Comments Add Comment

सोह्र शृंगार : के छ  वैज्ञानिक तथ्य ?

विवाहको रीतिरिवाजमा सोह्र शृंगारको विशेष महत्व हुन्छ । विवाहको दिन जब दुलहीले शृंगार गर्छिन्, उनको सुन्दरतामा सुगन्ध पनि थपिन्छ । महिलाहरुको जीवनमा सोह्र शृंगारको महत्व केवल सुन्दर देखिनका लागि मात्र नभएर त्यसको पछाडि धेरै वैज्ञानिक तथ्य पनि लुकेको छ । सोह्र शृंगारको महिलाहरुको स्वास्थ र सौभाग्यसँग गहिरो सम्बन्ध रहेको छ । सोह्र शृंगारको वैज्ञानिक र धार्मिक महत्व के-के छ भन्ने बारेमा केही जानकारीहरु प्रस्तुत छ ।

विवाहको पहिरन

दुलहीको लागि विवाहको पहिरन छनोट गर्दा सुन्दर र चम्किलो रंगहरुलाई प्राथमिकता दिनुपर्छ । जस्तै, रातो, पहेंलो, गुलाबी आदि । दुलहीका लागि रातो रंगका विवाहको पहिरन शुभ र महत्वपूर्ण मानिन्छ । रातो रंगलाई प्रेमको प्रतिक पनि मानिन्छ ।

धार्मिक मान्यता- धार्मिक मान्यताहरुका अनुसार रातो रंग शुभ, मंगल र सौभाग्यको प्रतिक हो । त्यसैले शुभ कार्यहरुमा रातो रंगको सिन्दुर, रातै रंगको विवाहको पहिरन आदिको प्रयोग गरिन्छ ।

वैज्ञानिक मान्यता –विज्ञानको अनुसार रातो रंग शक्तिशाली र प्रभावशाली हुन्छ । यसको उपयोगले एकाग्रता भइरहन्छ । रातो रंगले तपाईको भावनाहरुलाई नियन्त्रित गरेर तपाईंलाई स्थिर बनाउँछ ।

गजरा

गजरा एउटा सुन्दर र प्राकृतिक शृंगार हो । यसलाई छिमेकी राष्ट्र भारतमा अत्यधिक प्रयोग गरिने भएतापनि हिजोआज नेपालमा पनि यसको प्रयोग बढ्दै गएको छ । गजरा चमेलीको सुगन्धित फूलहरुले बनाइन्छ । यसलाई महिलाहरुले केशको शृंगारमा प्रयोग गर्छन् ।

धार्मिक मान्यता-धार्मिक मान्यता अनुसार गजराले दुलहीलाई धैर्यवान तथा ताजा बनाइरहन्छ । विवाहको समयमा दुलहीको मनमा विभिन्न किसिमका विचारहरु आउँछन् । गजराले ती विचारहरुबाट उनलाई टाढा राख्न सहयोग गर्छ ।

वैज्ञानिक मान्यता-विज्ञानका अनुसार चमेलीको फूलको वासनाले हरेकलाई आफूतिर आकषिर्त गर्छ । चमेलीको फूलले तनाब कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

बिन्दी

बिन्दी पनि महिलाहरुको शृंगारको महत्वपूर्ण अंग हो ।

धार्मिक मान्यता-बिन्दीलाई त्रिनेत्रको प्रतिक मानिन्छ । दुई नेत्रहरुलाई सूर्य र चन्द्रमा मानिन्छ । जसले वर्तमान र भूतकाल देख्छ तथा बिन्दीलाई त्रिनेत्रको प्रतिकको रुपमा हेरिन्छ । यसले भविष्यमा आउने संकेतहरुतर्फ यसले ईशारा गर्छ ।

वैज्ञानिक मान्यता-विज्ञानका अनुसार बिन्दी लगाउनाले महिलाको आज्ञाचक्र सक्रिय हुन्छ । यसले महिलालाई आध्यात्मिक भइरहन र आध्यात्मिक उर्जालाई यथावत राख्नका लागि सहयोग पुर्‍याउँछ । बिन्दीले आज्ञा चक्रलाई सन्तुलित बनाएर दुलहीलाई उर्जावान बनाउन सहयोग गर्छ ।

सिन्दुर

सिन्दुर महिलाहरु सौभाग्यवती भएको सबैभन्दा महत्वपूर्ण प्रतिक हो । यसलाई सबैभन्दा पहिला विवाहको समयमा दुलाहाले दुलहीको सिउँदोमा लगाइन्छ । त्यसपछि यसलाई सौभाग्यवती महिलाहरुले सधैं आफ्नो सिउँदोमा लगाउने गर्छन् ।

धार्मिक मान्यता- धार्मिक मान्यता अनुसार सौभाग्यवती महिलाले आफ्नो श्रीमान्को लामो उमेरका लागि आफ्नो सिउँदोमा सिन्दुर लगाउने गर्छिन् । रातो सिन्दुरले महिलाहरुको सहस्रचक्रलाई सक्रिय राख्छ । यसले महिलाहरुको मस्तिष्कलाई एकाग्र गरेर त्यसलाई सही सोच-विचार प्रदान गर्छ ।

वैज्ञानिक मान्यता- यस मान्यता अनुसार सिन्दुरले महिलाहरुको रक्तचापलाई नियन्त्रित गर्छ । सिन्दुरले महिलाहरुको तापक्रमलाई पनि नियन्त्रित गरेर शितलता प्रदान गर्नुको साथै शान्त पनि राख्छ ।

गाजल

गाजलले महिलाहरुको आँखाको सुन्दरतालाई बढाउने काम गर्छ ।

धार्मिक मान्यता-धार्मिक मान्यता अनुसार गाजल लगाउनाले महिलाहरुमा कसैको नराम्रो दृष्टिको कु-प्रभाव पर्दैन । गाजलले आँखासँग सम्बन्धित विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यता अनुसार गाजलले आँखालाई शितलता प्रदान गर्छ । गाजल लगाउनाले सूर्यको हानिकारक किरणहरु र धुलो माटोबाट आँखालाई बचाउँछ ।

मेहेन्दी

मेहेन्दी सबै महिलाहरुका लागि पि्रय हुन्छ । मेहेन्दीलाई सोह्र शृंगार को महत्वपूर्ण अंग मानिन्छ ।

धार्मिक मान्यता-धार्मिक मान्यताका अनुसार मेहेन्दीको गाढा रंगले श्रीमान्-श्रीमतीबीचको गहिरो प्रेमसँग सम्बन्धित छ । मेहेन्दीको रंग जति गाढा हुन्छ । श्रीमान्-श्रीमतीबीचको प्रेम पनि त्यत्ति नै गहिरो हुन्छ भन्ने मान्यता रहेको छ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यताहरुका अनुसार मेहेन्दीले दुलहीलाई तनाबबाट टाढा राख्न सहयोग पुर्‍याउँछ । मेहेन्दीको शितलता र वासनाले दुलहीलाई खुशी र उर्जावान बनाउँछ ।

चुरा

चुरा हरेक सौभाग्यवतीहरुको महत्वपूर्ण श्रंृगार हो । महिलाहरुका लागि काँच, सुन र चाँदीका चुराहरु सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

धार्मिक मान्यता-धार्मिक मान्यताका अनुसार चुरा श्रीमान्-श्रीमतीको भाग्य र सम्पन्नताको प्रतिक हो । महिलाहरु श्रीमान्को लामो आयु र राम्रो स्वास्थ्यका लागि पनि सधैं चुरा लगाउनुपर्छ भन्ने पनि मान्यता रहेको छ । चुराको सिधा सम्बन्ध चन्द्रमासँग हुन्छ भन्ने पनि मान्यता रहेको छ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यताहरुका अनुसार चुराबाट उत्पन्न हुने ध्वनिले महिलाहरुको हडि्ड बलियो बनाउन सहयोग पुर्‍याउँछ । महिलाहरुको रक्त परिसंचरणमा पनि चुराको महत्वपूर्ण भमिका रहेको हुन्छ ।

पोते

पोते एउटा त्यस्तो सौभाग्यको प्रतिक हो । जसलाई विवाहको समयमा दुलाहाले दुलहीको घाँटीमा बाँधिदिने गर्छन् । जबसम्म महिला सौभाग्यवती रहन्छिन् । तबसम्म उनले निरन्तर पोते लगाइरहन्छिन् ।

धार्मिक मान्यता-पोतेले सकारात्मक उर्जालाई आफूतिर आकषिर्त गरेर महिलाको दिमाग र मनलाई शान्त राख्छ । पोते जति लामो र हृृदय नजिक हुन्छ । त्यति नै फाइदाजनक हुन्छ ।

वैज्ञानिक मान्यता-पोतेमा सुन पनि मिसाएर गहनाको रुप दिइन्छ । जसले शरीरमा बल बढाउन सहयोग गर्छ । त्यसैले पोतेले शारीरिक उर्जालाई क्षय हुनबाट रोक्छ ।

कानका झुम्काहरु

कर्णफूल अर्थात् इयररिङ्हरु जस्तै झुम्का, कुन्डल, गोलो तथा लामो आकार र डिजाइनहरुमा पाइन्छ । विशेष गरेर महिलाहरु सुन, चाँदी, हिरा आदि धातुहरुबाट बनेका इयर रिङहरु लगाउँछन् ।

धार्मिक मान्यता-इयररिङ र महिलाहरुको स्वास्थ्यबीच सोझो सम्बन्ध हुन्छ । यसले महिलाहरुको अनुहारलाई सुन्दर देखाउन सहयोग पुर्‍याउँछ । यो बिना महिलाहरुको शृंगार अधुरो हुन्छ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यता अनुसार हाम्रो कर्णपालीमा धेरै एक्युपन्चर प्वाइन्टहरु हुन्छन् । जसमा सही दबाब दिँदा महिनावारीको समयमा हुने पीडाबाट राहत प्राप्त हुन्छ । इयर रिङले त्यही प्रेसर प्वाइन्टमा दबाब दिन्छ । साथै यसले किड्नी र मुत्राशयलाई पनि स्वास्थ्य राख्छ ।

कम्मरबन्द

कम्मरबन्द धातु अथवा भिन्दा-भिन्दै किसिमको मूल्यवान पत्थरहरु मिलेर बनाइएको हुन्छ । कम्मरबन्द नाइटोको माथिल्लो भागमा बाँधिन्छ ।

धार्मिक मान्यता-महिलाहरुका लागि कम्मर बन्द अति नै आवश्यक हुन्छ । चाँदीको कम्मरबन्द महिलाहरुका लागि अति शुभ मानिन्छ ।

वैज्ञानिक मान्यता-चाँदीको कम्मरबन्द लगाउनाले महिलाहरुमा महिनावारी र गर्भावास्थामा हुने सबै प्रकारका पीडाबाट राहत प्राप्त हुन्छ । चाँदीको कम्मरबन्द लगाउनाले महिलाहरुको मोटोपन पनि बढ्दैन ।

मागटीका

मागटीका दुलहीहरुले निधारमा लगाउँछन् । मागटीका चाँदी, कुन्दन, सुन, हिरा, मोती आदिले बनेको हुन्छ ।

धार्मिक मान्यता-मागटीकालाई महिलाहरुको सौभाग्यको प्रतिक मानिन्छ । मागटीकाले महिलालाई हरेकलाई आदर गर्नु पर्छ भन्ने कुरा दर्शाउँछ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यता अनुसार मागटीकाले महिलाहरुको शारीरिक तापक्रमलाई नियन्त्रित गर्छ । जसले उनीहरुको सोच-विचार र निर्णय लिने क्षमता बढ्छ ।

औंठी

विवाहको पहिलो रीतिरिवाज नै औंठीबाट नै सुरुवात गरिन्छ । जसमा केटा-केटीले एक-अर्कालाई औंठी लगाएर नै स्वयंवरको रीति पूरा गर्छन् ।

धार्मिक मान्यता-धार्मिक मान्यता अनुसार औंठी श्रीमान्-श्रीमतीको प्रेमको प्रतिक हुन्छ । यसलाई लगाउँदा श्रीमान्-श्रीमतीको हृदयमा एक-अर्काका लागि सदैव प्रेम रहिरहन्छ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यताका अनुसार अनामिका औंला (साइँली औंला) को नसा सिधा हृदय र दिमागसँग सम्बन्धित हुन्छ । यो औंलामा दबाउँदा मुटु र दिमाग स्वास्थ हुन्छ ।

पाउजु

खुट्टामा लगाइने पाउजु चाँदीको भएमा सबैभन्दा उत्तम र शुभ मानिन्छ । कहिले पनि सुनको पाउजु लगाउनु हुँदैन ।

धार्मिक मान्यता-धार्मिक मान्यता अनुसार महिलाहरुको खुट्टामा पाउजु हुनु सम्पन्नताको प्रतिक मानिन्छ । घरकी बुहारीलाई लक्ष्मी मानिन्छ । जसका कारण घरमा सम्पन्नता भइरहोस् भन्ने उद्देश्यले महिलालाई पाउजु लगाइदिइन्छ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यता अनुसार चाँदीको पाउजु महिलाहरुको जोर्नी र हड्डीको पीडाबाट राहत प्रदान गर्छ । साथै पाउजुबाट उत्पन्न हुने ध्वनीले नकारात्मक उर्जालाई घरमा आउन दिँदैन । हरेक विवाहिता महिलाको खुट्टाको औंलामा बिछि हुन्छ । बिछि पनि चाँदीले बनेको नै शुभ मानिन्छ ।

धार्मिक मान्यता-महिलाहरुको लागि खुट्टाको औंलामा बिछि लगाउनु शुभ र आवश्यक मानिन्छ । बिछि लगाउनाले महिलाको स्वास्थ राम्रो हुन्छ र घरमा पनि  सम्पन्नता रहिरहन्छ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यता अनुसार महिलाहरुको खुट्टाको औंलाको नसा उनीहरुको गर्भाशयसँग सम्बन्धित हुन्छ । बिछि लगाउँदा उनीहरुको गर्भावस्था र गर्भाशयसँग सम्बन्धित समस्याहरुबाट राहत प्राप्त हुन्छ । बिछि लगाउनाले महिलाहरुको ब्लड प्रेसर पनि नियन्त्रित हुन्छ ।

अत्तर (परफ्युम)

गुलाबको सुगन्ध विशेष गरेर सिधा प्रेमसँग सम्बन्धित हुन्छ । सुगन्धलाई प्रेमको प्रतिक मानिन्छ र यसले श्रीमान्-श्रीमतीलाई एक-अर्कातिर आकषिर्त गर्छ ।

धार्मिक मान्यता-सौभाग्यवती महिलाका लागि गुलावको सुगन्ध सबैभन्दा उत्तम मानिन्छ । गुलाब प्रेमको प्रतिक हो । त्यसैले गुलावको इतर लगाउनाले श्रीमान् सधैं श्रीमतीतिर आकषिर्त हुन्छ ।

वैज्ञानिक मान्यता-वैज्ञानिक मान्यता अनुसार, मानसिक तनावलाई टाढा राखेर ताजा बनाउन सहयोग गर्छ । गुलाबको सुगन्धले अरुलाई आफूतिर आकषिर्त गर्छ ।

फुली

फुली पनि सौभाग्यको प्रतिक मानिन्छ । नाकमा लगाउने फुली विभिन्न आकार प्रकार र  डिजाइनहरुमा उपलब्ध हुन्छ ।

धार्मिक मान्यता-नाकमा लगाइने फुलीले सौभाग्यवतीलाई भिन्दै उर्जा प्रदान गर्छ । यसले अनुहारमा सधै सकारात्मकता दर्शाउँछ ।

वैज्ञानिक मान्यता-नाकमा प्रयोग हुने फुलीले सधैं सुन्दर देखाउने भएकोले सकारात्मक उर्जा प्रदान गर्नुको साथै नाकको रक्त सञ्चारलाई पनि राम्रोसँग सुचारु गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment