Comments Add Comment

टुँडाल : किन मन्दिरमा कुँदियो यौन आसनको आकृति ?

यौनका विषयमा कुरा गर्दा अझैपनि नेपाली समाज खुम्चन्छन् । यौनलाई ‘छाडा’ मानिन्छ । त्यही कारण धेरैजसोले यौनका विषयमा जाग्ने जिज्ञासा, यौन इच्छालाई भित्रभित्रै दबाएर बस्छन् । यौनको प्रसंग कोट्याउनसाथ रातोपिरो हुन्छन् ।

भनिन्छ, यौनप्रतिको गलत धारणा र बुझाईले आज दम्पतीको सयन कक्षबाट कलह पैदा भएको छ । यौन कुष्ठा र आवेगको भयावह नतिजा बलात्कार, यौन हिंसाको रुपमा प्रकट हुँदैछ । जबकि संयमित, सिर्जजनात्मक यौनका समबन्धमा हाम्रा पिता–पूर्खाले सदियौंदेखि अनेक अभ्यास गर्दै आए, जसले यौनका आयम र महत्वलाई अरु गहिराइमा बुझ्न सकियोस् । त्यही अभ्यास थियो, मन्दिरको टुँडालम कुँदिएका थरीथरीका यौन आसन ।

ललितपुर पाटन दरबार क्षेत्रको चार नारायण, हनुमान ढोका दरबारको विश्वनाथ, भक्तपुरको दत्तात्रय मन्दिर जस्ता मन्दिरमा जाँदा मूल मन्दिरको ढोका माथिको चारै तर्फ हेर्नुहोस् अनेकन यौन आसन देख्नुहुनेछ ।

विभिन्न कलाकृतिका अश्लील जस्ता लाग्ने अकृति माथि कल्पवृक्षका पात र लहरा समेत कताकतै देख्न सकिन्छ । त्यसको मुनी रासलीलामा मस्त भगवान वा जोगी जस्ता लाग्ने आकृति पनि देख्न सकिन्छ । यति मात्रै होइन । त्यही टुँडाल भरी नै सबै किसिमका यौन जीवनको पूर्ण कथा प्रस्तुत गरिएको हुन्छ ।

प्राचीन कला कौशलले सजिएका काठमाडौंका कैयौं मन्दिरमा पाइने यो कलाकृतिहरु प्राचीन समाज यौनको विषयमा संकुचित थिएन भन्ने प्रमाण पनि हो । जसरी विभिन्न अधिकरणहरुको गठन गरेर लिच्छविकालमा यौन जीवनलाई व्यवस्थित गराउने प्रयास गरिएको थियो, त्यस्तै ज्ञानको लागि यी मन्दिरका टुँडालहरुको प्रयोग गरिएको हुनसक्ने पनि मान्न सकिन्छ ।

हामीले बुझेको प्राचीन जटिल जीवन के हामीले सोचेको जस्तै जटील नै थिए त ? यो जिज्ञासा पाउनको लागि हाम्रा प्राचीन मन्दिरहरु नै उत्तम विकल्पहरु हुन् । तिनै मन्दिरहरुमा ताम्रपत्र, शीलापत्र, काष्ठकला आदिका अनेकौं कला र संस्कृतिहरु देख्न सकिन्छ ।

मन्दिरमा विभिन्न किसिमका कलाकृतिहरु लिच्छविकालदेखि नै व्यापक मात्रामा हुने गरेको पाइन्छ । सुनको जलप लगाइएको पित्तलको गजुर, प्यागोडा शैलीको तीनतले मन्दिर, छानामा तामाले छाएका छन् । नेपालको लिच्छविकालका राजा मानदेवको पालाको मन्दिरहरुमा त्यतिबेलै पनि टुँडाल र झ्यालहरू कलात्मक काठबाट बनेको पाइन्छ । धातुले मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घण्टा र अन्य देवदेवीका मूर्तिले भरिपूर्ण पाइन्छ ।

हामी खुल्ला रुपमा यौन गतिविधि गर्नुलाई नै आधुनिक सम्झने गर्छाैं । विभिन्न अभिलेखका अध्ययनहरु एवं यस्ता कलाकृतिहरुले प्राचीन नेपाली समाज पनि सभ्य थियो । तर, यौन जीवनको हिसाबले शिक्षित समेत थियो भन्न सकिन्छ ।

सबैभन्दा पहिले त ती टुँडालहरुमा उल्लेख भएका कलाकृतिले के संकेत गर्ने गरेका छन् ? भन्ने कुरा महत्वपूर्ण हो । त्यहाँ देखिएका यौन आसनका आकृतिहरु ज्ञानको लागि हुन् या अरु नै प्रयोजनका लागि ? भन्ने विषय महत्वपूर्ण कुरा हो । तर, यसलाई वात्सायनको कामसूत्रसँग दाँजेर हेर्ने हो भने यी टुँडालहरुमा कुँदिएका आकृति यही कामसूत्रले उल्लेख गरेको यौनासनहरु थिए भन्न सकिन्छ ।

कामसूत्रमा १४ किसिमका यौन आसनको बारेमा उल्लेख गरिएको छ । यी आसनको संख्याको बारेमा  विद्वानहरुबीच मत भिन्नता छ । कसैले त्यसमा केही आसन थपेर २२ वटा भनेका छन् । कसैले १० वटा मात्रै रहेको पनि बताएका छन् ।

जस्तो कामसूत्रमा सबैभन्दा पहिले उत्फुल्लक आसनको बारेमा उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ कुनैपनि स्त्रीले आफ्नो शीर भागलाई पृथ्वी तिर लगाएर आफ्नो कम्मरलाई माथिल्लो भागमा लगेर गरिने यौनासन । यस्तो आसनका आकृतिहरु मन्दिरहरुमा पर्याप्त मात्रामा देख्न सकिन्छ ।

त्यस्तै, दोस्रो आसन हो विजृम्भितक आसन । यो आसन अनुसार कुनैपनि स्त्रीको दुबै खुट्टालाई माथि उठाइन्छ । यसरी उठाउँदा उसको योनी चौडा हुने गर्छ । यसरी गरिने सम्भोग कलालाई विजृम्भितक भन्ने गरिन्छ ।

यस बाहेक स्त्रीको दुबै खुट्टालाई उचालेर आफ्नो काखमा राखेर गरिने सम्भोग इन्द्राणिक आसन हो । सम्भोगको समयमा स्त्री र पुरुषहरु आफ्नो खुट्टालाई सिधा–सिधा बनाएर सम्भोग गर्छन् भने त्यो सम्पुटक आसन हो । सम्पुटक आसनको जस्तै शैली भएको भएपनि महिला र पुरुषहरुले आफ्नो कम्मरभन्दा तलको भाग र घुँडाभन्दा माथिको भाग एकदमै दबाएर सम्भोग गर्ने आसन पीडितक आसन हो ।

यसबाहेक स्त्री र पुरुषहरुले सम्भोगको साथमा चुम्बन समेत एकैपटक गर्नेगरी गरिने सम्भोगलाई वाडवक, स्त्रीको योनी माथि र टाउको तल पारेर गरिने सम्भोग भुग्नक हो । यसरी विभिन्न किसिमका यौन आसनहरु कामसूत्रमा उल्लेख गएका छन् । यही कामसूत्रमा उल्लेख भएका अधिकांश आसनहरु टुँडालहरुमा पाइने भएकोले यसलाई यौन आसनको ज्ञान दिन बनाइएको कला पनि हुनसक्छ भन्ने विश्वास गर्न सकिन्छ ।

इटालियन अन्वेषक जिसेप टुचीले नेपाली मन्दिरहरूमा पाइने यौन कलाकारितालाई मुख्य विषय बनाएर सन् १९६० मा ‘रतिकला’ नामक पुस्तक लेखेका थिए । त्यसमा पनि उनले यो जनताहरुलाई यौनको विषयमा जानकारी दिनको लागि तयारपारिएको कला भनेर उल्लेख गरेका छन् ।

किन मन्दिरमै कुँदियो यौन आसनका आकृति ?

मन्दिरलाई पवित्र स्थान मन्ने गरिन्छ । त्यही मन्दिरमा किन यौन आसनका आकृति कुँदियो ? यसको विषयमा फरक मतहरु आउने गरेका छन् । कसैले यसलाई धार्मिक कोणबाट विश्लेषण गर्ने गरेका छन् भने कसैले यसलाई सामाजिक र मनोवैज्ञानिक कोणबाट व्याख्या गर्ने गरेका छन् ।

यस्ता टुँडालहरुमा यौनक्रिडामा लागेकाहरु धेरै मानिसहरु साधुहरुको आकृतिमा देख्न सकिन्छ । कसैलाई भगवानको आकृतिमा पनि देख्न सकिन्छ । यसरी प्रस्तुत गरिनुको पछि केही विशेष कारण रहेको हुनसक्ने अनुमान गरिन्छ । परापूर्व कालमा मोक्ष पाउने लोभमा सबै मानिसहरु सन्यास लिएर बौद्ध मतका अनुयायी बने । धेरैले घर परिवार छाडे र बिहे नै नगरेकाहरु पनि तीब्र बैराग्यतिर लाग्न थालेपछि सरकारले नै धेरैको आस्थाको केन्द्र मानिने मन्दिरहरुमा कामसूत्रका अकृति कुँदेर राखेको किंवदन्ती सुन्न सकिन्छ । कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौनक्रिडाको तस्बिर कुँदिएकोबाट पनि यसलाई पुष्टि गर्न सक्ने केही थप आधार देखिन्छ ।

कसैले मन्दिरमा चट्याङ नपरोस् भन्नको लागि पनि यस्ता कलाकृतिहरुको विकास गरेको मान्ने गरेका छन् । कसैको विश्वास त के पनि छ भने मन्दिरमा पस्दा त्यस्ता नराम्रा भावनाहरु बाहिर नै फालेर शुद्ध बनेर भित्र जानुपर्छ भन्ने जनाउनको लागि यस्तो तस्बिरहरु राखिएको हो ।

प्राचीन समयमा शिक्षा आदानप्रदानको व्यवस्था थिएन । त्यसैले कुनैपनि मानिसहरुलाई चरम मानसिक सुखको लागि यस्तो कलाकृतिहरु तयार पारिएको भन्ने पनि मान्यता एकथरीको छ । कसैले यस्ता कलालाई सृष्टिकर्ता ब्रह्माको प्रतिपूर्ति पनि मान्ने गरेका छन् । कसैले मुस्लिमहरुको आक्रमणबाट मन्दिरलाई जोगाउनको लागि यस्तो गरिएको पनि बताउने गरेका छन् । कसैले मन्दिरमा रहेका देवीहरुको पूजा गर्न जाने बेलामा उनीहरुप्रति नकारात्मक भावना नरहोस् भन्नको लागि बाहिर नै त्यस्तो आकृतिहरु तयार पारिएको भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment