Comments Add Comment

‘अब बोल्ने पालो हाम्रो …’ 

आजकाल विदेशतिर हुने प्राय: कार्यक्रमहरु दिक्क लाग्दा नै हुन्छन्। मञ्चभरि कुर्सी राख्यो।संघसंस्थाका प्रतिनिधिहरुलाई आसनग्रहण भन्दै पालैपालो बोलायो। खादा लगाइदिएपछि उनिहरुकै पट्यार लाग्दो भाषण सुन्यो।त्यसो त १-२ घण्टा ढिलोगरी सुरु हुने कार्यक्रमहरुमा सधैँ यस्तै गतिविधिहरु दोहोरिँदा दर्शकहरु वाक्कदिक्क नै हुने गरेको भेटिन्छ। तर शुक्रबार स्पेनको बार्सिलोनामा सम्पन्न कार्यक्रम निकै पृथक देखियो।

विदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुले सप्ताहान्तमा समय निकालेर नेपाली भाषा सिक्ने थलो हो पाठशाला। सन्दर्भ थियो नेपाली पाठशाला बार्सिलोनाको छैटौं वार्षिकोत्सव कार्यक्रम। कार्यक्रम सञ्चालनदेखि उद्घाटनसम्म,स्वागत मन्तव्य देखि नृत्य,गायन,कवितालगायत थुप्रै प्रस्तुतिहरु बालबालिकाहरुले देखाए। मञ्चमा सधैं पुगेर भाषण गर्ने आफ्ना अभिभावकहरुलाई “अब बोल्ने पालो हाम्रो” हो है भन्ने स्पष्ट संकेत उनीहरुले देखाएका छन्। त्यसो त पाठशालामा पुगेपछि बालबालिकाहरुले नेपाली भाषा र कलामा ठूलै छलाङ्ग मारेको कार्यक्रमबाट प्रष्ट देखिन्थ्यो।

७ वर्षीया लिदिया भुसालले अभिभावकहरुलाई स्वागत गर्दै आफ्नो डाक्टर बन्ने सपना सुनाइन्। आफ्ना पिताको जन्मथलो पर्वतमा पुगेर गरिब तथा असायहरुलाई सहयोग गर्ने उउद्देश्यबारे पनि बोलिन्। अर्की बालिका स्तुति कटुवालले कवितामार्फत आमाको महिमा सुनाइन्। बालबालिकाहरुले “ताराबजी लै लै”,म्याउम्याउ बिरालोदेखि सरस्वती स्तुति संस्कृत भाषामा कण्ठस्त सुनाए। उनिहरुले प्रस्तुति राख्दा अभिभावकहरुको मुहारमा एउटा छुट्टै मुस्कान झल्केको भेटिन्थ्यो।
“पहिले राष्ट्रिय गान गुनगुनाउन पनि नसक्ने बालबालिकाहरु अहिले नेपाली गीत,संगीत र नेपाली भाषामा पोख्त भएको देख्दा म आफैं दंग छु” एक अभिभावक डिक कार्कीले प्रतिक्रिया दिए। उनले स्टेजमा नै पुगेर पाठशालामा योगदान दिइरहेका शिक्षिकाहरुलाई सम्मान गर्दै मुक्तकण्ठले प्रशंसा गरे।

एनआरएन स्पेनले सन् २००९ मा नेपाली पाठशाला स्थापना गर्ने पहल गरेता पनि सफल भएन। तर सन् २०१४ मा केहि महिला अभिभावकहरुले सक्रियता देखाएपछि पाठशालाको जन्म भएको थियो। ५ जना बालबालिकाहरुलाई घरमा नै कखरा सिकाउँदै यसको सुरुवात भएको हो।  तर अहिले उमेर र स्तरअनुसार फरक तीन कक्षामा ३० जना बालबालिकाहरुले नेपाली भाषा सिक्दै आएका छन् ।

“नेपालमा रहेका हजुरबाआमासँग कुराकानीगर्दा बालबालिकाहरुलाई भाषाको ठूलो समस्या देखिन्थ्यो। तर पाठशाला आएदेखि उनिहरुमा आमूल परिवर्तन आएको छ। सजिलैसँग बोल्न र कुराकानी गर्न सक्षम भएका छन्। यो नै हाम्रा लागि सबैभन्दा खुसीको क्षण हो” एक अभिभावक सन्तोष पौडेलले आफ्नो अनुभव सुनाए।
विभिन्न उताढचढावबीच पनि पाठशालाले ६ वर्षे यात्रा तय गरेकोमा संयोजक सरला सापकोटाले खुसी व्यक्त गरिन्। नेपाली समुदायको सहयोगले नै यो सम्भव भएको भन्दै सुझाव र सल्लाहलाई मनन गर्दै पाठशालालाई अझै अघि पुर्याउने प्रणसमेत गरिन्।

विदेशमा नै जन्मेर यतै हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई युरोपका अन्य देशहरुमा पनि नेपाली भाषा सिकाउन थालिएको छ । बेलायत,डेनमार्क, जर्मनी,बेल्जियम,नेदरल्यान्ड,पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा बालबालिकाहरुलाई नेपाली पढ्न र लेख्न सिकाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment