Comments Add Comment

सिद्धिचरण राजमार्गको दुर्दशा, पर्यटकलाई बाधक बाटो

१९ मंसिर, कटारी । गएको मंसिर २ मा तीन स्पेनी पर्यटकले काठमाडौं–खुर्कोट –घुर्मी –कटारी–गाईघाट हुँदै नेपालको पूर्वी भेग झापासम्मको साइकल यात्रा तय गरे ।

नेपाली सँस्कृति र पर्यटकीय क्षेत्रको यात्रामा रहेका स्पेनी इरिया प्रेन्डेस, लोसियानी जिएम र ऐसेनिया फेमिनिष्टले उदयपुरको कटारी नगरपालिकाको कटारी–घुर्मी ४६ किमी सडकमा सास्ती खेप्नुपरेको बताए ।

जीर्ण सडकका कारण यहाँ यात्रा गर्न कठिनाइ भएको बताउँदै उनले साइक्लिङ त झनै गाह्रो रहेको बताइन् । ‘लो क्वालिटीको बाटोमा पाइडल मार्न गाह्रो भयो’ प्रेन्डेसले भनिन्–‘यहाँको मानिस तथा वातावरण त घुम्न योग्य छ तर बाटो लो क्वालिटीको छ ।’

बाटोको कारण साइक्लिङ असहज भएको बताउँदै फेमिनिष्टले पाइडल चलाउनै मुस्किल भएको बताइन् । ‘यो बाटो पार गर्नै गाह्रो भयो’ उनले भनिन् ।

उदयपुरको ऐतिहासिक पुरानो बजार कटारी हुँदै तेन्जि۪ नोर्गे शेर्पा र एडमन्ड हिलारी पैदल सगरमाथा चढ्न गएको भएकाले कटारीलाई सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्छ । भारत, भुटान, बंगलादेशलगायतका पर्यटकका साथै नेपालकै मध्य र पूर्वी तराईका पर्यटकलाई सगरमाथा क्षेत्र, खोटाङको हलेशी जाने छोटो र सहज बाटो हो ।

२०३४ सालमै सिरहाको मिर्चैयाबाट कटारी २६ किमी जोडिएको कटारीबाट घुर्मी स्वर्गीय कार्यकारी प्रधानमन्त्रीसमेत बनेका बलबहादुर राईको पहलमा २०४८ सालमा खुमबहादुर खड्का भौतिक निर्माण तथा यातायातमन्त्री रहेका बेला निर्माण सुरु भएको थियो । सो बाटोलाई सिद्धिचरण राजमार्ग नामाकरण गरियो । त्यसपछि निर्माण भएको राजमार्ग अन्र्तगतको कटारी–घुर्मी किमिको बाटो स्तरोन्नती नहुँदा जीर्ण अवस्थामा छ ।

बाटोकै कारण दुईदशक अघि पर्यटकले रोज्ने यो बाटोमा अहिले पर्यटक शून्य छन् । ‘पर्यटन वर्ष नजिकिंदै छ यो बाटो यस्तो छ कसरी पर्यटक आउँछन्’ उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का भन्छन् ‘बाटोको अवस्थाकै कारण पर्यटन क्षेत्र समेत ओझेलमा परेको छ ।’

नागरिक अगुवा रतन पोखेरलले वर्षेनी तीनचार हजार पर्यटक यही बाटो हिँड्ने गरेकोमा अहिले घटेको बताउँछन् । ‘अहिले त तीनचार सय नि आउँदैनन्’ पोखरेल भन्छन् । संघीय सांसद प्रमिला राईले पनि पर्यटकीय र धार्मिक क्षेत्र समेटिएको यो सडक जीर्ण भएको बताउँछन् । ‘पर्यटकका लागि छोटो र मूख्य बाटोको अवस्था यस्तो छ म सदनमा कुरा उठाउँछु’ उनले भनिन् ।

मिर्चैया–कटारी –घुर्मी ७२ किमी सडकखण्ड आउजाउ गर्न असहज भएपछि भारतबाट आउनुका साथै पूर्व तराईका पर्यटकहरु हलेशी र खुम्बु क्षेत्र जानका लागि मिर्चैया–बर्दिबास ३५ , बर्दिबास – खुर्कोट ५५ , खुर्कोट –घुर्मी ६० किमी गरी १५० किमी यात्रा गरेर हिँड्न बाध्य छन् ।

कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले यो सडक केन्द्र सरकारको मातहतमा रहेकाले केन्द्रीय प्रतिनिधिहरुकै वेवास्ताका कारण यो अवस्था आएको बताउँछन् । उपमेयर भीमकुमारी राउतले यही सडकका कारण जनप्रतिनिधिले समेत लज्जित हुनुपरेको बताउँछिन् ।

प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य बोधकुमार घिमिरे यस क्षेत्रका लागि कटारी नगरपालिकाले गुरु योजना नै बनाएर काम गर्नुपर्ने बताउँछन् ।

उदयपुरबाट रेनु पराजुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment