उनले ५ दिनसम्म ‘एन्टिबायोटिक’ खाइन् । पैसा त गयो नै उनको स्वास्थ्य समस्या सामान्य अवस्थामा फर्किएन । डाक्टर जस्तै ‘गुगल डाक्टर’ पनि झुक्किदोरहेछ भनेर महसुस गरिन् ।

०००

पवित्रा लामाको ढाड सहन नसकिने गरी दुख्थ्यो । चिकित्सकले उनलाई चिन्ता लिनुपर्ने समस्या नभएको भन्दै काउन्सिलिङ गराइरहे । बारम्बार फलोअप आउन थालेपछि डाक्टरहरूहरूले उनलाई केही गलत नभएको भन्दै ‘मनोचिकित्सक’ कहाँ जान सुझाए ।

एक अध्ययनअनुसार २४–४० वर्ष उमेरसम्मका मानिसहरू इन्टरनेटको माध्यमबाट आफैं उपचार गराउन लागिपर्छन् । यसले मानिसको स्वास्थ्यमा भयानक असर त गर्छ नै, डाक्टरहरूप्रति पनि अविश्वास पैदा गर्नसक्छ

उनले भने अरु डाक्टरलाई देखाउन सुरु गरिन् । अधिकांश डाक्टर भन्थे, ‘सामान्य दुखाइ हो धेरै चिन्ता नलिनुस् । केही भएकै छैन ।’

‘मैले भनेको नसुन्ने र सहयोग नगर्ने भएकाले चिकित्सक कहाँ जाँदा मलाई निकै डर लाग्थ्यो, तर विकल्प केही थिएन’, ती दिन सम्झँदै उनी भन्छिन्, ‘त्यो बेला चिकित्सकले जे भने पनि म ठीक छु भनेर मान्न सकिरहेको थिइनँ ।’

त्यसपछि सहारा ‘गुगल डाक्टर’ बन्यो । गुगलकै माध्यमबाट उनले एक चिकित्सक भेटाइन्, जसले उनको दुःखाइ सामान्य नभएको भन्दै ‘फिजिकल थेरापिस्ट’कोमा जान सल्लाह दिए । आफू जस्तै अरु महिलालाई पनि त्यस्तो हुने गरेको थाहा पाइन् ।

बिरामी बनेर अस्पताल पुग्दा चिकित्सकले ‘तपाईंलाई दुखेको छ ?’ भनी प्रश्न गर्दा उनी ‘अलि दुखेको छ’ भनी उत्तर दिन्थिन् । थप कुरा खुलेर बोल्न नसक्दा उनलाई समस्या थपिएको थियो । अहिले पूर्ण रुपमा ठीक भएकी उनले ‘सदुपयोग गर्न जाने गुगल डाक्टरले धेरै सहयोग गर्दोरहेछ’ भन्ने महसुस गरेकी छिन् ।

००००

माथिका प्रतिनिधि घटनाले हाम्रो समाजमा प्रविधिले कसरी मानिसलाई ‘आफैं डाक्टर’ बन्न लगाइरहेको छ भन्ने बताउँछ । मानिसको स्वास्थ्य र औषधिको प्रयोगमा गुगलले कस्तो प्रभाव पारिरहेको छ भन्ने पनि जनाउँछ ।

मानिस जिज्ञासु छ । छिसिक्क केही भयो कि अनेक प्रश्न गर्न थाल्छ । उत्तर खोज्न ‘एक्सपर्ट’ नै भेटिरहनु पर्दैन । हातमा स्मार्टफोन र इन्टरनेटमा पहुँच भएपछि गुगलले हजारौं लिंक फालिदिन्छ । त्यही हेरेर मानिसहरू आफ्नो स्वास्थ्यबारे बुझ्ने मात्रै होइन, आफैं उपचार गर्ने भइसकेका छन्, जसलाई आजकाल ‘गुगल डाक्टर’ भनेर सम्बोधन गरिन्छ ।

तर प्रश्न जन्मिन्छ, ‘गुगल गरेकै भरमा मानिस आफ्नो उपचार आफैं गर्न सक्षम छ त ?’ यसको तथ्यगत उत्तर कोहीसँग नभए पनि विश्वचर्चित रिसर्चहरूले ‘रोगका लक्षणबारे गुगल नगर्नू’ भनेर सल्लाह दिएको छ ।

एनएचएस फाइनान्सियल रेगुलेटरले गरेको अध्ययनअनुसार विश्वको धेरै मानिसहरूले डाक्टरको विकल्पमा गुगल डाक्टरको सहायतामा आफैं उपचार गरिरहेका छन् । डाक्टरसँग समय लिएका सबै मानिसहरूले स्वास्थ्यसम्बन्धी सल्लाह लिनका लागि इन्टरनेटको सहायता लिने नेचुरल हाइड्रेसन काउन्सिलको रिपोर्टमा उल्लेख छ । त्यही अनुसन्धानले गुगलमा गरिने २० सर्चमध्ये एक सर्च स्वास्थ्यसम्बन्धी हुने गरेको पनि देखाएको छ ।

अमेरिकाका ३० प्रतिशत मानिसले ‘जनरल प्राक्टिसनर’ डाक्टरसँग समय लिन सक्दैनन् । स्वास्थ्यसम्बन्धी चर्चित वेबसाइटहरूले रोगका लक्षण, फैलावट र रोकथाम जस्ता ९०० भन्दा धेरै अवस्थाबारे जानकारी दिने गरेको छ । अमेरिकीहरू यस्तै वेबसाइटमा आफ्ना रोगका लक्षणहरूबारे गुगल गरिरहेका हुन्छन् ।

स्वास्थ्यमा केही समस्या आए गुगलमा ‘सर्च’ गर्नु विश्वभरका धेरै मानिसहरूमा एक प्रकारको चलन नै भइसक्यो । यतिसम्म ठीकै हो, तर गुगल गरेकै भरमा मानिसहरूले आफ्नो उपचार गर्नु खतरनाक हुन्छ । कतिपय सामग्री अनुसन्धानबिना राखिएका हुनाले त्यसको असर भयानक हुने चिकित्सकहरू बताउँछन् ।

००००

मानसिक रोग विशेषज्ञ डा. सुदीप अर्यालले गुगल गरेर डाक्टर भेट्न आउने धैरै बिरामी आफूले भेटेको सुनाउँदैछन् । फलानो रोग लाग्यो भन्दै किटान गरेर आउने बिरामीको सूची लामो छ । त्यस्ता बिरामीहरू अधिकांश युवाहरू हुने उनको कथन छ ।

इन्टरनेट सर्च गरेर उपचार गर्न आउने बिरामीहरूलाई काउन्सिलिङ गर्ने समेत गाह्रो हुने उनको अनुभव छ ।

डाक्टर अर्यालका अनुसार गुगल गरेकै भरमा बिरामीहरू अनावश्यक रुपमा चेक गर्न लालायित हुन्छन्, जसले गर्दा सामान्य समस्या परेर अस्पताल पुग्दा धेरै खर्च हुन्छ । ‘होल बढी चेकअप र सिटी स्क्यान र एमआरआई नगरी उनीहरूको चित्त नै बुझ्दैन’, अर्याल भन्छन्, ‘गुगलकै कारण खर्च मात्र बढ्ने होइन । अनावश्यक औषधिको कारण नकारात्मक प्रभाव पनि पर्न सक्छ ।’

डा. अरुण शर्मा पनि गुगलमा सर्च गरेर अनौठा प्रश्न लिएर आउने धेरै युवाहरूको उपचार गर्दैछन् । गुगलकै कारण अलमलमा परेर अस्पताल पुग्ने बिरामी धेरै भएको उनको अनुभव छ । गुगल डाक्टरले मानिसहरूलाई डर पैदा गरेको कारण सामान्य अवस्थामा पनि के–के न भएजस्तो गरी अस्पताल आउने गरेको उनी बताउँछन् ।

‘गुगलबाट जानकारी लिनु राम्रो हो, तर त्यसकै आधारमा डाक्टरलाई शंका गर्ने र आफैं औषधि किनेर खानु घातक हुनसक्छ,’ उनी भन्छन्, ‘बिरामीहरू हामीले दिएको सल्लाह मान्दैनन् र असान्दर्भिक प्रश्न सोधेर हाम्रो समय बर्बाद गर्छन् ।’

तर छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दासको मत भने केही फरक छ । आफ्नो स्वास्थ्यबारे बुझ्न र लक्षणहरू पत्ता लगाउन गुगल सर्च गर्नुमा केही बेफाइदा हुँदैन । तर आफू कहाँ गएर रोकिने भन्ने विषयमा भने ज्ञान हुनुपर्ने उनी बताउँछन् ।

००००

तर चिकित्सकहरूको केमा सहमत छन् भने अध्ययन अनुसन्धानबिना गुगल गरेकै भरमा डाक्टर हुन खोज्नु अहिलेका अधिकांश मानिसको ठूलो समस्या बनेको छ ।

सत्य यो पनि हो कि उपचार गर्नका लागि गुगललाई डाक्टर मान्ने चलन विश्वभर बढ्दो छ । अझ स्वास्थ्यसम्बन्धी समाचार प्रकाशन गर्ने वेबसाइटमा आफ्ना समस्या समाधानका लागि धाउनेको पनि कमी छैन ।

हेल्थ टेस्टिङ वेबसाइट ‘मेडिचेक्स डट कम’का हेल्थ एक्सपोर्ट डा. हेलेन वेबबर्लीकाअनुसार दुर्लभ र खराब परिदृश्यहरूप्रति मानिस आकर्षित हुन्छन् । सामान्य अवस्थामा पनि हाम्रो ध्यान कुनै जटिल रोग लाग्यो कि भन्नेतिर जान्छ । सबैभन्दा प्रचलित कथा खोज्नु मानिसहरूको समस्या नै हो । त्यसैले पनि मानिसहरू केही हुनासाथ गुगलमै लक्षणहरूबारे सर्च गरिरहेका हुन्छन् ।

एक अध्ययनअनुसार २४ देखि ४० वर्ष उमेरसम्मका मानिसहरू इन्टरनेटको माध्यमबाट आफैं उपचार गराउन लागिपर्छन् । यसले मानिसको स्वास्थ्यमा भयानक असर त गर्छ नै, डाक्टरहरूप्रति पनि अविश्वास पैदा गर्नसक्छ । त्यस्तै बिरामीहरूले आफूमा देखिएको लक्षणहरूलाई ध्यान नै नदिइकन रोगको बारेमा मात्र सोच्न थाल्छन् । यो नै गुगल डाक्टरले निम्त्याउने जटिल समस्या हो ।

०००

गुगल गर्दा सावधानी अपनाउने हो भनेचाहिँ यसको फाइदा पनि छ ।

डाक्टर समिर लामाकाअनुसार मानिसहरू अनलाइनमा सर्च गरेर आउँदा आफूलाई परेको समस्याबारे सचेत भई डाक्टरसँग लिएको १०–१५ मिनेट समय बचाउँछन् । चिकित्सकहरूलाई काउन्सिलिङ गर्न सजिलो हुन्छ । गुगल गर्नुको फाइदा–घाटा बिरामीमा भर पर्ने भन्दै उनी भन्छन्, ‘गुगलबाट जानकारी लिएर सचेत भइयो भने फाइदा भयो, आफैं उपचार गर्न खोज्छ भने जोखिम ।’

अधिकांश डाक्टरहरू भन्ने गर्छन्, ‘गुगल डाक्टर पनि तपाईंको स्वास्थ्यबारे ख्याल राख्ने महत्त्वपूर्ण डाक्टर हो, तर गुगललाई भन्दा आफ्नो डाक्टरलाई बढी विश्वास गर्नुहोस्

आजकाल आउने बिरामीहरू गुगल गर्ने भन्दा युट्युबका सनसनीपूर्ण भिडियो हेरेर धारणा बनाउने गरेको उनको अनुभव छ । त्यस्ता बिरामीहरू गुगल सर्च गरेर आउनेभन्दा अबुझ हुन्छन् । ‘गुगल सर्च गरेर आउने बिरामीको ज्ञानका कारण सम्झाउन सजिलो पर्छ, तर युट्युबको सनसनी भिडियोलाई सत्य मान्नेहरूसँग सकिन्न,’ उनी भन्छन्, ‘बिरामीले कस्तो साइट प्रयोग गर्‍याे र त्यसपछि के गर्‍याे भन्ने कुरा मुख्य विषय हो । गुगल डाक्टरको फाइदा र बेफाइदा दुवै छ ।’

००००

गुगल डाक्टरबारे नेपालमा कुनै अध्ययन अनुसन्धान नभए पनि विश्वभर विभिन्न अध्ययन अनुसन्धान भएको छ । विभिन्न जर्नलहरूमा प्रकाशित अध्यनहरूमा ग्याष्ट्रिक भएर पेट दुख्दा अल्सर या क्यान्सरको लक्षण देखाइदिन्छ । निदाउन समस्या भएको मान्छेले गुगल गर्दा ‘इन्सोमेनिया’ वा अत्यधिक ‘डिप्रेसन’ भएको जानकारी दिन्छ ।

गुगलमा सर्च गर्दा शरीरमा दुखाइ भएको कारणलाई बिग्रिएको मुडका कारण भएको भन्ने बुझ्न सक्छन् । तर डाक्टरले छाती दुखेका कारण ‘अर्टेरी डिजिज’ हुन सक्ने भन्दै त्यस्तो अवस्थामा ‘इलेक्ट्रोडायग्राम’ गर्न लगाउन सक्छन् ।

एक अध्ययनकाअनुसार गुगलमा लक्षण सर्च गर्दा मानिसहरूले एकै सेकेन्डमा सामान्य टाउको दुखाइलाई पनि ‘ब्रेन ट्युमर’ भएको विश्वास गर्छन् । छाती दुख्दा हर्टअट्याकको संकेत पाउँछन् । पेट खराबी हुँदा आन्द्रा काम नलाग्ने अवस्थामा पुगेको भन्ने भ्रामक जानकारी पाउन सक्छन् । त्यसैले गुगल सर्च भयानक हुनसक्छ, तनाव बढाएर मानसिक रोगी बनाउन सक्छ । किनकि इन्टरनेटमा भएका सूचनाहरू सत्य भए पनि एक जनामा देखापरेको लक्षणहरू अरू मानिससँग नमिल्न सक्छ ।

यसले प्रष्ट हुन्छ कि आफ्नो स्वास्थ्य उपचार आफैं गर्ने कोसिसले मानिसलाई आफूमा भएको भन्दा धेरै भयानक समस्या रहेको छ भन्ने बुझाउँछ । त्यसबाट चिन्ता बढेर स्वास्थ्य झनै बिग्रिन जान्छ । त्यसैले अधिकांश डाक्टरहरू भन्ने गर्छन्, ‘गुगल डाक्टर पनि तपाईंको स्वास्थ्यबारे ख्याल राख्ने महत्वपूर्ण डाक्टर हो, तर गुगललाई भन्दा आफ्नो डाक्टरलाई बढी विश्वास गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment