Comments Add Comment

करोडौंका मेसिनमा माकुराको जालो, आँखाले नै सवारी जाँच

३ पुस, काठमाडौं । घाइते यात्रुको भनाइलाई मान्ने हो भने आइतबार सिन्धुल्चोकमा दुर्घटनाग्रस्त बसको स्टेयरिङ र ब्रेकमा समस्या थियो । सो दुर्घटनामा १५ जनाको ज्यान गयो । यसअघि बसको ब्रेक पाइडल नै फुटेपछि सिन्धुपाल्चोककै सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा १८ जनाले ज्यान गुमाउनुपरेको थियो ।

गाडीको अवस्था जीर्ण भइसक्दा पनि दौडाइरहने प्रवृत्तिका दुखद परिणाम हुन् यी । बितेको एक महिनाकै बीचमा २ सयभन्दा बढी यात्रुको ज्यान जाने गरी भएका सवारी दुर्घटनाका पछाडि यान्त्रिक गडबडीको हात कति थियो भन्ने विश्लेषण हुन बाँकी छ । तर, राजमार्ग र ग्रामीण क्षत्रेमा चल्ने धेरै सार्वजनिक सवारीको प्राविधिक अवस्थाले चाहिँ कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतराको संकेत गर्छ ।

यातायात व्यवसायी र चालकलाई थोत्रा गाडी चलाउन सरकारले नै सहयोग गरिरहेको छ । यो निश्कर्ष टेकुको सवारी परीक्षण केन्द्रमा पुग्ने जोकोहीले निकाल्न सक्छन् । यो केन्द्रका अत्याधुनिक मेसिनहरुमा माकुरोले जालो लगाएका छन् र धुलोले ढप्पकै ढाकिएका छन् । त्यति मात्रै हैन, खिया लागेर काम नलाग्ने हुन लागिसकेका छन् महंगा उपकरण । कति मेसिनलाई धुलोबाट बचाउन प्लाप्टिक र कार्टुनले छोपेर राखिएको छ त कति खुलै छोड्दा जीर्ण बनिसके ।

करोडौं लगानी गरेर यो केन्द्र खोल्नुको मुख्य उद्देश्य थियो, यान्त्रिक कारणले हुने दुर्घटना कम गर्नु । पछिल्लो समयमा सवारी दुर्घटना उच्च दरमा बढ्दै गर्दा यो केन्द्रको हालतले सरकारलाई नै गिज्याइरहेको छ । जे उद्देश्यले यो केन्द्र खोलिएको थियो, त्यसका लागि काम नै सुरु नभएपछि कसरी घटोस् त दुर्घटना !

सार्वजनिक सवारीको प्राविधिक पक्षको जाँच गर्न टेकुमा आधुनिक प्रणाली स्थापित भएको ८ वर्ष बित्न लाग्यो । तर, मेसिनमार्फत हुने सवारी जाँचबाट प्राप्त हुने ‘एकुरेसी’ (बास्तविक तथ्यांक)सँग यातायात तथा अटोमोबइल व्यवसायी डराए । सरकारी अधिकारीले पनि आफ्नो जाँचपासमा प्राप्त हुने अतिरिक्त कमाइको बाटो बन्द हुने डरले चुपचाप व्यवसायीलाई साथ दिए ।

बिग्रिसके मेसिन

सरकार र व्यवसायीको सहमतिमै यी मेसिन थन्क्याएर राखिएको हो । अहिलेसम्म स्थापित आधुनिक प्रणालीलाई सार्वजनिक बस र ट्रक व्यवसायीले मात्रै हैन, सरकारले पनि बेवास्ता गरिरहेकै छ । सवारीको अवस्था ठीक छ कि छैन भनेर जाँच गर्न त्यतिबेला ६ करोडको लागतमा स्थापित प्रणाली प्रयोगमा नआउँदै बिगि्रसकेको छ । यसलाई सञ्चालनमा ल्याउन थप लाखौं खर्चिनुपर्ने अवस्था रहेको विभागका एक अधिकारीले बताए ।

सवारी दुर्घटना बढेको भन्दै सातै प्रदेशमा ‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ खोल्नुपर्ने बताउँदै हिँडेका छन् यातायात व्यवस्था विभागका अधिकारी । तर करोडौंको लगानीमा खुलेको टेकुको ‘फिटनेस टेस्ट सेन्टर’ भने उनीहरुले नै प्रयोगविहीन बनाएर छोडेका छन् ।

यसलाई प्रयोगमा ल्याउन नदिन सरकार र व्यवसायीबीच नै साँठगाँठ रहेको बताउँछन् उपभोक्ता अधिकारवादीहरु । यातायात उपभोक्ता अधिकारवादी रामबहादुर थापाले यो सेन्टर सञ्चालनमा ल्याए नेपालमा चलिहरेका धेरै सवारी प्राविधिक रुपमा अयोग्य ठहरिने दावी गरे । यो सेन्टरमा यस्ता अत्याधुनिक त्यस्ता मेसिनहरु जोडिएका छन्, जसले सवारीको विभिन्न प्राविधिक पक्षको विश्लेषण कम्प्युटराइज्ड प्रविधिमा स्मार्ट तरिकाले गर्छ ।

हालसम्म ती मेसिनहरु कुनै पनि प्रयोगमा ल्याइएका छैनन् । यहाँ अहिले उपत्यकामा चल्ने ट्याक्सी र पर्यटक सवारीको मात्रै फिटनेस जाँचिन्छ । रोचक कुरा के छ भने यस्तो जाँच मेसिनबाट भने होइन, आँखाले गरिन्छ । आँखाले देखेर मनले ‘गाडी ठीक छ’ भनेपछि परीक्षणमा सवारी ‘पास’ ।

यहाँ मात्रै हैन, देशका १४ अञ्चलमा नै सवारी कार्यालयमा यसैगरी ६-६ महिनामा सवारीको जाँचपास यसैगरी हुन्छ । त्यसरी जाँचपास गर्दा बास्तविक सवारीको यान्त्रिक गडबडी पत्ता नलागेपछि खोलिएको यो परीक्षण केन्द्रलाई पनि त्यही अवस्थामा ल्याएर छाडिएको छ अहिले ।

अझ कति गाडी त हेर्दै नहेरी जाँचपास गरिन्छ, कागजपत्र मिलाएर । ‘गाडी जाँचपासमा लैजाँदा दिनभरिमा १०-१५ हजार घाटा हुन्छ व्यवसायीलाई त्यसैले कतिले त १ देखि ५ हजारसम्म घुस दिएर सिधै जाँचपासको कागज बनाउँछन्,’ थापा भन्छन् ।

केन्द्रका निमित्त प्रमुख अर्जुनकुमार चौधरी सरकारी नीति र जनशक्ति अभाव लगायतका कारणले मेसिनहरु प्रयोगमा ल्याउन नसकिएको बताउँछन् । सरकारले नै परीक्षण केन्द्रको प्रयोगलाई सीमित बनाएको उनको भनाइ छ ।

प्रदुषण मापन गर्नेबाहेक अरु सबै काम मेसिनबाट हुँदैन । अहिले त डिजेल गाडीको प्रदुषण जाँच्ने मेसिन पनि बिगि्रएको छ । अब त केन्द्रले प्रदुषणको जाँचको पनि आँखाले नै हेरेर नतिजा निकाल्छ ।

तथ्यसँग डराउने व्यवसायी र कर्मचारी

यो सेन्टरभित्र गाडीको सस्पेन्सन सिस्टम, ह्वील लोड, ब्रेक, अटो लिफ्ट, हेडलाइट, हर्न, साइड स्लिप, एम्बिडेड इन्टेलिजेन्स प्ल्याटर्फम, इन्स्पेक्सन फिट हाइड्रोलिक प्ल्याटर्फम र चेसिस क्लियरेन्सका परीक्षण इन्टलिजेन्स सिस्टमबाटै गर्न सकिने मेसिन जोडिएका छन् ।

यहाँ सवारीको अगाडि र पछाडिको पांग्रामा पर्ने भार, ब्रेकले सहीसँग काम गरे/नगरेको, सस्पेन्सन सिस्टम चुस्त रहे/नरहेको, हर्नको अवस्था ठीक भए/नभएको, हेडलाइटले वैज्ञानिक तवरले काम गरे नगरेकोसहितको परीक्षण मेसिनले आफैं गर्न सक्छ । त्यसरी हुने ५ भन्दा बढी प्रकारका परीक्षणपछि मेसिनले नै ती परीक्षणका नतिजालाई कम्प्युटरबाट पि्रन्ट गरेर दिन्छ । त्यसका आधारमा गाडीको प्रविधिक पक्षमा भएको खराबी पत्ता लगाउन सकिन्छ ।

यी मेसिन चलाउने हो भने यातायात व्यवस्था विभागले तोकिएका मेसिनरी परीक्षणमा कति अंक पार गनुपर्ने भन्ने तोकेर मापदण्ड बनाउनुपर्छ । तर, अहिलेसम्म विभागले यसको मापदण्ड नै बनाएको छैन । त्यसैले यहाँ कार्यरत कर्मचारीलाई पनि हाईसञ्चो छ । यति धेरै आधुनिक मेसिन भएर पनि पूर्णरुपमा प्राविधिक कर्मच्ाारीको आँखामा निर्भर छ, यो केन्द्र । उनीहरुले गाडी यसो चलाएर हेर्छन् र ठीक लागे परीक्षण पास गरेर पठाउँछन् ।

यहाँ ट्याक्सीबाहेक कुनै सार्वजनिक सवारी जाँच गर्न अनिवार्य नरहेको बताउँछन् केन्द्रका निमित्त प्रमुख चौधरी बताउँछन् ।

‘यहाँ एकपटक लामो दूरीमा चल्ने बस यहाँ जाँच्न ल्याउने भनिएको थियो,’ उनी भन्छन्,’तर के कारणले हो आएनन् ।’

अपायक भयो : व्यवसायी

काठमाडौं उपत्यकामा चल्ने मात्रै हैन, काठमाडौं उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीको जाँचपास यसैगरी अड्कलबाजीमा हुन्छ ।

अहिले देशभर चल्ने ७० प्रतिशतभन्दा बढी सार्वजनिक सवारीको जाँच नै नहुने विभागका एक अधिकारीले बताए । उनका अनुसार कर्मचारीले सवारीको अवस्था हेर्दा पनि नहेरी सेटिङमा ‘क्लिन चिट’ दिएकै भरमा सवारी  निर्वाध चलिरहेका छन् ।

यातायात व्यवसायीहरु देशको एक मात्रै भेहिकल फिटनेस सेन्टर पनि काठमाडौंको मध्यभागमा राख्दा समस्या भएको दावी गर्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला टेकुको भेहिकल फिटनेस सेन्टरलाई ‘म्युजियम’ बनाउन सरकारलाई सल्लाह दिन्छन् ।

‘कहाँबाट टेकुमा ठूला सवारी लैजाने ? दिउँसोभर जामले जान सकिने अवस्था हुन्न,’ सिटौला भन्छन्, ‘त्यत्र ठूला बस जामकै बीचमा लाइन लाएर टेकुमा हुल्ने हो भने के हुन्छ ?’

उनले सरकारले अपायक ठाउँमा फटनेस सेन्टर स्थापना गर्दा प्रयोग गर्न नसकिएको बताउँछन् । राजमार्गहरुमा राख्नुपर्ने फिटनेस सेन्टर शहरका बीचमा राखेर सरकारले करोडौंको लगानी बालुवाको पानी जस्तै बनाएको उनको आरोप छ ।

‘त्यो फिटनेस सेन्टर हेटौंडा र बुटवलजस्ता ठाउामा बनाइदिएको भए सवारीको जाँच सजिलैसँग हुनथ्यो,’ उनी भन्छन्,’अहिले कसरी टेकुमा बस छिराएर सवारी जाँच्न लैजाने भन्ने हाम्रो कुरा हो ।’


तस्वीरः शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment