Comments Add Comment

पश्चिम सेती बनाउनेलाई ‘एसआर-६’ पनि दिइने

१९ पुस, काठमाडौं । जलाशययुक्त पश्चिम सेती परियोजनामा मात्र विदेशी लगानीकर्ताले चासो नदिएपछि सरकारले अर्को जलविद्युत परियोजना पनि दिने प्रस्ताव गरेको छ ।
चिनियाँ कम्पनी थ्री गर्जेज पश्चिम सेतीबाट बाहिरएको छ भने अर्को लगानीकर्ता पनि आएको छैन । त्यसैले लगानी बोर्ड नेपालले पश्चिम सेती र अर्को जलाशययुक्त परियोजना ‘एसआर-६’ एउटै लगानीकर्तालाई दिने प्रस्ताव अघि सारेको छ ।

पश्चिम सेतीलाई लगानीका लागि सम्भाब्य बनाउन एसआर-६ परियोजना पनि सँगै जोडेर ‘सो-केस’मा राखिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

यसमा दुई कम्पनीले इच्छा पनि देखाएको छ । तर एउटा कम्पनी अयोग्य ठहर भएको छ । अर्को कम्पनीसँग भने परियोजना अघि बढाउनबारे छलफल भइरहेको सीईओ अधिकारीले बताए । उनले त्यो कम्पनी कुन हो भन्ने खुलाएनन् ।

चिनियाँ कम्पनी थ्री गर्जेजले २०७५ भदौ १३ मा भएको अन्तिम वार्तामा क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको थियो । बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो ।

तर बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरएको थियो । पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तिय रुपमा सम्भाव्य नरहेको उसले बताएको थियो ।

२४ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा यो आयोजना थ्री गर्जेजलाई हात परेको थियो ।

तर, थ्री गर्जेजले पनि काम अगाडि नबढाएपछि लगानी बोर्डले पश्चिम सेतीलाई कसरी सम्भाब्य बनाउने भन्नेबारे अध्ययन गरेको थियो, जसले एसआर-६ परियोजना पनि दिने हो पश्चिमसेती बन्ने निश्कर्ष निकालेको थियो ।

त्यसैका आधारमा अहिले बोर्डले दुबै परियोजनालाई एउटै प्याकेजमा राखेर विकासकर्ता खोजिरहेको छ ।

कस्तो आयोजना हो एसआर-६ ?

पश्चिम सेतीभन्दा केही कम क्षमता अर्थात ४५० मेगावाटका जलाशययुक्त आयोजना हो । पश्चिमसेतीमा बुढीगंगा मिसिने स्थानभन्दा केही तल एसआर-६ आयोजना बनाउन प्रस्ताव गरिएको छ । यो परियोजना डोडी र अछाम जिल्लामा पर्छ । दिपायल-गौगुडा ग्रामीणमार्ग परियोजना पहुँचमार्गको नजिक पर्छ ।

जापानी सहयोग नियोग (जाइका)ले गरेको अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्म बन्नसक्छ । यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ । यसलाई आधा घटाउने हो भने २२८ मेगावाट विजुली उत्पादन हुनसक्छ ।

साथै पश्चिम सेती र एसआर ६ परियोजना एकै विकासकर्ताले बनाउँदा पानी थुन्ने, विद्युत निकाल्ने र पानी छाड्ने समयको व्यवस्थापन गर्दा ४५० मेगावाटमा र पश्चिम सेतीलाई ७५० मेगावाटमै बनाउन सकिने बोर्डको दावी छ ।

एसआर-६मा १.५ मिटर हेडरेस सुरुङमार्ग बनाएर विजुली उत्पादन गर्न सकिन्छ । खुलास्थानमा पावरहाउस बनाउन सकिने लगानी बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment