Comments Add Comment
मेरो कथा :

सागमा स्वर्ण जित्ने पहिलो महिला बक्सर बनेछु !

३ पुस, काठमाडौं । प्रकृतिले नै केटी मान्छेको शरीर शुकोमल बनाइदिएको हुन्छ । त्यसैले बक्सिङ जस्तो ‘बाहुबली खेल’ केटीका लागि होइन भन्ने धेरैले ठान्छन् । म चाहिँ १० वर्षदेखि बक्सिङमा नै रमाइरहेकी छु । भर्खरै १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेँ ।

के–कसरी भन्ने बयान त गर्नु नै छ । तर, त्योभन्दा अगाडि म सम्झिरहेको छु भारतमा भएको १२ औं साग, जहाँ मैले कांस्य पदकमा चित्त बुझाउनु परेको थियो । वास्तवमा त्यही कांस्यले मलाई स्वर्णको भोक जगाइदिएको हो ।

त्यसबेला मेरो उमेर समूहमा भारतीय खेलाडीले स्वर्ण जितेकी थिइन् । पदक वितरण समारोहमा आफ्नो देशको झण्डा भारतको भन्दा तल पर्दा मलाई निकै चोट पर्‍यो । त्यही बेला अर्को सागमा स्वर्ण जित्ने अठोट गरेकी थिएँ । यो सागमा मैले आफ्नै भूमिमा भारतीय खेलाडीलाई हराएर त्यो चोटमा मल्हम लगाएँ । हो, मैले १३ औं सागमा गोल्ड मेडल जितेँ ।

घरेलु दर्शकका अगाडि देशको राष्ट्रिय झण्डा काँधमा राखेर उफ्रिन पाउनु सपनातूल्य भयो मेरा लागि । मेरो खेल जीवनकै अविस्मरणीय क्षण बनेको छ त्यो क्षण ।

अनि देशका लागि यति गर्न पाउँदा अपार खुशी मिलेको छ ।

००००

वास्तवमा म यो सागमा पनि भारतीय खेलाडीसित डराएकी थिएँ । स्वर्ण जित्ने अठोटसँगै मनमा सन्देह पनि थियो । किनकी बक्सिङमा भारतलाई हराउन सजिलो छैन ।

सेमिफाइनलमा मेरो खेल बंगलादेशी खेलाडीसँग थियो । त्यसैले फाइनलमा भारतसँगै भिड्नुपर्छ भन्ने पहिल्यै आँकलन गरेकी थिएँ । गुरुहरुले पनि मलाई त्यसका लागि मानसिक रुपमा तयार पारिरहनु भएको थियो । फाइनल पक्का भयो । मैले आफ्नो प्रतिस्पर्धी भारतीय खेलाडीको गेम पनि भिडियोमा हेरेँ । उनको बलियो र कमजोर पक्ष मूल्यांकन गरेर आफ्नो रणनीति बनाएँ ।

मभन्दा अगाडि ललिता महर्जनको खेल थियो । म भने आफ्नो खेलका लागि वार्मअप गर्दै थिएँ । भित्र के भइरा’छ भनेर भनेर दाइहरुलाई सोध्दा ‘ललिताले हानिराछ’ भन्नुभयो । त्यसले मलाई पनि हौसला मिल्यो । ललिताले हानिन् भने म पनि सक्छु भनेर आँट बढ्यो ।

मलाई गुरुहरुले धेरै आक्रामक नभइकन आफ्नो तरिकाले खेल्न भन्नुभएको थियो । गुरुहरुले पनि ‘कुल माइन्डले खेल, तिमी जित्छौ’ भनेर हौसला बढाउनुभएको थियो ।

मैले फाइनलमा भारतीय खेलाडीलाई हराएँ । सागमा २० वर्षपछि नेपालले बक्सिङको स्वर्ण जित्यो । अनि, यो कीर्तिमान मेरो नाममा रह्यो । त्यो मात्र नभएर सागमा स्वर्ण जित्ने नेपालको पहिलो महिला बक्सर बनेछु । योचाँहि मेरा लागि ‘सरप्राइज’ थियो ।

मिनु गुरुङले बक्सिङमा स्वर्ण जितेर सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन् । साथै नेपालले सागमा २० वर्षपछि जितेको पहिलो स्वर्ण समेत थियो यो ।

मलाई त सागमा स्वर्ण जितेँ भन्ने मात्र लागेको थियो । तर सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर आफू भएको थाहा पाउँदा खुशी दोब्बर भयो ।

सञ्चारमाध्यममा मिनु गुरुङले २० वर्षपछि स्वर्ण जितेर ऐतिहासिक कीर्तिमान राखिन् भनेर हेडलाइन लेखिएका थिए । मेरो मन फुरुङ्ग भयो । आफ्नो तस्वीरसहितको समाचार देख्दा आङ सिरिङ्ग भएर शरीरमा काँडा नै उम्रिएको थियो ।

००००

हुन त म राष्ट्रिय स्तरमा च्याम्पियन थिएँ । तर सागमा गोल्ड मेडलिस्ट हुनु धेरै ठूलो कुरा रहेछ भन्ने महसुस भएको छ । पहिला म नेसनल गोल्ड मेडलिस्ट भनेर चिनाउनु पथ्र्याे । अहिले सबैले चिन्नुहुन्छ । अस्ति भर्खर आमालाई लिएर हस्पिटल गएकी थिएँ । एक जना बुढी आमासँग भेट भयो । उहाँ पनि छोरीसँग आउनुभएको रहेछ ।

उहाँको छोरीले तपाई आर्मीको हो ? भनेर सोध्नुभयो । मैले ‘अँ’ भनेँ र कुनतर्फ भनेपछि बक्सिङ खेलाडी भएको बताएँ । उहाँले साग खेल्नुभएको थियो ? भनेर सोध्दा मैले ‘अँ’ भनेँ । अनि खुशी भएर भन्नुभयो, ‘ए तपाईं बक्सिङको गोल्ड मेडलिस्ट ।’ मैले हो भने । उहाँले मसँग सेल्फी खिच्नुभयो । सेलिब्रिटीजस्तो व्यवहार गर्नुभयो । मलाई भने अनौठो लाग्यो । हामीजस्तो बक्सिङ खेलाडीको पनि क्रेज हुँदोरहेछ भनेर खुशी भएँ ।

वास्तवमा सागमा स्वर्ण जितेपछि मेरो परिचय नै फेरिएको छ । आफ्नो परिवारको सपना र प्रशिक्षकको भरोसालाई भत्किन नदिएकोमा सन्तोष लाग्छ । साथै, आफूले गरेको मिहिनेत र संघर्षको परिणाम पनि हो यो गोल्ड मेडल ।

०००

१२ औं सागमा भाग लिन जाँदा ठूलो लक्ष्य थिएन । भारतीय खेलाडीहरु कडा हुन्छन् भनेर पहिल्यै डर लागेको थियो । झन् उनीहरुकै देशमा प्रतियोगिता थियो ।

त्यतिबेला मैले ५१ केजीमा खेलेको थिएँ । मेरो तौल समूहमा भारतकी मेरी कोम पनि थिइन् । उनीसित भिड्ने सपना थियो मेरो । तर म सेमिफाइनलमै श्रीलंकन खेलाडीसँग हारेँ, कांस्यमा चित्त बुझाएँ । मेरी कोमले स्वर्ण जितिन् ।

मेडल परेडका बेला भारतको झण्डा बीचमा थियो भने हाम्रो झण्डा साइडमा । त्यतिबेला मेरो मन निकै रोयो । मैले जितेको भए आफ्नो देशको झण्डा बीचमा हुन्थ्यो भनेर खुबै कल्पिएँ । कुनै दिन ठड्याउन सक्छु भन्ने अठोट पनि गरेँ ।

र, यो पाली मेरो अठोट पूरा भयो ।

त्यसबेला म फाइनलमा पुगेको भए भारतकी मेरी कोमसँग भिड्न पाउने रहेछु । तर सेमिफाइनलमै हारेपछि त्यो इच्छा अधुरो रह्यो । मेरी कोम जस्तो हस्तीसँग खेल्न पाएको भए हार–जित भन्दा पनि अनुभव नै मेरो लागि ठूलो हुन्थ्यो ।

भविश्यमा मौका मिल्यो भने खेल्छु । मेरी कोमले नेपाली लेडी बक्सरहरु बहादुर छन् भन्थिन् । गेमपछि उनीसँग फोटो खिचाएँ । सामान्य कुराकानी भएको थियो ।

पछि माला राईले भारतमा मेसी कोमसँग खेलिन् । त्यतिबेला म चाहिँ ५४ केजीमा खेलेको थिएँ ।

त्यसअघि २०१४ मा कोरियाको इन्चोनमा भएको एसियन गेम्समा पनि मैले भाग लिएकी थिएँ । इन्डोनेसियामा भएको १८औं एसियन गेम्स चाँहि खेल्न पाइनँ । त्यतिबेला म नेपाल आर्मीबाट अफ्रिकाको सेन्टर रिपब्लिक मिसनमा गएकी थिएँ । त्यसले गर्दा १ वर्ष ग्याप भयो । त्यहाँ बस्दा मलाई बक्सिङ एकदमै मिस भएको थियो । तर मैले मिसनमा पनि सरहरुलाई भनेर ट्रेनिङ भने गर्थेँ ।

१३ औं साग गेमलाई तयारी गर्नुछ भनेर मैले त्यहाँ सरहरुलाई अनुरोध गरेकी थिएँ । उहाँहरुले सहयोग गर्नुभयो । मैले ड्युटी गरेर पनि एक समय ट्रेनिङ गर्थेँ ।

०००

मेरो घर चितवनको रामपुरमा हो । घरनजिकै रहेको विश्वप्रकाश मंगलपुर माविमा पढेँ । दाइ वीरबहादुर कराँते खेलाडी हुनुहुन्थ्यो । आफैंले जिम बनाउनुभएको थियो । दाइले किक हानेको, विहानै फिजिकल एक्सरसाइज गरेको देख्दा मलाई पनि रहर लाग्थ्यो । रहरले केही पटक मैले अभ्यास पनि गरेँ ।

विस्तारै कराँते सिक्न थालेँ । दाइको गुरुहरुले ‘वीरेको चेली, हाम्रो नि चेली’ भन्दै माया गर्नुहुन्थ्यो । चितवनको रामपुर डोजोमा गगन गुरुको चेली हो म । त्यतिबेला नै मेरो गेममा पावर थियो, एग्रेसन थियो । स्कोरिङ प्वाइन्ट आउँथ्यो । त्यो देखेर गुरुले एक म्याच किक बक्सिङ खेल्न लाउनुभायो । त्यसमा मैले गोल्ड मेडल जितेँ । त्यही मेडलसँगै गुरुले ‘तिम्रो कराँतेमा भन्दा बक्सिङमा राम्रो’ भनेर किक बक्सिङतिर जान सल्लाह दिनुभयो । म पनि तयार भएँ ।

अनि, कराँते रोकेर बक्सिङ सुरु गरेँ ।

काठमाडौं आउनुअघि ब्रिटिस आर्मीका लागि भनेर नारायणगढमै ट्रेनिङ लिएको थिएँ । किनकी २००९ मा केटीलाई पनि लैजाने कुरा थियो । पछि नलैजाने खबर आयो । अनि मैले त्यो ट्रेनिङ छाड्दिएँ । कक्षा १२ सकिएपछि नेपाल आर्मीमा भर्ना खुल्दा आवेदन दिए । नाम निस्कियो । भर्ना भएँ । एक वर्ष ट्रेनिङ भयो ।

मेरो एउटा साथीले आर्मीमा लेडिज बक्सर नभएकाले त्यसमा स्कोप रहेको बताए । मलाई पनि खेलाडीतिर जान पाए राम्रो हुन्छ भन्ने भयो । सरहरुले नाम टिप्नुभयो र एक वर्षपछि सम्पर्क गर्नु भन्नुभयो । बक्सिङको सरहरुले हामी फलो गर्छौँ भन्नुभयो । यसरी २०६९ सालबाट मेरो बक्सिङ करियर शुरु भयो आर्मीमा ।

आर्मीमा गएको ३ महिनापछि मैले पहिलो प्रतियोगिताका रुपमा ‘ललितपुर ओपन बक्सिङ च्याम्पियन’ खेलेँ । त्यसबेला निशा तामाङसँग भिडेकी थिएँ । प्रतियोगिता सकेर घर जाँदा आमाले मेडल आयो कि पिटाई मात्रै खायौ ? भनेर सोध्नुभएको याद छ ।

०००

अरु खेलाडीलाई घर–परिवारबाट कत्तिको सपोर्ट हुन्छ थाहा छैन, तर मलाई भने ममीले शुरुदेखि नै साथ र हौसला दिनुभयो । मेरो सफलतामा उहाँको ठूलो भूमिका छ ।

अरुलाई विवाहका लागि दबाव दिएको सुनिन्छ । मलाई भने ममीले अहिले नै फेमिलीको झन्झट नगर । पहिला आफ्नो पढाइ सक, पहिचान बनाउ, अनि बल्ल विवाहको बारेमा सोच भन्नुहुन्छ । यस मानेमा म भाग्यमानी छु ।

मेरो ममी पनि खेलाडी हुनुहुन्थ्यो, फुटबल खेल्नुहुन्थ्यो । तर विवाहपछि खेल जीवन त्यागेर परिवारको जिम्मेवारी उठाउनुभयो । मेरो पनि त्यही अवस्था होस भन्ने चाहनुहुन्न । मलाई अहिले पनि याद छ, ममीले मलाई आफूले मेडल पाएको तस्वीरहरु देखाउनुहुन्थ्यो र, स्कुलमा हुने खेलहरुमा भाग लिन सल्लाह दिनुहुन्थ्यो । मैले खेल जितेर मेडल ल्याएको हेर्ने चाहना छ भन्नुहुन्थ्यो ।

सुरुसुरमा कराँते खेल्दाको एउटा घटना सुनाउँछु । एकपटक मैले यसरी पिटाई खाएँ कि मुख नै बाङ्गो भयो । त्यसबेला बुवाले अब नखेल, छोरी मान्छेले बिहे भएर अर्काको घर जानुपर्छ । जिउमा चोटपटक लाग्यो भने गाह्रो हुन्छ भन्नुभएको थियो । तर आमाले ‘हाम्रो छोरी छोराभन्दा कम छैन, यसले गेममा केही गरेर देखाउँछे’ भन्दै बुबालाई रोक्नुभयो । आमाले आफूले पूरा गर्न नसकेको सपना मबाट पूरा गर्न चाहनुभयो र, त्यसमा म सफल पनि भएँ ।

सागमा जितेपछि सबैभन्दा पहिले फोन भने बाबाकै आयो । उहाँले पनि ममाथि गर्व गर्न थाल्नुभएको छ ।

०००

लगानी बढाउने हो भने बक्सिङमा राम्रो गर्न सकिन्छ भन्ने अहिलेको सागले देखाएको छ । मुख्य कुरा बक्सिङको लागि कभर्ड हल नै छैन । हल मात्र भइदिएको भए खेलाडीहरुले मन यताउता डुलाउनुपर्थेनथ्यो । राम्रोसँग ट्रेनिङ गर्ने ठाउँ नभएकाले खेलाडीहरु हतोत्साहित भएका छन् । राम्रो इक्वीपमेन्ट, तालिम र डाइट भएको भए अझै राम्रो रिजल्ट ल्याउन सकिन्थ्यो । तै पनि मेरो लक्ष्य अब ओलम्पिकमा छनोट भएर देशको लागि खेल्ने छ ।

एसियन गेम्सका लागि पनि तयारी गर्नु छ ।

तस्वीर तथा भिडियो : शंकर गिरी/अनलाइनखबर

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला  ‘मेरो कथा’को  ६६औं अंकमा यो हप्ता बक्सिङ खेलाडी मिनु गुरुङको कथा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment